वार्ता

दाहालले पूर्वएमालेभित्रका अन्तरविरोधमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्‍नुभयो

इकागज |
चैत ५, २०७७ बिहीबार १६:८ बजे

‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यशैली र महत्वकांक्षाका कारण एमालेभित्र भद्रगोल स्थिति उत्पन्‍न भएको जिकीर गर्छन्’ नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेल । पार्टी अध्यक्ष एवं महासचिवले गुट भेला नगर्न भन्दा भन्दै एमालेका मित्रहरू दाहालले फालेको जालझेलको पछि लागेर आफ्नो समस्या निम्तिएको टिप्पणी उनको छ । ‘भद्रगोलमा गोल’ गर्ने अर्थात् समस्याको चाङमा टेकेर टाउकोमा हान्‍न अभ्यस्त दाहालले एमालेभित्रको अन्तरविरोध खेलेको आरोप उनको छ । पछिल्लो राजनीतिक परिवेशमा नेकपाभित्रको अन्तरकलह र निकासको विषयमा अडेर इकागजले पोखरेलसँग गरेको संवाद :

अदालतको पछिल्लो फैसलापछि नेकपा एमालेभित्र देखा परेको अवस्था के हो, प्रष्ट पारिदिुनु न ? 


यो विषयमा केही पुष्टि गरिरहनु पर्ने देख्दिनँ । सबै कुरा बाहिर आइसकेका छन् । यद्यपि समस्याका दुई पाटा छन् । पहिलो पाटो, विगतमा नेकपा एमाले र माओवादी केन्द्रबीच जुन किसिमले पार्टी एकीकरण भएको थियो, त्यही अडेर नियाल्ने हो भने अत्यन्तै राम्रो थियो । किनभने जनता र कार्यकर्ताले चाहेको, राष्ट्रिय आवश्यकता पनि त्यही हो । राजनीनिक स्थायित्वका लागि त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्‍ने हाम्रो अनुमान थियो । अर्को पाटो हेर्दा विचार, संगठनलाई व्यवस्थित गर्ने काम अलिकति मात्रै भएको थियो । नेतृत्वको मामिलामा व्यवस्थित गर्ने काम कत्ति पनि हुन सकेको थिएन । त्यहीबाट यस्तो अवस्था आयो । हुन पनि पार्टी एकीकरण गर्ने सन्र्दभमा जुन नेतृत्व केन्द्रहरु थिए । ती केन्द्रहरुमा रहेका आग्रह हाबी भए । त्यो आग्रहहरु हाबी भएका कारणले त्यो महान र पवित्र एकता परिपक्को हुन नपाएपनि अघि भने बढेको थियो । बीचमै त्यसभित्र गुटबन्दी हुन थाल्यो, त्यो पनि तलदेखि माथिसम्म  । अन्तरविरोधहरु पनि चलायमान भइरहे । अन्तरविरोधमाथि बसेर खेल्न माहिरहरुले खेले अनि यस्तो अवस्था आयो । 

यहाँले एकातर्फमात्र इंगित गर्न खोज्‍नुभयो, दुवै पक्षको कमजोरीका कारण नै यो अवस्था आएको होइन र ?

कमीकमजोरी दुवैतिर होला । तर खेलेको कताबाट छ, त्यो त छर्लंगै छ नि होइन र ? पूर्व एमालेभित्रको अन्तरसंर्घषमा खेल्नेबाहेक अरु केही सहयोग भयो र ? नेकपा एक हुँदाको समयलाई राम्ररी समीक्षा गरौँ न । हुन तm विगतमा जो जसले कमीकमजोरी गरेको भए पनि त्यसमा आत्मसमीक्षा गरेर अघि बढ्नुपर्छ । आत्मसमीक्षा गर्दै भएका कमीकमजोरीलाई आत्मसात् गर्दा कोही पनि सानो हुँदैनौ । र, कमजोर पनि भइँदैन । झन् त्यसले शक्ति प्राप्त हुनेछ । म सबै साथीहरूलाई के भन्‍न चाहन्छु, भने आज यतिबेला नेकपा एमालेको नाममा जे जस्ता कुराहरु भइरहेका छन् । त्यो बडो दुःखद छन् । यसैले हामीले पहिलेको विषय भन्दा अब कसरी अघि बढ्ने भन्‍ने मा अडिन आवश्यक छ । कसरी अन्यले खेल्छन् भन्‍ने विषयमा अडिएर पाठ सिक्न जरुरी छ । 

पाठ सिक्ने कुरा गर्दै फेरि यहाँले एकथरि गलत र अर्को थरि मात्र सही भन्‍न खोज्‍नुभयो नि ? 

यो गल्ती कमजोरीको विषयमात्र होइन । सापेक्षतामा गएर यो बुझ्न आवश्यक छ । दुवै पक्षबाट कमीकमजोरी भएका हुन सक्छन् । कसैबाट धेरै कसैबाट थोरै कमजोरी भएका हुन सक्छन् । तर गम्भीर कमजोरी के हुन् भनेर बुझ्नुपर्छ । गम्भीर कमजोरी भएपनि त्यो नेकपा एमालेभित्रकै साथीहरुबाट भएका हुन् । त्यसलाई सच्याउने आँट गर्नुपर्छ । त्यो साहस हामीले गर्नैपर्छ । के गर्न हुने र के गर्न नहुने भन्‍ने त केही आधारभूत सीमा रेखाहरु त हुन्छन् नि । जस्तो पार्टी अध्यक्ष निर्वाचित भएर केपी शर्मा ओली आउनुभयो । माओवादी अध्यक्षको नाताले एकिकृत पार्टीको अध्यक्षको रुपमा पुष्पकमल दाहाल आउनुभयो । दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले गर्‍यौँ ।

अब अचम्म कुरा के हो भने महाधिवेशन चैतमा गर्ने भनेको छ । छिटै गर्ने हो भने विशेष महाधिवेशन फागुनमै गरौँ भनिएकै हो । त्यो भन्दा अझै छिटो हो भने माघमै गरौं । अध्यक्ष केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिन भनिसक्नु भएको थियो, महाधिवेशनको तयारी गरौं । अनि त्यसो नगरीकन बीचमै अध्यक्ष हट्नुपर्छ भनेर धक्का मारेर हटाउने खालको कुरा हुँदा कस्तो देखिएको होला । यो आफैँ स्पष्ट राखौँ । यसका कसको र कुन खालको गल्ती ? 

अब कसरी समाधान गर्नुहुन्छ ?

अबको समाधान भनेको जुन उचाईमा पुग्दा चुनौति आए, त्यहीबाट चुनौतीको सामना गर्ने सामथ्र्य पनि हामीले आर्जन गर्नुपर्छ । भावनात्मक आधारबाट मात्र त्यो सम्भव छ । राष्ट्र र जनताको आवश्यकता भनेको कम्युनिस्ट पार्टीको एकबद्धता हो, त्यसमा हामी लाग्नुपर्ने हुन्छ । जनता र कार्यकर्ताले मन नपराउने कुराहरू भइरहेका छन् । अब, त्यो रोकिनुपर्छ र नयाँस्तरमा एकताका लागि पहल र प्रयत्न हुनुपर्छ । पार्टीलाई पनि नयाँ ढंगले निर्माण गरेर अगाडि बढाउन आवश्यक छ । 

एउटा पार्टीको दुईवटा समूहले आ-आफूलाई वैधानिक भनिरहेका बेला आमजनताले कसलाई के हेरेर सही मूल्यांकन गर्ने ?

मुलुकभरि पार्टी कार्यकर्ताले यी विगतमा भएका कामहरुलाई कसरी मूल्यांकन गर्ने ? यो आज वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ । आत्मालोचना गरिरहनुपर्छ भनिरहँदा यी विगतका काम हेर्न जरुरी छ । निर्वाचनमा विजयी हासिल गर्न हामीले बाम गठबन्धन बनायौँ । त्यसबेला हामीले तत्कालीन नेकपा एमालेको तर्फबाट र माओवादी केन्द्रको तर्फबाट पनि प्रधानमन्त्री केपी ओली भनेरै लडियो । अनेक कारणले ओलीको प्रतिष्ठा र लोकप्रियताको कुरा थियो । त्यसैले पनि विजय हासिल गरियो । संसदीय दलको नेता सर्वसम्मत् हुँदै प्रधानमन्त्री बन्‍नुभयो । दुई वर्ष बित्‍न पाएको छैन बीचैमा प्रधानमन्त्री छाड्नुपर्छ भनेर धक्का मारेर हटाउने हर्कत् भए, यो बद्नियतपूर्ण कुरा होइन र ?

वरिष्ठ नेता माधव नेपाल पक्षले त नेपाल कम्युनिष्ट पार्टी माओवादीको एकता विथोल्ने काम पनि प्रधानमन्त्री ओलीबाट भएको दावीलाई कसरी लिनु भएको छ? 

कात्तिक २८ मा एउटा अध्यक्ष दाहालको तर्फबाट अर्को अध्यक्ष ओलीलाई अभियोग लगाइयो । त्यो अभियोग अत्यन्तै संगीन थियो । त्यो अभियोगले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन मात्रै नालायक होइन कि ओली, पार्टी सदस्य पनि रहन नसक्ने स्थिति बनाइयो । त्यत्तिमात्रै होइन फोजदारी अभियोग लगाएर दण्डित गर्नुपर्ने खालका अभियोग, एउटा संगीन अभियोग लगाइसकेपछि एकताको जग कसरी कायम रहन सक्थ्यो ? त्यो जग कसरी टिक्न सक्थ्यो ?

त्यस्तो बेलामा प्रधानमन्त्री पार्टी अध्यक्ष केपी ओलीले आफै खुमलटारमा गएर दाहालाई त्यो अभियोग फिर्ता लिन आग्रह गर्दै त्यो स्वीकार आफूले गरेको समेत गरे । आधा शताब्दीको उहाँको राजनीतिक जीवनमाथि धावा बोलेपछि ओलीले प्रतिवाद गर्दै जनतामा जाने निर्णय लिनु भएको हो । त्यसलाई गम्भीरताका साथमा लिइएन । कुरो के हो भने दाहालले पूर्व एमालेभित्रका अन्तरविरोधमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्‍नुभयो । पूर्व एमालेभित्र अन्तरविरोधहरु थिए, त्यही अन्तरविरोधलाई प्रयोग गरेर दाहालले राजनीतिक गर्दा यो अवस्था आएको हो । अन्तरविरोधहरुलाई दाहालजीको सेक-ताप गरी हाम्रा साथीहरु पनि अगाडि बढ्न खोज्‍नुभयो जुन सहज थिए ।

विरोध छलफल र अहिले त पार्टी नै दुई वटा भए अब कसरी अघि बढ्नु हुन्छ ?

हिजो नेकपा भएको कालमा जे सुकै भएको होस् । अब त २०७५ जेठ २ गतेको अवस्थामा हामी आइपुग्यौँ । अर्थात् माओवादी केन्द्र आफ्नो हिसाबले अगाडि बढ्ने भयो र नेकपा एमाले आफ्नो ढंगले । त्यो पूर्व अवस्थामा आइसकेपछि अब नेकपा एमालेलाई सुदृढ गरेर अघि बढ्नुपर्छ । त्यही आधारमा अघि बढ्ने हो । जुन स्पष्ट नै छ । 

तर, यहाँहरुबीच नै चरम झगडा छ कसरी अघि बढ्नु हुन्छ र ? 

पार्टीभित्र देखिएको समस्या धेरै ठूला हुन जस्तो लाग्दैन । तनावका साथ छलफल गर्नुपर्ने विषय नै हो जस्तो पनि लाग्दैन । घरमा नै श्रीमान श्रीमतीबीच समस्या हुँदा पनि सल्लाह गरेर छुट्टिन सक्ने अवस्था छ । यस्तो समयमा झगडा नगरी वैधानिक तवरले पनि छुट्टिन सक्छौँ । तर राजनीति यही समाजमा गर्ने हो । हाम्रा योग्यता र अयोग्यता यही समाजका मानिसहरुले मूल्यांकन गर्ने हो । हामी बसेर छलफल गरौँ । मिलेर जाँदा राम्रो हुन्छ कि फुटेर । अब हेरौं कसरी जान्छ ? म महासचिवको नाताले भन्दा फुटेर होइन आ-आफ्ना कमजोरी राख्दै मिलेर अघि बढ्न सके राम्रो हुने सुझाव दिन चाहन्छु । कमीकमजोरीहरु सच्याउने, आत्मसमीक्षा गर्ने, यसलाई जीत र हारको विषय नबनाई अघि बढ्ने स्थान छन् नि । गल्ती-कमजोरीको नोक्सानी हामी सबैले बेहोर्नुपर्ने हो । लाभका अंसियार पनि हामी आफैँ हौँ । कुनै तनावमा ‘इरिटेसन’मा र कुण्ठा पालेर, द्वेषभावका साथ प्रस्तुत नभइकन लागेका कुरा खुलस्त भन्‍नुपर्छ । त्यो भन्दा फरक ढंगले जानुहुदैन । 

यहाँहरूको अडानले कार्यकर्तालाई असहज हुँदैन र ? 

नेकपा एमाले अनेकन उतार चढाव व्यहोरेको पार्टी हो । हामीसँग एकता, फुट अनि जुटका पनि अनुभव छन् । एकताको सुखद दिनसँगै फुटको दुःख पनि झेलिसकेका छौँ । यस्तो अप्ठ्यारो अवस्थामा धैर्यता राखेर अघि बढ्ने हो । पार्टी आन्दोलनलाई अगाडि बढाउने विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने जरुरत छ । आज नेकपा एमालेको जीवनमा देखापरेको यो कुराले हामीलाई यो पार्टीको नेतृत्वमा अगाडि बढेको आन्दोलनलाई कसरी अगाडि बढाउने, यसमा आधारित भएर पार्टीलाई कसरी अगाडि बढाउने ? हाम्रो पार्टीको राजनीतिक कार्यदिशा र पार्टी निर्माणको दिशा के हो ? त्यसमा केन्द्रित भएर बहस छलफल केन्द्रित गर्न आवश्यक छ । 

नेकपा एमाले महासचिवको हैसियतमा एमालेभित्र देखिएको अन्तरसंघर्षको निकास बताइदिनुस् न त ? 

यतिबेला हामी उत्तेजना र आवेशमा होइन संयमताका साथ एकले अर्कालाई सम्मान गर्दै हामी अगाडि बढ्नुपर्छ । र विगतका अनुभवहरूलाई हामीले स्मरण गर्न आवश्यक छ । पार्टी एकता सबैभन्दा ठूलो चीज हो । एकतामा आँच नपुगोस् भन्‍न हामी सबैले संयमता धैर्यताका साथ अघि बढेर, अब नयाँ ढंगले पार्टी आन्दोलनलाई कसरी अगाडि बढाउने, यो चुनौतिलाई कसरी सामना गर्ने भन्‍ने बारेमा सोच्नुपर्छ । सबै साथीहरुलाई म भन्‍न चाहन्छु, चुनौतिका गर्भभित्र अवसरहरु पनि लुकेका हुन्छन् । त्यो अवसरलाई चिर्नुपर्छ । त्यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने काम गर्नुपर्छ । 

(साथमा न्यूज एजेन्सी नेपाल)


Author

थप समाचार
x