नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्न आयौँ
नेपाली खाना, पर्यटन र सांस्कृतिक प्रवर्द्धन गर्न यतिखेर बीबीसी मास्टर सेफ सन्तोष साह टोली काठमाडौँमा छन् । उनीहरूको टोली नेपालमा १२ दिन रहँदा विभिन्न स्थान भ्रमण गरी खानाको बारेमा जानकारी लिनेछन् । नेपाली खानालाई विश्वभर चिनाउन सफल हुनेछन् । कोभिड-१९ को महामारीले थलिएको पर्यटन व्यवसायलाई प्रमोसन गर्न उनीहरू आएका सेफ साहसँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानी :
विमानस्थलमा तपाईंको शुभचिन्तकसँगै आमालाई पनि भेट्नु भयो । आमालाई देख्दा कस्तो महसुस भयो ?
आमालाई देख्नासाथ एकदमै 'इमोशनल' भए । आमालाई मैले नआउनु भनेको थिएँ । आमाले आफैँ आउछु भन्नुभयो । सबैले वेलकम गर्छन त्यहाँ म पनि स्वागत गर्छु भन्नुभयो आमाले । सबै आएको ठाउँमा म पनि आएर फर्किहाल्छु भन्दै आउनुभयो । दाइलाई लिएर आउनु भएको थियो । भीडभाड छ नआउनु गाह्रो हुन्छ भनेको मान्नु भएन । मेरो आमा र नेपाल आमा एकै हुन् ।
आमाले भेट्नसाथ के भन्नु भयो तपाइलाई, केही सम्झना छ ?
त्यस्तो खासै कुरा केही पनि भन्नु भएन । आमाले भन्नुभयो' सब ठिक छ। राम्रोसँग आइस ।' अँगालो मार्नुभयो । मेरो सबै साथीलाई खादा र माला लगाइदिनु भयो । सबैसँग फोटो खिचेर जानुभयो ।
यो पटक नेपाल आउनुको केही खास कारण छ ?
मेरो तर्फबाट पर्यटन क्षेत्रलाई योगदान गर्नलाई आएको हुँ । पर्यटन क्षेत्रका लागि केही गर्न सक्छु भन्ने हो । कोभिड-१९ को कारण नेपालको पर्यटन उद्योग ठप्प भएको छ । पर्यटन क्षेत्रबाट नेपालले लाखौँ रुपैयाँ आम्दानी गर्थ्यो अहिले सुनसान छ । महामारी अन्त्य हुँदै गर्दा विश्वभरलाई नेपाल पर्यटन क्षेत्रका लागि खुला भइसकेको छ । मेरो माध्यमबाट नेपाल जानका लागि सबैलाई प्रेरित गर्नु हो । पर्यटन क्षेत्रका लागि मेरो आगमन कोशेढुंगा बन्ने छ । दोस्रो कुरा भनेको नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्नु पनि हो ।
आफ्नो देश एक्लै आउन सक्नुहुन्थ्यो तर, मास्टर सेफमा सहभागी साथीहरूलाई ल्याउनुको कारण के हो ?
बीबीसी मास्टर सेफको टीमहरू मेरो कामबाट प्रभावित भएर नेपाल जान चाहेका थिए । मेरो काम र देशको नामबाट उनीहरू यहाँ आउन चाहेका हुन् । उहाँहरू यहाँ आउनु पनि ठूलो कुरा हो । यहाँ आइसकेपछि विदेशतर्फ राम्रो सन्देश जान्छ भन्ने विश्वास लिएको छु । पर्यटन क्षेत्रका लागि उहाँहरू आउनु भनेको धेरै ठूलो कुरा हो । राष्ट्रका लागि पर्यटन र उद्योग मेरुदण्ड भनेजस्तै विदेशी सेफहरू नेपाल आउनु भनेको पर्यटन क्षेत्रका बुस्ट हो जस्तो लाग्छ । अरु पर्यटकहरू जसरी आएका छन् उनीहरू पनि त्यसरी आएका हुन् । नेपालले विदेशी पाहुनालाई स्वागत गरिरहेको व्यवहार राम्रो छ । विशेषगरी यहाँको संस्कृति नै हो । नेपालीहरूको पाहुनालाई देखाउने व्यवहार कस्तो छ त्यो महत्त्वपूर्ण बन्ने छ ।
यो पटक कति दिनको बसाइ हुनेछ ?
हामी १२ दिनको भ्रमणमा आएका छौँ । साथीहरू जम्मा गरेर १२ दिन बसिन्छ । मेरो बसाइ थोरै लम्बिन सक्छ । हामी यहाँ रहँदा विभिन्न स्थान जानेछौँ । कालापत्थर, पोखरा, जनकपुर र पश्चिम नेपालसमेत जान्छौँ । खानाको रेसीपी आमासँग पनि सिकिरहेका छौँ । घरमा गएर आमासँग खाना बनाउने तरिका सिक्नेछौँ । बर्दियामा गएर थारु बस्तीमा होमस्टे गर्ने योजनामा छौँ । थारु खाना र संस्कृतिको प्रवर्द्धन गर्नु छ । दुर्लभ खानेकुराहरूको खोजी गर्नेछौँ ।
खानाको प्रवर्द्धन कुरा गरिरहँदा नेपाली खानालाई कसरी प्रवर्द्धन गरिरहनु भएको छ ?
म इन्डियन सेफ भए पनि बीबीसी मास्टर सेफमा पनि नेपाली खाना मात्र बनाएँ । नेपाली खानादेखि अरु खाना बनाउने सोचाइ पनि छैन । दुई दशक इन्डियन खानाको सेफ भए तर अहिले भने निरन्तर नेपाली खाना बनाइरहेको छु । नेपाली खाना युरोपलगायत विभिन्न मुलुकमा प्रवर्द्धन गरिरहेको छु ।
तपाईंको साथीहरूलाई नेपाली खाना छुटाउन नहुने कुनै त्यस्तो खाना छ?
नेपालमा भएका खानाहरू देखाएर र त्यसको स्वाद चखाउन सधैँभरी छुट्छ । हामी नेपाली भएर हाम्रो खाना देखेर र चाखेर कहिले सक्दैनौँ । धेरै कुराहरू रहेका छन् । जसको बयान गरेर कहिले सकिँदैन् । बर्दियाको थारु खाना र त्यहाँको संस्कृति देखाउन मन छ । इलाम लगेर चिया देखाउन मन छ तर देखाउन सकिरहेको छैन । धेरै कुराहरू छुटनेवाला छन् ।
बेलायतमा रेष्टुरेण्ट खोल्ने योजना थियो नि के भयो ?
विविध कारणले व्यस्त भएकाले खोल्न सकेको छैन । अहिलेसम्म भरपर्दो ठाउँ भेटन सकेको छैन । मन परेको ठाउँ भेटन सकेको छैन । त्यसको लागि २ देखि ३ वर्षसम्म लाग्न सक्छ । अहिलेसम्म योजनामा छु । मैले खोले भने नेपालीको शान हुने खालको रेष्टुरेण्ट खोल्छु । सबै नेपालीले भनुन् हाम्रो रेष्टुरेण्ट पनि लण्डनमा छ । राम्रो कुराको लागि समय लाग्छ भनेजस्तै तर कति समय लाग्छ त्यो भने थाहा छैन ।
तपाईंले खोल्ने रेष्टुरेण्टमा कस्तो खानेकुरा पाइन्छ ?
सबै ग्राहकले खोजे जस्तो खाना पाइन्छ । तर, विशेषगरी नेपाली खाना बढी मात्रामा पाइने व्यवस्था मिलाउने छु । मैले विभिन्न ठाउँमा आफ्नो खानाको अनुभव सेयर गरिसकेको छु । नेपाली मौलिक परम्परा खाना पाइन्छ ।
नेपाली खानाको बारेमा पुस्तक पनि ल्याउनु भएको छ । कस्ता मानिसहरूको लागि पुस्तक लक्षित छन् ?
विशेषगरी घरमा खाना बनाउनेहरूको लागि हो । जम्मा गरी ६० प्रकारका खानाहरू छन् । मौलिक नेपाली मसला समावेश गरिएको छ । मासुदेखि माछाको झोल बनाउनका लागि मसला बनाउने तरिकाहरू राखिएको छ । विदेशमा प्रमोशन गर्नलाई हो तर विदेशीका लागि नभइ नेपालीको लागि हो । पुस्तकमा सबै मौलिक खाना मात्र रहेको छ । चनादाल, थुक्पा, सिस्नो आलुदेखि सबै प्रकारका खानाहरूको बारेमा समेटिएको छ । यो पुस्तकबाट मानिसले घरमा सहजै बनाउन सक्छन् । अझ विद्यार्थीले घरमा बसीबसी सहजै बनाउन सक्छन् ।
नेपाल भौगोलिक विविधतामा भएको देश हो । पुस्तकले हिमाल, पहाड र तराईको खानालाई समेट्न सकेको छ कि छैन ?
सबै क्षेत्रका खानेकुराहरू समेटेको छु । हिमालको शेर्पाको थुक्पादेखि रोटीसम्म छ । तराईको सबै खानेकुराहरू राखिएको छ । खानाको कुरा गर्दा भौगोलिक हिसाबले पुस्तक समावेशी बनेको छ ।
नेपाललाई बुद्ध र हिमालको देश भनेर चिनिन्छ । अब देशलाई चिनाउन फरक-फरक माध्यम बन्दै गएको हो ?
हो बन्दै गएका छन् । नयाँ पुस्ताले चिनाउन थालेका छन् । निम्स दाइले नेपालको पर्वतारोहणको क्षेत्रमा आफ्नो छुट्टै नाम राख्न सफल हुनु भएको छ । मैले खानाको क्षेत्रबाट आफ्नो मुलुकको नाम फैलाउने काम गरिरहेको छु । बुद्ध र हिमालको नाम मात्र बेचेर होइन कि जुन कुरा हामीले नदेखेको र नभोगेको कुराहरू यहाँ छन् । नेपालमा धेरै कुराहरू भएकाले त्यसलाई प्रमोशन गरेर अगाडि बढ्नुपर्छ ।
विदेशमा रहँदा नेपालको सबैभन्दा बढी केलाई मिस गर्नुहुन्छ ?
जब-जब नेपाल आउँछु यहाँ पाउने मायाको याद आइरहन्छ । यहाँको माया एकदमै मिस गर्छु । माया, सद्भाव र सत्कार एकदमै याद आउछ । यहाँ मैले पाउने संस्कृतिलाई उता देखाउन पाए झन राम्रो छ । उता पनि मानिस व्यस्त यता पनि व्यस्त हुन्छन् । यहाँ व्यस्त भए पनि यहाँको सद्भाव संस्कृति एकदमै राम्रो छ ।
खानाका माध्यमबाट नेपाललाई कसरी चिनाउन सकिन्छ जस्तो लाग्छ ?
मेरो पुस्तक आइसकेको छ । विश्वभर बेस्ट सेलरको रुपमा परिचित छ । अर्को पुस्तक पनि छपाइको तयारीमा छ । राम्रो रेष्टुरेण्ट खोलेर नेपाली खानाको प्रचार गर्न सके भने झन राम्रो हुन सक्छ । विदेशमा खुलेका नेपाली रेष्टुरेण्टमा नेपाली खानाको आइटम बढी मात्रामा राख्नुपर्छ ।
'कुक' पेसालाई सम्मानित बनाउन के गर्नुपर्छ होला ?
न्याथम कलेजमा होटल म्यानेजमेन्ट पढन ६ लाख खर्च लिने गरिएको छ । यसमा झुकाव बढेकाले कलेजमा चाप बढ्न थालेको छ । विमानस्थलमा हामीलाई लिन आउनेहरू सबै जना सेफ ज्याकेटमा पुगेका थिए । आम मानिसको माइन्ड सेट परिवर्तन भएको छैन । तर, सम्मान गर्नेको संख्या बढेको छ । सम्मानित भएकाले मसँग फोटो खिच्नेहरूको भीड लाग्छ । म त जाबो एउटा भान्से न हुँ । नेपालीहरू जन्मजात भान्से हुन् । पुरुष वा महिला हुन सबैलाई केही न केही खानाको आइटम बनाउन जानेका हुन्छन् ।
अन्त्यमा होटल म्यानेजमेन्ट पढेर सन्तोष जस्तै सेफ बन्न चाहनेलाई केही भन्न चाहनुहुन्छ ?
आफ्नो प्यासनको पछि लाग्नुहोस । प्यासन सँगसँगै मन परेको पेशालाई छनौट गर्नुहोस । टाढाबाट देख्दा राम्रो देखिए पनि यसमा धेरै मेहनत गर्नुपर्छ । सन्तोष जस्तै सेफ बन्नेछु भन्ने लागेको छ भने सन्तोषभन्दा अझ राम्रो बन्न सकिन्छ भनेर सोच्नुपर्छ । म त सामान्य मानिस हो । मभन्दा पचास गुणा राम्रो बन्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया