वार्ता

पोखरामा एमालेलाई १५ देखि १८ हजार मतान्तरले हराउँछौँ (अन्तर्वार्ता)

'एमाले गत निर्वाचनमा जस्तो बलियो छैन, धेरै कमजोर छ'

कमल विष्ट |
बैशाख १९, २०७९ सोमबार १०:४३ बजे

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)बाट धनराज आचार्य चुनावी मैदानमा छन् । २०५१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बनेका आचार्य गत वर्षसम्म नेकपा एमालेमा थिए । एमाले विभाजन भएपछि उनी नेकपा एसमा गएर कास्की अध्यक्ष बने । सत्तारुढ गठबन्धनको भागबण्डामा पोखरा महानगर एसलाई परेपछि पार्टीले उनलाई मेयर उम्मेदवार बनाएको छ । निर्वाचनमा उनको प्रतिस्पर्धा कुनै बेलाका आफ्ना सहकर्मी एमालेका कृष्णबहादुर थापासँग हुँदैछ । २०५४ सालको चुनावमा थापालाई मेयरमा जिताउन ठूलो सहयोग गरेका आचार्य यसपालिको निर्वाचनमा धेरै मतान्तरले हराउने दाउमा छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार आचार्यका एजेण्डा के छन् ? कुनै बेला आफूले मेयरमा जिताउन सहयोग गरेका सहकर्मीलाई अहिले हराउन लाग्नुपर्दा कस्तो लागिरहेको छ ? आचार्यसँग चुनावको सन्दर्भमा इकागजकर्मी कमल विष्टले गरेको संवाद :

चुनावी प्रचारप्रसार सुरु भएको छ । तपाईंले कसरी गरिरहनु भएको छ ?


प्रचारप्रसार एकदमै व्यापक रूपमा अगाडि बढिरहेको छ । महानगरका ३३ वटै वडामा प्रचारप्रसार समिति परिचालित छन् । वैशाख २७ गतेसम्मको चुनावी तालिका सार्वजनिक भइसकेको छ । गठबन्धनमा सम्मिलित दलका शीर्ष नेता तथा गण्डकी प्रदेशका अग्रज नेताहरूको उपस्थितिमा हामी आमसभादेखि घरदैलौ कार्यक्रम गर्दै छौँ, पोख्रेलीबासीमाझ आफ्ना कुरा राख्दै छौँ ।

तपाईं मेयरमा निर्वाचित हुनुभयो भने महानगर कस्तो हुनेछ । एजेण्डा के-के छन् ?
पोखरा महानगरको मेयरमा उम्मेदवारी दिँदा पोखरालाई आधुनिक सहर बनाउन हामीले हाम्रो घोषणापत्र सार्वजनिक गरिसकेका छौँ । पाँच दलसँग मिलेर चुनाव लडिरहेको सन्दर्भमा हामीले एउटा नारा बनाएका छौँ– पाँच दलीय गठबन्धनको सरकार, विकास हामी सबैको अधिकार । यसै नारालाई केन्द्रमा राखेर हामीले आफ्ना कार्यहरू अगाडि बढाइरहेका छौँ । 

घोषणापत्रमा शिक्षित, सभ्य र मर्यादित नगरबासी, सुरक्षित र न्यायपूर्ण समाज, स्वास्थ्य र सन्तुलित पर्यावरण, प्रशासन र जवाफदेहितालाई उल्लेख गरेका छौँ । त्यस्तै, सुलभ र समुचित पर्यावरण र प्रविधिमैत्री सेवा प्रवाहलगायतका दृष्टिकोणहरू प्रतिबद्धता पत्रमा समावेश छन् ।

योसँगै पत्रमा हाम्रा मुख्य–मुख्य क्षेत्र कुन–कुन हुन् भनेर उल्लेख छन् । नियमित क्षेत्रका कुरामा खासगरी सुशासनलाई अगाडि बनाएका छौँ । त्यसैगरी शिक्षा, स्वास्थ्य, पर्यटनलगायतलाई पोखराको लाइफलाइनका रूपमा अगाडि बढाएका छौँ । 

यस्तै, हामी आफूले गर्ने कामलाई दुई चरणमा छुट्याएका छौँ । पहिलो चरणमा पोखरा सहरलाई पर्यटकीय राजधानी घोषणा गर्ने योजना छ । दोस्रो चरणमा शिक्षा, स्वास्थ्य र खेलकुदलाई अगाडि बढाउने छौँ । पोखरा पर्यावरणीय तथा वातावरणीय हिसाबले सुन्दर सहर भएकाले यी तिनै कुराको संगमस्थल बन्न सक्छ ।

२ लाख ७ हजार मददाता रहेको पोखराको कूल जनसंख्या पाँच लाख बढी छ । यसमा ९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । यो संख्यालाई दुई वर्षभित्र मध्यमस्तरमा उकास्ने हाम्रो योजना छ । त्यसका लागि हामीले उहाँहरूलाई रोजगारी दिने, परिचयपत्र दिएर सहुलियत दिनेलगायतका योजना बनाएका छौँ । 
पोखरालाई व्यवस्थित महानगरका रूपमा विकास गर्न केही 'सिग्नेचर प्रोजेक्ट' अगाडि सारेका छौँ । 

अरु के–के योजना छन् ?

पोखरा एउटा महानगर हो । महानगर हुन आवश्यक पर्ने न्यूनतम कुरामा हामीले ध्यान दिएका छौँ । जस्तो कि पाँच–पाँच सय मिटरको दूरीमा शौचालय निर्माण गर्ने, ट्राफिक जाम नहुने खालको व्यवस्थापन गर्ने, सहज र व्यवस्थित पार्किङलगायतका कुरामा हाम्रो ध्यान केन्द्रित छ । 

यहाँ भर्खरै बनेको अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउनु छ । त्यसका लागि सबैभन्दा पहिला व्यवस्थित ल्याण्डफिल साइटको व्यवस्थापन गर्न आवश्यक छ। जुन चनौतीपूर्ण छ । यो कामलाई हामीले 'मेजर सिग्नेचर' योजनाका रूपमा अगाडि बढाएका छौँ । 

तत्कालीन लेखनाथ नगर र पोखरा उपमहानगरलाई जोडेर अहिले पोखरा उपमहानगर बनाइयो । तर, धेरै ठाउँमा भावनात्मक रूपमा यो महानगर जोडिन बाँकी नै छ । हामीले फेवा–वेगनास कनेक्टिभिटीको अवधारणा अगाडि सारेका छौँ । यी दुई ताललाई जोड्ने हाम्रो योजना छ । 

पोखराको जनसंख्या १० वर्षको अवधिमा दोब्बर भएको छ । यसलाई मध्यनजर गरेका छौँ । यसका लागि हामीले पोखरामा एउटा चक्रपथ बनाउन आवश्यक छ । यो योजना पाँचै वर्षमा गर्न सम्भव नभए पनि हामीले यसको थालनी गर्ने छौँ । 

पोखरामा उत्पादन भएको समानलाई ब्रान्डिङ र व्यवस्थापन गर्ने कार्यलाई हामीले प्राथमिकतामा राखेका छौँ । मूलतः हाम्रो ध्याउन्न पोखराबासीलाई कसरी समृद्ध बनाउन सक्छौँ भन्नेमा छ । 

आफूले वाचा गरेका कुरा पूरा गर्न हामीसँग योजना, इच्छाशक्ति र जनशक्ति सब छ । सबै राजनीतिक दल, नागरिक समाजलगायतको सहयोग लिएर अगाडि बढ्नेछौँ । 

पोखरालाई व्यवस्थित र समृद्ध बनाउन यसअघिका मेयर तथा प्रशासकहरू कहाँ चुके ?

यसअघिका मेयर तथा थुप्रै कुरामा थुप्रैपल्ट चुके । हरेक दृष्टिले प्रचूर सम्भावना भएको पोखरा अहिलेसम्म व्यवस्थित र विकसित महानगर भइसक्नुपथ्र्यो । तर, नेतृत्वमा दृढ इच्छाशक्ति र भिजन अभावका कारण पोखराको अवस्था सुध्रिएन । कतिपय कुरा त फर्काउनै नसकिने अवस्थामा पुगिसकेका छन् । कितपय ठाउँमा त दम्कल जाने बाटोसमेत छैन । 

त्यसो त पोखराको विकास र व्यवस्थापन गर्न कतिपय गुरु योजनाहरू बने । तर, ती कहिल्यै पूरा भएनन् । दराजमै थन्किए । एउटा सहर महानगर हुन के-के चाहिन्छ, हामीले त्यसको कहिल्यै ख्याल गरेनौँ । 

पोखरा प्राकृतिक रूपमा एउटा सुन्दर ठाउँ हो । यहाँ आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको धेरै सम्भावना छ । पर्यटन व्यवसायको प्रचूर सम्भावना भएको ठाउँको बाटो व्यवस्थित हुनुपर्छ, फराकिलो हुनुपर्छ भन्ने कसैको ध्यान गएन । 

साथै, प्राकृतिक रूपमा सुन्दर भए पनि भौगोलिक रूपमा यो सहरको अवस्था कमजोर छ । पोखराको खोँचमा सेती नदी बगेको छ । यहाँ अग्ला घर तथा संरचना बनाउनु हुँदैन भन्नेमा कसैको ध्यान गएन । 

खोला, नाला र तालको व्यवस्थापन र संरक्षणका सन्दर्भमा धेरै योजना बने । तर, व्यवस्थापन र संरक्षण त परको कुरा बरु हामीले उल्टै सहरको ढल फेवा तालमा मिसाइयो ।

एकदुई जना प्रशासकले भने केही राम्रो काम गर्नुभएको छ । म त्यति बेलाका अञ्चलाधीश शंकरराज पाठकलाई धेरै सम्मान गर्छु । उहाँले २०२८ सालमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ हजार रोपनी जग्गा छुट्याइदिनुभयो । पोखराको न्यूरोडका लागि ६ लेनको बाटोको व्यवस्था गरिदिनुभयो । त्यस्तै, प्रशासक पदमबहादुर खत्रीले एउटै मोडलको घर बनाउनुपर्ने व्यवस्था गरिदिनुभयो । 

त्यसपछि पञ्चायतकालमा उल्लेखनीय काम हुन सकेन । बहुदल आएपछि धेरथोर काम भए । केही स्वदेशी तथा विदेशी प्रोजेक्टले गति लिए । तर, समग्रमा जन्म, मृत्यु, विवाह जस्ता सामान्य काम भए पनि ठूला र दीर्घकालीन काम हुन सकेनन् । दश वर्ष, २० वर्षपछिको सम्भाव्यता बुझेर पोखराबासीको पक्षमा काम भएन । भिजन भएको लिडरको सधैँ अभाव खड्किरह्यो । हामीले अमूल्य समय, स्रोत र साधन खेर फाल्यौँ । 

गएको निर्वाचनमा अहिलेको गठबन्धनमा सम्मिलित पाँचै दलले ल्याएको मतसँग एमालेले एक्लै ल्याएको मत जोड्दा पनि एमाले अझै १० हजार बढी मतले अगाडि देखिन्छ । त्यसमाथि अहिले केही कांग्रेसीहरू गठबन्धनको निर्णयसँग रुष्ट मात्र छैनन्, बागी उम्मेदवार नै बनेका छन् । तपाईंलाई जित्न सहज छ त  ? 

महानगरका केही वडामा कांग्रेस रुष्ट भए पनि मेयर र उपमेयरमा शतप्रतिशत सहमत छ । बागी उम्मेदवारहरूले आफ्नो मनोनयन फिर्ता लिइसक्नुभएको छ । अहिले गठबन्धनमा एक मत छ । 

हो, गत निर्वाचनको मतपरिणाम हेर्दा गठबन्धनमाथि एमाले हाबी देखिन्छ । तर, हामीले के बुझ्नुपर्छ भने अहिले एमाले त्यति बलियो छैन, जति ऊ गएको निर्वाचनताका थियो । एमाले फुटेपछि धेरै कमजोर भइसकेको छ । एमालेको ठूलो हिस्सा एकीकृत समाजवादीमा छ । 

एमाले यसै कमजोर रहेको बेला हामी पाँच दल मिलेर गठबन्धन गरेका छौँ । मेरो जितको सबैभन्दा बलियो आधार यही हो । पाँचै दल स्थापित र क्रियाशील छन् । यहाँ । सबै दलका कार्यकर्ता र मतदाता छन् । 

मैले लामो समय व्यवसायिक क्षेत्रमा आवद्ध भएर देशका विभिन्न संघसंस्थासँग सहकार्य गरी काम गरेको छु । काम गर्ने क्रममा मैले केहीको मत जितेको छु भन्ने पनि लाग्छ । उहाँहरू मलाई भिजन र नेतृत्व भएको मान्छे मान्नुहुन्छ । उहाँहरूमध्ये अधिकांश राजनीतिक रूपमा तटस्थ हुनुहुन्छ । आचार्य मेयर भएको अवस्थाले यसले यस सहरको काँचुली फेर्छ भन्ने आशासाथ ती सबै तटस्थहरूले मलाई मत दिनेछन् भन्ने आशा लिएको छु । मैले चुनाव जित्ने यो पनि एउटा आधार हो जस्तो लाग्छ । हामीले जित्नेमा कुनै शंका छैन । एमालेले यहाँ गत निर्वाचनमा जति मतले जितेको थियो, यसपालि उसलाई त्योभन्दा बढी मतले जित्नेछौँ । यसपालि हामी एमालेलाई १५ देखि १८ हजार मतले जित्नेछौँ । 

कुनै बेलाका सहकर्मी अहिले प्रतिद्वन्दी बन्दा कस्तो लागिरहेको छ?

पार्टी, विचार तथा एजेण्डाले मेरो प्रतिद्वन्दी भए पनि उहाँसँग मेरो सम्बन्ध अहिले पनि राम्रो छ । उहाँ अहिले पनि मेरो असल मित्र र अग्रज नेता नै हुनुहुन्छ । 

तर के चाहिँ लाग्छ भने उहाँले आफूले भनेका कुराहरू पूरा गरिदिनुभएको भए, विधि अनुसार काम गरिदिनुभएको भए म अहिले पनि उहाँको प्रतिद्न्दी हुनुपर्दैन्थ्यो भन्ने लाग्छ । यद्यपि पोखरा बनाउने विषयमा हामी सधैँ सँगै छौँ । 
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x