वार्ता

‘कर्णाली चिन्‍ने र चिनाउने अभियान हो उत्सव’

इकागज |
फागुन २५, २०७७ मंगलबार १७:३९ बजे

ऋति फाउण्डेसनले बुधबार(भोलि)देखि शनिबारसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली उत्सवको दोस्रो संस्करणको आयोजना गर्दैछ । उत्सवको दोस्रो संस्करण सुर्खेतको पर्यटकीयस्थल बुलबुले उद्यानमा संचालन हुँदैछ । कर्णालीका विभिन्न विषयमा बहस गर्ने र कर्णाली चिनाउने अवसरको रूपमा पनि उत्सवलाई लिइएको छ । उत्सव आयोजक समितिका संयोजक कमलराज लम्सालसँग कर्णालीस्थित इकागज प्रदेश प्रतिनिधि लक्ष्मी भण्डारीले गरेको कुराकानी : 

कर्णाली उत्सव सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो ?
कर्णाली उत्सव भनेको कर्णाली चिन्ने र चिनाउने अभियान हो । कर्णाली पछाडि पर्‍यो भनेर बस्ने मात्र होइन कि अब कर्णालीलाई कसरी अगाडि बढाउने भनेर लाग्न जरुरी छ । हामीसँग प्रसस्त सम्भावनाहरू छन् । यी कुराहरूलाई खोतल्ने प्रयास गर्ने अभियान हो यो । 


हामीले हाम्रो पहिचानलाई गुमाउन लागेका छौ । हामीसँग भएको सम्भावनालाई पहिचान नगरी मागी खानेका रूपमा कर्णालीलाई चिनाइएको अवस्थामा कर्णाली वास्तवमा के हो ? यहाँको सम्भावना के छ त ? भन्ने विषयमा जान्नु जरुरी छ । कर्णाली उत्सव बौद्धिक सम्मेलन भएको कारण यसले कर्णालीलाई चिन्ने र चिनाउने काम गर्नेछ । कर्णालीको सभ्यता र संस्कृतिको पुर्नजागरण गर्न जरुरी छ । सार्वजनिक विमर्श गर्ने एउटा हाम्रो अभियान पनि हो । कर्णालीको आफ्नै वैभव छ । नेपाली भाषाको उद्गमस्थल हो, थुप्रै प्राचीन सभ्यताहरू यहाँ छन् र स्रोतसाधनले धनी प्रदेश कर्णाली हो भनेर चिनाउनु छ ।

उत्सवको तयारी कस्तो भइरहेको छ ?
उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सबै तयारी गरिसकेका छौ । भोलि हाम्रो उद्घाटन पनि हो । कार्यक्रमको लागि सबै वक्ता र सेसनको फाइनल गरिसकेका छौ ।  भोलि बिहान साइकल याली गरेर दिउँसो दुई बजे कर्णाली उत्सवको उद्घाटन गर्ने तयारी गरेका छौं ।

गतवर्ष पनि उत्सवको पहिलो संस्करण संचालन गर्नुभएको थियो, अहिले दोस्रो संस्करण गर्दै हुनुहुन्छ , गतवर्ष भन्दा अहिलेको उत्सवमा के नयाँ छ ?
पोहोर साल पहिलोपटक कार्यक्रम गरियो । त्यतिबेला विभिन्न विषयमा प्यानल छलफल गराएका थियौ । यो पटक चाहिँ अलि फरक रूपमा लैजानुपर्छ भनेर ‘पैकेलोको कथा’ अर्थात जसले कर्णालीका लागि राम्रो काम गरेको छ र उसको कुरा बाहिर आएको छैन भने उसको कथा समेत समेट्ने तयारी गरेका छौं ।

प्यानल डिस्कसन त भैहाल्यो नै त्यसको अलवा पैकेलोको कथा छ । पैकेलो भनेको कर्णालीको खस भाषामा कथा भन्ने बुझिन्छ । यसमा कर्णालीका साहसिक व्यक्तिको कथालाई स्थान दिएका छौ । प्यानल छलफलको बीच बीचमा यहाँका साहसिक व्यक्तिहरूले जीवनसंघर्षको कथा सुनाउँछन् । कथा सुनाउने चाहि कर्णालीकै व्यक्ति हुन्छन् । कर्णाली पिपुल्स एण्ड प्लेसेस भन्ने फोटो बुक छ त्यसलाई पनि विमोचन गर्ने कार्यक्रम छ । 

फोटो पर्दशनीहरु पनि हुन्छ । त्यो पनि एउटा राम्रो कुरा हो । कार्यक्रम सुरु हुनुअघि साइकल र्या‍लीको पनि आयोजना गर्दैछौ । जल साँझ र कविता साँझका कार्यक्रमहरू पनि राखेका छौ । यस पटक कार्यक्रमको पहिलो दिन उद्घाटन मात्रै राखेका छौं । जसले गर्दा अन्य तीन दिन निरन्तर छलफलहरू सञ्चालन गर्न सहज हुनेछ । फागुन २६ गते त्यसको भोलिपल्ट २७ गतेदेखि २९ गतेसम्म लगातार हाम्रा विभिन्न सेसनहरू सञ्चालन हुनेछन् । विषयवस्तुहरू त लगभग पहिलेकै जस्तै हुन् । तर यसपालि केही कुराहरू नयाँपन पनि दिएका छौ ।

उत्सवमा कर्णालीका कस्ता विषयवस्तुलाई उठान गर्नुहुन्छ ? 
उत्सवमा हामीले कर्णालीबारे विमर्श गर्नैपर्ने थुप्रै विषयहरू छन् । जसलाई हामीहरूले कर्णालीको अभिव्यक्तिका रूपमा बुझेका छौं । यसपटक हामीले प्रत्यक दिनको एउटा थिम बनाएका छौ । पहिलो दिन ‘हाम्मो मान्नवी’ अन्र्तगत सामाजिक विषयहरू उठाउने । जसमा समाजको कुरा, महिला बालवालिकाको कुरा, कलाको कुरा, अथवा स्वास्थ्यको कुरा हुन्छ । मान्नवी भनेको समाजको कुरा हो । 

दोस्रो दिन‘सुर्के थैली’ भनेर त्यसमा आर्थिक विकास कुरा हुन्छ । अर्थ र विकाससँग सम्बन्धित कुराहरू गर्छाै । तेस्रो दिनमा चाँही ‘कैथा नेता, कैथो नेतृत्व’ भनेर छलफल गर्छाै । यो भनेको नेतृत्व हो । कस्तो खालको लिडरसिप अभ्यासको रूपमा चाहिन्छ भन्ने विषय छलफलमा आउँछ । यसपटक सामाजिक, आर्थिक, राजनीतिक विषयमा छलफल गर्छाै । पोहोरसाल इतिहास, वर्तमान र भविष्यलाई दिनको थिममा राखेका थियौ । यसपटक हामीहरूले १४ वटा विषयलाई समेटेका छौं, राजनीति, आर्थिक, सामाजिक, पर्यटन, आर्थिक, महिला र बालबालिका, भाषा, साहित्य, लगानी, सुशासन, स्वास्थ्य, शिक्षा सबै विषयहरूको बहस हुनेछन् ।

यस्ता खालका बहसले कर्णालीमा के प्रभाव पार्छ ?
यो चाँहि नितीगत छलफल पनि हो । यसले हामीलाई कस्तो नीति चाहिन्छ भन्ने विषयमा बहस हुन्छ । नीति निर्माताहरुलाई खुराक दिन्छ । यसले अध्ययन अध्यताहरूलाई सहयोग गर्छ । कर्णाली उत्सवमा कर्णालीका कुरा त हुन्छ नै यसमा राष्ट्रिय बहस पनि हुन्छ । समाजमा हुने खुल्ला बहसले नागरिकहरूलाई लोकतन्त्रप्रति प्रतिवद्ध बनाउन सहयोग गर्छ । समाजमा आलोचनात्मक चेत जगाउँछ विकासप्रति जागरुप हुन सहयोग गर्छ । हामी कमजोर छौ भनेर बुझिरहेको अवस्थामा हामी कमजोर छैनौ है भन्ने भाव जाग्छ । 

त्यसकारण सार्वजनिक विचार निर्माणमा यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्छन् । कर्णाली उत्सव एउटा बौद्धिक सम्मेलन हो, विचारको उत्सव हो । जबसम्म सार्वजनिक विचार निर्माण हुँदैन तबसम्म नीति निर्माताको पनि ध्यान जाँदैन । विचार निर्माण भएपछि आलोचनाहरू जन्मन्छन् र नीति निर्माण तहको ध्यान जान्छ । सार्वजनिक विचार जन्मिएकै आधारमा नीतिको निर्माण हुन्छ । समस्याको पहिचान र समाधानको उपायको खोजीमा यस्ता कार्यक्रमहरूले ठूलो भूमिका खेल्दछन् । त्यसै समग्रमा यसले सकारात्मक भुमिका खेल्छ भन्ने हामीलाई लागेको छ । 

कर्णालीमा बहसको कार्यक्रमलाई निरन्तरता दिनुहुन्छ ?
हो हामीले निरन्तरता दिने भन्ने नै छ । हामीले गत वर्षदेखि सुरु गर्‍यौ । निरन्तर रुपमा लागिरहेका छौ । कर्णालीमा सनरन्तर बहसको जरुरी पनि छ त्यसैले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । हामीलाई कार्यक्रमको लागि प्रदेश सरकार र स्थानीय तहहरूले पनि सहयोग गरेका छन् । त्यसैगरी विभिन्न संघ संस्थाबाट पनि सहयोग भएको छ । हाम्रो कार्यक्रम राम्रो मानेकोले पनि सहयोग गर्नुभएको होला ।


Author

थप समाचार
x