औपचारिक/अन्तर्राष्ट्रिय मञ्चमा रंगीचंगी भएर जाँदा...
जतिखेर पनि सुटमा ठाँटिएर बस्नुपर्ने कूटनीतिक सेवाका कर्मचारीहरूलाई जागिर सुरु गरेको समयमा चाहिँ रहर लाग्ने रेहछ । बानी परेपछि रमाइलो लाग्ने अनि समय लम्बिँदै गएपछि र पुरानो हुँदै गएपछि सुटसँग मोहभंग हुने रहेछ ।
टाई घाँटीको गलपासो जस्तै लाग्ने रहेछ । पञ्चायत कालखण्डमा परराष्ट्र मन्त्रालयका सबै अधिकृत कर्मचारीले अनिवार्य लबेदा सुरुवाल लगाउनुपर्ने बाध्यता प्रजातन्त्रको पुनर्बहालीपश्चात् हटेको थियो र प्रायः कर्मचारी सुट नै लगाउन रुचाउँथे ।
लोकतन्त्रसहित गणतन्त्रको आगमनपछि त्यो बाध्यता पनि हटेर गएको थियो र राज्यले सबै कर्मचारीहरूले, पुरुषहरूका लागि समान रङको नीलो कोट-पाइन्ट र महिलाका लागि साडी र चोलो भएको, समान रङको पोसाक लगाउनुपर्ने गरी उर्दी जारी गरेको थियो । यस्तो अवस्थामा यदाकदा हुने उच्चस्तरीय दुईपक्षीय या बहुपक्षीय बैठक वा राजकीय भ्रमणहरूमा लबेदा, सुरुवाल र टोपीमा सजिन पाउँदा आनन्द आउने हुन्थ्यो ।
बिदाका दिनहरूमा वा फुर्सदका दिनहरूमा लबेदा, सुरुवाल, कोट, टाई लगाउन नपरेको दिन शरीरले उन्मुक्तिको आभास गर्थ्यो । मानवीय स्वभाव नै हो कि ऊ औपचारिक हुनुभन्दा बढी अनौपचारिक र स्वतन्त्र हुन रुचाउँछ, चाहे त्यो बोलीचालीको भाषा होस् या लवाइखवाइ ।
आखिर परिधानमा के छ ? कपडाको काम शरीर ढाक्ने हो भन्दैमा मानिस आदिमकालमा जान त सक्दैन । जुन दिन मानिसले कपास काँतेर धागो बनाउन सिके, जुन दिन मानिसले त्यो कातिएको धागोलाई गाँठो बनाउन सिके, त्यही दिनबाट मानिसहरूले शरीरको बान्कीअनुसार कपडाको पहिरन बनाउन सिकेका हुन् ।
त्यो महत्वपूर्ण आविष्कारलाई परिमार्जन, परिष्कृत गर्दै र त्यसलाई अझ पूर्णता दिँदै मानिसहरू अझै नयाँनयाँ रङ, रूप र ढाँचाको पहिरनको तयारी गरिरहेका छन् । मानिसहरूको पूर्ण हुने चाहनाको त्यो पूर्णतातर्फको यात्रा निरन्तर जारी नै छ । पुरानो आदिम सभ्यताको चिनो तागाधारीहरू आजपर्यन्त काँचो धागोलाई विधिवत् शिखा बनाएर शरीरमा धारण गरिरहेका नै छन् । धार्मिकभन्दा पनि संस्कार र सभ्यताको चिनो धागो कात्नु र त्यसलाई गाँठो बनाउन जान्नु ।
विभिन्न पहिरनमा सजिएर आफूलाई उन्नत, सभ्य, शिष्ट र शालीन देखाउने होडबाजी अझै पनि जारी छ । कपास त्यही हो, धागो त्यही हो तर विधि, प्रक्रिया, पद्धति र तकनिकीमा आएको परिवर्तनले अब कपडा-कपडा मात्र रहेन ।
यो व्यक्तिको र राष्ट्रको परिचय भयो, संस्कार भयो, संस्कृति भयो र अन्ततः व्यापारको माध्यमसमेत हुन पुगेको छ । व्यक्तिको पहिरनले निजको परिचय र राष्ट्रियता चिनाउने भएपछि यसको महत्व झनै बढ्ने भयो । पहिरनको रङ र ढाँचाले व्यक्तिको रुचि, व्यक्तित्व र संस्कार बुझ्न मद्दत गर्ने भएकाले आफूलाई सभ्य र शालीन देखाउन प्रतिस्पर्धा हुने नै भयो । अझै कपडामा प्रयुक्त रङको मिश्रण र बुट्टाको बनोटले मानिसको बाहिरी आवरण मात्र होइन, भित्री चरित्रसमेत पढ्न सकिने बनाएको छ ।
विविधतामा सुन्दरता देखिन्छ साथै कलात्मकता पनि । सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने हो भने सांस्कृतिक विविधतालाई पनि जीवन्त राख्न आवश्यक छ । सांस्कृतिक पहिचान नै राष्ट्रिय पहिचानसमेत हुने भएकाले पहिरनको सांस्कृतिक महत्व ठूलो छ ।
यसो भन्दै गर्दा राजकीय सभा, समारोह, बैठक वा आधिकारिक जमघटमा बहुरंगी पहिरनको प्रदर्शनलाई उचित मान्न सकिन्न । यस किसिमका स्थानहरूमा भने राष्ट्रले तोकेको आधिकारिक राष्ट्रिय पहिरन वा अन्तर्राष्ट्रिय समुदायले ग्रहण गरेको र स्वीकारेको पहिरन लगाउनु नै उत्तम हुन्छ ।
नेपालीहरू विश्वको जुन कुनै कुनामा पुगेको भए पनि आफ्नो सांस्कृतिक पहिचान देखाउन पछि पर्दैनन् । नाच्ने, गाउने र भलिबल खेल्ने नेपालीहरू जस्तो अवस्थामा पनि तयार हुन्छन् । कुनै स्थानीय चाडबाड होस् या राष्ट्रिय पर्व नेपालीहरू त्यसलाई उन्मुक्त भएर मनाउँछन् । एक हिसाबले विदेशी भूमिमा नेपालीहरूले बनाएको एउटा परिचय पनि हो यो । नेपाली समुदायको उपस्थिति भएको स्थानमा विविध सांस्कृतिक झाँकी देखिन पाउँदा आतिथ्य देशका नागरिकहरूले पनि खुसी भएर नेपाल र नेपालीको प्रशंसा गरेको पाइन्छ ।
सांस्कृतिक पाटो यति सुन्दर भए पनि यदाकदा उच्चस्तरमा सरकारी पदाधिकारीहरूबाट हुने विदेशको भ्रमणमा वा आतिथ्य मुलुकका समकक्षीहरूसँगको उठबस गर्दा पहिरनसम्बन्धी शिष्टताको पालना गर्न चुकेको वा अनिच्छा देखाइएको पाइन्छ । त्यसबाट सम्बन्धित व्यक्तिलाई त खासै फरक नपर्ला तर राष्ट्र र राष्ट्रिय परिचयको सवालमा वा गरिमामा भने असजिलो छाप छोडेको हुन्छ ।
कतिपयको मत यो पनि रहने गरेको छ कि, पहिरन ठूलो कुरो होइन । मूलभूत कुरो भनेको मानिसको अन्तरचेतनाको स्तर र बौद्धिकता हो र साथै स्वीकार्यता पनि । भन्ने त भन्छन् नि, ‘छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित ।’
शंकर योग गुरु हुन् र उनको साधनाको, तपको र सिद्धिको पारलौकिक सत्यम् शिवम् र सुन्दरम्को उच्चतम् स्थान लिएका जसलाई लोक र परलोकबीचको भेदमा कुनै अन्तर छैन त्यस्ता निरंकारीलाई भेषको के अर्थ रह्यो र ? महात्मा गान्धीले फकिर भएर वस्त्रका नाममा एकसरो धोती मात्र लगाएर पनि बेलायती सरकारले आयोजना गरेको बलडान्स पार्टीमा उपस्थित भएकै थिए ।
वर्तमानमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पहेँलो वस्त्रमा नै सजिएका हुन्छन् । राजकीय आधिकारिक वस्त्रको परिभाषाबाट नितान्त फरक छ उनको सादगी जिन्दगी पनि । केही फरक दृष्टान्त नभएका होइनन् । सन्त नेताका रूपमा सर्वस्वीकार्य भएका नेताहरूलाई सांसारिक परिधानको औपचारिकताले छुँदैन । तर राज्यको भार लिएर हिँड्ने, राज्यको निसाना छाप बोक्ने र झन्डामा पदीय हैसियतसमेत बोकेर हिँड्ने आधिकारिक राज्यको प्रतिनिधिलाई त्यो किसिमको स्वच्छन्दताको छुट अवश्य नै हुनु हुँदैन ।
मर्यादा, शोभनीयता र आदर्शका लागि आवश्यक शिष्टतासँगै जोडिएर आउने वस्त्र परिधान एक अति नै आवश्यकीय मापदण्ड हो जसको उचित सम्मान र आदर गरिनु आवश्यक छ । तर हामी नेपालीहरू यस विषयमा अलि नै धेरै स्वच्छन्द रहिआएका छौं ।
एक पटक नेपालका स्वनामधन्य एकजना मन्त्री कोरियाको भ्रमणमा जानुभएको थियो । नेपालमा भर्खरभर्खर गणतन्त्र आएको थियो सबै क्षेत्रीय नेताहरू आ-आफ्नो क्षेत्रीय पहिरनमा आधिकारिक कार्यक्रमहरूमा उपस्थित हुन रुचाउँथे । पञ्चायतकालदेखि दौरा, सुरुवाल, टोपी र कोटले पाएको आधिकारिक राष्ट्रिय पहिरनको औचित्य एवं मान्यता सकिएको थियो ।
यद्यपि दौरा-सवाल पहाडिया उच्चआर्यको सही पहिचान होइन, तथापि दौरा, सुरुवाल, टोपी र कोटले पहाडिया उच्च आर्य जातिको पहिचानको प्रतिनिधित्व गर्ने भन्ने भावनाले पकड लिएको बेला थियो । बरु कोट, पाइन्ट र टाइको भाउ थियो, लबेदा सुरुवालको थिएन ।
बहुराष्ट्रियता भएका सबै मुलुकमा अन्तर्राष्ट्रिय प्रचलनलाई स्वीकारेर आफ्नो आधिकारिक राष्ट्रिय पहिरनलाई मान्यता दिइएको छ । तर, नेपालमा ?
धेरैले लबेदा-सुरुवाललाई ट्यांकामा बन्द गरेको अवस्था थियो । यस्तो अवस्थामा ती कोरिया भ्रमणमा जाने मन्त्री महोदयले खद्दरको कुर्ता, पाइजामा, काँधमा गम्छा र खुट्टामा छालाको चप्पल लगाएर पुगेका थिए । इन्छन विमानस्थलको भीआईपी कक्षमा मन्त्री महोदयको स्वागतका लागि कोरियाका एक उच्च अधिकारीसहित शिष्टाचार अधिकृतसमेतको उपस्थिति थियो ।
राजदूतावासबाट म स्वयं स्वागतका लागि पुगेको थिएँ । मन्त्री महोदयलाई लिन म र शिष्टाचार अधिकृत आगमन कक्षको प्रवेशद्वारमै उपस्थित भई मन्त्री महोदयलाई भीआईपी कक्षमा लिएर आइयो । मन्त्रीज्यूलाई स्वागत गर्न बसेका कोरियन अधिकारीले मन्त्रीज्यूलाई स्वागत गर्दै केहीबेर शिष्टाचार वार्ता गर्नुभयो । मन्त्रीज्यूको पहिरन देखेर कोरियन अधिकारीहरूले केही असहज मानेको आभास भइरहेको थियो । केही समयपश्चात् ती उच्च अधिकारीले मसँगको वार्तामा भनी पनि हाले, ‘यो तपाईंहरूको राष्ट्रिय पहिरन जस्तो छ, हैन त ?’
खै के राष्ट्रिय पहिरन भन्ने ? ‘सय थरी बाजा सय थरी चाल’ भनेको जस्तो अवस्थामा मुलुक छ । एउटा राष्ट्रभित्र अनेक राष्ट्रियता छ । जवाफ दिन कठिन थियो र फेरि पनि जवाफ त दिनु नै थियो र भनेँ, ‘हामीकहाँ भर्खरै राजनीतिक परिवर्तन भएको तपार्इंलाई थाहा नै छ । हाम्रो सरकारले आधिकारिक राष्ट्रिय पहिरनको निर्णय गरेको छैन । मन्त्री महोदयको यो पहिरन हाम्रोको एउटा क्षेत्र विशेषको क्षेत्रीय पहिरन हो र उहाँ उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुन्छ ।’ कुरा यत्तिकैमा सकियो, तर मनमा अनेक प्रश्न भने आई नै रहे । हाम्रो आधिकारिक राष्ट्रिय पहिरन कुन हो ?
यस्तो समस्या प्रायः बहुराष्ट्रियता भएका सबै बहुलवादी बहुजातीय मुलुकहरूमा पनि हुँदो हो । तर तिनीहरूले कि त अन्तर्राष्ट्रिय प्रचलनलाई स्वीकारेर आफ्नो आधिकारिक राष्ट्रिय पहिरनलाई मान्यता दिएका छन् वा स्थानीय संस्कृति र बहुमतले स्वीकार गरेको पहिरनलाई आधिकारिक मानेका छन् । चीनमा पनि प्रचारभन्दा बढी जनजातिहरू छन् । भारतमा दुई हजारभन्दा बढी जातजाति रहेका छन् । करिब १३ सय जातजातिहरू इन्डोनेसिया रहेका छन् । म्यानमारमा १ सय ३५ भन्दा बढी छन् ।
यस्ता धेरै मुलुक छन्, सांस्कृतिक विविधताले सम्पन्न । जति धेरै जातीय विविधता भयो त्यति नै धेरै सांस्कृतिक रूपमा मुलुक सम्पन्न हुन्छन् । तर आधिकारिक राजकीय सभा, समारोह र अन्य कार्यक्रमहरूको मर्यादाका लागि कुनै एउटा पहिरनलाई आधिकारिक मान्यता दिने प्रचलन रहेको छ ।
चीन बहुजातीय राष्ट्र भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको सुटलाई आधिकारिक मान्यता दिएको छ । भारतले आफ्नो छुट्टै पहिचान बोकेको पुरुषका लागि शेरवानी सुट र महिलाका लागि साडी-चोलोलाई मान्यता दिएको छ । इन्डोनेसियाको पनि आफ्नो छुट्टै पहिचान बोकेको वाटिक वा सारोङ सर्ट राष्ट्रिय पहिरन छ । तर सोही अवस्थामा रहेको नेपालको कुनै एउटा खास आधिकारिक राष्ट्रिय पहिरन भने अहिलेसम्म तोकिएको छैन ।
राष्ट्रले त्यसै भएर आधिकारिक रूपमा राष्ट्रिय पोसाक तोक्नुपर्छ, राष्ट्रिय पहिचानका लागि । पोसाक आफ्नो नजरका लागि भन्दा पनि अरूको नजरका लागि, अरूको सम्मानका लागि लगाइने भएकाले एउटा सिंगो राष्ट्रले आफूभित्रको विविधतालाई समेत समेटेर विविध जातीय रङहरूलाई संयोजन गरेर राष्ट्रिय पहिचान दिने गरी राष्ट्रिय पोसाक हुन आवश्यक देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया