वार्ता

वाणगंगा नगरपालिकालाई देशकै नमुना बनाउँछौँ

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १२:१५ बजे

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा नेपाली कांग्रेसबाट अधिवक्ता एवं युवा समाजसेवी रविराज आचार्य उम्मेदवार बनेका छन् । वाणगंगालाई देशकै नमुना नपरपालिका बनाउने प्रतिवद्धतासहित चुनावी मैदानमा आएका आचार्यसँगको कुराकानीः 

वाणगंगाको मेयरमा यहाँको उम्मेदवारी के को लागि हो ? 


अध्ययन क्रममा मैले काुनन पढें । म अधिवक्ता पनि हो, यसका अलावा म राजनीतिशास्त्रको विद्यार्थी पनि हुँ । दुबै विषयले समाजको समाजिक अवस्थालाई अध्ययन गर्छन्, मैले पनि गरें । जागीर खानु भन्दा समाजसेवामा उत्प्रेरित हुन पुगें, तर मेरो मुख्य पेशा कृषि हो । म समाजसेवाका लागि राजनीतिमा आएको हुँ । हाम्रो पारिवारिक पृष्ठभूमि नेपाली कांग्रेससँग जोडिएको छ । म केही अघिदेखि नै सक्रिय राजनीतिमा आएपनि यतिबेलासम्म अग्रजहरुलाई अवसर दिनु पर्छ भन्दै आएको हुँ । यसपटक आफैं उम्मेदवार बनेर उल्लेखनीय काम म पनि गर्न सक्छु भन्ने लागेको छ । 

नगरक्षेत्रको विकास के, कसरी, कस्तो गर्नुपर्छ भन्ने जानकार पनि भएकोले उम्मेदवार बनेको हुँ । स्थानीय माटो अनुसार विकास गर्दै जानुपर्छ भन्ने वास्तविकता जानकारी पनि भएकोले उमेदवार बनेर मतदाता समक्ष पुगिरहेको छु । त्यस अर्थमा मेरो उम्मेदवारी स्थानीय रूपमा सवल र सर्वस्वीकार्य छ । मतदाताले पनि मलाई विश्वास गर्नुभएको छ । 

नगरपालिकाहरूमध्ये धेरै वजेट हुने नगरपालिकामा वाणगंगा पनि पर्छ । त्यसैले, वाणगंगा नगरपालिकालाई देश कै नमूना बनाउन सकिन्छ भन्ने मेरो विश्वास हो । श्रोतसाधन पनि छ, तर त्यसको पूर्ण सदुपयोग भएको छैन । पूरै सदुपयोग गर्न सक्ने नेतृत्व आवश्यक छ । नेतृत्व गर्न सक्ने क्षमता म संग छ, काम गर्न सक्ने सामर्थ्य छ । त्यसैले अहिले हुँदै गरेको स्थानीय तहको नेतृत्वको दाबी गर्दै निर्वाचनमा होमिएको हुँ । 

यहाँ नेतृत्वमा आउनुभयो भने नगर साँच्चै नमुना बन्छ भनेर विश्वस्त हुने आधार के छन् ? 

यसको ग्यारेण्टी भनेको अहिले विश्वास नै हो । मेरो विचारमा, हामीले गर्नुपर्ने काम भनेको नागरिकप्रति उत्तरदायी हुनु हो । स्थानीय सेवा प्रदायकलाई जनमैत्री बनाउनु पनि हो । वडा कार्यलय देखि नगरक्षेत्रमा भएका सवै कार्यलयहरु नागरिक मैत्री बनाउनु पर्ने अवस्था छ । लोकतन्त्रमा जनप्रतिनिधि शासक होइन, सेवक हो । यही मूल्य मान्यताले काम गर्ने हो, साथै त्यसलाई स्थापित गर्नुछ । शासनमा वस्नेहरूले आम नागरिकलाई सहजीकरण गर्ने तरिका अपनाउन पर्छ । सहयोगीका रूपमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ तबमात्र नगरवासीले लोकतन्त्रको अनुभूत गर्न सक्छन् । मैले यस अवधिमा देखेको छु, एउटा गरिब नागरिक सरकारी कार्यालय जाँदा अपमानित भएको छ, म त्यो हुन दिनेछैन भन्ने प्रतिवद्धता पनि जनाउँछु । 

योजनाहरूको सम्बन्धमा चर्चा गर्दा आवश्यकतामा आधारित हुनुपर्छ, न कि पहुँच केन्द्रित । स्थानीय तहका बासिन्दाले आवश्यकताका आधारमा योजना तय गरेको हुनुपर्छ । लहडका आयोजनाले खासै प्रतिफल दिदैंन, त्यस्ता योजनालाई महत्व दिएर स्रोत र समय बर्बाद गर्न हुँदैन । अझ स्पष्ट भन्ने हो भने, कमिसन आउने खालका आयोजना मात्र प्राथमिकीकरण गर्ने पुरानो संयन्त्र छ, त्यसलाई पूरै परिवर्तन गर्छु । अझै भनौ  धेरै पटक समिक्षा गरेर मात्र पूर्णता दिनु पर्छ भन्ने मेरो मान्यता छ । 

सुधारात्मक तरिका अपनाउन पर्छ भन्ने मलाई लाग्छ । यी सबै तपाईं–हामीले अनुभव गरेकै कुराहरू हुन्, नयाँ कुरा होइनन् । तर यस्ता थुप्रै उदाहरणहरु छन् । त्यसैगरी, वाणगंगा नगरपालिका भित्रका बहुसंख्यक मानिसहरू कृषि पेशामा आश्रित छन् । यस अर्थमा कृषिमा सीप, प्रविधि र लगानी वढाउनु आवश्यक छ । आयोजना र कार्यक्रमहरू सही ढंगले कार्यान्वयन गरेपछि नगर नमुना बन्छ । म स्मरण गर्न चाहन्छु, बीपीले गाउँको विकास भए मात्र देशको विकास हुन्छ भन्नु भएको थियो । त्यही स्मरणीय भनाई आत्मसात गर्दै स्थानीय स्तरमा विकास गर्न अग्रसर हुनेछु । मलाई भ्रष्टाचार गर्नु छैन, मलाई खानबस्न र पारिवारिक आवश्यकता पूरा गर्न मेरो पैत्रिक सम्पत्तिले नै पुग्ने भएकाले मैले नगरको विकास र बजेटमा भ्रष्टाचार गर्दिनँ । 

यहाँले विकासका आयोजना र कार्यक्रम केमा केन्द्रित गर्नुहुन्छ ?   

सिचाईका लागि उचित प्रबन्ध, कुलो नालाहरूको सुधार, बीउविजन र मलखादका सवालमा पनि नगरपालिका सचेत भई समन्वयात्क ढंगवाट काम गर्नुपर्ने देखिन्छ । जसरी हुन्छ, नगरवासीहरुलाई उद्यमशीलता र स्वरोजगारीतर्फ प्रोत्साहन गर्ने खालको नीति, योजना, कार्यक्रम र बजेट हुनुपर्छ । यी सामान्यतया देखिएका सुधारात्मक पक्षहरू छन्, यसबाहेक कयौं काम गर्नुपर्नेछ ।

निर्वाचित भएलगत्तै यो काम गर्छु भन्ने त्यस्तो केही ठोस योजना बनाउनु भएको छ ?

नीतिगत रूपमा निर्देशित कामहरू त गर्नैपर्ने हुन्छ । यद्यपि, यसक्षेत्रमा विकासको चर्चा गर्दा त्यस्ता धेरै क्षेत्रहरू छन् । नगरले नगरवासीको सामाजिक, आर्थिक र सांस्कृतिक विकासका साथै पर्यटकीय विकासलाई पनि जोड्न सकिन्छ । जस्तो कि नगरभित्रको राजापानीको समग्र विकास, धार्मिक क्षेत्रहरूको विकास, कपिलधाम, कैलाश आश्रम, मधुवन धाम, ओशो धामलाई समेटेर बृहत योजना बनाउँछु । पहिले योजना बनाउने र क्रमशः कार्यान्वयन गर्दै जाने सोच बनाएको छु । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै जिल्लामा रहेका पर्यटकीय स्थलहरू,  तिलौराकोट र जगदीशपुर तालसँग पर्यटकलाई जोड्न सकिने उपाय पनि छन् । त्यसका लागि समन्वयात्मक ढंगले काम गर्छु । 

मैले भन्न खोजेको आन्तरिक वा बाह्य पर्यटनको वृद्धि र स्वरोजगार हुन सक्ने स्थानको पहिचान गरी लगानी गर्नु पर्छ भन्ने हो । अरु स्थानको कुरा गर्दा राजापानी एउटा धेरै सम्भावना भएको क्षेत्र हो । यसको एकिकृत विकास गर्ने मेरो सोच छ, त्यो गर्न सकिएको खण्डमा नगरक्षेत्रको गरिमा र आय आर्जनका क्षेत्रहरू समेत वृद्धि हुन सक्छन् । त्यस्तै सडक विस्तारको कुरा गर्दा, पिपरा देखि भक्तौली वा प्रगतिनगर चोक हुदै ओदारी र ओदारीवाट कोपवा हुदै वनगाई, भलवाड, मधुवन हुँदै पावर, विक्रम सोता हुँदै पुन पिपरासम्मको च्रकपथ निर्माण गर्न सकिने सम्भावना छ ।

यसले अर्घाखाँचीसम्मको उत्पादनको बजारीकरण गर्न दुवै पक्षलाई सहयोग पुर्‍याउँछ । उत्तर अर्घाखाँची र दक्षिण शुद्धोधन गाउँपालिकालाई जोड्छ,  नागकिरहरूको कृषि उपज ओसारपसार गरी नागरिक–नागरिकबीचको सम्वन्ध स्थापित गराउँछ । मैले प्रतिकात्मक रूपमा यी विषयहरू उल्लेख गरेको हुँ । यस्ता धेरै योजनाहरू छन्, जसले वाणगंगाको रूपान्तरण गरी यसलाई नमुना नगरमा विकास गर्नेछन् । 

नगरमा शिक्षा, स्वास्थ्य र सडक सञ्जालको अवस्था कस्तो छ ? विस्तारका लागि के सोच्नुभएको छ ? 

मेरो विचारमा शिक्षालाई गुणस्तरीय र सहज बनाउँदै जानुपर्छ । यसकालागि स्थानीय सरकारी कर्मचारीहरूलाई उत्तरदायी बनाउनु पर्ने देखिन्छ र शिक्षामा लगानी  बढाउनु पर्ने देखिन्छ । नगरपालिका भित्रका ११ वडामा प्रतिवर्ष कम्तीमा पनि २ वटा प्राथमिक विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्नु आवश्यक छ ।
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी बढाउनै पर्छ । अर्को कुरा, स्वास्थ्य पूर्वाधारहरुको विकास गर्नुपर्नेछ । विज्ञता सहितको चिकित्सा केन्द्रको विकास गर्नुपर्ने छ । यी कार्य समन्वयात्मक तरिकावाट गर्न सकिन्छ । तेश्रो, महत्वपूर्ण कार्य कृषि क्षेत्रकमा प्रविधियुक्त सुधार आवश्यक छ । त्यसैगरी, सडक संजाल, फोहर व्यवस्थापन र फोहरलाई मोहरमा बदल्ने प्रविधि विस्तार अपनाउने हाम्रो सोच छ ।

सरकारी नीति तथा निर्देशिका बमोजिमका कार्यहरूलाई उत्तरदायी ढंगवाट र नविन तरिकावाट नागरिकलाई लाभ हुने गरी कार्यान्वयनमा ल्याउँछौ । युवाहरूलाई लक्षित गरी आयआर्जन विकास गर्न सक्ने तालिम कार्यक्रम आयोजना गर्छौं । नगरको सर्वपक्षीय विकासकालागि विभिन्न संघ, संस्था तथा दातृ निकायहरूसँग समन्वयात्मक ढंगले काम गर्नेछौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवालाई रोजगारी प्रदान गर्न नवीन शैली अपनाइनेछ । 

हिंसा तथा दुर्व्यवहारमा परेका महिला तथा बालबालिकाहरूको लागि सुविधासम्पन्न सेल्टरका लागि सामुदायिक भवनको व्यवस्थापन गर्ने, बालश्रम मुक्त, बालविवाह मुक्त, हिंसामुक्त नगर घोषणाका लागि दातृ निकाय एवं विभिन्न संघ संस्थाहरुसँग हामी सहकार्य गर्छौं । 

