निर्मला पन्तका लागि न्याय
सरकार मरेको घोषणा [कविता]
प्रिय नागरिकहरु,
यतिबेला देश गहिरो शोकमा छ ।
देश शोकमा त धेरैपटक परेको हो–
म सानो छँदा जनआन्दोलनको नाममा देशले शोक मनायो
लगत्तै समानताको भोको पेट बोकेर
चारा खोज्न जंगल पसे भोका मान्छेहरु
तर सरकारले बम, बारुद र गोलीको आहारा पठाईदियो
र फेरि देश अर्को शोकमा डुब्यो ।
शोकलाई शक्तिमा बदल्न
सबै नागरिकहरु जुटे यो देशका
आफ्नै औला काटेर बनाए सिंहासन
र आफ्नै करङको भ¥याङ बनाई पठाए सरकारमा
रातो आशासहित, राता मान्छेहरु ।
सरकारमा पुगेपछि रातो मनपराउने राता मान्छेहरु
उखेल्न थाले सेतो गुलाव,
काटिदिन थाले परेवाको पखेटा
तिरस्कार गर्न थाले पसिनाको रंग
फलस्वरुपः देखिन थाल्यो रातो रंग मात्रै
र यत्रतत्र बग्न थाल्यो रातो रगत ।
प्रिय नागरिकहरु,
यतिबेला देश गहिरो शोकमा छ ।
देश शोकसँगै–
भोक, रोग, गरिबी, अशान्तिको
अँध्यारो गुफातिरको बाटोमा लम्किरहेको छ ।
आजकाल मेरी सानी छोरी
मेरो छेऊ आउन डराउँछे
सधैं–सधैं त्रसित अनुहारमा हुन्छे
हिजो सोधें– ‘नानु के भयो तिम्लाई ? सञ्चो छैन’
उसले भनि– ‘बाबा तपाईं मेरो छेउ नआउनुस्,
तपाईंको अनुहार सरकारको जस्तै लाग्छ ।’
प्रिय नागरिकहरु,
यतिबेला देश गहिरो शोकमा छ ।
मेरो बजु भन्नुहुन्थ्यो–
प्रेतले सताउन थालेपछि अनेकथरी हुन्छ
आफैं खुल्न–बन्द हुन थाल्छ घरका झ्याल ढोका,
उफ्रिन थाल्छ भाँडा वर्तन,
छटाउन थाल्छ मान्छे,
र बर्बराउन थाल्छ एक्लै–एक्लै ।
ठीक त्यसैगरी
यो देशमा अनाम चेलीहरुको,
भोका नाङ्गाहरुको
प्रेत जाग्यो
र आक्रमण ग¥यो सरकारलाई
सरकार– धेरै समय छटायो
सरकार– धेरै समय बर्बरायो
थेग्नै नसकेपछि प्रेत आक्रमण
सरकार अनेक रुप, अवतारमा नाङ्गै हिङ्न थाल्यो
गाउँ–सहर, झुपडी–महल,
हिमाल–तराई, सदन–बेश्यालय,
चैत्य–मस्जिद, घाट–देवालय ।
विरामी सरकारलाई निको पार्न
हामी सबै लाग्यौ,
धनी–गरिब, छुत–अछुत, आस्तिक–नास्तिक
नारी–पुरुष, तपाई, म, हामी सबै लाग्यौ
अफसोच्, इलाज हुन सकेन सरकारको
प्रिय नागरिकहरु,
यतिबेला देश गहिरो शोकमा छ ।
कहिलेसम्म दिनु
गरिबले आफ्नै कुपोषित शरीर रित्याएर– महंगो रगत
कतिन्जेल दान गर्नु आँखा– आफैं नहेरेर संसार
अनि कत्ति बचाईराख्नु भेन्टिलेटरमा– कृतिम स्वास दिई
अफसोचः बचाउनै सकिएन सरकारलाई ।
प्रिय नागरिकहरु,
यतिबेला म सरकार मरेको घोषणा गर्दछु ।
०००
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि रचिएको कविता । यो कविता सिन्धुपाल्चोकमा शब्द सारथिले आयोजना गरेको निर्मलाका निम्ति न्याय सडक कविता अभियानमा वाचन गरिएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको आज चारवर्ष पुगेको छ । तर, अझै ‘हत्यारा’ पत्ता लागेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया