वार्ता

एमाले, कांग्रेस र माओवादी सबैले प्रतिगमन गरेकै हुन्, त्यसकारण अहिले सरकार परिवर्तनको खेलमा छैनौं

पुष्पराज आचार्य |
चैत ११, २०७७ बुधबार ११:२२ बजे

सरकार परिवर्तनको खेलमा  निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) र सत्तारुढ नेकपा एमालेबीच अहिले सहकार्यका लागि वार्ता भइरहेको छ । सकारात्मक भनिएको वार्ताको पृष्ठभूमि, जसपाको सत्ता सहकार्य र आन्तरिक शक्ति संघर्षका सम्बन्धमा इकागजका पुष्पराज आचार्यले जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग गरेको कुराकानीः 

सरकारी वार्ता टोलीले जनता समाजवादी दलको कार्यदलको वार्ता सकारात्मक भयो भनिरहेको छ । केही उपलब्धि भएको हो ? 


मधेश थरुहट आन्दोलनका बन्दी रिहाई, मुद्दा फिर्ता सम्बन्धमा कार्यदलले गृहकार्यहरू गरिरहेको थियो । त्यो गृहकार्य राम्रो भएको छ, हिजोको ब्रिफिङ राम्रो भयो । हिजोको ब्रिफिङमा यस्ता आरोपीहरू कति छन्, कहाँ–कहाँको मुद्दा हो, त्यी कुन अवस्थामा छन् भन्ने सम्बन्धमा हामीलाई सरकारी वार्ता टोलीबाट हामीलाई रिपोर्टीङ भयो । 

यसलाई सत्ता सहकार्यको आधार मान्न सकिन्छ ? 

आधार तयार हुँदैमा हामी सत्तालाई समर्थन गर्छौं भन्ने होइन । विगतमा पनि यस्तै कुराहरू गर्ने, गृहकार्य गर्‍यौं भन्ने काम नगर्ने प्रवृत्ति देखियो । त्यसकारण हामीले उहाँहरूलाई गृहकार्य राम्रो भएको छ, अब काम गर्नुस् त्यसपछि मात्र सहकार्य हुनसक्छ भन्यौं । 

यो सबै काम गर्न कति समय दिनुभएको छ त ? 

त्यस्तो समय तोकेको छैन । उनीहरूले कुन मुद्दा जिल्ला प्रशासनमा छ, कुन अदालतमा छ, कति बन्दी छन् । त्यसको सूची तयार गर्दैछन् । यति समयभित्र गर्ने भन्ने कुरा भएको छैन । सकेसम्म चाँडो गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।

सबै एकपटक गर्न नसके पनि सांकेतिक रूपमा रेशम चौधरी लगायतको मुद्दा फिर्ता र रिहाई भयो भने नेकपा एमालेसँग यहाँहरूको सत्ता सहकार्य हुन्छ ? 

यी सबै आरोप हुन् । राजनीतिक आस्थाका बन्दी हुन् । राजनीतिक आधारमा कसैलाई मुद्दा लगाउन पाइन्छ । रेशमको हुने अरुको नहुने भन्ने हुन्छ र ! सबैको एकसाथ हुनुपर्छ । चाह्यो भने हुन्छ नि ! भर्खरै पनि त नेत्रविक्रम चन्दसँग सहमतिमा उनका नेता तथा कार्यकर्ता रिहाइ भइरहेका छन् । त्यसकारण नश्लीय चिन्तन छोडेर काम गर्नुपर्‍यो । राज्यबाट सबैलाई समान व्यवहार हुनुपर्छ । 

केपी शर्मा ओलीको सरकार पनि संकटमा पर्दैछ । यहाँहरूले भनेकै काम गर्न पनि त उनलाई जनता समाजवादी दलको समर्थन चाहिन सक्छ । यस्तो अवस्थामा के गर्नुहुन्छ ? 

हिजोसम्म हामीले जुन सवाल उठाइरहेका छौं । त्यसलाई सम्बोधन गर्नेतिर सरकार अघि बढ्यो भने हामी सकारात्मक नै हुन्छौं नि ! नकारात्मक हुनुपर्ने के कारण छ र ! त्यो भन्दैमा सरकारमा सहभागी हुने भनेको होइन । तर त्यी काम सरकारले गर्नुपर्‍यो । हामीले जे माग उठाएका छौं, त्यी सबै सरकारको वशमा छन् । गर्ने नगर्ने बाँकी सरकारका विषय हुन् । 

मागहरू सम्बोधन नभइ सरकारमा जाँदैनौं भन्नुभयो । त्यो भनेको जसपा सरकार गठनमा निर्णायक शक्ति हो, हामीलाई प्रधानमन्त्री अफर गर भनेर नेपाली कांग्रेस, एमालेलाई सन्देश पनि दिनुभएको हो कि !

जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न सक्छ नि । बनाउनुहुँदैन भनेर कहीं त्यस्तो व्यवस्था छ र ! अहिले माग पुरा गराउनेमै हाम्रो ध्यान छ । सरकारको नेतृत्व गर्न देऊ भनेका छैनौं । फेरि अहिले हामी एक्लैले पनि केही गर्न सक्ने अवस्था छैन । कांग्रेसको अवस्था हिजो सभापतिजीबाटै सुनिहाल्नुभयो । ऊनीहरू पनि एक्लै केही गर्न सक्ने अवस्थामा छैनन् भन्ने उहाँले स्पष्ट वक्तव्य दिहाल्नुभयो । त्यसकारण सरकार परिवर्तनको चर्चा गर्नै बेकार हो । हामी अहिले सत्ताको खेलमा छैनौं । 

केपी शर्मा ओलीको सरकारले माग सम्बोधन गरेन भने मात्र नेपाली कांग्रेस, माओवादी र जसपा मिल्ने अवस्था हुने हो ? 

कुरा त हामी सबैसँग गरौंला । अहिले केपी शर्मा ओली नेतृत्वकै सरकारले ‘माग सम्बोधन गर्छु’ भनेको छ । गर्‍यो भने हाम्रो सहानुभूति नै रहन्छ । गरेन भने हामी अरु दलसँग पनि वार्ता गरेर सहकार्य गर्न सक्छौं । अहिले यही सरकारले ‘म काम गर्छु’ भनेको छ भने सत्ताको खेलमा हामी लाग्दैनौं ।

संविधान निर्माणका क्रममा र संविधान निर्माणलगत्तै पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग तपाईंहरूको पानी बाराबारको स्थितिमा हुनुहुन्थ्यो । अचानक लचक हुनुभयो नि ? 

केपी शर्मा ओली मात्र होइन । हिजो संविधान जारी गर्दा त एमाले, कांग्रेस, माओवादी तीनओटै दल मिलेर प्रतिगमन गरेको होइन र ? यिनीहरूमा केही फरक छैन । सबै नश्लवादी र औपनिवेशिक शासनको सोच राख्ने न हुन् । हाम्रो लागि त के फरक पर्‍यो र ! हाम्रो घाउमा मल्हम पट्टी कसैले लगाएको छैन । सबैले गोली चलाएका छन् । प्रतिगमनमाथि प्रतिगमन गर्ने पनि ओली निस्के । हिजो देउवाले पनि प्रतिगमन गरेकै हुन् ज्ञानेन्द्रलाई सत्ता दिएर । प्रचण्डले पनि यहि सरकारलाई समर्थन दिएर जोगाइराखेका छन् । त्यसकारण हाम्रो माग जसले सुन्छ, जसले मल्हमपट्टी लगाउँछ त्यही दललाई हाम्रो सहानुभूति रहन्छ । 

तर हिजो मधेश लेख्नेदेखि हरेक सवालमा वर्तमान प्रधानमन्त्री ओली ‘रिजिड’ भए भनेर सम्बन्ध तिक्ततापूर्ण थियो 

हो त । जो रिजिड (कठोर) छ, उसलाई लोयल (लचक) बनाउनु नै त हाम्रो सफलता हो । 

जसपाभित्रै पनि हिजो राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमभित्र ध्रुवीकरण र शक्ति संघर्ष भैरहेको देखिन्छ नि ? 

त्यस्तो शक्ति संघर्ष केही पनि छैन । त्यो शक्ति संघर्ष तपाईंहरूको समाचारमा मात्र छ । एउटा बटमलाइन तपाईंलाई भनिरहेको छु– जसपाले उठाएको माग पुरा गराउन सबै जसपा एकढिक्का छ । यसमा कसैको दुईमत छैन ।

माग पुरा भयो भने अर्ली इलेक्सन (चाँडो निर्वाचन)मा जाने कि पाँच वर्ष पुरा अवधिपछि निर्वाचनमा जाने हो ? 

त्यो पछिको कुरा हो । पहिले माग त पुरा हुन दिनुस् । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x