महाकवि

यादव खरेलको महाकवि-प्रेम

पहिलोचोटि हेरेको हेर्‍यै, दोस्रोचोटि दौडेको दौड्यै अनि तेस्रोचोटि वृत्तचित्र

सामीप्यराज तिमल्सेना |
कात्तिक २८, २०७७ शुक्रबार १८:० बजे

यादव खरेलले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई जम्मा दुईपल्ट मनैदेखि भेट्न चाहे । पहिलोपल्ट जब महाकवि सारसौँदो थिए र ठमठम हिँड्थे । दोस्रोपल्ट जब महाकवि आर्यघाटमा अन्तिम समय कुरेर बसिरहेका थिए । खरेलको दुर्भाग्य, न उनले महाकवि सञ्चो हुँदा धित मारेर कुरा गर्न पाए, न बिरामी हुँदा ।

यादव खरेलले देवकोटालाई सानैदेखि चिनेका थिए । सबैभन्दा पहिला महाकविकै घरमा अनि पछि पाठ्यक्रमका कवितामार्फत । तर, बारम्बार देखे/भेटे पनि उनले महाकविसँग दोहोरो बात मार्न पाएनन् ।


महाकवि र यादव खरेल एकै टोलका बासिन्दा थिए । महाकविको मूल घर धोबीधारा (डिल्लीबजार) यादव खरेलको पनि जन्मस्थान थियो । विसं २००० छेउछाउमा दाजुभाइसँग अंशबण्डा भएर मैतिदेवी नसरेसम्म देवकोटा सँगोलमै बस्थे । मैतिदेवीमा घर सरे पनि खरेलले महाकविलाई धेरैपल्ट मूलघरमा देखेका थिए ।

खरेललाई देवकोटा खानदानसम्म जोड्ने सेतु थिए, उनकै भतिज पद्मनाथ देवकोटा । देवकोटाका जेठादाइको छोरा पद्मनाथ र यादव खरेल स्कुलमा सहपाठी थिए । बसाइ पनि सँगै भएकाले दुवै ‘बेस्ट फ्रेन्ड’ थिए । यही कारण यादव खरेललाई देवकोटाको घरसम्म सजिलै पहुँच थियो ।

खरेललाई देवकोटाका लागि रगत दिन पाए हुन्थ्यो भन्ने लाग्यो । उनी दौड्दै आर्यघाट गए । तर... ।

उनी साथी भेट्न गएको बखत कहिले देवकोटालाई भित्र गफ गरिरहेको भेट्थे त कहिले आइरहेको । देवकोटा यसरी आएको बेला दाजुभाइसँग अंग्रेजीमा कुरा गर्ने । अनि खरेलले कतिपटक रिक्सा चढेर आएका महाकविलाई भाइसँग तीन मोहर मागेर दिएको पनि देखेका छन् ।

यादव खरेलले पढ्ने नेपाली किताबमा देवकोटाका पनि कविता पढ्नुपर्थ्यो । ‘नटिप्नू हेर कोपिला...’ खरेललाई मन परेको महाकविको कविता थियो, यो । झल्याकझुलुक देखे पनि उनलाई महाकविसँगै गहिरो गरी चिनजान गर्न मन थियो । उनले साथी पद्मनाथलाई एक दिन आफ्नो इच्छा प्रकट गरे । पद्मले पनि एक दिन ‘ल जाऔँ’ भनेर मैतिदेवी लिएर गए ।

खरेल महाकविको कोठामा पुग्दा महाकवि अंग्रेजीमा बर्बराउँदै केही लेखिरहेका थिए । महाकवि यो प्रक्रियामा यति मग्न थिए कि उनले ढोकामा कोही भए-नभएको पनि ख्याल गरेनन् । खरेल सम्झन्छन्, ‘आधा घन्टासम्म हामी उहाँले देख्नुहोला र बोलाउनु होला भनेर कुर्यौँ तर उहाँले देख्ने छाँट नदेखेपछि फर्कियौँ । पद्मले पनि बोलाउने हिम्मतै गरेनन् । उसले अर्को दिन फेरि भेट्न जाउँला भनेको थियो तर त्यसको केही समयपछि नै उहाँ बिरामी हुनुभयो । दोहोर्‍याएर भेट्नै पाइनँ ।’

सारसौँदो हुँदा भेट्न नपाएको तृष्णा उनले बिरामी भएको बखतमा पनि मेट्न चाहे । महाकवि आर्यघाटमा सिकिस्त भएको बेला हल्ला चल्यो कि रगतको खाँचो छ । खरेललाई देवकोटाका लागि रगत दिन पाए हुन्थ्यो भन्ने लाग्यो । उनी दौड्दै आर्यघाट गए । यहीँ उनले सदा हट्टाकट्टा देखिरहेको महाकविको कृशकाय शरीर पनि देखे । तर, त्यहाँ पुगेपछि उनलाई थाहा भयो, रगत दिन्छु भनेर मात्र नहुने रैछ । रगतको समूह पनि मिल्नुपर्ने रैछ । तर, यतिन्जेलसम्म महाकविलाई अरु कसैले रगत दिइसकेको थियो । खरेल खिन्न भए । तर, यसको केही दिनपछि नै थप खिन्न हुने खबर पाए, महाकवि रहेनन् । महाकविसँग धित मरुन्जेल कुरा गर्ने उनको चाहना अपूरै रह्‍यो । 

कालान्तरमा यादव खरेल फिल्ममेकर भए । ‘चेलीबेटी’बाट फिल्म निर्देशनमा हात हालेका उनले ‘प्रेमपिण्ड’, ‘लोभीपापी’ ‘नासो’ आदि फिल्म बनाए । यसैगरी विसं २०५६ सालमा उनले आदिकवि भानुभक्त आचार्यको जीवनीमा ‘आदिकवि भानुभक्त’ बनाए । यसको पाँच वर्षपछि उनले महाकवि देवकोटाको वृत्तचित्र बनाए ।

भानुभक्तको जीवनीमाथि काम गरिरहँदा नै उनले झल्याँस्स सम्झे, ‘ला, देवकोटाको पनि श्रव्यदृश्यमा केही पनि पो छैन त ।’ उनले सांस्कृतिक संस्थानका तत्कालीन अध्यक्ष नरसिंहबहादुर श्रेष्ठलाई यसको हेक्का दिलाए । नरसिंहबहादुर श्रेष्ठ महाकविकै विद्यार्थी थिए । गुरुदक्षिणा हुन्छ भन्ठानी उनले निर्माण खर्च बेहोर्ने प्रतिबद्धता जनाए । ‘मैले आफूले एक पैसा नलिने र आफूसँग भएका सामान पनि निःशुल्क प्रयोग गर्ने बताएँ,’ खरेलले भने, ‘लगभग ६ महिना लगाएर हामीले वृत्तचित्र निर्माणको काम सम्पन्न गर्‍यौं ।’

र, यो पनि
महाकविबारे संसद्‍मा बीपी : ‘हाम्रो इतिहासमा यत्रो ठूलो साहित्यिक जन्मेको थिएन’

खरेललाई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ बनाउन सोचे जस्तो सजिलो भएन । कतिपय समयमा सामग्री पाएनन् भने कतिपय समयमा बजेट अभाव भयो । उनले उसबेला जेजति भेटे त्यसलाई वृत्तचित्रमा समेटेका छन् । तर, वृत्तचित्रमा केही छन्, जुन एक्स्क्लुलिभ छन् । जस्तो कि, महाकविले विष मागेको कुरा ।

खरेलका अनुसार महाकवि बिरामी भएपछि परिवारले उनलाई  २०१६ साल भदौ १४ गते ललितपुरको शान्तभवन अस्पताल लगेको थियो । तर, क्यान्सरले  यति च्यापेको थियो कि देवकोटाले बाध्य भएर विष मागेका थिए । ‘महाकविका भाइले टेप रेकर्डरको जोहो गरेर अस्पतालमा त्यो समयमा उहाँले बोलेका धेरै कुरा रेकर्ड गरिएको रैछ । त्यसमा उहाँले मृत्युको कामना गरेको कुरा पनि थियो । वृत्तचित्रमा हामीले त्यो समेटेका छौँ,’ खरेलले भने ।

खरेल पहिलोपटक देवकोटाको कोठाअघि उभिएको उभियै भए । दोस्रो पटक रगत दिन पशुपतितिर दौडिएको दौडियै ।

खरेलका अनुसार यही समयमा उनले आफूलाई पशुपतिमा लगिदिन पनि आग्रह गरेका थिए । सोही इच्छाबमोजिम उनलाई पशुपति आर्यघाटमा राखिएको थियो जहाँ उनले आफ्नो अन्तिम कविता ‘रहेछ संसार निशा समान, आएन ज्युँदै रहँदा नि ज्ञान । आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो न भो विवेक ।’ लेखेका थिए ।

वृत्तचित्रलाई खरेल वर्णनात्मक ढाँचामा खिचेका छन् । खरेलले देवकोटाको ‘पागल’ कविताबाट वृत्तचित्रको सुरुवात गरेर उनको जीवनी हुँदै सहकर्मी र आफन्तका कुरा समेटेका छन् । वृत्तचित्रमा उनले माधवप्रसाद घिमिरे, वासुदेव त्रिपाठी, इन्द्रबहादुर राई, बैरागी काइँला, श्यामदास वैष्णव र नरसिंहबहादुर श्रेष्ठका दृष्टिकोण समेटेका छन् । परिवारको तर्फबाट भने उनले महाकविका भाइ मित्रनाथसँग कुराकानी गरेका छन् । उनले महाकविका छोराछोरीसँग भने कुराकानी गर्न नपाएको बताए ।

‘छोराछोरीको कुरा राख्न पाएको भए राम्रै हुन्थ्यो होला तर छोराहरूले खासै रुचि देखाउनु भएन । हामीलाई पनि भाइले बोलेपछि परिवारको प्रतिनिधित्व भइहाल्यो नि भन्ने पनि लाग्यो । समवयी जस्तो भएकाले मित्रनाथलाई धेरै कुरा थाहा पनि छँदै थियो,’ खरेल भन्छन् ।

२०६१ सालमा सार्वजनिक कार्यक्रम गरेर नै वृत्तचित्र देखाइयो । साहित्यका सबै लब्धप्रतिष्ठित व्यक्ति वृत्तचित्रको अवलोकनका लागि आएका थिए । वृत्तचित्र हेरेर सबै खुसी भएको खरेल सम्झन्छन्, ‘के कसो भयो भन्दा पनि दृश्यमा थिएन आयो भनेर सबैजना खुसी हुनुभयो । अब त्यसमा टेकेर झन् राम्रो गर्न सकिन्छ नि ।’

खरेलका अनुसार वृत्तचित्र निर्माणका लागि १७-१८ लाख रुपैयाँ खर्च भएको थियो । सो वृत्तचित्र सांस्कृतिक संस्थानको डिल्लीबजारस्थित कार्यालयमा किन्न सकिन्छ ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x