रैथाने वनस्पतिबारे घिमिरेका दुई पुस्तक
काठमाडौँ- खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेले ‘नेपालमा गाँजा’ (वैज्ञानिक अवधारणा) र ‘नेपाली रैथाने जडीबुटी’ नाममा दुई पुस्तक लेखेका छन् । घिमिरे नेपालमा पाइने, पुर्खाहरूले औषधिका रुपमा प्रयोग गर्ने तर हामीले धेरै ध्यान नदिएका वनस्पतिको औषधीय गुणबारे डेढ दशकदेखि क्यानडामा रहेर अनुसन्धान गर्छन् ।
घिमिरेले गाँजाको औषधीय गुणबारे तथ्यपूर्ण ढंगले लेखेका छन् । संसारमा गाँजा, नेपालमा गाँजा, क्यानडामा गाँजा भन्दै उनले गाँजाको गुणबारे चर्चा गरेका छन् । गाँजा र यौनबीचको सम्बन्धबारे पनि लेखेका छन् । गाँजा विधेयक किसानलाई सास्ती, व्यापारीलाई मस्ती भन्ने निष्कर्ष छ, उनको । गाँजा र रैथाने जडीबुटीबारे गहिरिएर सोचविचार नै नगरी हामी कसरी किन नाक खुम्च्याउँछौँ भन्नेमा उनको प्रश्न छ ।
घिमिरे परम्परागत भनिने आयुर्वेद र आधुनिक भनिने एलोपेथिक उपचार पद्धतिको सम्बन्ध र साइनोबारे अध्ययन गर्न लागिपरेका छन् । उनी आयुर्वेदिक औषधीको साइड इफेक्टरहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्तासमेत हुन् । वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुण संयोजन गरी हिलिङ फुड निर्माणमा उनले विज्ञता हासिल गरेका छन् ।
घिमिरे त कफी, गाँजा र रक्सीमध्ये कुन शरीरका लागि कति हानिकारक, कति लाभदायक भनेर समेत लेख्छन् । घिमिरेको निष्कर्ष छ, गाँजा खेती प्रचुर हुनुपर्छ, यसको औषधीय गुणबाट हामीले फाइदा लिनुपर्छ, विदेशीले राम्रो वा नराम्रो भनेको भरमा लहैलहैमा लागेर हुँदैन आफ्नो शक्ति बुझ्नुपर्छ । हाम्रा पुर्खाहरूले यत्रो वर्षदेखि सेवन गर्दै आएको गाँजा कसरी खराब भनेर उनी प्रश्न गर्छन् ।
यसै गरी ‘नेपाली रैथाने जडीबुटी’मा उनले धुर्सेलीको पात, खिर्राे, टिम्मुर, कन्टकारी, कुस, दुबो, अश्वगन्धा, बेसार, सिमल, तीतेपाती, चरीअमिलो, केरादेखि धेरै खाले जडीबुटीको उपयोगिताबारे सप्रमाण व्याख्या गरेका छन् । हाम्रा रैथाने जडीबुटी नबुझ्नेलाई कीरा, बुझ्नेलाई हिरा हुन् भन्ने कथन छ, उनको ।
नेपाल हर्बल टनिकको हब कसरी बन्न सक्छ भन्नेबारे उनले लेखेका छन् । घिमिरेको निष्कर्ष छ, वनस्पति नै कीराबाटै नेपाल धनी बन्न सक्छ । ‘नेपालमा गाँजा’ पुस्तकको मूल्य ३०० रुपैयाँ छ भने ‘नेपाली रैथाने जडीबुटी’को मूल्य ३२५ रुपैयाँ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया