पद्मसुन्दर जोशी को 'हिति प्रणाली' विमोचित
काठमाडौँ- प्राचीन हिति प्रणालीमाथि लेखिएको पद्म सुन्दर जोशीको वृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित भएको छ । ललितपुर महानगरपालिकाले बुधबार आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि,योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताका बिच 'हिति प्रणाली' पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा लेखक पद्मसुन्दर जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनिल बाबु श्रेष्ठलाई पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तक पब्लिकेसन नेपालयले गरेको हो ।
पुस्तकका लेखक जोशी भन्छन् - 'आजको समयमा दिगो सहरी खानेपानी योजनाहरू डिजाइन गर्दा, हामी बीस वर्षको योजना बनाउँछौं; यदि धेरै महत्वाकांक्षी योजना छ भने तीस-वर्षे पनि होला ! आधुनिक जलविज्ञान र इन्जिनियरिङले त्यो भन्दा बढी कल्पना गर्न सक्दैन तर हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो, किनभने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ । हिति प्रणाली, भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहरण हो ।'
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हिति सम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुसी आफू हुने बताए । 'मेरो अघिल्लो कार्यकालमा पाटनका हितिहरुबाट पानी झारेर देखाउने धोको थियो, त्यो पूरा हुन पाएन तर अझै पनि प्रयास जारी छ । यसपालि भने लगनखेलको सप्तपाताल पोखरीको जमीन नगर स्वामित्वमा ल्याउन सफल भएको र टिकाभैरव राजकुलो ब्युँताउने अभियान समेत उल्लेख्य रुपमा अघि बढेको छ ।‘ मेयर महर्जनले आफूहरू केटाकेटी छँदा यिनै पोखरीमा फुलेका कमलका पातमा भोज खाएको स्मरण गर्दै र तिनै पोखरीमा फेरी कमल फुलाउने आफ्नो इच्छा रहेको बताए ।
काठमाडौँ सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी दिगो सहरी विकासका योजनाकार हुन् । उपत्यकाको पूर्वाधार विकासका साथै मूर्त तथा अमूर्त सम्पदाहरूको जगेर्नामा सक्रिय उनी पेसाले इन्जिनियर हुन् । लामो समय त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापनसमेत गरेका उनले काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगको सदस्य–सचिव रही सहरी पूर्वाधार सुधार आयोजना तथा काठमाडौँ उपत्यका म्यापिङ कार्यक्रमको नेतृत्व गरेका थिए । नेपालीमा यो उनको पहिलो पुस्तक हो । 'हिति प्रणाली' को मूल्य नेपाली बजारका लागि १४९५ रुपियाँ रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया