एसिडपीडित मुस्कान खातुनसँग संवाद
'डराएर हुन्न, समस्यासँग डटेर लड्नुपर्छ'
कानुन बनाएर मात्र हुन्न, त्यसलाई कार्यान्वयन पनि गर्नुपर्छ
मुस्कान खातुन आउदो वैशाखमा १७ वर्ष पुग्दैछिन् । वीरगन्ज-२ छपकैयामा छिमेकी दुई युवकहरूले २०७६ भदौ २० गते उनीमाथि एसिड प्रहार गरेका थिए ।अहिले उपचार गराएर मुस्कान सामान्य जीवनमा फर्किसकेकी छिन् । एसिड आक्रमण गर्ने अपराधीमाथि कानुन बनाएरै कारबाही गर्न सार्वजनिक दबाब सिर्जना भएपछि पूर्ववर्ती सरकारले अध्यादेश ल्यायो । संसद्मा विधेयक समेत दर्ता गर्यो । अध्यादेशमार्फत कानुन पनि ल्यायो तर, अहिलेसम्म संसदबाट पास हुन सकेको छैन । कानुन अनुमाेदन नहुँदा पीडकमाथि कठाेर सजाय गर्न सकेकव छैन । यसै सन्दर्भमा एसिडपीडित खातुनसँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानी:
पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
बालबालिकाहरूमाथि हुने गरेका घट्नालाई न्यूनीकरण गर्न विभिन्न चेतनामूलक कार्यक्रममा सहभागी भइरहेको छु । चेतनामूलक कार्यक्रम पनि आफैँ सञ्चालन गर्ने गरेको छु । तेजाब आक्रमणसम्बन्धी अध्यादेशमार्फत कानुन बनेको छ । चेतना फैलाउने काममा व्यस्त रहेको छु ।
एसिड पीडितको लागि भनेर सरकारले अध्यादेश ल्याइसकेको छ । तर, संसदबाट पास हुन सकेको छैन । यसलाई कसरी हेरिरहनु भएको छ ?
सरकारले अध्यादेश बनाइसकेको र त्यसलाई संसदमा पेश गरिसकेको छ । सरकार परिवर्तन हुँदा समयमा पास हुन नसकेको जस्तो छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको थियो । यद्यपि शेरबहादुर देउवा पनि अध्यादेश पास गर्ने विषयमा गम्भीर हुनुहुन्छ जस्तो लाग्छ । कानुन सबैको लागि जरुरी छ, गम्भीर विषयका कानुनहरूलाई सबै मिलेर चाँडै ल्याएको भए झन राम्रो हुन्थ्यो ।
सरकारले दर्ता गरेकाे विधेयक संसद्ले पास नगर्दा कस्तो लाग्छ ?
नेपालमा एक त कानुन बन्न नै ढिलाइ हुन्छ । बनेका कानुन कार्यान्वय हुँदैनन् । यस्ता कानुनहरू कार्यान्वयन नहुँदा अनौठो मान्नुपर्दैन । यसअघिका प्रधानमन्त्री केपी ओली र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा दुवै जनाको कारणले गर्दा संसदबाट पास गर्न ढिलाइ भएको छ । आफूलाई परेपछि मानिसले भोग्छन्, नपरी भोग्दैनन् । तर, ढिलो चाँडो पास हुन्छ । मेराे कामना छ, प्रभावकारी कार्यान्वयन हाेस् ।
सरकारले दर्ता गरेकाे विधेयक संसद्बाट अनुमाेदनमा झन-झन ढिलो गर्दा तपाईंले जस्तो मानिसलाई झन् पीडा हुन्न र ?
अस्पतालको शैय्यामा रहँदादेखि मैले गम्भीर कानुनका लागि आवाज उठाउँदै आइरहेको थिए । अध्यादेश ल्याए पनि जनताको मतबाट चुनिएर आएका प्रतिनिधिले अहिलेसम्म पास गर्न नसक्दा दुःख लागिरहेको छ ।
सरकारले केही समयअगाडि आर्थिक सहयोग पनि गरेको थियो । विभिन्न संघ संस्थाहरूले गरेका सहयोगहरू के-के मा खर्च गर्नुभयो ?
सरकारले तीन लाख रुपैयाँ सहयोग गरेको थियो । मेरो जीवनलाई सहज बनाउन सहयोग पाएँ । मेरो उपचारमा र पढाइमा लगानी गरेको छु । म जस्ता पीडित मानिसहरूलाई मेरो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको छु ।
केपी ओली सरकारमा हुँदा एसिड पीडितहरूलाई उपचारमा सहयोग गर्ने प्रतिबद्धता आएकाे थियाे, अहिले एमालेले नै संसद् अवराेध गर्दा विधेयक छलफलमा आउन सकिरहेकाे छैन। तपाईँहरूको उपचारको निम्ति कस्तो खालको सहयोग पाइरहनु भएको छ ?
शल्यक्रिया निशुल्क गरिएको छ । उपचार गर्दा लाग्ने अन्य खर्चमा सरकारले हात बढाउन सकेको छैन । उपचारका लागि औषधि खरिद एकदमै मँहगो छ । सबै निशुल्क भनिए पनि पाउनुपर्ने सुविधा पाउन सकिएको छैन । सरकारबाट औषधि खरिदको लागि कुनै सहयोग पाउन सकेका छैनौ ।
त्यसो भए तपाईहरूको मागप्रति सरकार गम्भीर भएन ?
अहिलेसम्म उपचारको लागि सहयोग पाएका छैनौँ । औषधि उपचारको लागि भने सरकारले अहिलेसम्म दिएको छैन । पुनः भेटघाटको लागि सरकारसँग माग गरिरहेका छौँ ।
अहिले तपाईंको उपचारमा कति खर्च लाग्ने गरेको छ ?
सातामा मेरो उपचारको लागि मात्र छ देखि सात हजार रुपैयाँ लाग्ने गरेको छ ।
तपाईंलाई पीडकहरूले समय-सयमा धम्की दिने कुराहरू बाहिर आइरहन्थ्यो । अहिले त्यस्तो धम्की दिने गरेका छन् कि छैनन् ?
मलाई त्यसरी कसैले त्रासमा र धम्की दिने काम गरेका छैनन् ।
पीडकहरूले सजाय पाइरहेका छन् वा उन्मुक्ति ?
मलाई यस्तो अवस्थामा ल्याइ पुर्याउनेलाई कानुनले सजाय दिइरहेको छ । दुई जनामध्ये एक जनाले कम सजाय पाएकाले पुनः मुद्दा प्रक्रिया अगाडि बढाउन लागेको छु । पहिलेको कानुन अनुसार कम सजाय भएको थियो । उनीहरूले नक्कली जन्मदर्ता बनाएर पेश गरेका थिए । कम उमेर भएकाले पनि पीडकलाई कम सजाय सुनाइएको थियो ।
हाल कहाँ बसेर अध्ययन गरिरहनु भएको छ ?
काठमाडौँमा बस्ने गरेका छौँ । यहीँ बसेर पढाइको कामलाई निरन्तरता दिइरहेको छु ।
तपाईंको शिक्षा कहासम्म पुग्यो ?
निरन्तर रुपमा मेरो पढाइ चलिरहेको छु । जस्तो कठिन अवस्था आए पनि पढाइ छाड्नु हुन्न भनेर छाडिनँ । काठमाडौँ बसेर नै कक्षा १० मा अध्ययन गरिरहेको छु ।
आफ्नो गृह जिल्ला जानलाई तपाईंलाई कतिको सहज छ ?
जाने आउने गरिरहेको छु । मेरो लागि कुनै पनि असहज अवस्था छैन । अध्ययनका लागि काठमाडौँ बसिरहेको अवस्था छ ।
जिल्ला नगएको कति समय भयो ?
वर्षमा एक-दुई पटक गइरहन्छु । चाडपर्वको समयमा जानेको गरेको छु ।
गाउँ जाँदा तपाईंलाई चिनेका मानिसहरूले के भन्नुहुन्छ ?
जिल्ला पुग्दादेखि सबैले मलाई राम्रो भन्नुहुन्छ । हौसला प्रदान गर्नुहुन्छ । गाउँमा कसैले पनि केही भन्दैनन् ।
तपाईंलाई भेट्ने मानिसले कस्तो प्रतिक्रिया जनाउनु हुन्छ ?
तिमीलाई ठूलो पीडा परे पनि सामान्य भएर आफ्नो आवाज उठाउने गरेको छौ भन्नुहुन्छ । हौसला प्रदान गरेर मलाई झन ठूलो उर्जा प्राप्त भएको छ ।
तपाईंले भोगे जस्तो घटनाहरू नियन्त्रण गर्नका लागि के गर्नुपर्छ ?
कानुन बनाएर मात्र हुन्न । समाजमा भएका यस्ता कुरीति घटनाहरूलाई न्यूनीकरण गर्न सचेतना फैलाउनुपर्छ । कानुन आएपछि त्यसलाई कार्यान्वय पनि गर्नुपर्छ । कार्यान्वय भएन भने कानुन बनाएर मात्र केही हुँदैन । समाजमा घट्ना कम भएको छैनन् । छोरीचेलीहरूलाई आत्मरक्षाको निम्ती तालिम प्रदान गर्नुपर्छ ।
यस्ता घटनाबाट सुरक्षित रहन के गर्नुपर्ला ? पीडित महिलाहरूलाई केही भन्न चाहनुहुन्छ ?
सधैँभरी डराएर बस्यो भने कोठाको कोठामा रहन सकिन्छ । डराएर मात्र हुन्न तर पनि समस्यासँग डटेर हिँड्नुपर्छ । घटनालाई मात्र सम्झेर बसिरह्यो भने मानिसहरू कहिले पनि अगाडि बढ्न सक्दैनन् । हामी छोरी चेलीहरू कोही पनि सुरक्षित छैनौँ । आफैँ सुरक्षित भएर अगाडि बढ्नुपर्छ । जहाँ समस्या हुन्छ त्यस्ता ठाउँमा जाने गरेको छु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया