'अब अर्को युद्ध लडौँ'
-भरत रोकाय 'एक्सन'
तिमी नै हौ बारूद र बन्दुक पट्काएर
रगतको गण्डकी बगाउँदै सपना खोज्न
युद्ध मैदानमा परेड खेलाउने अगुवा।
तिम्रो त्यो विध्वंसकारी हात
आज सहरको एउटा अग्लो घरमा
आफ्नै आङ कन्याइरहेछ ।
तिम्रा आरिसका आखाँहरू
नियालिरहेछन आफ्नै सम्वृद्धिको राजमार्ग ।
मेरो सुन्दर गाउँबस्ती पुरै जलेर खरानी भयो
खै के पाए मैले ? र के पायो मेरो गाउँले ?
पायौ त केवल तिमीले सिङो देश।
पायौ त तिमीले दरबार।
पायौ त तिमीले ठूलो सहर
शक्तिशाली कुर्सी
र एउटा आलिशान घर।
मेरो भाइ र मेरी दिदीको बलिदानी
मेरि बहिनीको बलात्कार
मेरी आमाले तिम्रो डफ्फाहरूलाई
सकी-नसकी खुवाउन परेको भातको
मूल्य दिनु पर्छ कि पर्दैन तिमीले?
हामी भित्रको जीवन रस चुसेर
ती सपनाहरुमा आगो लगाइसकेका छौँ
बिनासिएका छन् हाम्रा भविश्य फल्ने
जीवन बारीहरू।
अब तिमीले नै ऊर्बर बनाउनु पर्छ
हामी आँसु ,पसिना र रगतले
कति सिंचाई गरौँ?
मैले पनि परिवर्तनको युद्ध लडे
तर किन ठूलठूला भवन तिम्रा भए?
हामीहरु किन तिनै झुप्रामा छौँ?
मोटर कार तिमीले पायौ
मेरो बाले अझै उकालीमा
भारी किन बोक्दै हुनुहुन्छ ?
अहिले तिमी शासक बनेर
समृद्ध समाजको हल्ला गरिरहेछौ
तर बिहान बेलुकी खानको लागि
म बालुवामा चामल खोजिरहेछु।
मैले
मेरो देशको खुसी फर्काऊने आशामा
लडेको थिएँ। तर यतिबेला तिमीले त देशमा आशुँका
मुहानहरू खन्दै छौ। खै कहाँ गयो तिम्रो स्वाभिमान?
परिवर्तन मात्र तिम्रो निम्ति भयो ।
पहाडका आँशुहरू बगिरहेछन् ।
तराईका दुःखहरू उस्तै छन् ।
शान्ति फर्केर आइनन्। हाम्रो निम्ति केहि भएन।
देशले काँचुली फेरेन।
म र मेरो देशलाई बन्धकी राखेर,
आफ्ना रहरहरू पूरा गर्यौ तिमीले।
स्वतन्त्रताको लल्कार गर्दै
क्रान्तिको तिखा पन्जाहरूले
कोपरिएका बस्तीका अनुहारहरू
यतिबेला आर्तनादका घाउहरू
सुमसुम्याउदै चित्कार गरिरहेछन्।
त्यसैले
हामी गाऊँ बस्ती समाज र सिङ्गो देश
परिवर्तनको लागि,
मुक्तिको लागि
फेरि एक पटक
मर्न तयार छौँ ।
अब हामी
अर्को युद्ध लड्न तयार छौँ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया