जसरी मन्दिर जोगाउँदै ‘विकास’ गर्नुहुन्छ नि, खुवालुङ पनि जोगाउनुस्
हाम्रा पुर्खाको विकासक्रम हेर्ने हो भने, यसको विकास ह्वाङ्हो (मुन्दुमी भाषामा नियामा) नदीबाट सुरु भएको मानिन्छ । त्यसपछि हाम्रा पुर्खा ह्वाङ्हो नदीबाट बसाई सर्दै गए । त्यतिबेला सभ्यता त नदीको तटमै हुन्थ्यो । नदीको किनारै किनार हाम्रा पुर्खा ह्वाङ्होबाट ब्रह्मपुत्र पछ्याउँदै गंगा नदीसम्म पुगे । तर खाली किनार भेट्न सकेनन्, जहाँ सभ्यताको विकास गर्न सकियोस्, जीवन यापनका आधार नभेटिएपछि उनीहरू फेरि किनारै किनार फर्किए ।
त्यतिबेला सप्तकोशी नदी सिधै गंगासँग मिसिएको थिएन । ब्रह्मपुत्रमा मिसिन्थ्यो । भूगर्भविद्ले पनि यसलाई पुष्टि गरिसकेका छन् । त्यसपछि ब्रह्मपुत्रबाट नदी पछ्याउँदै फेरि पुर्खाहरू सप्तकोशी आइपुगे । आउने क्रममा जहाँ अरुण, तमोर र दूधकोशी मिसिएको थियो, त्यहाँबाट भने अगाडि बढ्न सकेनन् । जति अघि बढ्न खोज्थे, त्यति नै रोकिन्थे । निकै प्रयास गर्दा पनि अगाडि बढ्न नसकेपछि उनीहरूले त्यहाँ के रहेछ भनी खोजी गर्न थाले ।
त्यसपछि त्यहाँ ढुंगा भेटियो । त्यो ढुंगा थियो, खुवालुङ । हाम्रो भाषामा ‘खु’ भनेको ‘खोला वा नदी’ हो । ‘वा’ भनेको ‘पानी’ र ‘लुङ’ भनेको ‘ढुंगा’ । अर्थात् ‘खुवालुङ’को अर्थ हुन्छ, नदीको पानीमा अवस्थित ढुंगा । मुन्दुममा पनि यही उल्लेख छ । यो ठाउँबाट अगाडि बढ्न नसकेपछि उनीहरूले यहाँ पक्कै ‘दैवी शक्ति’ हुनुपर्छ भनेर पूजाआजा गर्न थाले । नुवाइधुवाई गरी त्यही क्षेत्रमा पाइने केकीचरी (जुरेली चरी), वन तरुल चढाएर आराधना गरे । त्यसपछि बल्ल उनीहरू अघि बढ्न सकेको प्रसंग मुन्दुममा उल्लेख छ ।
पूजाआराधनापछि अघि बढ्ने क्रममा एक भाइ अरुण पछ्याउँदै गए, एक भाइ तमोर पछ्याउँदै गए, एक भाइ दूधकोशी पछ्याउँदै गए । दूधकोशी पछ्याउँदै जानेहरूको सन्तान सुनुवार, थामी, जिरेल लगायत भए । अरुण पछ्याउँदै जानेहरू बान्तवा, याम्फु, लोहरूङ, याक्खा भए । तमोर पछ्याउँदै जानेहरू लिम्बुका विभिन्न थर भए भन्ने मुन्दुममा आउँछ ।
यसरी मिथकका रुपमा आउने उक्त ढुंगालाई वर्षौँदेखि किरातीहरूले शक्तिको केन्द्रका रूपमा पूज्दै आएका छन् । अहिले पनि होमे, फेदाङ्वा लगायत धामीहरू पितृथलोबाट गाउँदै नाच्दै यो ठाउँमा आउने गर्छन् । यहाँ आई मुन्दुममा गाउँछन् । खुवालुङमा एकछिन आराम गर्छन् । खुवालुङमा आई नाच्ने नाच अन्य समयमा नाच्ने नाच भन्दा फरक हुन्छ । जान्ने मानिसले धामी खुवालुङ आइपुगेछ भनेर बुझ्छ । धामीहरू वर्षको एकपटक यहाँ आउनैपर्छ । किनकि, यो शक्तिको केन्द्र हो । त्यहाँ आएर शक्ति आर्जन गर्ने र धामी कर्म गर्ने गर्छ ।
यो नाच अहिले पनि जारी छ । माघे संक्रान्तिमा पूजाआजा हुन्छ । म आफू स्वयम् पनि यहाँ पूजा गर्छु । किरात धर्मसंघ नेपालको पूजारी हुँ । तीन वर्षदेखि निरन्तर नित्य पूजा मैले नै गर्नुपर्छ । यो ठूलो शक्तिको केन्द्र हो । यो ढुंगा निकाल्ने कुरा सम्भव छैन । दुई कारणले गर्दा सम्भव छैन । सुरुमा त खुवालुङ न मैले स्थापना गरेको, न मेरो बुवाले स्थापना गरेको । त्यो त स्वतः स्थापित चिज हो । शक्ति हो । त्यसलाई सार्ने हाम्रो बुताको कुरा होइन ।
कुनै ठाउँमा आफ्नो परम्परा मनाउन समुदाय मिलेर मन्दिर बनायौँ र पछि त्यहाँ विकास योजना आयो, बाटो बनाउनुपर्ने भयो भनेर मन्दिर भत्काए जस्तो हो र ? हामीले नै बनाएको चिज त हत्तपत्त भत्काउन हुन्न । आस्था जोडिएको हुन्छ । खुवालुङ त हामीले स्थापना गरेको होइन नि । त्यसैले यसलाई सार्ने भन्ने कुरा एकदमै गलत कुरा हो । ल त्यो ढुंगा सारिएला, तर शक्ति त सर्दैन नि त । त्यो शक्ति सार्न सक्ने शक्ति हामीमा हुँदैन । शक्ति पनि कसैले सारिदिन्छु भन्छ भने त्यो स्वीकार्य हुन्छ । तर त्यो ढुंगा सग्लै निकाल्ने कसको क्षमता ? अब त्यो सार्दिन्छु भन्ने नाममा फुटाए को जिम्मेवार हुने ? त्यो ढुंगा ३५ सय टनको छ । अनि ८/१० किलो मात्रै ढुंगा हामीलाई खुवालुङ भनेर दियो भने त्यो मान्य हुँदैन । त्यसकारणले सार्दिन्छु भनेर विकल्पको नाममा हुनै सक्दैन ।
र अर्काे खुवालुङको अर्थले पनि यसलाई सार्न रोक्छ । खुवालुङ भनेकै नदीको पानीमा अवस्थित ढुंगा हो । त्यसैले सार्ने भए पनि त्यो पानीमै राख्नुपर्यो । पाखामा राखेर भएन । त्यसरी मनपरी ठाउँमा राखे, खुवालुङको अर्थ नै मिल्दैन । पानीमा पनि जता पायो त्यता राखेर हुँदैन । अरुण, तमोर र दूधकोशीको संगमस्थलमै राख्नुपर्छ । कसैले त्यो ढुंगा सारेर राख्ने ठाउँमा अरुण, तमोर र दूधकोशी ल्याएर संगम बनाइदिन्छ र पानीमै राखिदिन्छ भने हामीलाई स्वीकार्य हुन्छ । होइन भने, सार्दिने नाममा सुगम धरानतिर किरातीको बाहुल्य छ भनेर सार्दिन मिल्दैन । मुन्दुमले पनि मान्दैन ।
हतुवागढी गाउँपालिकाको अध्यक्ष प्रेम राईसँग हाम्रो भेट भयो । उहाँ स्वयम् पानीजहाज मन्त्रालयमा जानुभएको रहेछ । त्यहाँ हतुवागढी, बराहक्षेत्र, सहिदभूमि र बेलका लगायत चारवटा गाउँपालिकाको अध्यक्ष गएका रहेछन् । त्यहाँबाट पानी जहाज चलाउन १६ लाख रुपैयाँ बजेट आएको र प्रदेश सरकारबाट २५ लाख बजेट आएको छ । ४१ लाख बजेट आएको हाम्रो जानकारीमा छ ।
ढुंगा फुटाउन बनेको सप्तकोशी जलमार्ग उपभोक्ता समितिका अध्यक्ष विशाल राईले एक कार्यक्रममा बजेट छुट्याएको छैन भने । तर केही दिन अघि उनैले खुवालुङ फुटाउन बजेट आएको छ, हाम्रो बजेट फ्रिज हुन दिनुहुँदैन भनेर सुनाएका थिए । अब के पत्याउने, के नपत्याउने ?
अहिले खुवालुङमात्रै जान दैनिक जेट बोट (डुंगा) ले कमसेकम ५०/१०० जना ओसार्छ । यस्तो विकास भइरहेको छ । त्यहाँका स्थानीयले १२ महिना पारवहनको सुविधा त पाउनुपर्यो नि । खुवालुङलाई धार्मिक केन्द्र बनायो भने त्यहाँ राम्रो बाटो बन्छ । गाउँका मानिसले सुविधा पाउँछन् । हामीलाई विकास विरोधी भन्छन् । तर हामी विकास विरोधी होइनौं । हाम्रो आस्था नभत्काउन आग्रह गरेका हो ।
(संयोजक, किरात धर्म संघ नेपाल, मुन्दुम परिषद्, वराह क्षेत्र सुनसरी ।) कुराकानी : सुनीता साखकर्मी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया