जनताले विश्वास गरेको मान्छे हुँ, पाँच हजार मतान्तरले चुनाव जित्छु (अन्तर्वार्ता)
‘म धेरै ठूलो कुरा गर्दिनँ, काम गरेर देखाउँछु’
बागलुङ ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट चन्द्रलाल अर्याल चुनावी मैदानमा छन् । २०३० सालमा ढोरपाटन–२ कै कुत्थाप्लमा जन्मेका अर्यालले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । १२ दाजु–बहिनीमध्येका कान्छा अर्याल आफू राजनीतिक पृष्ठभूमिको परिवारमा हुर्किएको बताउँछन् । १२ वर्षकै उमेरदेखि जनमोर्चाबाट राजनीति सुरु गरेका उनी २०५७ सालदेखि माओवादीमा जोडिएका हुन् । ‘मेरो राजनीतिक परिवार हो । जेठो दाजु पञ्चायतमै प्रमुख वडाध्यक्ष हुनुहुन्थ्यो । माइलो दाजु तुलसीलालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान छ,’ उनी भन्छन्, ‘उहाँबाटै प्रभावित भएर म राजनीतिमा लागेको हुँ । राष्ट्रिय जनमोर्चाको पुष्ट भूमि हुँदै २०५७देखि म माओवादीमा आवद्ध छु । जनयुद्धमा पनि सामेल भएँ । त्यसपछि निरन्तर माओवादीमै छु । २०४२ सालदेखि राजनीतिमा आवद्ध भएको हुँ ।’ राजनीतिसँगै लामो समय विभिन्न संघसंस्थामा पनि आवद्ध भए । ‘यसअघिको सरकारले कामै गर्नै सकेन । विकास, जन सरोकार र जनचासोका केही काम भएनन् । बेथिति र भ्रष्टाचारमात्र मौलायो,’ उनी भन्छन्, ‘म धेरै ठूलो कुरा गर्दिनँ, काम गरेर देखाउँछु । पाँच हजार मतान्तरले चुनाव जित्छु ।’ यसै विषयमा केन्द्रित भएर अर्यालसँग इकागजका विनोद देवकोटाले गरेको कुराकानीः
तपाईंको उम्मेदवारी किन ?
म गत चुनावमा पनि मेयरको आकांक्षी थिएँ । पार्टीले अर्कोलाई टिकट दियो । जिताउन लागेँ । तर, चुनाव एमालेका देवकुमार नेपालीले जित्नुभयो । माओवादीको निष्ठावान कार्यकर्ता भएकोले यसपटक पार्टीले मलाई विश्वास गर्यो ।
यसअघिको सरकारले केही काम गर्नै सकेन । विकास, जन सरोकार र जनचासोका काम भएनन् । बेथिति र भ्रष्टाचारमात्र मौलायो । ढोरपाटन बागलुङको एउटा यस्तो नगरपालिका हो जहाँ गत वर्षको बेरुजु मात्रै ६ करोड २५ लाख छ । यहाँ बेथिति र भ्रष्टाचार भयो । विधिको शासन भएन । सुशासन र विकास भएन । पाँच वर्षमा जनताका आधारभूत आवश्यकता र यहाँको समस्याको समाधान गर्ने कुनै काम भएन । कुनै खालको खाका बनेन । यहाँको विकास, सुशासन र पारदर्शिताका लागि, जनचासो र जनअपेक्षाका काम गर्न मेरो उम्मेदवारी हो ।
जनताले तपाईंलाई विश्वास गर्ने आधार के हुन् ?
म यहीँ ठाउँमा विभिन्न सामाजिक संघसंस्था हुँदै ३७ वर्षदेखि राजनीतिमा क्रियाशील छु । कुनै नचाहिने काम गरेको छैन । अनैतिक काम गरेका छैन । मेरो धेरै आधार छन् । जनताले विश्वास गरेको मान्छे हुँ । म विपक्षी दलका उम्मेदवारभन्दा बौद्धिक, सामाजिक र शैक्षिकरूपमा पनि अब्बल छु । मतदाताले मत दिनुहुन्छ । मैले यहाँको अवस्था बुझ्छु ।
म विपक्षी दलका उम्मेदवारभन्दा बौद्धिक, सामाजिक र शैक्षिकरूपमा पनि अब्बल छु । गलत पात्र र प्रवृति बदल्ने बेला आएको छ । म पाँच हजार मतान्तरले चुनाव जित्छु ।
तपाईंका योजना र प्रतिबद्धता के–के छन् ?
ढोरपाटन आरक्ष यहाँको पहिचान हो । पर्यटकहरू आउँछन् । धार्मिक पहिचान पनि छ । धेरै पूर्वाधार निर्माण गर्न पनि बाँकी छ । सुन्दर ढोरपाटन उपत्यका छ । जहाँ सिकार आरक्ष छ । जुन विश्वकै नमूनायोग्य ठाउँ हो । विश्वमै दुर्लभ वन्यजन्तु नाउरको सिकार गरिन्छ । लोपउन्मुख जातका वन्यजन्तु पनि छन् । संरक्षित राख्नुपर्ने पनि छन् । धार्मिक र पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको क्षेत्र हो । म निर्वाचित भएपछि कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउँछु । ढोरपाटन उपत्यकासम्म पुग्ने पक्की मोटरबाटो बनाउने सोच बनाएको छु । वडा कार्यालयसम्म मोटर बाटो पुर्याउने अठोट छ । यहाँ बिद्युतको केन्द्रीय लाइन बुर्तिबाङ बजारसम्म मात्रै छ । त्यसलाई वडा र गाउँगाउँसम्म पुर्याउने योजना छ ।
कृषिमा ठूलै सुधारको योजना छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने योजना छ । परम्परागत पशु पालनलाई आधुनिकीकरण गर्नुछ । जनताको जीवनस्तर कृषिबाटै माथि उकास्न सकिन्छ भन्नेमा म दृढ छु । कृषकहरूलाई अनुदान दिने योजना छ । जस्तै एक लिटर दूध बेच्ने किसानलाई २० रुपैयाँसम्म अनुदान दिन सक्नेगरी नगरपालिकाले योजना बनाउने अठोट गरेको छु । मासु, फलफूल र तरकारी आदिमा पनि त्यस्तै योजना छ ।
ढोरपाटनमा उद्योगधन्दा छैन । यहाँ दुई/तीन वटा ठूल्ठूला उद्योगधन्दा स्थापना गर्ने योजना छ । यहाँ जडिबुटीसम्बन्धी उद्योग स्थापना गर्न सकिन्छ । यहाँ आलू खेती प्रख्यात छ । आलुसम्बन्धी विभिन्न परिकार बनाउने उद्योग स्थापना गर्न सकिन्छ । काठ पैदावारहरू ठूलो संख्यामा खेर गइरहेको छ । काष्ठ उद्योग पनि स्थापना गर्न सकिन्छ । राज्यकै तर्फबाट ठूलो भोलुममा उद्योग सन्चालन गरेर हजारौँ युवालाई रोजगार दिने प्रतिबद्धता गरेको छु । विदेश जान नपर्ने स्थिति सिर्जना गर्छु ।
शिक्षा र स्वास्थ्य क्षेत्रका योजना के छन् ?
ढोरपाटनको बुर्तिबाङ बजारमा १५ श्य्याको एउटा अस्पताल छ । त्यसलाई स्तरउन्नती गरी वृद्धि गर्ने योजना छ । प्रत्येक वडामा डाक्टरसहितका स्वास्थ्य इकाइहरू राख्ने योजना छ ।
शिक्षकको हकमा ब्याचलरसम्म सन्चालन हुने क्याम्पस छ । माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क बनाउने योजना छ । कुनै पनि शूल्क नलिने, परीक्षा शूल्क पनि लिन नपाउनेगरी व्यवस्था गर्छु । स्नातकसम्मको पढाइ निःशुल्क गर्न सकिने सम्भावना छ । क्याम्पसको अध्यक्ष पनि मै भएकोले सबै निःशुल्क गर्ने अठोट लिएको छु ।
शिक्षामा आमूल परिवर्तन ल्याउन केन्द्रसँग समन्वय गरेर विद्यालयका सुविधा सम्पन्न र आधुनिक भवनहरू निर्माण गर्ने योजना छ । शिक्षकहरूलाई थप केही भत्ताको व्यवस्था गरेर शैक्षिक गुणस्तरमा सुधार ल्याउने योजना छ ।
ढोरपाटनको दुर्गममा एउटा दलितको बच्चाले पाउने शिक्षा र अलि तल बजारका बच्चाले पाउने शिक्षामा फरक छ । त्यसमा समानता ल्याउने योजना छ ।
स्थानीय आवश्यकताका आधारमा पाठ्यक्रम बनाएर पनि लागू गर्छु । म धेरै ठूलो कुरा गर्दिनँ, काम गरेर देखाउँछु ।
चुनावमा ठूल्ठूला घोषणा हुन्छन् । तर, जितेपछि कार्यान्वयन हुँदैनन् । बिर्सिन्छन् । तपाईले घोषणा कार्यान्वयन गर्नुहुन्छ ?
म यहाँको स्थानीय बासी हुँ । यहाँको समस्या मलाई राम्ररी थाहा छ । बुझेको छु । विगतमा पनि उम्मेदवारहरूले धेरै ठूला प्रतिबद्धता गर्नुभयो । काम भएन । नगरपालिकाको प्रशासकीय भवन समेत बनेन । वडाका भवन पनि निर्माण भएनन् । पद्धति गत ढंगले काम भएन । म काम गरेर देखाउँछु । जनअपेक्षा र आवश्यकता हेरेर काम गर्छु । जनताका समस्या सुनेर काम गर्छु । म जितेपछि पनि आफ्ना प्रतिबद्धता बिर्सिन्नँ । जनतो मलाई विश्वास गर्छन् ।
त्यसो भए चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ?
म विश्वस्त छु । पाँच हजार मतान्तरले चुनाव जित्छु । यहाँ अनियमितता बेथिति, विधिको शासन छैन । पारदर्शिता र योजना छैन । अब मेरो अगुवाइमा ती व्यवस्था गर्छु । जनताले गलत पात्र र प्रवृति परिवर्तन गर्न खोजिरहेका छन् । प्रवृति र पात्र परिवर्तन गर्ने यो सुनौलो अवसर हो । सुशासनयुक्त र भ्रष्टाचारमुक्त नगर सरकार बनाउँछु । सबै जनता नयाँ पात्र ल्याउन आतुर छन् । विपक्षीले ल्याउनेभन्दा दोब्बर बढी मत ल्याएर जित्छु ।
जित्ने अर्को बलियो आधार नेकपा एमालेबाट ठूलो समूह विद्रोह गरेर आएको छ । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल सहित सयौँ नेता–कार्यकर्ता माओवादीमा फर्किनुभएको छ । गलत पात्र र प्रवृति बदल्ने बेला आएको छ । म मलाई मात्रै होइन गठबन्धन(सत्ता)का सबै उम्मेदवारलाई विजयी गराउन जनतामाझ अपिल गर्न चाहन्छु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया