वार्ता

‘ओलीको विकल्प नखोजे मुलुक थप भड्खारोमा जानेछ’

इकागज |
चैत १, २०७७ आइतवार ९:१३ बजे

यतिखेर जनता समाजवादी पार्टी (जसपा) भित्र अनौपचारिक रूपमा दुई खेमा देखापरेको छ । एक खेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनेतिर छ भने अर्काे चाहिँ जसले पार्टीेको माग पूरा गर्छ उसैसँग सहकार्य गर्ने रणनीतिसहित तीव्रस्तरको वार्तामा छ । जसपा अध्यक्ष उपेन्द्र यादव जसरी पनि ओलीविरुद्ध अर्को गठबन्धन बनाउनुपर्नेमा केन्द्रित छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो चाहिँ नेता/कार्यकर्ताको रिहाइ र पुराना मागहरू पूरा जसले गर्छ उसैसँग सहकार्य गर्ने भन्नेमा छन् । बदलिँदो समीकरणमा केन्द्रित रहेर यादवसँग इकागजले गरेको संक्षिप्त कुराकानी :
 
जसपाको दौडधुप चर्कै देखिन्छ । यहाँहरू अबको समीकरणका लागि यसरी खटिनु भएको त होला ?
सत्ता समीकरणको खेल सुरु भएको छ । यो साँच्चै फोहोरी खेल हो । संसद पुनःस्थापना भएपछि सत्ता समीकरणको परानै खेल हुन्छ भनिरहेकै थिए, फेरि त्यही सुरु भएको छ । त्यसैले सत्तामा कसले नेतृत्व गर्ने वा के गर्ने भन्दा पनि पहिले केपी शर्मा ओलीको विकल्प तयार गर्नुपर्छ । सर्वोच्च अदालतले संविधानको रक्षा गर्दै लोकतन्त्रको पक्षमा फैसला गरिदियो पहिले । तर दोस्रो फैसलाले एक भएको दुई पार्टी नै विभाजित भए । जसले गर्दा यो प्रकारको खेल सुरु भएको छ । त्यसका लागि दौडधुप भन्दा पनि हामी हाम्रा मागहरू सम्बोधन गर्नेगरी सहकार्य गर्नेछौ । जसपा पनि त सत्ता होडमा ओलीको विकल्प हुन सक्छ । अरु जो भए पनि केही छैन, तर ओलीको विकल्प नखोजे मुलुक थप भड्खारोमा जानेछ ।

यहाँहरू सत्तामा जानेभन्दा पनि ओलीलाई च्यूत गराउने मेलोमा लाग्‍नु भएको हो ?
हामी जाने/नजाने पछिका कुरा हुन् । यतिखेर ओलीको मनपरी, बलमिच्याइ, जथाभावी निर्णयको शासन अन्त्य गर्न आवश्यक छ । त्यसका लागि जसपा लागिरहेको छ । यो विषय कांग्रेस-माओवादीले राम्ररी बुझ्नुपर्छ । ओलीको दलभित्रै समस्या रहेको अवस्थामा के मुलुकलाई राहत दिन सक्लान् ? सोचनीय छ । दुई तिहाईको सरकार हुँदा त फुस्सा । अहंमता देखाएर, गफ चुटेर बसेको व्यक्तिले मुलुकलाई कसरी निकास दिन्छन् । अघिल्ला सरकारले अघि बढाएका कामलाई देखाएर जनतालाई कति छक्याउने ? यस्ता व्यक्तिलाई सत्ताबाट बाहिर राख्नुपर्छ । त्यो कामका लागि सहमति पक्कै बन्छ । यसमा माओवादीले के गर्छ भन्‍ने स्पष्ट नहुँदा हामी अलमलिएका हौँ ।


यहाँहरूभित्र पनि त विवाद छ नि होइन र ? एक पक्षले ओलीसँगै अघि बढौँ पनि त भनिरहेका छन् नि ?
विवाद लोकतान्त्रिक दलभित्र स्वभाविक हो । हामीबीच गम्भीर विवाद छैन् । ढुक्क हुनुहोस हामी एक ढिक्का छौँ । सहकार्यको विषयमा सबैसँग छलफल भएको पनि छ । तर, ओलीसँग अघि बढ्ने विषयमा कोही पनि सकारात्मक छैनन्  । यदि कसैले त्यो लेखेको भए झुट हो । किनकि हामी जसरी पनि ओलीलाई नेतृत्वबाट हटाउँनै पर्छ भन्नेमा छौं । यसमा दुईमत छैन । ओलीलाई समर्थन गर्न जानु भनेको हामी सकिनु हो, ओलीका चुरी-फुरी कम भइसकेका छन् । ओरालो लाग्दैछन् । त्यसैले पनि हतास व्यक्तिसँग सहकार्य गर्ने हामी सोच्‍न पनि सक्दैनौं । पार्टीभित्र त्यस्तो कुरा उठेको पनि छैन ।

दुई तिहाइको बहुमत पाएर पनि दल र सरकार चलाउन नसक्नेले निर्वाचन गर्छु दल मिलाएर चलाउँछु भनेर सक्ला ? एक छिन घोत्लिउँ त ?

यहाँहरूले नै नेतृत्व गर्न तयार भन्दै आउनु भएको विषय पनि चर्चामा छ नि ?
सरकारको नेतृत्व गर्ने चाहना कसको हुँदैन होला र ? हाम्रो पनि छ, तर सहमति हुन पर्‍यो नि यस्ता विषयमा । हामी नेतृत्व लिएर मुलुक चलाउन सक्षम छौँ । हामीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुवैसँग परामर्श गरिसकेका छौँ । उहाँहरूसँग हामी सहकार्य गरौं भनेका हौँ । उहाँहरूले दलमा छलफल गरेर निर्णय लिने बताउनु भएको छ । उहाँहरू पनि ओलीको विकल्पमै हुनुहुन्छ । जसरी पनि ओलीलई नेतृत्वबाट झिक्नुपर्र्छ भन्नेमा हुनुहुन्छ । कानुन, विधान अनुशासन केही नभएका व्यक्तिले शासन गर्दा मुलुक के हुन्छ ? सोचनीय छ । यसमा सबै चनाखो हुनुपर्छ । अन्यलाई असहज हुँदा सानो दल रहेको भए पनि हामी नेतृत्व लिन तयार रहेका छौँ ।

यहाँहरूले अल्पमतमा रहेर पनि मुलुकको नेतृत्व खोजिरहनु हास्यास्पद हुँदैन र ?
कसरी हास्यास्पद हुनु ? कांग्रेसको अवस्था हामीले पहिले नै देखिसकेका छौँ । नेकपा भएर (एमाले र माओवादीको) शासन प्रणाली पनि देखियो । हुन त, यसबारेमा जानकार थियौँ नै । तर पनि ठूलो जनमत ल्याएर सरकारमा रहेकाले केही गर्छ कि भन्ने लागेको र  हामी पनि सामेल भएका थियौँ । तर केही गर्न सकेनन् । केपी ओलीको सरकार यतिबेला मुलुकका लागि बोझ मात्रै हो । दुई तिहाइको बहुमत पाएर पनि दल र सरकार चलाउन नसक्नेले निर्वाचन गर्छु दल मिलाएर चलाउँछु भनेर सक्ला ? एक छिन घोत्लिउँ त ? कदापि सक्दैनन् । बरु हामीले पो नेतृत्व लिएर सरकार चलाउनु पर्छ भन्‍ने हो । विगतमा पनि साना दलले सरकार चलाएको अनुभव यहाँ छ ।

कांग्रेस र माओवादीका नेतालाई यो विषयमा कुरा गर्दा के भन्छन् त ?
सबैको चाहना आफ्नो नेतृत्व नै हुन्छ । स्वभाविक रुपमा कांग्रेस एमालेपछि ठूलो दल हुनाले उसले चाह राख्‍न पाउँछ । जुन जायज पनि हो । तर नेतृत्व अर्कोलाई दिएर सत्तामा रहन त सक्छन नि । हामीले यस्ता कुरा राखेका छौं । यहाँहरू नेतृत्व लिन हामी सघाउँछौ भनेका छौ दुवैलाई । तर त्यसमा पार्टीभित्र छलफल गरेर निर्णयमा पुग्ने जवाफ आएको छ । अब जवाफ जे आए पनि कांग्रेस, माओवादी र जसपा मिलेर अघि बढ्नुपर्छ । मुलुकमा विकासको खाका कोर्नुपर्छ । राजनीतिक स्थायित्व कायम राख्नुपर्छ । केपीको विकल्प नखोजी हुँदैन । यसमा गम्भीर भएर लाग्‍नुपर्छ । राजनीतिक दलमात्र होइन बुद्धिजिवी, श्रमजीवी, कलमजीवी सबै यो सरकारको विकल्प खोज्‍न लाग्‍ने पर्ने अवस्था छ । 
 


Author

थप समाचार
x