साहित्य

आँचल साहित्य कला पुञ्जद्वारा १० जना स्रष्टा सम्मानित

इकागज |
असार २५, २०७९ शनिबार १७:३८ बजे

मकवानपुर- मकवानपुरका नारी साहित्यकारहरूको साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले हेटौंडामा एकसाथ १० जना स्रष्टालाई सम्मान गरेकाे छ ।

शनिबार साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई आँचलले सम्मान गरेकाे हाे । साहित्य, कला, खेलकुद तथा पत्रकारितालगायतका क्षेत्रमा योगदान दिएर त्यस क्षेत्रको पहिचानलाई अझ उचाइमा लैजाने स्रष्टाहरूलाई एकसाथ सम्मान गरिएकाे आँचलकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।


कोभिड-१९ का कारण २०७८ सालमा प्रदान गर्नुपर्ने सम्मान तथा पुरस्कार यस वर्ष प्रदान गरिएकाे हो । आँचल साहित्य कला पुञ्जको चौथो अधिवेशनको अवसरमा मकवानपुरसहित अन्य जिल्लाका स्रष्टालाई हेटौंडामा सम्मान गरिएकाे अध्यक्ष न्यौपानेले बताइन् ।

मकवानपुरका अग्रज पत्रकार परियार सम्मानित

मकवानपुरका अग्रज पत्रकार कृष्णराम परियार सम्मानित भएका छन् । राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता परियारलाई आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिबार नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित सम्मान गरेको छ । ४३ वर्षदेखि पत्रकारितामा क्रियाशील परियारलाई इश्वर लम्साल स्मृति पत्रकारिता सम्मान, २०७८ प्रदान गरिएको हो ।

पुञ्जले पत्रकार परियारसहित साहित्यकारहरू जनार्दन खनाल, तीर्थदेवी शिलवाल, सरिता तिवारी, देवराज खरेल, प्रशन्ना चौलागाईं, भूषिता वशिष्ट, छवी अनित्य, चित्रकार ऋत्विक के.बी. र मकवानपुरकी प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई नगद सहित सम्मान गरेको हो ।

पुञ्जकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकारहरू निमेश निखिल, आरसी रिजाल, गायिका शुसिला पाण्डे मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

सम्मानित व्यक्तित्व तथा पुरस्कारहरू

बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान-२०७८
समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान-२०७८ लामो समय मकवानपुरको साहित्यमा सेवा गरेर, साहित्यलाई पछ्याउँदै हिँड्नु भएकी साहित्यकार तीर्थदेवी सिलवाललाई प्रदान गरिएकाे छ । सिलवाललाई १० हजार १ राशी र सम्मान पत्रसहित सम्मानित गरिएकाे हाे । १ लाख २५ हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७४ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने नारी साहित्यकारलाई मात्र दिइने यो सम्मान पाउने पहिलो व्यक्ति मकवानपुरकी कवि प्रतिमा पाठक हुन । २०७५ सालका लागि रुकु कार्कीलाई प्रदान गरिएको थियो । यो सम्मान संस्थाबाट स्थापना भएको अक्षय कोषसहितको पहिलो सम्मान हो ।

प्रतिभा धिताल छन्द पुरस्कार-२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार-२०७८ का लागि झापामा जन्मनु भएकी साहित्यकार विशेषत छन्दलाई माया गर्ने भुषिता बशिष्ठलाई प्रदान गरिएकाे छ । एक लाख अक्षय कोषको ब्याजबाट प्रत्येक वर्षमा छन्दमा कलम चलाउने नारी साहित्यकारलाई यो पुरस्कार प्रदान गरिदै आएकाे छ । १० हजार १ रुपैयाँ राशिको यो पुरस्कार २०७५ सालमा स्थापना भएको हो । पहिलो पटक यो पुरस्कार महाकाव्यकार बुनु लामिछानेलाई प्रदान गरिएको थियो । त्यसैगरी प्रभा भट्टराई र कृष्णदेवी शर्मालाई प्रदान गरिसकिएको छ ।

ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान-२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुरा बा/बुबाको नाममा स्थापना गरेको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान-मकवानपुर जिल्लाको पत्रकारिताका क्षेत्रमा लामो समयदेखि क्रियाशिल अग्रज पत्रकार कृष्णराम परियारलाई प्रदान गरिएकाे छ । आँचलले एक लाख रुपैयाँको अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तिलाई यो सम्मान प्रदान गर्दै आएको छ । परियार ७ हजार ७ सय ७७ नगद तथा सम्मान पत्रबाट सम्मानित भएका हुन् । २०७५ सालमा स्थापना भएको यो सम्मान पहिलो पटक अग्रज पत्रकार कौशल पाण्डेलाई प्रदान गरिएको थियो । यसअघि मकवानपुरका अग्रज प्रताप विष्ट, नवराज शर्मा पनि यो सम्मानबाट सम्मानित भइसकेका छन ।

टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८
साहित्यकार रुकु कार्की तथा बहिनीहरू प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले स्वर्गिय पिता तथा माताद्वयको नाममा स्थापना गरिएको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८ हेटौडाका कवि निबन्धकार देवराज खरेललाई प्रदान गरिएकाे छ । खरेल ११ हजार १ सय ११ रुपैयाँ राशि र सम्मान पत्रसहित सम्मानित भएका हुन् । १ लाख ५० हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने व्यक्तिलाई दिइने यस सम्मान यसअघि ललिता दोषी र निमेष निखिललाई प्रदान गरिएको थियाे ।

अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५ सम्म अध्यक्षको रहेकी स्वर्गीय अप्सरा तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा जशोधा तिम्सनाले स्थापना गरेको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८ चितवनमा बसेर साहित्यमा आफ्नो बलियो उपस्थिति जनाउने हुने कवि सरिता तिवारीलाई प्रदान गरिएकाे छ । १ लाख ९० हजार अक्षय कोषको प्राप्त ब्याजबाट प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने व्यक्तिहरुलाई १५ हजार १ राशिसहित सम्मान प्रदान गरिँदै आइएकाे छ । यो सम्मान यस वर्षदेखि प्रदान गरिएकाे हाे ।

मुक्ति तारा नव प्रतिभा सम्मान २०७८
समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा उनकी धर्मपत्नी तारा वैद्यको नाममा स्थापना गरेको मुक्ति तारा नव प्रतिभा सम्मान २०७८ नवसर्जक साहित्य चौतारीकी केन्द्रिय अध्यक्ष प्रसन्ना चौलागाईँलाई ५ हजार १ राशिसहित सम्मान गरिएकाे छ । साहित्यमा कलम चलाउनु हुने नवप्रतिभाहरुलाई यो सम्मान दिइदै आएको छ । यो सम्मानबाट पहिलो पटक प्रसिद्धिका लम्साललाई सम्मानित भएकी थिइन् ।

खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८
मकवानपुरका हास्य-व्यङ्ग्य डा. गणेशकुमार पौडेलले आफ्नो पिताको नाममा स्थापना गरेको खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८ साहित्यकार जनार्दन खनाललाई प्रदान गर्ने निर्णय गरिएको छ । ५ हजार १ रुपैयाँ राशिसहित सम्मान प्रदान गरिने छ । । यो सम्मानबाट पहिलोपटक रामचन्द्र आचार्य ‘फुर्सदी’ सम्मानित भएका थिए । पुरस्कार स्थापनकर्ता पौडेलको २०७९ असार ७ गते निधन भएको छ ।

मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८
शिक्षाविद् देवप्रसाद श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गरेको मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८ यस वर्षका लागि चित्रकारिताका उदयमान नवप्रतिभा ऋत्विक के. बी. लाई प्रदान गरिएकाे छ । ऋत्विकले पछिल्लो समय साहित्यमा पनि आफ्नो उपस्थिति देखाउन थालेका छन । ऋत्विक ३ हजार ५ नगरसहित उक्त सम्मानबाट सम्मानित भएका हुन् ।

आँचल साहित्य /कला सम्मान २०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरले आफ्नै संस्थाको नाममा स्थापना गरेको आँचल साहित्य/कला सम्मान २०७८ खेलकुदतर्फ भलिबलको क्षेत्रमा विशेष योगदान पुर्‍याउने हुने भलिवल खेलाडी चुडा खड्कालाई ५ हजार १ राशिसहितको यो सम्मान प्रदान गरिएकाे छ । समाजसेवी/साहित्यसेवी मुक्ति गोविन्द वैद्यले उक्त सम्मानकाे नगद सौजन्य गरेका छन् । यसअघि यो सम्मानबाट कलाकार सूर्य सन्यासी सम्मानित भएका छ्न् ।


Author

थप समाचार
x