वार्ता

अन्तर्वार्ता

‘माधवकुमार नेपाललाई सम्मानजनक व्यवहार गरे एमाले फुट्दैन’

इकागज |
चैत १५, २०७७ आइतबार १४:२२ बजे

नेकपा एमालेभित्र आन्तरिक संघर्ष चर्किदै गएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, भीम रावल लगायतका नेताहरुलाई कारबाही गर्ने उद्देश्यसहित स्पष्टीकरण सोधेपछि आन्तरिक संघर्ष झन् चर्किएको हो । ओलीको व्यवहारबाट आजित भएका वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक रुपमै हिनताबोध भएको अभिव्यक्ति दिइरहेका छन् । पार्टी एकताका लागि ओलीले ढोका बन्द गरेको बताउने माधव नेपाल पक्षभित्र पनि असन्तुष्टि र दबाब बढ्दो छ । यस्तो बेला एमाले पुनर्मिलन कसरी सम्भव हुन सक्ला ? नेता नेपाल गुटका नेता सोमप्रसाद पाण्डेसँग इकागजले गरेको कुराकानीको सम्पादित अंश :-

आन्तरिक संघर्ष चर्किदै गएको छ, मिल्ने सम्भावना कति छ ? 


हामीले सुरुदेखि भन्दै आएको पार्टी एकताको विकल्प छैन् । नेताहरु मिल्नुको विकल्प पनि छैन् । यसका लागि नेताहरुले त्याग देखाउनुपर्छ । समन्वय गर्नुपर्छ । र, विगतका तिक्तता बिर्सनुपर्छ । देशका लागि, जनताका लागि, कम्युनिष्ट आन्दोलन र मुलुकको हितका लागि मिल्नुको विकल्प छैन । हाम्रो प्रयास नेताहरुलाई मिलाउने भन्‍ने छ । मिल्नुको विकल्प छैन ।

स्प्ष्टीकरण सोध्‍ने, कारबाही गर्ने भएपछि मिल्ने सम्भावना त देखिएन नि ? 

नेपाल कम्युनिष्ट पार्टीमा कारबाही र अन्तरसंघर्ष सुरुदेखिकै इतिहास हो । २००६ सालमा पार्टी स्थापना भयो । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई समेत २००८ सालमा कारबाही गरेर हटाइएको थियो । त्यसयता कम्युनिष्ट पार्टीमा स्पष्टीकरण सोध्ने, कारबाही गर्ने प्रवृत्ति नौलो होइन । एमालेभित्र पनि यो प्रवृत्ति विकास भएको थियो । अनौठो घटना होइन ।

नेताहरूलाई मिल्ने सम्भावना कत्तिको देख्नुहुन्छ ? 

नेताहरु मिल्नुपर्छ भनेर नै हामीले सुरुमै संसदीय दलको बैठकमा हाम्रो पक्षका नेताहरुको हस्ताक्षरसहित बालुवाटार गएका थियौ । त्यो मिलाउने प्रक्रियाको थालनी थियो । यसबारेमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीज्यूलाई भेटेर भनेका छौँ । नेताहरुलाई मिलाउने, पार्टी एकता कायम राख्‍ने अनि देशको भाग्य र भविष्य जोगाउने प्रधानमन्त्रीको जिम्मेवारी हो । मलाई लाग्छ, शक्तिको आडमा नेतारुलाई कारबाही गरेर उहाँले पार्टी फुटाउनु हुँदैन । अझ कारबाहीको तहसम्म उहाँ पुग्नुहुन्‍न जस्तो लाग्छ । यसबारेमा प्रधानमन्त्रीज्यूले राम्रोसँग सोच्नुपर्छ । कारबाहीभन्दा पनि नेताहरु मिल्नतिर जानुपर्छ । यो सबै मिलाउने जिम्मेवारी उहाँलाई छ । दूरगामी असर हेरेर प्रधानमन्त्रीज्यूले निर्णय गर्नुपर्छ । यसमै पार्टी र देशको भलाई छ ।

तर माधव नेपाललाई एमालेमा फर्किन समस्या देखिन्छ, सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काएको भनेर उहाँले सार्वजनिक रुपमै भन्नुभएको छ, यसरी नेताहरु मिल्लान त ? 

माधव नेपालले धेरै अपमान महसुस गर्नुभएको छ । उहाँलाई सम्मानजनक व्यवहार हुनुपर्छ । उहाँलाई सम्मानजनक व्यवहारमा भएमा मात्रै पनि एमालेभित्रको अहिलेको विवाद धेरै हदसम्म साम्य हुन्छ । यसको वातावरण प्रधानमन्त्री ओलीले तयार पार्नुपर्छ ।  

अनि नेताहरूलाई मिलाउने तपाईको प्रयास कहाँ पुग्यो ?

आन्तरिक रुपमा छलफल गरिरहेका छौँ । नेताहरु मिल्नुको विकल्प छैन् । पार्टी एकता कायम राख्नुको विकल्प छैन भनेर नेताहरुसँग छलफल, बहस र परामर्श गरिरहेका छौँ । जतिसुकै घुर्की, धम्की, तिक्तता भएपनि अन्तिममा नेताहरु मिल्नैपर्छ । त्यसैले, हेर्दै जाऔँ ढिलो चाँडो नेताहरु मिल्नुहुनेछ भन्‍ने हाम्रो विश्वास छ । त्यसका लागि आ-आफ्नो ठाउँबाट प्रयास पनि गरिरहेका छौँ ।


Author

थप समाचार
x