Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

जीवनशैली

विशाल मनोबलका विशाल

जो नेपाललाई विश्वमा चिनाउन चाहन्छन्

अनिष भट्टराई |
असोज १३, २०७८ बुधबार ९:११ बजे

पोखरा - लेकसाइडको व्यस्त सडक । ठूलासाना गाडीहरू आफ्नै बेगमा हुँइकिरहेका थिए । सोही बाटोमा गाडीको परवाह नगरी साइकल कुदाइरहेका थिए, गगनगौंडाका विशाल गर्बुजा । साइकल चलाउनु धेरैका लागि सामान्य हुन सक्छ, तर गर्बुजा (२०) का लागि भने विशेष छ । 

गर्बुजाको देब्रे हातको कुइँनोमुनिको भाग छैन । त्यही पनि गर्बुजा अरुले झैं नै साइकल कुदाउँछन् । पेडल ठेल्दै, एक हातले साइकल सन्तुलित बनाएर पोखराका सडकमा निस्कन्छन् उनी । एक हात नभएपनि उनको साइकल चलाउने इच्छा मरेन । किनकी साइकल कुदाउनु उनको सानैदेखिको शोख हो । 


गर्बुजा व्यस्त पोखराको कोलाहलबाट केही पर गगनगौंडामा जन्मे, हुर्के । साथीहरू सबै राम्रा र बुझेका थिए । जन्मँदै हात नभएपनि उनले विद्यालय र छरछिमेकमै कहिल्यै दुव्र्यवहार भोग्नु परेन । बरु साथीहरूको साथ भरपुर पाए । साइकल कुदाउने धोको पनि साथीहरूकै कारण पुरा भयो । उनी सम्झन्छन्, ९ वर्ष हुँदाका ती दिनहरू । जब उनका साथीहरू उनलाई साइकल सिकाउन मरिहत्ते गरेर लागेका थिए । 

‘दुई जना साथीहरूले ह्याण्डल समाइदिने, एक जना पछाडि बसिदिने गर्थे अनि म अगाडि बसेर चलाएको जस्तो गर्थें,’ गर्बुजा विस्मृतिमा पुग्छन् । साथीहरू पनि साइकल चलाउन सधैं सिकाउन सक्दैनथे । महिनामा १÷२ पटक मात्र गर्बुजाले साइकल सिक्न पाउँथे । कहिले २ महिना नै कुर्नु पथ्र्यो । 

साइकल सिक्न उनलाई १ वर्ष नै लाग्यो । सुरुमा चलाउँदा उनलाई गाह्रो भएको याद ताजै छ । हिरो रोयल साइकल चलाएका थिए गर्बुजाले सुरुमा । अग्लो साइकल, धान्नै फसाद पथ्र्यो । उहीमाथि एक हातले मात्र चलाउनुपर्ने । सुरुमा चलाउँदा देब्रे हातलाई ब्रेक र समाउने ह्यान्डलमा राख्थे । उनलाई अफरोडमा चलाउँदा हातको छाला नै उप्किएका थिए । ‘सुरुमा सिक्न निकै गाह्रो भएको थियो, देब्रे हातमा बढी प्रेसर परेपछि दाहिने हातले मात्र ह्यान्डल गर्न सिकें,’ गर्बुजा सुनाउँछन् ।

साइक्लिङसँगै उनी अरु खेलकुद पनि उत्तिकै रुचाउँछन् । फुटबल, ह्यान्डबल, टेबलटेनिस पनि खेल्छन् । ज्ञानज्योती विद्या कुन्ज माध्यमिक विद्यालयमा पढ्दा उनी ‘स्कुल टिम’ बाट पनि खेलेको सम्झन्छन् । कक्षा ७ मा हुँदा बाट नै विद्यायलको टिमबाट खेल्न थालेपछि उनलाई खेलकुदको भोक बढ्दै गयो । १० कक्षामा हुँदा चाहिँ खेलाडी बन्ने धोको बढेपछि अहिले त्यहीतर्फ मोडिएका छन्, गर्बुजा । 

१० कक्षामा विद्यालयबाट खेलेको एक प्रतियोगिताले उनको खेलतर्फको मानसिकता नै परिवर्तन गरिदियो । ओलम्पिक दिवसका दिन कास्कीमा आयोजित अन्तर विद्यालय ह्यान्डबल प्रतियोगितामा एक हातले मात्र खेले गर्बुजा । तर पनि उनी प्रतियोगिताको ‘ आउटस्ट्यान्डिङ प्लेयर’ बन्न सके । उनलाई सो उपाधिका साथ नगद पुरस्कार पनि दिइयो । अहिलेका गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङ त्यति बेला नेपाल ह्यान्डबल संघका अध्यक्ष थिए । गुरुङको पहलमा गर्बुजालाई आर्थिक सहयोग पनि गरिएको गर्बुजा स्मरण गर्छन् । 

खेलबाट पहिलो पटक पुरस्कृत भएर आर्थिक सहयोग नै पाएपछि गर्बुजालाई लाग्यो– खेलकुदबाट केही गर्न सकिन्छ । उनी १० कक्षापछि फुल टाइम नै खेलुकदलाई दिइरहेका छन् । भन्छन्, ‘खेलकुदकै माध्यमबाट मैले परिवार पाल्ने, पहिचान कमाउने सामथ्र्य राख्छु भन्ने लाग्छ ।’

गर्बुजा प्लसटु पढाइ सकेपछि काठमाडौं लागे । काठमाडौंमा डेरा लिएर बसेका छन्, दाइसँग । प्लसटु सकेर लगातार साइक्लिङ गरिरहे पनि उनीसँग आफ्नै साइकल भने थिएन । साइकल भाडामा लिएर साइक्लिङ गर्थे । उनी पहिलो पटक ‘लङ राइड’ मा गएको भनेको बुटवलदेखि पाल्पासम्म हो । उनी एक समूहसँग सो राइडमा गएका थिए । पछि त्यहाँबाट फर्किएर ५० किलोमिटर काठमाडौं कोरामा गए । 

उनको साइक्लिङ मोह देखेर इन्दिरा रानाले उनलाई एउटा साइकल सहयोग गरिन् । त्यसपछि गर्बुजाले भाडाको साइकल चढ्नु परेन । काठमाडौंबाट पोखरा आए, पोखरा वरपरका सबै ठाउँमा साइक्लिङ गए । गर्बुजालाई २०१९ को टुर दि पोखराको ब्राण्ड एम्बासडोरको बनाइयो । ‘पोखराका दाइहरुसँग साइक्लिङ जान पाएँ । म पोखराको धेरै ठाउँ साइलकमा घुमेको छु, कतै काममा जान परे पनि साइकल नै चढ्छु,’ गर्बुजा भन्छन् । 

फेरिएको नजर 
प्लस टु सकाएर काठमाडौं गएपछि विशालको जिन्दगीले नयाँ मोड पनि लिएको छ । उनी साइक्लिङसँगै पारा तेक्वान्दोमा पनि आकर्षित भएका छन् । पोखराका युग लामाको सहयोगमा उनले काठमाडौंमा पारा तेक्वान्दोका प्रशिक्षकसँग भेटे । पारा तेक्वान्दोमा पनि केही ठूलो गर्ने धोको विशालको छ । 

पारा तेक्वान्दोमा उनको आइडल हुन्ः पलेसा भारद्वाज । पलेसाले नेपालका लागि ओलपिकमा सबैभन्दा राम्रो प्रदर्शन गरेकी थिइन् । पारा ओलम्पिकमा तेक्वान्दोतर्फ उनी काँस्य पदकका लागि खेलेकी थिइन् । गर्बुजा पनि पलेसाले झैं विश्व मञ्चमा नेपाललाई चिनाउन चाहन्छन् । ‘नेपाललाई रिप्रिजेन्ट गर्ने मेरो धोको छ, पारा तेक्वान्दोबाट नेपाललाई पदक दिलाउन चाहन्छु,’ उनी भन्छन् । 

उनी आफू अरुभन्दा फरक छु भन्ने थाहा छ । उनले यसैलाई आफ्नो शक्ति मान्छन् । ‘म फरक क्षमता लिएर जन्मिएकोमा एकदमै गर्व लाग्छ । यसैका कारण पनि मैले धेरै मौका पाएको छु र मानिसहरूको राम्रो प्रतिक्रिया पाएको छु,’ थप्छन्, ‘मैले थोरै मात्रै पनि केही गरेँ भने अरु मानिसले पाउने प्रतिक्रिया भन्दा निकै राम्रा प्रतिक्रिया मैले पाउँछु ।’

चुनौती नभए मानिसलाई प्रगति गर्ने इच्छाशक्ति नआउने उनको धारणा छ । जीवनलाई साइक्लिङसँगै जोडेर हेर्छन् । ‘पिच रोडमा सरर चलाउँदा त गाह्रो हुँदैन, तर अफरोडमा चलाउँदा घच्याकघुचुक हुन्छ, बचाएर चलाउने प्रेसरले झनै रोमाञ्चक हुन्छ नि, त्यसरी नै जिन्दीगमा पनि केही च्यालेन्ज त चाहियो नि,’ उनी थप्छन् ।


Author

थप समाचार
x