इकागज संवार्ता
राष्ट्र बैंक सतर्क भएको राम्रो हो, तर ‘ह्यु एन्ड क्राइ’ धेरै भयो
मौद्रिक नीतिका हतियार प्रयोग नै नगरी समस्याको समाधान खोज्दैछौं
मुलुकको बाह्य क्षेत्र स्थायित्वमा दबाब सिर्जना भएको भन्दै सरकारको सल्लाहकार नेपाल राष्ट्र बैंकले १५ बुँदे सुझाव पठाएको छ । केन्द्रीय बैंकले बैंकरहरूलाई बोलाएर अत्यावश्यक बाहेक आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न समेत मौखिक निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिति नभएर ‘बेलआउट’को प्रतीक्षा गरिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकामा जस्तै संकट आउने सामाजिक सञ्जालका बहसले आम मानिसहरूलाई अशान्त बनाएको छ । अहिले मुलुकको अर्थतन्त्र कस्तो छ र सरकारका अबका कदम के हुनुपर्छ भनेर इकागजले नेपाल राष्ट्र बैंकको ‘ब्रेन’ मानिने अनुसन्धान विभागको नेतृत्व गरेर लामो समय काम गरेका पूर्वकार्यकारी निर्देशक एवं अर्थशास्त्री नरबहादुर थापासँग कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः
हाम्रो अर्थतन्त्र संकटतर्फ उन्मुख भएको हो ?
त्यसो होइन । त्रास बढाउने काम गरेको छ । आम मानिसलाई आतंकित बनाउनु हुँदैन । अहिले श्रीलंकाको उदाहरण देखाएर भयको वातावरण सिर्जना गर्दा लगानीको वातावरण बिग्रन्छ । यहाँ संकट आउँदैछ भनेर भन्न थाल्यौं भने आन्तरिक (निजी क्षेत्रको) र बाह्य लगानी प्रभावित हुन्छ । लगानीको वातावरण बिगार्ने हिसाबले हामीले काम गर्नु हुँदैन ।
विदेशी मुद्रा सञ्चिति घटेको छ, बाह्य क्षेत्र स्थायित्वमा दबाब छ भनेर राष्ट्र बैंकले जरुरी बाहेक आयात रोक्न सरकारलाई सुझाव नै पठाइसकेको छ । यहाँले त्यस्तो समस्या छैन भन्नुभयो ?
यसका लागि समष्टिगत गहनतम अध्ययन हुनुपर्छ । अहिले साढे ६ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ । अध्ययनका आधारमा वित्त नीतिमा के परिवर्तन गर्ने, मौद्रिक नीतिमा र वाणिज्य नीतिमा के–के परिवर्तन गर्ने भन्ने निष्कर्षसहितको प्याकेज ल्याउनुपर्ने हुन्छ ।
अहिलेसम्म त मौद्रिक उपायमात्र लगाइराखिएको छ, होइन ?
विदेशी विनिमय सञ्चिति जोगाउनु, मुलुकको बाह्य भुक्तानी अवस्था सुदृढ बनाउनु मौद्रिक नीतिको प्रमुख उद्देश्य हो, नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले केन्द्रीय बैंकलाई यो जिम्मेवारी दिएको छ । राष्ट्र बैंकलाई कानुनले बाह्य क्षेत्र स्थायित्वको म्यान्डेट दिएको छ, त्यो म्यान्डेटलाई हेरेर उसले काम गरिराखेको छ । जुन निकायलाई जुन दायित्व दिएको छ । त्यो दायित्वप्रति जवाफदेही हुनु अत्यन्त राम्रो हो ।
उता श्रीलंकाका विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेर संकट आयो, नेपालमा पनि त्यस्तो नहोला भन्ने दरिलो आधार त के छ र ?
श्रीलंकालाई देखाएर अहिले जतिपनि मानिसहरू त्रसित भैरहेका छन् भने त्यो संकटको कारण र चुरो कुरा के थियो अनि नेपालको अवस्था के छ भनेर अध्ययन त हुनुपर्यो नि ! एउटै कारण हो कि धेरै कारण छन् । कुन हतियार प्रयोग गर्दा यो समस्याको समाधान हुन्छ ? एउटै हतियार प्रयोग गर्ने कि बहुहतियार प्रयोग गर्ने ? राष्ट्र बैंक एक्लैले गर्ने कि सरकारका अरु निकाय पनि लाग्ने, क–कसले के–के काम गर्ने भन्ने अध्ययन बिनाका यसप्रकारको हस्तक्षेपले भयको वातावरण सिर्जना गर्छ । राष्ट्र बैंकले उपकरण प्रयोग गरेको छु पनि भन्छ, समस्या समाधान हुँदैन र भयको वातावरण जारी छ ।
राष्ट्र बैंकले आयात गर्न एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्यो । अब त्यसबाट अघि बढेर बैंकहरूलाई अब अत्यावश्यक बाहेक एलसी नखोल्नु भनेर लिखित निर्देशन दिएको भन्ने समाचारहरू पाएका छन् । यसमा त राष्ट्र बैंकमात्र सक्रिय देखियो नि !
झक्झकाउनु राम्रो हो । शोधनान्तर घाटा उच्च छ, विदेशी विनिमय सञ्चिति पनि घटिरहेको छ । अब केही न केही गर्नुपर्यो भनेर सरकारलाई भन्नु जायज कुरा हो । मेरो चिन्ताको विषय भनेको हतियार (इन्स्ट्रुमेन्ट)को प्रयोगमा हो । उक्त हतियारले प्रभावकारी काम गर्यो कि गरेन, त्यसका साइड इफेक्ट के हुन्छन् भनेर पनि हेर्नुपर्ने हुन्छ । मौद्रिक नीतिको फ्रेमवर्कमा रहेर भुक्तानी सन्तुलन, विदेशी विनिमय सञ्चिति जोगाउन के हतियार प्रयोग गर्नुपर्छ भन्नेतर्फ पनि ध्यान दिनुपर्छ ।
यहाँको विचार यतिबेला के गर्नु उपयुक्त हुन्थ्यो होला ?
राष्ट्र बैंकसँग यसलाई सम्बोधन गर्न तीन–चार इन्स्ट्रुमेन्ट हुन्छन् । एउटा ब्याजदर हो, बजार अनुसार ब्याजदर तय हुन्छ । अर्को इन्स्ट्रुमेन्ट (हतियार) भनेको मुद्रा प्रदाय हो । अहिले भुक्तानी सन्तुलनमा परेको दबाब, विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थालाई सम्बोधन गर्ने त मुद्रा प्रदाय हो । मुद्रा प्रदाय बढेपछि आपूर्ति बढ्छ, आयात बढ्छ । आयात बढेपछि व्यापार घाटा हुन्छ, शोधनान्तर घाटा हुन्छ भन्ने परम्परागत मान्यता हो । राष्ट्र बैंकले भुक्तानी सन्तुलनमा परेको दबाब कम गर्न, विदेशी मुद्रा सञ्चितिलाई जोगाउन मुद्रा प्रदाय व्यवस्थिति (घटाउन) के गरिएको छ भन्ने प्रश्न आउँछ । मुद्रा प्रदायलाई बढाउने वा घटाउन दुइ–तीन उपाय छन् । एउटा पुनःकर्जा (यो बढाएको छ कि घटाएको छ), अर्को क्रेडिट क्रियसन (साख सिर्जना) र ओपन मार्केट अपरेसन (खुला बजार कारोबार) हुन् । साख सिर्जनालाई अलिक कम गर्ने भनेको अनिवार्य नगद मौज्दात (सीआरआर) हो । सीआरआरमार्फत् बैंकहरूको कर्जा सिर्जना गर्ने क्षमतालाई नियन्त्रण गर्ने हो, त्यो हतियार पनि चलाएको छैन ।
भुक्तानी सन्तुलन घाटा र विदेशी विनिमय सञ्चिति खिइरहेको छ, यी परम्परागत उपकरणमा त्यो प्रतिबिम्बित भएको छैन । यदि भुक्तानी सन्तुलनको चिन्ता हो भने मध्यावधि समीक्षामा सीआरआर, खुला बजार कारोबारमा फेरबदल देखिनुपर्नेमा त्यो देखिएन । पुनःकर्जा ३०० अर्ब रुपैयाँ पुगेको छ । यी अप्रत्यक्ष उपायको प्रयोग भएन, यो पनि आफैंमा विश्लेषणको विषय हो, इतिहासले त्यसरी मूल्यांकन गर्छ । २०७८ सालमा भुक्तानी सन्तुलनमा, विदेशी मुद्रा सञ्चितिमा समस्या आउँदा के–के मौद्रिक उपकरण प्रयोग भएछन् भनेर सीआरआर, ब्याजदर, पुनःकर्जा र खुला बजार कारोबारमा गरिएको परिवर्तनलाई अध्ययन गर्न खोजिनेछ नि ! ६ महिना यता त यी व्यवस्थामा कुनै परिवर्तन भएको छैन ।
यसलाई सम्बोधन गर्ने अर्को उपाय भनेको ‘म्याक्रो प्रुडेन्सियल नर्म्म’ होे । यसमा एक्सपोजर लिमिट (कर्जा सीमा)का अतिरिक्त कर्जा–धितो अनुपात (लोन टु भ्यालु रेसियो) पनि हुन्छ । कुनै विशेष क्षेत्रमा चाहिनेभन्दा बढी कर्जा गयो र त्यही कारणले भुक्तानी सन्तुलन घाटामा छ र विदेशी मुद्रा सञ्चिति खिइँदै छ भने कर्जा–धितो अनुपात पनि परिवर्तन गर्नुपर्यो । कर्जा–धितो अनुपात क्षेत्र विशेष हुन्छ, उदाहरणका लागि सवारीसाधनमा बढी कर्जा गएर समस्या भएको छ भने कर्जा–धितो अनुपात घटाइदिनुपर्यो । कर्जा–धितो अनुपात घटाउनसाथ डाउन पेमेन्ट बढ्यो । त्यसो भएपछि सवारीसाधनको बिक्री घट्छ, र आयातकर्ताले आयात गर्न छोड्छ । त्यसकारण आयात नरोकी पनि अलिकति कडाइँ गरेर मौद्रिक उपायबाट आयात निरुत्साहीत गर्न सकिन्छ । प्रतीतपत्रको नगद मार्जिन भनेको प्रत्यक्ष आयातलाई अवरोध गर्ने काम भयो । यसलाई अन्तर्राष्ट्रिय असल अभ्यासमा राम्रो मानिदैंन । यो त आखिरी समयमा अन्तिममा प्रयोग हुने हतियार हो । फेरि आयतकर्ताले अर्को शीर्षकमा ऋण लिएर एलसीको मार्जिन राख्न सक्छ । किनकी अहिले एलसी मार्जिनले त आयात त रोकेको छैन । कर्जा–धितो अनुपात घटाएर डाउन पेमेन्ट बढाएर हुनेमा राष्ट्र बैंकले आखिरी हतियार प्रयोग गर्न थाल्यो, त्यसले गर्दा पनि आतंक सिर्जना भयो । अध्ययन नभएका कारण यस्तो अवस्था सिर्जना भएको जस्तो लाग्छ । अर्कोतर्फ सरकारका सबै निकाय अर्थ मन्त्रालय, उद्योग, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्र बैंकबीच समन्वय भएन कि ! अहिले निजी क्षेत्रमा आईआईडीएस जस्ता थिंकट्यांक छन्, सरकारकै नीति अनुसन्धान प्रतिष्ठान र विज्ञ सम्मिलित आयोगबाट अध्ययन गराएर त्यसका निष्कर्ष लिएर उनीहरूले दिएको सुझावका आधारमा सबै निकायले समन्वयकारी कदम चालेको भए राम्रो हुन्थ्यो । अहिलेको अवस्थामा हामी मौद्रिक नीतिका परम्परागत हतियारलाई प्रयोग नै नगरी समस्याको समाधान खोज्दैछौं ।
यसले के हुन्छ त अब ?
लगानीकर्ताको मनोबल कमजोर हुन्छ । आर्थिक वृद्धिलाई असर पार्छ । हामीले उच्च आर्थिक वृद्धिदर होस्, आर्थिक गतिविधि तीव्रतर रूपमा होस्, यससँगसँगै शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चितिमा धेरै चाप नपरोस् भन्ने पनि चाहेका छौं । त्यसकारण यसबीचमा कसरी सन्तुलन गर्ने ? यसको ‘ट्रेड अफ’ त हुनुपर्यो । श्रीलंकाको जस्तो समस्या नआओस् भनेर सरकारले अग्रसरता लिएर अध्ययन गराउनुपर्थ्यो, त्यो भएको छैन । संस्थाहरूले आ–आफ्नो ढंगले काम गरिरहेका छन्, त्यसकारण हामी सफल नभएका हौं कि जस्तो लाग्छ । यसमा चुरो कुरा के हो भन्ने नै पत्ता लागेन । अलिक अगाडिसम्म हामी तरलता अभावको समस्या पर्यो भनिरहेका थियौं, अहिले अरु समस्या देखाइरहेका छौं ।
तरलता अभाव (लगानीयोग्य पुँजी) कै कुरा गर्ने हो भने नि यसपालि यो समस्या निकै लम्बिएर गयो नि ?
यो तरलताको समस्या होइन । स्रोतको खाडल (रिसोर्स ग्याप) को समस्या हो । त्यो कसैले पनि भन्दैन । अहिले चालु खाता घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ छ, असारमा ३ खर्ब ३३ अर्ब रुपैयाँ थियो । चालु खाता घाटा भनेको स्रोतको खाडल पनि हो । चालु खाता घाटाको तथ्यांक र बचत र लगानीको अन्तर (सेभिङ माइनस इन्भेष्टमेन्ट)को हिसाब एउटै अंक आउँछ ।
अहिले राष्ट्र बैंकले जे जस्ता कदम चालिरहेको छ । मौद्रिक उपायभन्दा बाहिर गयो पनि भन्छन् नि ?
राष्ट्र बैंक डराएको देखिन्छ । आत्तिएको छ । राष्ट्र बैंक ऐनको व्यवस्था अनुसारको जिम्मेवारी मेरो हो, भोलि केही संकट आयो भने दोष मलाई आउँछ भनेर ऊ चनाखो भएको छ । अहिलेसम्म कुनै आन्तरिक र बाह्य भुक्तानी त अवरुद्ध भएको छैन । अन्य दायित्वमा पनि बैंक तथा वित्तीय संस्था नगदविहीन भएको त होइन । तर समस्या के हो भने लगानीका लागि स्रोत छैन । स्रोतको खाडल भयो । हामी तरलतामा केन्द्रित भएर सीसीडी खारेज गर्ने, स्थानीय तहका सरकारको ढुकुटीको पैसा निक्षेप मानेर लगानी गर्ने कुरा पनि गर्छौं । अर्कोतिर भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चितिमा चाप पर्यो पनि भन्छौं । यी कुराहरूमा अन्तर्विरोध देखिन्छ । त्यसैले अध्ययन गर्नुपर्यो भन्ने मेरो जोड हो । यदि स्रोतको खाडलको संकट निरन्तर भयो भने भोलि अरु संकट आउँछन् । चालु खाता घाटा बराबर ४ खर्ब १३ अर्ब रुपैयाँ स्रोत हामीले प्राप्त गरेको भए, यो किसिमको दबाब अर्थतन्त्रमा आउँदैनथ्यो । सबै सामान्य हुन्थ्यो– ब्याजदर माथि जाँदैनथ्यो, निजी क्षेत्रले लगानीयोग्य साधन (कर्जा) पाउँथे । अहिले सरकारले ४ खर्ब १३ अर्ब कहाँबाट ल्याउने, त्यो ल्याउन के–के सुधार गर्नुपर्छ भन्नेतिर ध्यान दिनुपर्छ । यो मुलुकभित्र खोजेर पाइँदैन, देशबाहिरै खोज्ने हो । देशबाहिरै खोज्ने भनेको प्रत्यक्ष वैदेशिक लगानी, वैदेशिक सहायता ल्याउनुपर्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया