जनआन्दोलन २०४६

जनआन्दोलन २०४६ विशेष-१

म त्यो उत्साही केटी अनि यो उदास लोकतान्त्रिक नागरिक

अरु त कुरै छोडौँ, धन्यवादसमेत कसैले भनेको छैन

सुनीता साखकर्मी |
चैत २६, २०७७ ७:५४ बजे

तस्बिर : मीनरत्न बज्राचार्य

काठमाडौँ : सेतो कुर्ता-सुरुवाल लगाएकी एक युवती । विशाल जनसागरबाट उफ्रिन्छिन्, सिन्दुरले रंगिएका हात उचाल्छिन् । औँलाले भी साइन (विजय चिह्न) देखाउँदै उनी चिच्याउँछिन्, ‘प्रजातन्त्र बाँचिरहोस् !’

यो आवाज थियो, दुर्गा थापाको । फोटो चाहिँ पत्रकार मीनरत्न बज्राचार्यको । २०४६ चैत २७ गते खिचिएको यो फोटो नेपाली राजनीतिको इतिहासमा निकै महत्वपूर्ण मानिन्छ । यसले देशको एउटा कालखण्ड बताउँछ, जसमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको खुसी झल्किन्छ । 

यो खुसी त्यतिकै आएको थिएन । लामो संघर्षले ल्याएको थियो । थुप्रैको रगत, पसिना र मेहनत मिसिएको छ, यो खुसीमा । त्यसको एक साक्षी दुर्गा पनि हुन् । ‘कति भोकै बसियो, कति प्रहरीको लाठी खाइयो,’ उनी सम्झिन्छिन्, ‘निकै कष्टले त्यो खुसी प्राप्त भएको थियो । त्यही ममा प्रस्फुटन भएको हो ।’ 

यो खुसीसम्म पुग्ने बाटो भने २०४५ माघ ५ गते गणेशमान सिंहले खनेको दुर्गा सम्झिन्छिन् । ‘जननायक गणेशमान सिंहले प्रजातन्त्रका लागि १० मुलुकका पत्रकार बोलाएर घरबाटै राजतन्त्रविरुद्ध आन्दोलनको शंखध्वनि गर्नुभएको थियो,’ उनी भन्छिन्, ‘उहाँले नै स–साना टुक्रामा रहेका वाम घटकलाई एक ठाउँमा जम्मा गरेर  मनमाेहन अधिकारी, सहाना प्रधान लगायतलाई समेट्नुभएको थियो ।’  

पद्मकन्या कलेजमा आइए पढ्ने दुर्गा त्यतिबेलासम्म नेविसंघको सक्रिय विद्यार्थी कार्यकर्ता भइसकेकी थिइन् । साँझ–बिहान, अनेक कार्यक्रममा सहभागी हुन्थिन् । चाक्सीबारी सभा गरिन् । आफूजस्तै पञ्चायती निरंकुश व्यवस्थाप्रति असन्तुष्ट युवा जमातलाई उनी भेला गर्थिन् ।

उनी प्रजातन्त्रको पक्षधर थिइन् । निरंकुश व्यवस्थाको मारमा परेपछि दुर्गा प्रजातन्त्रको पक्षमा वकालत गर्ने भएकी थिइन् । निरंकुश व्यवस्थाले उनलाई स्वतन्त्रताको महत्व सिकायो । प्रजातन्त्रको पक्षधर बनायो । 

०००

वानेश्वरको सामान्य परिवारमा जन्मिएकी उनी सानैदेखि निडर र हक्की स्वभावकी थिइन् । कसैसँग नडग्ने उनको स्वभाव थियो । बाआमाले उनलाई पढाउन आनाकानी गरेनन् । वानेश्वरकै रत्नराज्यमा पढेकी उनले एसएलसी फस्ट डिभिजनमा पास गरिन् । 

कक्षा १० मा काम गर्दै गर्दा उनी वन कार्यालयमा जागिरे भइसकेकी थिइन् । दिउँसो काम गर्नुपर्ने भएकाले उनलाई आइए बिहानी सत्रमा पढ्नुपर्ने भयो । तर पद्मकन्याले भने दिउँसो मात्रै पढाउँथ्यो । अब कसरी पढ्ने ? आपत् आइलाग्यो ।

उनी थुप्रै ठाउँ धाइन् । पद्मकन्यामा भेटिएका शिक्षक, कर्मचारी सबैलाई गुहारिन् । तर सबैले गर्दिन्छु, मिलाइदिन्छु मात्रै भने । मिलाइदिएनन् । दुर्गाका बाबु ठूलो मान्छे (पहुँच भएका) थिएनन् । उनी दरबारमै काम गर्थे, तर दरबारमा उनले भन्नेबित्तिकै काम हुने वातावरण थिएन । 

न भर्ना भयो, न त कसैले मिलाइदियो । त्यतिबेला उनलाई साथ दियो, स्वतन्त्र विद्यार्थी युनियनले । तिनैले दुर्गाको पक्षमा वकालत गरिदियो । उनैले बिहानी सत्रमा पढ्ने व्यवस्था मिलाइदिए । नेविसंघले उनीप्रति देखाएको उदारताले उनलाई कांग्रेस बनायो । 

त्यसपछि उनी पनि नेविसंघको चुनावमा लागिन् । त्यहाँ आफूभन्दा अग्रजहरूले राजनीतिक आस्था र अवस्थाका कुरा सुनाउँथे । देशमा भइरहेको विभेद र निरंकुशताका खराबी बताउँथे । उनी आफैँ पनि जागिरे थिइन् । त्यतिबेला जागिरेले बोल्न पाउँदैन थियो । पत्रपत्रिका लुकाएर पढ्नुपथ्र्याे । कसैविरुद्ध केही गर्न नपाउने, न एफएम रेडियो, न त टेलिभिजन । यसरी त हुँदैन । मानिस स्वतन्त्र प्राणी हो । स्वतन्त्रताका लागि लड्नपर्छ भनेर सक्रिय रूपमै उनी राजनीतिक क्रियाकलापमा लाग्न थालिन् ।

तर उनी त पार्टीका ठूला नेताहरूलाई चिन्दिनथिन् । जमलमा पार्टीको कामले जाँदा ठूला नेता भेटिन्थे । तीमध्ये निलो चप्पल, सेतो कुर्ता, पाइजामा लगाएका व्यक्ति मन पर्थ्यो, उनलाई । तिनै मान्छे बेलाबेला वानेश्वर आइपुग्थे । ती थिए, कृष्णप्रसाद भट्टराई । किसुनजी । 

‘वानेश्वरमा लक्ष्मी दिदीको पसलमा पान खान किसुनजी आउनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘हामी अल्लारे नै थियौँ । हामी किसुनजीलाई हेर्न त्यहाँ जान्थ्यौँ ।’ 

पछि भने राजनीतिप्रति उदासीन हुन थालिन्, दुर्गा । जतिजति उनीहरूले आन्दोलनका लागि मोर्चाबन्दी गर्दै थिए, त्यति नै सरकार झनै निरंकुश हुँदै गइरहेको थियो । २०४७ को परिवर्तन ल्याउन दुर्गा जस्ता थुप्रै अनवरत रूपमा लागिपरेका छन् । एक दिन बन्द गराउन हप्तौँ अघिदेखि कसरत गर्नुपथ्र्याे । प्रहरीको नजरबाट लुकाएर पर्चा बाँड्ने, लगायत जनशक्ति तयार पार्नुपथ्र्याे ।

‘कुन दिन खाना खाएँ, कुन दिन खाइनँ, त्यो त हिसाबै छैन,’ दुर्गा सम्झिन्छिन्, ‘हामीलाई पुलिसले कपाल समातेर हान्थ्यो । गाडीमा भेडाबाख्रा जस्तै कोच्थ्यो । प्रहरीको गोली लागेर घाइते भएका साथी उठाउन पुग्दा रगतले शरीर भिज्थ्यो । तैपनि निरन्तर लागिरह्यौँ ।’

ज्यानको पर्वाह नगरी उनीहरूले निरन्तर संघर्ष गरे । कति जेल परे । 

त्यसपछि आन्दोलन सुरु भयो । महेन्द्र सालिक अगाडि गोली चल्यो । चार दिन कफ्र्यु लाग्यो । उनीहरूले वाकीटकी, फुटाउने, खोस्ने गर्न थाले । २४ गते सरकारले कफ्र्यु जारी गर्यो । त्यसपछि उनी घर जान पाइनन् । प्रहरीको यातना त्यतिकै थियो ।

तर चैत २६ गते राति राजा वीरेन्द्रले गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शैलजा, सहाना, मनमाेहन अधिकारी लगायतलाई बोलाएर बहुदलीय प्रजातन्त्रको पुनःस्थापनको घोषणा गरे । राजा वीरेन्द्रले २६ गते राति बहुदलीय प्रजातन्त्रको पुनःस्थापना हुने भनेर घोषणा गरेपछि खुल्लामञ्चमा खुसीयाली व्यक्त भएको थियो । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायत मञ्चमा थिए । 

त्यही बेला दुर्गामा जोस आएको थियो । प्रजातन्त्रको पुनःस्थापना भएको खुसी उनले थाम्न सकिनन् । अनि सबैको भीडबाट उठेर चिच्याएकी थिइन्, ‘प्रजातन्त्र बाँचिरहोस् ।’  

त्यही क्षण फोटोपत्रकार मीनरत्न बज्राचार्यले कैद गरेका थिए । तर त्यतिबेला दुर्गालाई उक्त फोटो खिचिएको थाहा थिएन । उनले त तीन वर्षपछि मात्रै उक्त फोटो देखेकी थिइन् । राष्ट्रिय सभा गृहमा प्रदर्शनी नियाल्न गएकी उनले आफूलाई देख्दा छक्क परेकी थिइन् ।

‘क्यामरा सयौँ थिए, कसले के–के खिच्यो थाहै थिएन,’ उनी भन्छिन्, ‘तीन वर्षपछि प्रदर्शनीमा कहाँबाट आयो त्यो फोटो भन्ने भयो । अनि आफैँलाई देखेर लाज पनि लाग्यो । पछि कसले खिच्यो भन्ने खोजी गरेँ । त्यसपछि मीनरत्न बज्राचार्यसँग मेरो भेट भयो ।’ 

यो फोटोले अहिले पनि प्रजातन्त्र पुनःस्थापनाको याद ताजा गरिदिन्छ । प्रजातन्त्र पुनःस्थापना भएकै पनि तीस वर्ष कटिसकेको छ । तर व्यवस्था नफेरिएको दुर्गाको अनुभव छ । २०४५ देखि २०६२/०६३ सम्म उनले निरन्तर सडकमा संघर्ष गरिन् । परिवारको साथ भएका कारण बिहेपछि पनि उनी निरन्तर संघर्ष गरि नै रहेकी छन् । बिहे त प्रजातन्त्र पुनःस्थापना भएको तीन महिनापछि नै भएको थियो । पार्टीका कामले हिँड्न थालेपछि छोरी बिग्रन्छे भनेर उनको बिहे गराइदिए ।

बुवा साथी जस्ता थिए । त्यसैले बुवाको कुरामा उनी कन्भिन्स्ड भएर उनले नुवाकोटका युवासँग बिहे गरिन् । ‘म कांगे्रसमा लागेकोले मेरो परिवारले मलाई कांग्रेसकै घरमा बिहे गराइदिनुभयो,’ उनी भन्छिन्, ‘मेरो ससुरा, नन्दहरू पनि राजनीतिमै भएकाले मलाई कुनै रोकटोक भएन ।’ 

अहिले उनको तीनजनाको परिवार छ । पति नुवाकोटमै व्यवसाय गर्छन् । २७ वर्षीय छोरा पढ्दै छन् । उनी रसुवाको सहायक सिडियोका रूपमा कार्यरत छिन् ।  
कुनै बेला उनै छोरालाई घरमा छोडेर पनि उनी आन्दोलनमा होमिएकी थिइन् । अहिले पनि देशलाई आवश्यक परेको खण्डमा सडकमा ओर्लिन सक्ने हिम्मत दुर्गामा छ । 

व्यक्तिको हैन, विचारको राजनीति गर्छिन् उनी । तर उनले पुर्‍याएको योगदानको भने उचित कदर नभएको दुर्गा सुनाउँछिन् । ‘अरु त कुरै छोडौँ, धन्यवाद समेत कसैले भनेको छैन,’ उनी भन्छिन्, ‘सायद पहुँच र पैसा भएन मसँग ।’

उनले त केही पाइनन्, तर संघर्ष गरेर ल्याएको प्रजातन्त्र र लोकतन्त्रमाथि पनि बेलाबेला प्रहार भइरहेको देख्दा उनलाई नमज्जा लाग्छ । उनी भन्छिन्, ‘अहिले राज्यले गरेको गतिविधि र निर्वस्त्र सडकमा हिँडिरहेको नागरिक उस्तै लाग्छ ।’  
०००
 



Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार