जीवनशैली

आर्थिक मन्दी पहाड उक्ल्योः गुल्जार दिक्तेल बजार सुनसान बन्दै

विकासले गाउँ सुनसान बन्यो, वर्षेनी ८०-९० घर ओरालो झर्दै

अतिन आचार्य |
फागुन १८, २०८१ आइतबार १७:५१ बजे

काठमाडौँ- ‘ चोकमा मानिस देखिन छाडे, व्यापार हुन छाड्यो’ हिजोआज यो भनाइ सामान्य लाग्न थालिसकेको छ । अझ गाउँ सहरमा यो बोलीचालीको भाषा बनिसकेको छ भन्दा पनि हुन्छ ।

गाउँ वा टोलमा भनौँ मानिस देखिन छाडेका छन् । अझ व्यापारी तथा व्यवसायीको भनाइ ‘ बिक्री हुन छाड्यो ग्राहक आउन छाडे । मान्छे छैनन् सबै विदेशतिर गए ।‘


गाउँमा सौन्दर्यता देख्नेहरू गाउँ छाड्न थाले । गाउँले जीवनमा खुसी हुनेहरू देखिन सहर पस्न थाले । गाउँमा स्थायी बसोबास गर्नेहरू अन्यत्र अस्थायी बनेर भित्रिए । विभिन्न पेशा व्यवसायका लागि गाउँ छाडेर शहर छिर्दा गाउँ र पहाडका बजारहरू रित्तिन थाले ।

यस्तै भोगाइ अहिले पुर्वी पहाडी जिल्ला खोटाङ्ले भोगिरहेको छ । सदरमुकाम दिक्तेल बजारमा हिजोआज मानिसको चहलपहल घट्न थालिसकेको छ ।

कुनै समय व्यापारीले खाना खान समय पाउँदैन थिए । अहिले पसलमा बसेर निदाएर बस्नुपर्ने अवस्था आएको छ । जहाँ संघीयताले बजार सुनसान र विकासले गाउँ रित्तो बनाएको सरोकारवालाहरूले बताउँदै आएका छन् ।

सुविधाको खोजी र बसाइँसराइको प्रभाव दिक्तेल बजारमा देखिन थालेका छन् । केही वर्ष यतादेखि सधैँ गुल्जार बनिरहने बजारमा मानिस र व्यापार घट्न थालेको स्थानीय तथा व्यापारीहरू बताउँछन् । गाउँ र घरमा युवायुवती भन्दा वयस्क तथा वृद्धवृद्धाहरू देखिन थालेका छन् । अझ भनौं पुरुष भन्दा पनि महिलाहरूको संख्या बाक्लै देखिन थालेको छ

मानिस मात्र देखिने बाटामा अहिले बिछ्याएका सिमेन्ट र ढुंगामात्र टल्कन थालेका छन् । गाउँमा पुगेको विकास र वैदेशिक रोजगारले गाउँ तथा सहरका मानिसले थातथलो छोड्दा बजार सुनसान बनेका छन् ।

सहरमा जग्गा खरिद गर्नेहरू बढे

बजारमा ग्राहकको बाक्लै उपस्थिति रहने बजार सुनसान प्राय देखिने गरेका छन् । गाउँमा मान्छे नभएकाले बजारमा मानिस देखिन छाडेको दिक्तेल बजारका जुत्ता पसल व्यापारी खड्गबहादुर खत्रीले बताए ।

‘एक-डेढ वर्षदेखि बजारमा ग्राहकको चहलपहल घट्न थालेको हो । बजार आउने सबै मानिसहरू विदेश गए,’ उनले भने,’ बैंक तथा विदेशबाट आएको पैसा निकाल्न आउँथे । अहिले ती सबै विकास गाउँमा पुगेकाले ती मानिसहरू गाउँमै रहन थाले र मानिस देखिन छाडे । हरेक स्थानीय तहमा बाटाघाटा पुगे र सहरमा पाइने वस्तुहरू टोलमा पाइनुले बजारमा क्रयताको संख्या घटेका हुन् ।‘

पहाडी बजारमा पनि मान्छेले खर्च गर्न छाडेको खत्रीको भनाइ छ । विदेशमा कमाएर आर्जन गरेका पैसा तराईमा जग्गा खरीद गरेर जान थालेकाले पनि बजारमा चलायमान कम भएको उनको बुझाइ छ ।

‘ स्थानीय तथा ग्राहकले खर्चको सीमितता बनाएका छन्,’ उनी भन्छन्,’ हामीले काठमाडौँबाट पाँच-छ पटक सामान ल्याउने गर्थ्यौ । अहिले वर्षमा दुई-तीन पटक मात्र सामान झार्न थालेका छौ ।‘

एक दशक बढीदेखि व्यवसाय गरिरहेका खत्रीले अहिलेजस्तो सुनसान कहिले नदेखेको सुनाए । खाद्यान्न पसलमा अलिअलि भीडभाड लागेको देख्‍न सकिने उनले बताए । ‘ धन्न एक हजार वा बाह्र सयको बोनी हुने गरेको छ । पसलको बहाल तिर्न नपरेकाले सहज छ,’ उनले अगाडि थपे,’ व्यापार पनि नहुने र भाँडा तिर्नुपर्ने भएको भए धेरै गाह्रो हुन्थ्यो ।‘

स्थानीय तहमा बजार बढ्दा सदरमुकाम सुनसान

दैनिक ४०-५० हजारको खाद्यान्न बिक्री हुने अहिले दैनिक ५-१० हजारको मात्र बिक्री हुने गरेको दिक्तेलकै खाद्यान्न पसलकी रीता कठेत बताउँछिन् । यो पुर्वी पहाडको मुख्य बजारमा मन्दीको असर देखिएको उनी मान्छिन् । यहाँ मानिसको चाप ठूला-ठूला चाँडबाडमा मात्र देखिने गरेको उनले बताइन् ।

‘स्थानीय तहमा भएको विकास र बजार बढ्नुले पनि बजारमा व्यापार घट्नु तथा मानिसको संख्या कम देखिएको हो,’ उनी भन्छिन्,’ पहाडी गाउँ भन्नु मात्र हो । हरेक गाउँ-गाउँमा यातायातको सुविधा पुगेको छ । विकासकै कारण मानिस बजार आउँन छाडेकाले यहाँ व्यापार घट्यो।‘

सामाजिक भत्ता पाउने दिन मात्र बजारमा मानिसको चहलपहल देखिने गरेको कठेतले बताइन् । बजारका बाटोमा मानिस भरिएको दसैँमा मात्र हेर्न सकिने उनले उल्लेख गरिन् ।

‘दसैँमा गाउँबाट बच्चा पढाउन आएका मानिससमेत फर्किने हुँदा यहाँ सुनसान हुन्छ,’ उनले सुनाइन्,’ दसैँमा ठूला-ठूला सहर जस्तै यहाँ पनि सुनसान बनेर जान्छ ।‘

नगरपालिका भित्रका मानिस काठमाडौँतर्फ र गाउँका मानिस तराई झर्नुले पनि मानिसको संख्या कम हुँदा व्यापारमा ह्रास आउनुको मुख्य कारण रहेको मान्न सकिने उनको तर्क छ।

पहाड उक्लँदै मन्दी

त्यसैगरी रत्नपार्कका लताकपडा व्यापारी सीताराम थापाले व्यापार गरेको ८ वर्ष भयो । उनी पनि बजारमा चहलपहल गर्ने मानिसको कमी हुनुनै व्यापारमा ह्रास आएको मान्छन् । धेरै मानिसहरू विदेश गएका र बच्चाहरू पढाउन सहर छिरेकाले यहाँको बजार सुस्ताएको मान्न सकिने उनको बुझाइ छ ।

‘अर्को कुरा व्यापारमा प्रतिस्पर्धा रहनु पनि यहाँको समस्या हो,’ थापा भन्छन्,’ व्यापारमा मन्दीको असर प्रत्यक्ष रुपमा महसुस गरेको २-३ वर्ष भयो । धेरै मानिससँग पैसा पनि छैन । यहाँको बजारमा भीडभाड भन्ने हामीले महसुस गर्न सकेका छैनौँ ।‘

कतिपय अवस्थामा हामी व्यापारीले कुनै दिन व्यापार शून्य भएको थापाले महसुस गरेको बताए ।

'संघीयताले उजाड बन्यो बस्ती'

अध्ययन गर्न जाने र बसाइसराइले पहाडका बजार रित्तिँदै गएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । यहाँ बजारमा देखिने बाहिर अध्ययन गर्न गएका केही अभिभावकहरू मात्र रहेको उनको भनाइ छ ।

‘यहाँको व्यापार ६० देखि ७० प्रतिशत घटिसकेको छ,’ अध्यक्ष आचार्यले भने,’ ३० प्रतिशत व्यापारले दिक्तेल बजार धानिरहेको छ । स्थानीय तहका कारण गाउँ-गाउँमा सदरमुकाम पुगेकाले बजार विस्तारीकरण भएको छ ।‘

यहाँका व्यापारी तथा व्यवसायीलाई टिकाउन सक्नेतिर ध्यान लगाइरहेको आचार्यले बताए । २५,३० र ६० वर्ष उमेर समूहका केही व्यापारीले बजार धानिरहेको उनले उल्लेख गरे । अचेल केही व्यापारीहरूको बोहनी पनि हुन छाडेको उनले जानकारी दिए ।

‘संघीयताले बजार सुनसान र बस्ती उजाड बनाइसकेको छ,’ उनले अगाडि थपे,’ स्थानीय तहले विकास ल्यायो तर मानिसहरू बस्ती छाड्दै सहर र तराईतिर झर्न थाले ।‘

गाउँका अधिकांश मानिस तराईका जिल्लामा झरिसकेको उनको भनाइ छ । ‘भरियाले भारी बोक्दा गुल्जार हुने दिक्तेल बजार अहिले गाउँमा उत्पादित सामान गाडीमा ल्याएर साँझ फर्कन्छन्,’ हालको अवस्था बताउँदै आचार्यले सुनाए,’  हामीले यहाँ उत्पादन बढाएर उत्पादित वस्तुलाई बजारीकरण गरेर यहाँका बजारलाई चलायमान बनाउन खोजिरहेका छौ ।‘

उनका अनुसार काठमाडौँ पढ्न जाने फर्केनन् । विदेश गए, यहाँ देखिने अहिले सरकारी कर्मचारी मात्र देखिएका छन् । गाउँमा महिला मात्र छन् । मलामी पुरुष भन्दा महिला बढी देखिन थाले ।

गाउँमा यातायात पुग्यो, वर्षेनी ८०-९० घरले गाउँ छोड्दै

त्यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले वैदेशिक रोजगार, अध्ययन र स्वास्थ्य उपचारको सुविधाको खोजीले मानिसहरू खोटाङबाट बिस्तारै पलायन हुँदै गएको बताए । एक दशकदेखि खोटाङबाट मानिस तल झर्ने क्रम बढेको उनको बुझाइ छ ।

‘प्रत्येक स्थानीय तहमा यातायातको सुविधा पुगेको छ,’ उनले भने,’ त्यहाँका मानिसहरू खरिद-बिक्रीका लागि दिक्तेल बजार आउँदैनन् । काठमाडौँ र तराईका सडकसँग सिधा सम्पर्क पुग्नु पनि दिक्तेल बजारमा मानिसको चहलपहल घट्नु हो ।‘

केन्द्रीय तहबाट समानुपातिक ढंगले स्थानीय तहका लागि बजेट वितरण नहुँदा समान विकास नभएको उनको भनाइ छ । ‘शिक्षामा सुधार नहुँदा तथा स्वरोजगारसहितको शिक्षा र समान शिक्षा नीति  नबन्दा पनि समस्या भइरहेको छ,’ उनले अगाडि थपे ।

पहाडी गाउँमा बाँदर आतंकले पनि सताउँदा गाउँ छोड्नेको संख्या बढिरहेको उनले बताए । कानुन संशोधन गरेर बाँदर आतंकको नियन्त्रण रोक्नुपर्ने उनको सुझाव छ । कृषि उत्पादन बढाउन पनि स्थानीय सरकारले पहल गर्नुपर्ने र उत्पादन बढाउनेलाई अनुदान उपलब्ध गराउँदा बसाइँसराइ सर्ने क्रमलाई रोक्न सकिने उनले बताए ।

भट्टराईले वर्षेनी यस नगरपालिकाबाट करिब ८०-९० घर बसाइ सरेर गइरहेको जानकारी दिए । अहिले गाउँमा कुनै कार्यक्रम वा छलफल भएमा ८० प्रतिशत महिला सहभागी हुने गरेको उनले अनुभव सुनाए । उनले मलामीमा पुरुष भन्दा पनि महिलाको संख्या बढी देखिन थालेको बताए ।

‘हलेसी दर्शन गर्न आउने आन्तरिक पर्यटकलाई दिक्तेल बजार सम्म कसरी ल्याउन सकिन्छ त्यसको अध्ययन भइरहेको छ,’ प्रमुख भट्टराई भन्छन्,’ बजारमा पर्यटकले केही खरिद गर्न सक्ने र आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन खोजिरहेका छौ ।‘


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x