वार्ता

अन्तर्वार्ता

मुलुकलाई विदेशीको प्रभावबाट कसरी बाहिर राख्‍ने ? हामी यता केन्द्रित छौँ

चन्द्रशेखर अधिकारी |
फागुन २६, २०७७ बुधवार १२:२१ बजे

रेणुकुमारी यादव जनता समाजवादी पार्टी (जसपा) की नेत्री हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजनीतिमा आएकी यादव राप्रपा फुटेर सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीतिर लागिन् । पछिल्लो राजनीतिमा भने सन् २००८ देखि मधेसी जनअधिकार फोरममार्फत् मधेस आन्दोलनमा सक्रिय रहेकाले उनी त्यही दलबाट पुष्पकमल दाहाल नेतृत्व सरकारमा शिक्षामन्त्री भइन् । त्यसअघि सन् २००२ मा सूर्यबहादुर थापाको मन्त्रिपरिषद्‌मा पनि मन्त्री थिइन् । यतिखेर जसपाभित्र रहेर नेपाली राजनीतिमा सक्रिय उनी वर्तमान अवस्थामा सरकारमा जान नहुने सुझाव दलभित्र दिइरहेकी छन् । ‘हामी तराईको मुद्दालाई वेवास्ता गर्दै पुन: उधारो सहमतिमा सत्तामा जान मिल्दैन,’ उनी भन्छिन्, ‘जसपाबारे बाहिर जति हल्ला मंगलबार भए, ती सबै मिथ्या हुन् । सरकारमा जाने/नजाने भन्दा पनि राजनीतिक अवस्था कुन ढंगले अघि बढ्छ भन्‍ने मूल्यांकन गर्ने काम भइरहेको छ ।’ उनै नेत्री यादवसँग इकागजका चन्द्रशेखर अधिकारीले गरेको संवाद :

जनता समाजवादी पार्टीभित्र सरकारमा जाने र नजाने पक्षधरबीच विवाद उत्पन्‍न भएपछि पुन: दुई चिरा हुन लागेको भनिन्छ नि ?
खै, म पनि त्यही पार्टीको व्यक्ति हुँ । सांसद हुँ । तर मलाई त त्यस्तो केही जानकारी छैन । बाहिर के-के हल्ला चल्छ, त्यसको पछि लागेर साध्य हुँदैन । औपचारिक निर्णय केही भएको छैन । यसमा ढुक्क हुनुभए हुन्छ, सरकारमा जानकै लागि जसपा दुई चिरा हुनेछैन । त्यो अवस्था कत्ति पनि देख्दिनँ । हामी त संविधान निर्माणको समयमा राखेको मागकै विषयमा छलफल गरिरहेका छौँ । यो मुलुकलाई कसरी समृद्ध बनाउने, कसरी विदेशीको प्रभावबाट बाहिर राख्‍ने जस्ता विषयमा नै केन्द्रित छौँ । मधेसी जनताको माग पूरा गर्न हामी लगातार लागिपरेको तर अझै पनि कतैबाट पनि कार्यान्वयनमा पहल नभएकाले यसमा नै एकजुट भएर थप चुस्त बनाउन लागेका छौँ । हामी अधिकारको विषयमा लड्छौँ । ढुक्क हुनुहोस्, दल फुटेर सरकार समर्थन गर्ने कुरा अहिले कतै छैन । र, हुँदैन पनि ।


सत्ताको प्रलोभनमा परेर जोडिने-फुट्ने पहिले भइरहेकाले पनि नफुट्ने कुरामा धेरैलाई विश्वास नलागेको हो कि ?
पहिले के भयो भन्‍नेतर्फ भन्दा पनि अहिलेको अवस्था नियाल्न जरुरी छ । कसैको चाहना हुन सक्ला, फुटाएर लैजान पाए हुन्थ्यो र आफूलाई सहज बनाउन सकिन्थ्यो । तर, त्यो सम्भव छैन । दलभित्र त्यसबारे चर्चा नै भएको छैन ।

दल फुटेर सरकार समर्थन गर्ने कुराकानी कतै भएको छैन । र, हुँदैन पनि ।

मुलुकमा राजनीतिक तरलता देखिएको छ । यस्तो समयमा जसपा पनि संयमित भएर आफ्नो परिपक्‍व निर्णय लिन्छ । तर, जसपा चोइटिएर कतै जाँदैन । एक वा दुई दलमात्र होइन, सबै लोकतान्त्रिक पद्धति अँगाल्नेहरू सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था छ । जसपा सबैसँग छलफल र सहकार्यमा छ । विगतमा अनेकन् अवस्था भोगिसकेको यस्तो पार्टी आफ्नो लक्ष्यमा नपुगी फुट्छ भनेर भन्‍नु भनेको कतैबाट हल्ला गराइनु हो । सरकार बनाउने र गिराउनेतर्फ उन्मुख बनाएर अलमल्याउने कार्यमात्र हो ।

जसपाभित्रका नेताहरूबीच अहिले सरकारमा जानेबारे कुनै छलफल नै भएको छैन त ?
हामीले कत्ति पनि छलफल गरेका छैनौँ । वर्तमान सरकालाई निरन्तरता दिने वा नदिने विषयमा सबै दलमा बहस र छलफल भइरहेको होला । हाम्रोमा त्यो चरणको छलफलसमेत हुन पाएको छैन । हामी पहिलेको तराईकेन्द्रित मुद्दामा छलफल गरिरहेका छौँ । हाम्रा नेता तथा कार्यकर्ता जेलमा छन्, उनीहरूको अवस्था के हुने, कसरी सम्बोधन गराउने भन्‍नेतर्फ छलफल चलिरहेको छ । केपी शर्मा ओली नेतृत्व सरकारले यसबीचमा के गर्‍यो, के गरेन भन्‍ने विषयमा पनि समीक्षा गरिरहेका छौँ । यही सरकारमा जाने र पार्टी चोइटिने/फुट्ने कुरा पनि मंगलबार सुन्‍नमा आयो, यो त पूर्णत: आधारहीन हो ।

यहाँहरूको माग अझै पनि संविधान जारी हुँदादेखि थाँती रहेकामा नै जोड हो ?
पक्कै । संविधान जारी हुँदा हामीले जुन विषयमा असहमति राखेका थियौँ र त्यसपछि कार्यावन्यन गर्ने भनेर जति विषय अघि बढे त्यसमै अडेर अहिले पनि ती उधारो माग पूरा हुनुपर्छ भन्‍ने नै हो । हाम्रा मागमा सधैँ धोकाधडी भएका छन् । अब, त्यो अवस्था आउन नदिन हामी लागिपरेका छौँ । त्यसैले कसैले चाहेर नै मात्र पार्टी फुट्दैन । त्यो हुन दिन पनि हुन्‍न ।

जसपाका एक अध्यक्ष महन्थ ठाकुरले त केपी शर्मा ओलीसँग सरकारमा जाने विषयमा छलफल गरेको भन्‍ने विषय बाहिर आएको छ नि ?
अहिले भेट भएको खासै जानकारी छैन । तर पहिले त समसामयिक विषयमा भेटघाट र छलफल भएको हुनसक्छ । हाम्रो संसदीय दलको बैठक पनि बसेको हिजै हो ।

हाम्रा माग के हुने भन्‍ने विषयमा नै छलफल गरिरहेका छौँ ।

त्यो बैठकमा छलफल भएको कुरा भन्दा पनि हामी के गरेर अघि बढ्ने ? हाम्रा माग के हुने ? जस्ता विषयमा नै छलफल गरिरहेका छौँ । महन्थ ठाकुरले जेष्ठताको आधारमा बैठक गर्नुभएको हो । तर, यहाँ अनेकन् हल्ला फैलाइएको छ । त्यो आवश्यक थिएन । हामी अहिले सरकारमा जानेभन्दा पनि सबैसँग हाम्रा विषय र राख्दै आएका मुद्दामा नै लगातार छलफलमा छौँ र हुनेछौँ ।

विगत नियाल्दा यहाँहरू सरकारविना बाहिर बस्न झन् सकस भएको र माग थाँती राखेर नै सरकारमा गएको देखिन्छ नि ?
खै, त्यस्तो भएको छैन । माग राखेर सहमति गर्ने र पूरा गर्ने वाचासहित गएका हुन्छौँ तर कार्यावन्यन हुँदैन र सरकारभित्रै बसेर लड्नुपरेको अवस्था पनि थियो ।

ओली नेतृत्वको सरकारले यस बीचमा के गर्यो, के गरेन भन्‍ने विषयमा समीक्षा गरिरहेका छौँ ।

त्यही कारण सरकार छोडेर बाहिर आएको घटना पनि त होला ? सत्तामा गएपछि सत्ताप्राप्तिको लागि मात्र रहेको भनेर बुझ्‍न पनि भएन । सरकारमा जाँदा त्यहाँ रहेर पनि माग पूरा गर्नेतर्फ जोड दिएका हुन्छौँ । मुलुकभित्र ध्रुवीकरण हुन लाग्दा हामीले त्यसलाई जोगाउन भूमिका खेलेका छौँ । अहिले पनि अदालतको फैसलाले मुलुकको राजनीतिक अवस्था थप जटिलतातर्फ गएको देखिन्छ । भलै अदालतको फैसला सबैले मान्‍नुको विकल्प छैन । हामी लोकतान्त्रिक पक्षधरमा अडिएकाहरू न्यायालयको आदेशलाई पालना गरेर अघि बढ्नुपर्छ ।

अदालतको फैसलाले जसपा पनि सत्ताको लागि एउटा प्रमुख शक्तिका रूपमा देखिएको छ नि ?
अदालतको फैसलाले मात्र होइन, जसपा नेपालको राजनीतिमा एउटा मुख्य घटक हो । तराईको आम जनताको प्रतिनिधित्व मात्र गर्दैन हिमाल, पहाड र तराई जोड्ने काम पनि जसपाले गर्छ । बाहिर व्याख्या के-के होलान्, त्योसँग हाम्रो सरोकार होइन । हाम्रा मागको विषय अध्ययन गर्नेले यसलाई सजिलै आँकलन गर्न सक्छन् । राजनीतिक ध्रुवीकरण बढेको छ ।

कसैको पनि बहुमत नभएकाले तानातान हुनुलाई सरकारमा रहिरहने र नयाँ जान चाहनेको संघर्ष चलिरहन्छ । तर, मधेसको माग पूरा गराउने सर्तमा हामीले त्यो विषयमा निर्णय गर्ने हो । सरकारमा जानेभन्दा पनि हाम्रो मागको विषयमा छलफल भइरहेको छ । आज संसद् छ, त्यसमा पनि हामीले हाम्रो धारणा राख्‍नेछौँ । यद्यपि संसद्‌मा यसअघि अध्यादेशबाट ल्याइएका विषयमा भने विरोध नै रहन्छ । विरोधको प्रकृति फरक हुनसक्छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x