साहित्य

पुस्तकमार्फत राजतन्त्रको वकालत गर्दै रवीन्द्र मिश्र

इकागज |
साउन ३, २०७९ मंगलबार १३:३० बजे

काठमाडौं -  राजनीतिकर्मी तथा लेखक रवीन्द्र मिश्रले पुस्तकमार्फत राजसंस्था स्थापनाको मुद्दालाई अगाडि बढाएका छन् । प्रकाशोन्मुक पुस्तक ‘विचारभन्दा माथि देश’मा उनले राजसंस्था स्थापनासँगै संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रुपान्तरण गर्नुपर्ने बताएका छन् । 

‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् । 


नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बीपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ ।

‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन । ६०्७० लाख युवा विदेसिन बाध्य हुने थिएनन् । आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन । राजनीति भनेको देशकै लागि गर्ने हो । त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेखेका छन् ।

मिश्रले गत वर्ष विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा सङ्घीयता खारेजी र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह नेपालका लागि अत्यावश्यक रहेको बताउँदै ‘बहस र छलफल’का लागि एउटा दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमाथि देशभरबाट आम रूपमा प्राप्त प्रतिक्रिया, भएका छलफल र बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर त्यसलाई परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताएका छन् ।

फाइनप्रिन्टले प्रकाशन गर्न लागेको यस पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व  राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले उल्लेख गरेका छन् । यसअघि प्रकाशित उनको पुस्तक ‘राजनीतिसँगै राजकाज’को लेखकस्व पनि उनले राजनीतिक सुधारकै प्रयासका लागि प्रदान गर्दै आएका छन् । उनका अन्य तीन पुस्तकको लेखकस्व विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेसनलाई प्रदान गरिँदै आएको छ ।


Author

थप समाचार
x