एक वर्षभित्र धरानमा खानेपानी वितरण प्रणालीमा पूर्ण सुधार ल्याउछौँ
मञ्जु भण्डारी सुवेदी नेपाली राजनीतिमा उदयमान नाम हो । ११ वटा उपमहानगरपालिकाका उपमेयरमध्ये मेयरको टिकट पाउने ४० वर्षमुनिकी युवा उम्मेदवार हुन् । उनले स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा एमालेबाट उम्मेदवारी दिएकी छन् । स्नातकसम्मको अध्ययन गरेकी भण्डारी नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत हुन् । चुनावी माहौलका विषयमा भण्डारीसँग इकागजले गरेको कुराकानी :
चुनावी प्रचार–प्रसारको घरदैलो अभियान कस्तो हुँदैछ ?
– धरानमा हाम्रो चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रम आक्रामक तरिकाले भएको छ । वैशाखको चर्को गर्मीमा पनि एमालेको पक्षमा हामी उम्मेदवारसँगसँगै सबै जनता र कार्यकर्ताहरू उत्साहका साथ एक ढिक्का भएर चोकचोक, टोलटोलमा परिचालित हुनुभएको छ । धराने जनतामा उत्साह बढेको छ ।
धरानमा एमालेले जित्ने आधार चाहिँ छन् ?
– धरानमा एमालेले जित्ने आधार धेरै छन् । तर, प्रतिपक्षीहरूले ममाथि प्रमाणित हुनै नसक्ने अनेक आक्षेप र लाञ्छना लगाएर कमजोर देखाउने प्रयास गरेका छन् । अरुलाई नराम्रो देखाएर आफू राम्रो हुँ भन्नेहरूको धोती खुस्किसकेको छ । उनीहरूको गलत बनावटी आक्षेप धराने जनताले विश्वास गर्नेवाला छैनन् । धराने जनताको मलाई अपार माया छ । पाँच वर्ष उपमेयर भएको बेला धराने जनताका लागि काम गरेको छु । प्रदेश संघसँग समन्वय गरेर अर्बौँका योजना धरानमा आएका छन् । २०७४ पछि एमालेको नेतृत्वमा धरानमा केन्द्रीय सरकारबाट ठूलो योजनाहरू आएका छन् । कतिपय काम सम्पन्न भएका छन् भने केही पाइपलाइनमा छन् । ती सम्पन्न गर्न पनि स्थानीय तहमा एमालेको नेतृत्व आवश्यक छ ।
धरानमा एमालेले जित्न किन जरुरी छ ?
– एमाले यो देशको मूल प्रवाहको प्रमुख पार्टी हो । प्रदेश र सङ्घको सत्ता सञ्चालन गर्ने पनि यही पार्टी हो । नगरको समग्र विकास गर्न धरानमा एमालेले जित्न जरुरी छ । धरानको विकासको खाकालाई मूर्तरूप दिन सङ्घ एव प्रदेशसहित दातृ निकायको साथ र सहयोग चाहिन्छ । ०७६ को उपनिर्वाचनमा काङ्ग्रेसका मेयर तिलक राईजी आउनुभयो । तर, दातृ निकायले धरानको विकास निर्माण गर्न उहाँसँग सहकार्य गर्न चाहेको देखिएन । यताबाट पनि पहलकदमी हुन सकेन । दातृ निकायसँगै सङ्घ र प्रदेशको स्रोतविना धरानको विकास निर्माण सम्भव छैन । यो अवस्थामा केन्द्रमा सिधा पहुँच बनाएर र दातृ निकायसँग सहकार्य गरी आर्थिक स्रोत जुटाएर अधुरा रहेका ठूला योजना पूरा गर्न र पहिल्यै डीपीआर बनेका दीर्घकालीन गौरवका योजनाहरू सुरुवात गर्न एमालेले धरानमा जित्न जरुरी छ । दातृ निकायसँग सहकार्य गर्न, सङ्घ र प्रदेशबाट स्रोत जुटाउन म आफू सक्षम छु भन्ने कुरा हो । उपमेयर पदम लिम्बुसहितको टिमबाट धरानको विकासमा कायापलट हुने छ ।
तपाईंको पालाको खानेपानी आयोजनाले पानी दिन सकेको छैन नि ?
– खानेपानी आयोजना असफल भएको छैन । तर, व्यवस्थापनमा कमजोरी भएको छ । यसका लागि ऐन बनाएर खानेपानी वितरण गरिने छ । एक वर्षभित्र हामी धरानमा खानेपानी वितरण प्रणालीमा पूर्ण रुपमा सुधार ल्याउछौँ । यो मेरो प्रतिवद्धता हो । धरान खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत पानी वितरण गर्न सकिने अवस्था छ । साविक एरियामा अनुगमन समिति बनाएर ४० प्रतिशत चुहावट हुने खानेपानी नियन्त्रण गर्नेछौँ । यो काम ३ देखि ५ महिनाभित्र गर्नेछौँ ।
धरानमा सुकुम्बासीको व्यवस्थापन कसरी गर्ने योजना छ ?
– सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने, अव्यवस्थित बसोवासलाई व्यवस्थित बनाउने मुद्दा हामीले पहिल्यैदेखि भन्दै आएका छौँ । धरानमा उनीहरूको मुद्दालाई सम्बोधन गर्नुपर्छ भनेर लगत लिने, घर नम्बर दिने काम पनि स्वर्गीय मेयर तारा सुब्बाको पालादेखि नै सुरु भएको हो । तर, गठबन्धन सरकारले अवरोध गरेपछि बिचैमा रोकियो । धरानमा १३ हजार ५ सय घरधुरीको लगत सङ्कलन भएको छ । पहिलो चरणमा २५ सयलाई निस्सा दिने तयारी पनि गरिएको छ । त्यसबाहेक सुकुम्बासी समुदायको शिक्षा, स्वास्थ्य, आवास र रोजगारको अवसरमा पहुँच दिलाउने प्रतिबद्धता पनि गर्छु ।
धरानको विकास गर्ने एमालेका एजेन्डा के छन् ?
– धरानको विकास निर्माणमा हामीसँग थुप्रै एजेण्डाहरू छन् । हामीले गुरु योजना बनाएका छौँ । भिजन भएको पार्टी नै एमाले हो । एजेण्डा छैनन् भन्ने हल्ला विपक्षी पार्टीले फैलाएका हुन् । यी सबै भ्रम हो । मुख्यगरी यो दुई वर्षभित्र पूरा हुने गरी स्मार्ट बसपार्क निर्माणका लागि टेण्डर नै भइसकेको छ । अहिले भौतिक पूर्वाधार तयार हुँदैछ । म उपमेयर हुँदा गरेको पहलमा स्मार्ट बसपार्क निर्माणको काम २५ प्रतिशत भएको छ । सर्दु, सेउती करिडोर, साइन्स सिटी पार्क, धरान सिटी अस्पताल, धरान स्मार्ट सिटीका लागि पूर्वाधार तयारी गर्न डीपीआर तयारी नै भएको छ ।
धरान विविधतायुक्त सहर हो । यसबारे तपाईका एजेन्डा के छन् ?
धरानको किरातकालीन ऐतिहासिक पुरातात्विक थलोको रूपमा विजयपुरलाई चिनाइरहन पर्दैन । यो स्थलमा सम्बन्धित समुदायसँग समन्वय गरेर विजयपुर दरबार बनाउने, सभ्यता र संस्कृतिको पहिचानसहितको सङ्ग्रहालय बनाएर पर्यटकीय गन्तव्य स्थल बनाउने योजना छ । यसैगरी धरानलाई इकोनोमिक करिडोरको रूपमा विकास गरेर पुर्वी पहाडी जिल्लाका लागि ट्रान्जिट पोइन्ट बनाउने, अटोजोनको रूपमा विकास गर्ने, सिण्डिकेट प्रणाली खारेज भए पनि रहेका उनीहरूका सम्पत्तिलाई हाल बनेका कम्पनीमै हस्तान्तरण गर्न पहल गर्ने, आदिवासी जनजाति विकास समिति गठन गरेर भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको विकास गर्ने, त्यसका पनि विशेषगरी सम्बन्धित समुदायसँग समन्वय गरेर मुन्धुमी ज्ञानलाई प्रवर्द्धन गर्ने र भाषा, लिपि पठन–पाठनका लागि पहल गर्ने एजेण्डाहरू हामीसँग छ ।
त्यतिमात्र नभएर नयाँ पर्यटकीय गन्तव्यका लागि धरानको विजयपुर–वराहक्षेत्र–खुवालुङ सर्किट बनाएर बहुधार्मिक, बहुसांस्कृतिक सम्पदाको संरक्षण गर्ने एजेण्डाहरू पनि छन् । शिक्षामा गुणस्तर सुधार गर्न पहल गर्ने र निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्ने, नगर युवा परिषद्, महिला विकास समिति बनाएर काम गर्ने योजनाहरू छन् । ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा निःशुल्क सेवा र निःशुल्क दाँत लगाइदिने योजना पनि छन् । धरानलाई बालमैत्री, अपाङ्गमैत्री, महिलामैत्री र वातावरणमैत्री बनाउँदै जातीय छुवाछुत र विभेद तथा महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नेछौँ ।
चुनाव जित्नेमा विश्वस्त हुनुहन्छ ?
यसमा त दुई मत नै छैन । मैले माथि पनि भनेँ नगरको समग्र विकास गर्न धरानमा एमालेले जित्न जरुरी छ । यो धरानवासीले पनि बुझ्नुभएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया