अब बनेपाको विकासले पुस्तौंसम्म नाम राख्नेछ
आउँदो स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकाको मेयर पदमा शान्तिरत्न शाक्यले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट उनी मेयरका उम्मेदवार बनेका हुन् । व्यापारिक बजार बनेपा मात्रै नभइ सिंगो नगरभित्र व्यवस्थित खानेपानी, बाटो, पार्किङ्ग, हाइवे, फोहोरमैला व्यवस्थापन, हरियाली, कृषिलगायतका धेरै क्षेत्रलाई व्यवस्थित बनाउने अभियान लिएर उनी अहिले चुनावी प्रचारका क्रममा घरदैलो गरिरहेका छन् । स्थानीय तहबाट कार्यसम्पादन चुस्त रुपमा गर्ने वाचा गरेको उनै शाक्यसँग इकागजले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
तपाईको उम्मेदवारी किन ?
बनेपा एउटा ठूलो व्यापारिक बजार हो । कारोबारका दृष्टिले पनि बनेपाले एउटा ठूलै हिस्सा राख्ने गरेको छ ।
जनघनत्व पनि भएकाले बजार अव्यवस्थित छ । यसलाई व्यवस्थित बनाउन एउटा व्यक्तिको सामर्थ्यले भ्याउँदैन । जसका लागि एउटा आधिकारिकता भएको निकाय चाहिन्छ । त्यही आधिकारिकताका लागि उम्मेदवारी दिएको छु ।
व्यवस्थित खानेपानी, बाटो, पार्किङ्ग, हाइवे, फोहोरमैला व्यवस्थापन, हरियाली, कृषि लगायतका धेरै क्षेत्रलाई व्यवस्थित बनाउनु छ । यो अहिलेको आवश्यकता हो ।
प्रमुख ५ योजनाहरू के के छन् ?
योजना धेरै छन् । मैले मेरो घोषणा पत्र र प्रतिबद्धता पत्रमा पनि उल्लेख गरेको छु । फोहोर बनेपालाई सफा हरियाली बनेपा बनाउने, डुबान हुने बनेपालाई डुबान मुक्त बनाउने, घर घरमा खानेपानी पु¥याउने, फोहोरमैला व्यवस्थापन लगायतका धेरै योजना छन् । जसका लागि मैले यहाँको वातावरण, अवस्था, भूबनोट अध्ययन गरेर खाका बनाएको छु ।
निर्वाचित भएमा पालिकामा के–के सुधार गर्नुहुन्छ ?
मैले तपाईंले सोध्नुभएको माथिल्ला प्रश्नहरुमै उत्तर दिईसके कि मैले बनेपामा यो गर्छु उ गर्छु भनेर र मैले बनाएका योजनाहरु सफल हुनासाथ परिवर्तन त अवस्य आउने नै छ ।
अहिले पनि यहाँका नागरिकले दैनिक आधारभूत आवश्यकताका सेवा पाइरहेका छैनन् । अझै बेथिति छ । स्थानीय तहबाट कार्यसम्पादन चुस्त रुपमा हुन नसकेको सत्यलाई स्वीकार गर्नुपर्दछ । झण्झटिलो प्रणालीलाई प्रविधिमैत्री बनाएर जनताका इच्छा, चाहना जतिसक्दो चाँडो गर्नु मेरो अर्काे लक्ष्य हो । भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने अर्काे चुनौति छ । यसलाई पनि प्रमुख अजेन्डा बनाएर म निर्वाचनमा होमिएको हुँ ।
जितका आधारहरू के के छन् ?
हेर्नुस्, जित र हार त समयको कुरा हुन्छ । मैदानमा उत्रने नै जित्नका लागि हो जस्तो लाग्छ र पनि जितेर यो बनेपालाई विकास गरेर पुस्तौंपुस्तासम्म नाम राख्ने सोचमा छु । त्यसैले मैले यसअघि अन्य संघ संस्थामा रहेर गरेको काम र पार्टी भित्रै पनि गरेको काम र पुर्याएको योगदानको कदर बनेपाली जनताले गर्नुहुनेछ भन्ने विश्वास छ।
किनकि मेरो अनुभव, काम गर्ने शैलीबारे यहाँका नागरिक परिचित हुनुहुन्छ । यहाँका नागरिक मेरा अभिभावक हुन् । मेरा देउता हुन् । मतदाताप्रति मेरो अगाध स्नेह, प्रेम छ । विश्वास छ । गाउँ, समाजप्रति सकारात्मक सोच, विचारका साथ सामाजिक अभियन्ता बन्ने सोचले म स्थानीय सरकारको प्रतिनिधित्व गर्नका लागि यहाँसम्म आइपुगेको हुँ ।
मेरो समर्पणकै कारण पनि मतदाताले मलाई चाहेका छन् किनकि म विकासप्रेमी छु ।
निर्वाचन अघि र पछिको तपाईमा केही अन्तर हुन्छ कि ? बोली र व्यवहारमा फरक हुन्छ भनिन्छ नि !
त्यस्तो कुरा अलिकति पनि नसोच्नु होला । भन्न त कुर्सीमा बसेपछि कसैलाई पनि देख्दैन रे भन्छन् तर म जनताको सेवा गर्न लागेको मान्छेको हुँ त्यसैले आफू बदलिएर किन नराम्रो हुन्थे र होइन र भन्नुस् त । शान्ति रत्न आज जस्तो छ भोलि पनि त्यस्तै रहन्छ यो मेरो वाचा भो ।
पालिकावासीलाई केही भन्नु छ कि ?
अब त्यही हो वैशाख ३० गतेको दिन तपाईहरुले सहि निर्णय लिने दिन आउन लागेको छ । कसैका चिप्ला कुराको पछि लागेर गलत निर्णय नलिनु होला । मैले जीवनमा नसक्ने र नहुने कुरा कहिले बोल्न जानेको छैन ।
त्यसैले मेरो प्रतिबद्धता अनुसारकै काम म ५ वर्ष भित्रमा गरेर देखाउने सम्पूर्ण बनेपावासी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु । म र मेरो गठबन्धनलाई विजय गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया