ओशोधाराको तिन दिवसीय ध्यान योग कार्यक्रम समापन
काठमाडौँ- ओशोधाराको तीन दिवसीय ध्यान योग कार्यक्रम आइतबार समापन भएको छ । भारतका विभिन्न राज्य तथा नेपालका ३ साधना केन्द्रसहित २१ ठाउँबाट आयोजना भएको कार्यक्रम शुक्रबारदेखि सञ्चालनमा रहेको थियो । ओशोधारा साधना केन्द्र ललितपुर, भक्तपुर र मंगलापुर बुटवलमा कार्यक्रमको आयोजना भएको थियो ।
सयभन्दा बढी साधकलाई समर्थगुरू सिद्धार्थ औलियाज्यूले जुमको माध्यमबाट ओशो नव सन्यास दीक्षा, नाद दीक्षा र माला दीक्षा प्रदान गर्नुभएको थियो । विभिन्न ठाउँमा विभिन्न आचार्यहरूले कार्यक्रम संचालन गरेका थिए ।
ललितपुर साधना केन्द्रमा आचार्य डा. प्रद्युम्नराज पाण्डे, आचार्य डा. नम्रता पाण्डे र आचार्य इन्जिनियर अनन्त विष्टले कार्यक्रममा ध्यान तथा प्रज्ञाको प्रशिक्षण मार्फत साधना विधिमा सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।
भक्तपुर साधना केन्द्रमा आचार्य पूजारी, आचार्य सूर्य र आचार्य सुवासले भूमिका निर्वाह गरेका थिए भने मंगलापुरमा आचार्य सत्यार्थ, आचार्य शिव र आचार्य नारदले आचार्यको भूमिका निर्वाह गरेका थिए ।
तनाव, बेचैनी र भागदौडको आजको समयमा ध्यान योगको माध्यमबाट जीवनलाई सहजतापूर्वक कसरी जिउने भन्ने व्यवहारिक एवं प्रयोगात्मक अभ्यासको माध्यमबाट विभिन्न सूत्रहरू प्राप्त गरेको सहभागीहरूले बताएका थिए ।
ललितपुरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रसेवक, प्राध्यापक, राजनीतिक दलका नेता कार्यकर्ता, पत्रकार, शिक्षक तथा विभिन्न पेशाकर्मी, गृहिणीहरू लगायत सहभागी थिए ।
ध्यान योग कार्यक्रमले जीवन र जगतलाई जटिलताबाट सहजतातर्फ उन्मुख गराउन सहयोग गरेको पत्रकार अमृतनाथ तिमल्सिनाले बताए ।
व्यस्त जीवनशैली, प्रतिष्पर्धा र प्रविधिले बढाएको आधुनिकतामा आफैंलाई भुल्दै हराइरहेको मान्छेलाई आफैंभित्र प्रवेश गरी आफ्नै क्षमता, गुणको विकासबाट शान्ति, सौहार्द्र सुखानुभूति गराउन ओशोधाराको ध्यानले सहयोग गर्ने अनुभूति व्यक्त गरे ।
आत्मिक सुख अनुभूति र प्रकृतिसँगै रमाउँदै प्राकृतिक रुपमा स्वीकारभाव बढाउनाले द्धन्द्ध न्यूनीकरण गर्दै सकारात्मकता अभिबृद्धि हुने विश्वास व्यक्त गरे ।
ओशोधाराको योग ध्यान कार्यक्रम अध्यात्म र विज्ञान, विचार र व्यवहार, चेतना र जागृतिलाई संयोजन गरी दृष्टिकोण, विचार र व्यवहारको शुद्धीकरण गर्ने मौलिक कार्यक्रम महसुस भएको बताए ।
समग्रतामा आधारित भएकोले ओशोधाराको ध्यान व्यावहारिक जीवनका लागि निकै उपयोगी हुने अनुभूति पत्रकार तिमल्सिनाको रहेको छ ।
पूर्व राष्ट्रसेवक प्रदीपमर्दन केसीले ओशोधाराको ध्यान योग कार्यक्रम आफू शान्ति र सुखपूर्वक बाच्ने र अरुलाइसमेत बचाउने अभियान भएको अनुभूति साटेका छन् ।
आचार्यहरुको सामिप्यताले नया उत्प्रेरणा दिएको बताउँदै केसीले यस्तो कार्यक्रम निरन्तरताको प्रतिज्ञा गरे ।
कार्यक्रममा सहभागी भौतिक शास्त्रका प्राध्यापक सिताराम ब्याउतले आफ्नो अनुभूति राख्दै अल्बर्ट आइन्स्टाइनले समेत ध्यानको महत्वलाई विज्ञानका आविष्कारभन्दा पनि श्रेष्ठ महत्व दिएको बताउँदै आफूले पनि रिटायर्ड लाइफमा पूर्वीय दर्शन र ध्यान योगको महत्व बुझेर आत्मसात गरेको बताए ।
भट्किरहेको मान्छेलाई शान्त शीतल र सुखको स्रोत ध्यान भएको आफ्नो अनुभूति व्यक्त गरे । भौतिक विज्ञानका प्राध्यापक रविन्द्र बुढाथोकीले ध्यानको यो पहिलो कक्षा बसेको अनुभूति व्यक्त गर्दै आफू ढिला भएको अनुभूति व्यक्त गरे ।
ध्यानले मानिसको आक्रोस, उत्तेजना र आवेग रोक्ने तथा रुपान्तरण गर्ने अनुभूति पाएको विभिन्न उदाहरण सहित अनुभूति साटे ।
यस्तो कार्यक्रमलाई शहरको भीडभाड र व्यस्त जीवनशैलीभन्दा अलि पर शान्त र प्राकृतिक वातावरणमा सञ्चालन गर्न सके अझ राम्रो हुने महालक्ष्मी नगरपालिका वडा नं १ का पूर्व वडाध्यक्ष नन्दकुमार न्यौपानेले बताए ।
कार्यक्रममा ९ बर्षीया इप्सा रोक्काले समेत ध्यानले गर्दा आफूमा बेग्लै खुसी बढेको र पढाइमा मन लाग्ने गरेको अनुभूति सुनाइन् ।
सुगरको बिरामी भएपछि इन्टरनेटबाट हेरेर ध्यान र योग गर्ने गरे पछि स्वास्थ्यमा सुधार भएको बताउँदै चिरञ्जिवी धितालले भौतिक रुपमा आचार्यहरूको प्रत्यक्ष निगरानीमा सहभागी भएपछि अझ धेरै ज्ञान बढेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया