चार वर्षदेखि आयोजना अलपत्र हुँदा खानेपानी समस्या
६ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका– ५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् । स्वच्छ खानेपानी पाउने आसमा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भइसक्दा पनि पानी खान नपाएको सिद्धार्थ टोलनिवासी ३५ वर्षीया सरिता लामाले गुनासो पोखिन् । खानेपानीको काममा ढिलासुस्ती हुँदा निकै दुःख पाएको उनको भनाइ छ ।
लामाको आँगनमा गाडेको ट्युबेलबाट आर्सेनिकयुक्त पनि आउने गरेको थियो । आर्सेनिक पानीले गाउँमा क्यान्सरको संक्रमण फैलिएको हल्लापछि उनले पनि ट्युबेलको पानी प्रयोग बन्द गरिन् । तर, त्यसको विकल्पमा विपन्न परिवारले जारको पानी किनेर खाने अवस्था नरहेको उनी बताउँछिन् । ‘बिहान पानी आउने समयमा कहिले बालबालिका स्कुल पठाउने चटारो हुन्छ,’ लामाले भनिन्, ‘पानी आएर गइसकेको हुन्छ। थाप्न पनि भ्याइँदैन । साँझमा पनि बिजुली भएको समय दुई घण्टा आउँछ । खाना पकाउने पानीसम्म पनि कि त किन्नुपर्यो कि त माग्नुपर्छ ।’
लामाजस्तै हरिवन नगरपालिका– ५, निवासी प्रेमशिलाकुमारी साहको समस्या पनि फरक छैन । घरमा एक्लै रहेकी उनी कयैनपटक पानी थाप्न नपाउँदा खानेपानीसमेत किनेर खानुपरेको बताउँछिन् । अझ पानीको समस्याले धेरै महिलालाई पिरोल्ने गरेको उनको अनुभव छ । पानीको समस्याले परिवारमा कलह हुने तथा महिला घरेलु हिंसासमेतमा परेको उनको भनाइ थियो । खेतबाट फर्कँदा पानी थाप्छ ढिला भएकाले छिमेकमा झैझगडासमेत हुने गरेको उनी सुनाउँछिन् । हुनेखानेहरू जारको पानी किनेर खाने गर्छन्, विपन्न परिवार अलपत्र आयोजनाको चपेटामा रहेका उनको भनाइ छ । पानीको समस्याले पालेको पशु वस्तुसमेत बेच्नुपरेको साहले गुनासो गरिन् ।
०७५ सालबाट निर्माण सुरु भएको आयोजनामा चरम ढिलासुस्ती भएपछि उपभोक्ता समितिले सीधै डिप बोरिङबाट पानी वितरण सुरु गरेको छ । यसले एकातर्फ स्थानीयलाई पानी कुरेर बस्नुपर्ने बाध्यता छ । अर्कोतर्फ समितिको विद्युत् लगानीलगायतको खर्च आम्दानीभन्दा धेरै हुने गरेको सिद्धार्थ टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष मनोज लामाले गुनासो गरे । उनले भने, ‘सरासर काम गर्दा सात महिनामा सकिने काम ६ वर्षदेखि अलपत्र पारेर राख्दा आयोजनाको लागतसमेत बढिरहेको छ ।’
नगर जिल्ला खानेपानी, प्रदेश तथा संघीय सरकारसम्म पुग्दा पनि आश्वासनबाहेक केही नपाएको उक्त वडाका वडाध्यक्ष नागेन्द्र साह बताउँछन् । पानी खुवाउन भनेर पाइप लाइन र धारासमेत वितरण भइसक्दा पनि ओभरहेड ट्यांकी निर्माण नसकिएको उनको भनाइ छ। काम अलपत्र हुँदा वडाका नौ हजार तीन सय घरधुरीले स्वच्छ खानेपानीको सुविधाबाट वञ्चित हुनुपरेको छ।
यस वडामा झन्डै डेढ दशकदेखि मानिसमा क्यान्सरजन्य घातक रोगको संक्रमण देखिएको छ । क्यान्सरको संक्रमणबाट आक्रान्त स्थानीयले पानीको समस्या आकलन गर्दै ट्युबेलको पानी प्रयोग बन्द गरेका छन् । त्यसयता यस वडामा मात्र एक दर्जनभन्दा बढी गाउँका स्थानीयले पिउने पानीको संकट झेलिरहेका छन् । यस क्षेत्रका ट्युबेलको पानी परीक्षणमा अत्यधिक मात्रामा आर्सेनिक फेला परेको थियो ।
अत्यधिक आर्सेनिकयुक्त पानी फेला परेको र स्थानीयमा क्यान्सरको महामारी रहेको विभिन्न सञ्चारमाध्यममा खबर फैलिएपछि संघीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयले पानी परीक्षण गराएको थियो । त्यसबाट यस क्षेत्रका ट्युबेलको पानी पिउन अयोग्य रहेको भन्दै प्रदेश सरकारले उक्त खानेपानी तथा सरसफाइ आयोजना सुरु गरेको थियो। आयोजनअन्तर्गत ओभरहेड ट्यांकी निर्माण कार्य नै अलपत्र बनेपछि स्थानीयको खानेपानीको समस्या ज्युँकात्युँ बनेको हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकीले बताए । प्रदेशबाट सुरु भएको योजना भएकाले नगरले लगानी गर्न पनि नसकेको र ताकेता गर्दा पनि अटेर गरेको उनको दाबी छ ।
यता डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय मलंगवाका निमित्त प्रमुख रामनाथ साहले प्राप्त बजेट अभावमा समयमै कार्य सम्पन्न हुन नसकेको बताए । ‘यो संघीय सरकारको योजना हो,’ उनले भने, ‘बर्सेनि थोरैथोरै मात्र बजेट आउँदा काम ढिलाइ भएको हो ।’ यस वर्ष प्रदेश सरकारबाट रु. ४० लाख विनियोजन भएकाले काम सम्पन्न हुने उनले विशवास व्यक्त गरे । दुई लाख २५ हजार घनमिटर क्षमताको ट्यांकी निर्माणका लागि संघ सरकारले गत वर्षसम्म रु. ८० लाख खर्च गरिसकेको बताइएको छ ।
यस वर्ष संघ सरकारबाट थप बजेट नआएपछि प्रदेशबाट रु. ४० लाख हालेर काम सम्पन्न गर्ने योजना बनाएको उनको भनाइ थियो । एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी ०७७ साउन २० गते कमलेश निर्माण सेवा लक्ष्मीपुर– ५, सर्लाहीले ओभरहेड निर्माणको ठेक्का सकारेको थियो । निर्माण कम्पनीले कुल ७४ लाख ९९ हजार ३४२ रुपैयाँ २७ पैसामा ठेक्का लिएको डिभिजन खानेपानी कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया