वार्ता

मतदाताले दलको हैन राष्ट्रको झण्डा बोक्नेलाई चुन्‍ने बेला आएको छ

अतिन आचार्य |
बैशाख १६, २०७९ शुक्रबार ७:२३ बजे

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका लागि स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दर्ता गराएका सुशील थापा स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका उपाध्यक्ष तथा गुणस्तर व्यवस्थापन प्रणाली परामर्शदाता हुन् । आफूसँग काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहोरलाई गाउँमा लगेर विसर्जन नगर्ने, प्राचीन काठमाडौँलाई पुरानो अवस्थामा फर्काउने, संस्कृति र सम्पदाको संरक्षण गर्ने, यातायात व्यवस्थाको परिवर्तन र बस्न योग्य वातावरण बनाउने आदि योजना रहेको छ । महानगरपालिका आफैँले मेट्रो सिटी अस्पताल सञ्चालन गरी आफ्ना नागरिकलाई सहुलियत दिन सक्ने योजना पनि आफूसँग रहेको उनीसँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

साँच्चै केही गर्छु भनेर हो कि सबैले मेयरको घोषणा गरिरहेका छन् म पनि गर्दिउँ भनेर तपाईंले पनि उम्मेदवार घोषणा गर्नु भएको हो ?
अहिले राजनीतिक दल बेरोजगार जन्माउने कारखाना जस्तो भएको छ । ठूला नेताहरू चिनेको भरमा फाइदा लिने र आश्रित हुने क्रम बढेको छ । मेयर पदलाई राजनीतिको रुपमा लिएको छैन । जुन पद कार्यान्वयन गर्ने र प्रत्यक्ष निर्वाचित भएर जाने ठाउँ पनि हो । राष्‍ट्रपतिदेखि सभामुख सबै पदहरू राजनीतिक रुपमा तटस्थ बन्‍नुपर्ने संविधानको मर्म हो तर, त्यस्तो हुन सकेको छैन । मेयर पद राजनीतिक दलमा आवद्ध व्यक्ति हुनैपर्छ भन्‍ने छैन । राजनीतिक दलबाहेकबाट मेयर बनेमा नगरबासीले विजय हासिल गर्न सक्छन् । किनभने कसैलाई बेवास्ता गर्नुपर्दैन । जनप्रतिनिधि आफैँमा क्षमतावान बनेमा कुनै पनि स्थानीय तहमा समस्या सिर्जना हुन्‍न । 


महानगरबासीले तपाईंलाई नै भोट दिन पर्ने किन ?  
बीसौ वर्षदेखि म आफैँ मतदाता थिए । दिनप्रतिदिन मुलुकमा भइरहेको घट्नालाई हेर्दा मतदातालाई प्रश्‍न गर्ने समय आएको छ । नेपालको राष्‍ट्रिय झण्डा वा कुनै दलको झण्डा बोक्ने हो । नगरबासीको मुद्दा उठाउँछ वा पार्टीको त्यो पनि अहम् विषय बनेको छ । मेयर बनेकालाई आफ्नो लगानी उठाउन बन्यो कि सच्चा काम गर्न आएको हो यसबारेमा सोच्नुपर्ने समय आएको छ । नगर हाँक्ने उम्मेदवार कतिको क्षमतावान छ त्यसमा पनि ध्यान दिनुपर्छ । पार्टीकै उम्मेदवारलाई नै मत दिनुपर्ने त्यस्तो बाध्यता मतदाताहरूसँग के होला ? २० वर्षदेखि काठमाडौँले खोजिरहको फोहोर व्यवस्थापन, यातायातमा सहजीकरण, वातावरण सरसफाइ र उच्च शिक्षालाई विश्‍वव्यापीकरण कुनै पनि काम भएनन् । यातायात क्षेत्र निजीले सञ्चालन गर्दा अव्यवस्थित छन् । महानगरको मातहतमा रहेका सम्पदासमेत संरक्षण हुन सकेका छैनन् । मतदाता र उम्मेदवारले खोजेको के हो त्यसलाई बुझाउन जरुरी छ । मतदाताले खोजेका कुराहरू जुन उम्मेदवारले ल्याउछन त्यस्तालाई ल्याउनु पर्छ ।

कार्यकर्ताको जमात भएका दल छन् । त्यस्ता दलीय उम्मेदवार भएको भीडमा तपाइ स्वतन्त्र रुपमा उम्मेदवार बन्‍नु भएको छ । कसरी साहस गर्नुभयो ?
म आफैँ मतदाता भएकाले पनि आफ्नो महानगरभित्र पनि केही योगदान हुन सक्छ भनेर पहिलो जागरण आफैँबाट सुरु भएको हो । नगरबासीले बुझेजस्तो कुनै महानगर छैन । व्यक्तिगत संस्कारबाट भन्दा पनि मानिसहरू राजनीतिक संस्कारबाट हुर्केका छन् । सबैलाई पार्टीको झण्डा मुनी बस्नुपर्ने बाध्यता छ । अहिलेका दलहरूसँग धेरै मानिसहरू असन्तुष्‍ट छन् । आफ्नै दलका मानिसहरूले पनि उम्मेदवारलाई सहयोग गर्दैनन् । धेरै मतदाताहरू निराशामा छन् उनीहरूले स्वतन्त्र उम्मेदवारलाई मत दिनेछन् । स्वतन्त्र सबैको हुने हुनाले पनि मत पाउने अधिक सम्भावना हुन्छ । 

पछिल्लो समयको निर्वाचनमा उम्मेदवार मतदातालाई नोटको प्रवाभले विजय गराउन सकिन्छ भन्‍ने माहोल बनेको छ । कसरी यस्तो अवस्था बन्यो र यसलाई चिर्न के गर्दै हुनुहुन्छ ?
भोटमा नोटलाई प्राथमिकता राख्‍ने कुरालाई पूर्ण रुपमा न्यूनीकरण गर्नतर्फ लागिरहेका छौ । यस्ता दुष्‍चक्रलाई नेपालको राजनीतिबाट निकाल्नु पर्छ । लगानी गरेर मत किन्‍ने काम भएको छ । लगानीमा विभिन्‍न संघ संस्थाको पद किन्‍नेसमेत काम भएका छन् । राजदूत नियुक्तीमा समेत लगानी हुन थालेको छ त्यो भनेको पूर्ण रुपमा भ्रष्‍ट्राचार हो । नेपालको राजनीतिलाई भ्रष्‍ट्राचारको दलदलबाट जसरी पनि निकाल्नु पर्छ । महानगरबासले तिरेको कर केही सिमित व्यक्तिहरूको मुठ्ठीमा पुग्‍ने गरेको छ । पद किन्‍ने कार्यलाई निरुत्साहन गर्नुपर्छ ।

मेयर बनिसकेकालाई नै तपाइको विचारले पनि सहयोग र समर्थन गर्न सकिन्थ्यो होला नि ?
राजनीति भनेको साङ्लो हो ।  साङ्लोमा सबैले आफ्नो बुद्धि र विवेक प्रयोग गर्न पाउँछन् । राजनीतिको साङ्लोमा आफैँ बेरिने गरेका छन् । पद धारण गरेका धेरै व्यक्तिहरू क्षमतावान हुँदा पनि पार्टीको तहमा क्षमताविहिन हुन्छन् । काम गर्न विभिन्‍न बाधा अवरोध हुने भएकाले स्वतन्त्र तर्फका उम्मेदवारलाई विजय गराउनुपर्छ भनेका हौ ।

त्यो कसरी होला, योजना के के छन् ?
चार खम्बे योजनाहरू छन् । काठमाडौँ बिरामी छ,  यसलाई तन्दुरुस्त बनाउनु छ । असाध्यै फोहोर छ त्यसलाई सफासुग्घर बनाउनु पर्ने छ । सेवा र सुरक्षा दिनु छ । सेवाभित्र यातायात, स्वास्थ्य र शिक्षा परेको छ । संघीय राजधानी काठमाडौँलाई सबै कुरामा सुरक्षित बनाउनुपर्नेछ । वातावरण सफा हुनुपर्छ । साथसाथै रोजगारी सिर्जना गर्नुपर्छ । व्यवसाय गर्नलाई प्रशस्त वातावरण बनाउनु पर्छ जसले गर्दा वातावरण प्रदूषण नबनोस यस्ता खालका रोजगारले मात्र बस्न योग्य सहर बन्छन् । चौथोमा भनेको संस्कृति र सम्पदालाई संरक्षण गर्नुपर्छ । जुन काठमाडौँको सभ्यता र संस्कृति संरक्षण गर्ने माध्यम बनेको छ । भ्यु टावरले सम्पदालाई छेक्ने काम गरिरहेको छ । जहाँ सम्पदाको महत्त्व बुझाउनु पर्ने  छ।

फोहोरको दीर्घकालीन समस्या हुन सकेको छैन, यसलाई कसरी समाधान गर्न सकिन्छ ? 
फोहोरको समस्या नहोस् भनेर स्थायी समस्याको अस्थायी समाधान खोज्ने काम भइरहेको छ । सहरको फोहोर गाउँमा लैजाने काम भइरहेको छ । एउटाको फोहोर किन अरुलाई दिने ? एउटाको फोहोर अर्काको घरमा लगेर फाल्नु त्यसलाई फोहोर व्यवस्थापन भनिँदैन । व्यवस्थापन गर्न महानगर नेतृत्व चुकेकै हो । यसलाई व्यवस्थापन गर्न प्रविधिको सहयोग लिन सकिन्छ । कार्यविधिमा फोहोर मैलामा शून्यविधि अपनाइनु पर्छ ।  

तपाईं फोहोर व्यवस्थापन गर्न मेसिनको कुरा गर्नहुन्छ । अहिलेका मेयरले पनि त्यस्ता मेसिनलाई प्रयोगमा ल्याउन सक्थे होला तर किन प्रयोगमा ल्याएनन् ? 
अहिलेका नगरप्रमुखहरू हरेक वस्तुबाट कमिसन खान पल्केका छन् । नयाँ-नयाँ प्रविधिको किन विकास गर्थे ? कसैलाई पनि आफ्नो ठाउँ र सहर सफा बनाउँ भन्‍ने छैन । कार्यकर्ता पाल्न र सिसडोल जस्ता ठाउँमा आफ्ना मान्छेलाई जागिर दिएर भोट बैंक बढाउन काम गरिरहेका छन् । इमान्दार नभएका कारण र भ्रष्‍टाचारमुखी हुँदा पनि यस्ता समस्याको समाधान नभएकै हो ।

महानगरभित्र फुटपाथ छैन । सडकका किनारा वा फुटपाथमा अव्यवस्थित बजार छ,  त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? 
सफा, भव्य, सुरक्षित र सभ्य काठमाडौँको अर्थ भनेको विश्‍वकै नमूना सहर बनाउने भन्‍ने हो । मानव सभ्यताका लागि सबैथोक भएकाले यसलाई मूल ढोका पनि मानिन्छ । प्राचीन माटJलाई विस्थापित गरेर सिङ्गमर्मर टाँस्दै प्लास्टरयुक्त सहर बनाइँदैछ । काठमाडौँको भव्यता भनेको लिच्छिवीकालीनदेखि मल्लाकालीन सम्मको ऐतिहासिक धरोहर देखाउनु रहेको छ । सडक मिचिएका स्थानलाई फिर्ता ल्याइन्छ । जसले मिचेका छन् तिनीहरूलाई सम्झाएर नयाँ ठाउँमा व्यवस्थापन गरिन्छ । मापदण्ड अनुरुप घर बनेका छन् वा छैनन त्यसको अध्ययन गरेर व्यवस्थापन गरिन्छ । फोहोर फाल्नु पर्ने ठाउँमा फालेको वा नफालेको त्यसलाई अवलोकन गरेर उचित स्थानमा व्यवस्थापन गर्न लगाइन्छ ।
 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x