वार्ता

‘सबैले कुनै न कुनै सीमा नाघेकै हो’

इकागज |
चैत ८, २०७७ आइतबार १५:२९ बजे

केही दिन अघिसम्म नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका चर्का विरोधी थिए, कृष्णभक्त पोखरेल । तर, माधवकुमार नेपाल समूहका प्रभावशाली सांसदमध्येका एक उनी शनिबार अचानक बालुवाटार देखिए । ओली समूहले आयोजना गरेको संसदीय दलको बैठकमा पोखरेलले अब आफू मूलधारमा रहेको घोषणा गरे । संसद्को कानून, न्याय तथा मानव अधिकार समितिका सभापतिसमेत रहेका पोखरेल प्रतिनिधि सभा विघटनपछि ओलीको विरोधीका रुपमा चिनिएका थिए । प्रधानमन्त्री ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा बहससमेत गरेका उनी अन्ततः ओलीकै समूहमा सम्मिलित भएका छन् ।

प्रस्तुत छ- तिनै पोखरेलसँग यही विषयमा केन्द्रीत रहेर इकागजले गरेको संछिप्त कुराकानी : 


तपाईं पछिल्लो समय प्रधानमन्त्री ओलीको प्रखर विरोधी हुनुहुन्थ्यो, तर अचानक ओली समूहतिर होमिनुभयो, के परिस्थिति आइलाग्यो त्यस्तो जसले समूह परिवर्तन गर्न प्रेरित गर्‍यो ? 

एउटा त नेकपा एमाले भइसकेपछि एमालेको मूल नेतृत्वलाई सहयोग नगरेर अरु समानान्तर गतिविधि गर्दा पार्टी निर्माण हुन सक्दैन । दोस्रो, संसदीय दलको बैठक बहिष्कार गर्ने, पार्टी केन्द्रीय कमिटीको बैठक बहिष्कार गर्ने काम हुनुहुँदैनथ्यो । तिनै बैठकभित्र परेर संघर्षका कुराहरू गर्नुपर्छ । तर, जसलाई मैले आस्थाको धरोहर मानेको थिए उहाँहरू समानान्तर गतिविधि गर्ने र बैठकमा नजाने कुरा मलाई चित्त बुझेन । अब तेस्रो, कार्यकर्ता पंक्ति एकदमै विचलित छ । जहाँ सूर्य छ, जहाँ एमाले छ, त्यहाँ छिटोभन्दा छिटो काममा जुट्नुपर्ने अवस्था छ । नेपाली कांग्रेस लगायतका पार्टीहरू जुटिसकेका छन् । अब यस्तो अवस्थामा तलको कामको व्यवस्थापन गर्न पनि मूल प्रवाह जहाँ छ त्यहाँभन्दा बाहिर गएर पनि हुँदैन । त्यसकारण मूल प्रवाहमा रहेर आफ्नो काममा जुट्न पनि मूल संस्थामै रहनुपर्ने भएकाले म यता आएको हुँ ।

केहीदिन अघिसम्म तपाईं आफैले पनि प्रधानमन्त्री ओलीलाई नैतिकता हराएको राजनीतिज्ञ मान्नुहुन्थ्यो । यही आधारमा उहाँले राजीनामा दिनुपर्ने विचार राख्नुहुन्थ्यो । तर, उनै ओलीको समूहमा जानुभयो । यसले तपाईंकै नैतिकतामा प्रश्न उठेन र ? 

यो विषयमा प्रधानमन्त्री आफैले मैले संविधानभन्दा बाहिर गएर संसद् विघटन गरे भनी सरकार छाड्ने दायित्व उहाँको हो । तर, पार्टीले के ग¥यो भन्दाखेरी होइन तपाईंले नै दुई वर्ष ‘लिड’ गरेर जानुपर्छ भनिसकेपछि त प्रधानमन्त्री पनि पार्टीको निर्णयभन्दा बाहिर त जान सक्नुहुन्न नि । उहाँको नेतृत्वलाई ‘कन्टिन्युटी’ गर्ने पक्षमा पार्टी गयो । त्यसकारण पार्टीको निर्णयको अगाडि व्यक्तिगत जिम्मेवारी लिने कि नलिने भन्ने कुरा गौण हुन गयो भन्ने मेरो बुझाइ हो ।

शनिबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा पोखरेल । तस्बिर : रासस 


पार्टीभित्र जुन अवस्था सिर्जना भएको छ त्यसमा सबैभन्दा पहिले प्रधानमन्त्री ओलीले आत्मालोचना गर्नुपर्ने होइन र ? अझ यसो नगरेर उहाँले त पार्टीभित्र आफ्ना विरोधीलाई पन्छाउनै खोज्नुभएको जस्तो देखिन्छ । यस्तो अवस्थामा तपाईं एउटा समूह छाडेर अर्को समूहमा लाग्नुभयो । यस अर्थमा तपाईंको भूमिका पार्टीको भलाईका लागि भन्दा पनि अरु कुनै कुराका लागि जस्तो देखियो नि ?

मेरो भूमिका अहिले पनि जोड्नेतिरै हुन्छ हेर्नुस् । म त्यहाँ गएपनि कसैलाई कारबाही गर्ने, अर्को पक्षलाई निष्कासन गर्ने मेरो भूमिका हैन । नेकपा एमालेको निर्माणमा सबैको योगदान छ । त्यसैले सबै मिलेर पार्टीका नेता कार्यकर्तालाई समेटेर जानुपर्छ र मन जितेर एकताबद्ध बनाउनुपर्छ भन्ने भूमिका मेरो हुन्छ । 

केन्द्रीय कमिटीकै निर्णय हेरौँ न ! तपाईंको भनाइ र पार्टीको निर्णयमा विरोधाभास देखिन्छ, यसमा तपाईंको धारण के छ ? 

पार्टीकै ब्यानरमा समानान्तर गतिविधि गर्ने हुँदाखेरी के हो त्यो भनेर त सोध्नुपर्ने हुन्छ नि । यत्ति कुराले आत्तिनुपर्दैन । तर, म केन्द्रीय कमिटीमा नभएकाले कारबाहीको सबै कुरा थाहा छैन । म चाँही के भन्छु भने कारबाही प्रमुख कुरा होइन । प्रमुख कुरा पार्टी एकता नेतृत्वबीचको सामन्जश्यता र सहकार्य नै प्रमुख हो भन्ने मलाई लाग्छ ।

दुवै समूहलाई एकजुट गर्न सबैभन्दा पहिले प्रधानमन्त्री ओलीले आत्मालोचना गर्नुपर्ने हो कि होइन ?   

सबैले गर्नुपर्छ । संसदीय दलको बैठकमा म आफै पनि आत्मालोचित हुन्छु भनेँ नि । मैले काम गर्नुपर्ने ठाउँमा कतिपय कुरामा सीमा नाघेको हुँला । सबैले केही न केही सीमा नाघिएको हो । सबैजना आत्मालोचित हुँदै, बन्द कोठाभित्र बसेर पार्टी निर्माण गर्ने संकल्प गरेपछि मात्र यो एकतावद्ध पार्टी बन्छ हेर्नुस् । होइन भने यो छुटपूर्ण पार्टी बन्छ । 


Author

थप समाचार
x