विकास निर्माण, पर्यटकीय क्षेत्रको प्रवर्धन, यस क्षेत्रको गौरवको आयोजनाहरू निर्माण गर्दा सर्व पक्षिय समन्वयको पहल गर्ने; सामुदायिक वनको श्रोत परिचालन गर्न वन उपभोक्ता समितिहरूसँग साझेदारीका लागि समन्वय गर्ने; सरसफाईका लागि टोल–टोलमा सरसफाई समिति निर्माण गरि परिचालन गर्ने; श्रमिकमैत्री नगरको विकास गर्दै सबैलाई श्रमिकहरुको हक हित, कृषि श्रमिकहरुका न्यूनतम ज्याला, सुरक्षा, निर्माण श्रमिकहरूका सवालहरूलाई महत्व दिने, दुर्घटना बीमा अनिवार्य कार्यान्वयन जस्ता विषयलाई हामीले आफ्नो घोषणापत्रमा पनि समावेश गरेका छौं । 

यसका अतिरिक्त नगरमा क्रियाशील रहेका विभिन्न संघ, संस्थाहरू, व्यवसायिक निकायहरू, वौद्धिक व्यक्तित्वहरू, विभिन्न क्षेत्रका विज्ञहरूको त्रैमासिक वैठक बसेर विकासका नयाँ आयामहरु र योजनाका सम्वन्धमा व्यापक वहस संचालन गर्ने सोच छ । विपक्षी दलका पदाधिकारीहरूलाई छायाँ समितिका रूपमा मान्यता दिई उनीहरूको सुझावहरूलाई आत्मसाथ गर्नु तथा उनीहरूसँग उचित व्यवहार गर्नु, निषेधको राजनीति भन्दा सम्मानजनक अवस्था सृजना गर्नेछौं । अव्यवस्थित बसोबास भएकाहरूलाई सरकारी नीति बमोजिम व्यवस्थित गर्दै जानु र नगर क्षेत्रमा रहेका भूमिहीनहरूको पनि कम्तीमा एउटा छाप्रो अर्थात् घर बनाई बस्ने अधिकार सुनिश्चित गर्छौं । साथै, कृषि, उद्यमशीलता, रोजगारमूलक तालिम, सामाजिक सांस्कृतिक संरक्षणका विषयहरू, एकल महिला, अपांगहरू, किशोर किशोरीका सवालहरूमा योजनावद्ध तरिकाले काम गर्नेछु ।

नगरको पहिचान बोकेको वाणगंगा नदी अति दोहनको चपेटामा परेको छ, त्यसको नियन्त्रणका लागि के गर्नुहुन्छ ? 

यहाँले उठाएको सवाल सत्य छ । नदी महेन्द्र राजमार्गको मध्यखण्डमा रहेको भएपनि अति दोहनको चपेटामा परेको छ । ठेक्का प्रक्रियामा मिलोमतो हुनेसम्म सुन्नमा आएको छ । ती सबै विकृति नियन्त्रणका लागि स्थानीयको सुझाव अनुसार कार्ययोजना बनाएर विकास र संरक्षणलाई ध्यान दिनेछु । विगतमा भएका गल्ती कमजोरीलाई सामूहिक रूपमा आंैल्याएर आगामी योजना र कार्यक्रम बनाएर अघि बढ्नेमा हामी प्रतिवद्ध छौं । नगरमा काम गर्दा वैमनश्यता र प्रतिशोध नराखी समवन्य गरेर काम गर्नेछौं । 

अन्त्यमा, मतदाताहरूलाई के भन्नुहुन्छ ?

म र मेरो समूह चुनावी मैदानमा छौं । यहाँहरुको अमूल्य मतको अपेक्षा गरेका छौं । नगरक्षेत्रको वृहत्तर विकासका लागि अहोरात्र मेहनत गर्ने प्रतिवद्धतासहित तपाईंहरूको बीचमा आएका छौं । म र मेरो समूहका सवै उम्मेदवारहरूलाई विश्वास गर्नुस्, पारदर्शी र नागरिकप्रति उत्तरदायित्वको खोजी तपाईं–हामी सवैको सरोकार हो । मैले जनताको निस्वार्थ सेवाको लागि नै उम्मेदवारी दिएको हुँ । त्यसैले सम्पूर्ण आमा, बुबा, दाजुभाइहरूलाई एकपटक नगरको विकास र परिवर्तन गर्दै तपाईहरुको सेवा गर्ने मौका दिन अपिल गर्दछु । हामी तपाईहरूको विश्वासको प्रतिकूल हुन दिने छैनौं र नगर तथा नगरवासीको सेवामा अहोरात्र खटिनेछौं ।


Author

थप समाचार
x