१५ वर्षसम्म दुर्व्यसनीमा फसेका युवा भन्छन्ः
‘लागू पदार्थविनाको जीवन सुन्दर हुन्छ’
फाइल फोटो
चितवन : चोकचौराहाका भट्टीपसल, चिया पसललगायत सार्वजनिक ठाउँमा खुलमखुला चुरोट पिउने मानिस देख्दा ललितपुरकाका गोविन्द अधिकारीलाई चुरोट खान मन लाग्यो । भट्टी पसलमा मादक पदार्थ खाने र होहल्ला गर्दै हिँड्नेहरुबाटै उनले यो सेवन सिके ।
तर अहिले लत छोडेका अधिकारी समाज सुधारको बाटोमा लागेका छन् । झण्डै १५ वर्षसम्म लागू पदार्थमा लिप्त रहेका अधिकारी अहिले व्यवसायसँगै दुव्र्यसनीलाई पुनःजीवनको सन्देश दिन सक्रिय छन् ।
विसं २०३८ मा जन्मिएका अधिकारीले कक्षा ७ पढ्दादेखि नै चुरोट पिउन थाल्नुभयो । खराब लतका कारण अभिभावकले घरभन्दा टाढा चितवनमा ल्याएर आवासमा राखेर निजी स्कूलमा पढाउन थाले । उनको बानीमा सुधार आएन । झनै उनमा लागूऔषध दुव्र्यसनीको लत बढ्दै गयो ।
बिदाका समयमा घर जाँदा काठमाडौँबाटै लागूऔषध बोकेर आउने र यहाँ आफू र साथीहरुलाई पनि खान प्रेरित गर्ने काममा उनको ध्यान जान थाल्यो । उनले चुरोटसँगै मदिरा, गाँजा, चरेस र ड्रग्स प्रयोग गर्न थाले ।
अधिकारीले विगत सम्झँदै भने, “त्यतिबेलै मलाई मात्र नभएर अरुलाई पनि यो लतमा फसाएका थिए ।” प्रवेशिका परीक्षामा राम्रै अङ्क ल्याएर उत्तीर्ण भएका उहाँ १२ कक्षा पढ्दै गर्दा पूर्णरुपमा नशामा डुब्नुभयो । त्यसपछिका उहाँका दिन कहालीलाग्दा भए । पढाई मात्रै रोकिएन, घरपरिवारले उनलाई धान्नसक्ने अवस्था रहेन । उनले भने, “मेरा घरका दराजका ढोका सबै बाङ्गिएका थिए, मैले नै हानेर त्यस्तो भएको हो ।”
लागू पदार्थ प्रयोगका लागि जसरी पनि पैसा जुटाउनैपर्ने भएपछि उनले चोरी, डकैती, लुटपाट केही छाडेनन् । उनले भने, “भारतको पञ्जाबमा दैनिक रु ८० कमाउँथे, रु ७० को लागू पदार्थ खान्थेँ, रु १० को रोटी खान्थेँ ।” भारतको तीन वर्षको बसाइँपछि नेपाल फर्किएका उनले घरमा आउँदा परिवारले जीउँदै रहेको भन्ने आश मारेर बसेको बताए ।
घर फर्किएपछि परिवारले उनको थप निगरानी राख्यो । बुबाले भनेको स्मरण गर्दै उनले भने, “कहीँ नहिँड्नु बरु तैले खाने सबै मैले नै ल्याइदिन्छु”, भने । त्यसपछि अटोमोबाइलको व्यवसाय गर्नुहुने बुवासँगै उहाँ पनि काममा लाग्नुभयो । लत भने छुट्न सकेन । त्यसैबेला उहाँका परिवारले पुनःस्थापना केन्द्र लग्नुभयो । एक महिना निकै कठिन समय पार गरेपछि क्रमशः उनमा सुधार हुँदै गयो । तीन महिनाको बसाईंपछि उनी पूर्णरुपमा लागू पदार्थ सेवनबाट मुक्त भए ।
पन्ध्र वर्षको लागूऔषध दुव्र्यसनको कहालीलाग्दो जीवनबाट उनमा नयाँ जीवन पलायो । यससँगै विवाह बन्धनमा बाँधिएर दुई सन्तानका बाबु बनेका अधिकारी जहाँ आफू सुध्रनुभयो त्यही केन्द्रमा लगानी गरेर बाह्य सहयोगी बनिरहेका छन् । अहिले पनि सडकमा देखिने बालबालिकादेखि लागुऔषधमा लिप्त भएकाहरुलाई सुधारका लागि उनी समय खर्चिने गर्छन ।
विगत तीन वर्षदेखि पोखरामा गाडीको ग्यारेज सञ्चालन गर्दै आएका अधिकारी लागूऔषध भावनात्मक रोग भएको बताउँछन् । उनले भने, “लागू पदार्थबिनाको जीवन सुन्दर हुन्छ । यो रोग हो, निवारणका लागि अपहेलना गर्नुहुँदैन, उपचार राम्रो गर्नुपर्छ । कुटेर पिटेर समाधान हुँदैन ।”
जीवनको सुनौलो १५ वर्ष समय वर्वाद भएकामा पछुताउँदै उनले भने, “समयमा सही र गलत छुट्याउन नसक्दा जीवनको ऊर्जासित समय यसै खेर गयो ।” लागुऔषध दुव्र्यसनको उपचार गरेमा निको पार्न सकिने बताउँदै उनले भने, “दुव्र्यसन रोग हो, यसको सही उपचार गरे निको हुन्छ ।”
आफू बाल्यकालदेखि नै यो लतमा फसेको भन्दै उनले भने, “मैले बच्चामा यो खराब हो भन्ने थाहा पाएको भए, मेरो अवस्था यो हुने थिएन, बाल मनोविज्ञानमा सकारात्मक परिवर्तन ल्याउन कक्षा सञ्चालन गर्नुपर्छ ।” समाजमा जुन वातावरण छ, त्यसले कुलतमा जानेलाई प्रश्रय गरेको भन्दै उनले परिवारसँगै सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
लागू पदार्थ छोडेको १५ वर्षको अवधिमा उनले परिवार चलाउन सक्नेगरी व्यवसाय चलाएका छन् भने कुलतमा फसेकालाई सुधार गर्न प्रेरणा दिएका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया