साहित्य

कला

नाफामा १३ कलाकारले बनाएका १३ मुहारचित्र

इकागज |
चैत ३१, २०७७ मंगलबार ६:२७ बजे

काठमाडौँ : टाउकामा सेतो ऊनी टोपी, गलामा पहेँलो खादा । अनि कोठेकोठे ऊनी स्वेटर लगाएको आफ्नै चित्र ग्यालरीको भित्तामा देखेर समाजसेवी भद्रकुमारी घले दंग परिन् । आफ्नै चित्र निकै बेर नियालिन् । अनि भावुक हुँदै भनिन्, ‘कस्तो राम्रो बनाउनुभएछ ।’ 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागको आयोजनामा आइतबारबाट सुरु भएको मुहार चित्र प्रर्दशनीमा आनी छोइङ डोल्मा र सुरेन्द्रबीर मालाकारको बीचमा घलेको पनि मुहारचित्र छ । चित्रको संसारमा पुग्दा उनी ‘नोस्टाल्जिक’ भइन् । बचपनका कुरा सम्झिन् । भनिन्, ‘म पनि सानोमा चित्र बनाउँथे । कालो रंग चाहिए, मट्टीतेल राखेर बल्ने टुकी बत्तीको सलेदो ताछ्थेँ । रातो रंगको लागि रातोमाटो खोज्थेँ ।’ 


ग्यालरीमा पंचकन्या ग्रुपका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले आफ्नो मुहार चित्र बनेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘कलासंग आफुपनि जोडिन पाउँदा खुसी लाग्यो ।’

घले र श्रेष्ठको मात्रै होइन, यहाँ १३ जना प्रसिद्ध व्यक्तिहरुका मुहारचित्र राखिएका छन् । वरिष्ठ समाजसेवी एवम् कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, आनीछोइङ डोल्मा, मनिषा कोइराल, अनुराधा कोइराला, भद्रकुमारी घले, अम्वीका श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, के.के कर्माचार्य, किरण मानन्धर, सुरेन्द्र विर मालाकार, प्रदिपकुमार श्रेष्ठ, पृथ्वी बहादुर पाण्डेका मुहार चित्रहरु बनाइ प्रर्दशनीमा राखिएको थियो । 

यी चित्रहरु भने चित्रकारहरु सिर्जनराज भण्डारी, आलोक गुरुङ, बाबुराजा धःला, रोशन प्रधान, किशोर नर्कमी, कान्छाकाजी भाषिमा, प्रतिप श्रेष्ठ, डि राम पाल्पाली, कृष्ण प्रकाश शाह, पुजा मर्हजन, प्राज्ञ गजेन्द्रमान श्रेष्ठ, आसुराम खैजू, मदन श्रेष्ठले तयार पारेका हुन् ।
 
प्रतिष्ठानको ग्यालरीमा एक हप्तासम्म चल्ने मुहारचित्र प्रदर्शनीको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले आइतबार उद्घाटन गरेका हुन् । त्यस्तै श्रेष्ठले ‘नेपाली एब्स्ट्राक्ट पेन्टिङ ब डेभलपमेन्ट एनलाइसिस’ पुस्तक पनि लोकार्पण गरेका थिए । 

कार्यक्रममा प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले नेपाली ललितकलाको इतिहास अध्ययन, खोज, अनुसनधान  विकासका लागि प्रतिषठानले मिहिन ढङ्गले काम गरिरहेको बताए । त्यस्तै कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले मुहार चित्रको काम ज्यादै कठिन भएको र नेपालमा यस विषयमा अझै धेरे काम गर्न बाँकी रहेको सुनाए । 

‘नेपाली एब्स्ट्राक्ट पेन्टिङ ब डेभलपमेन्ट एनलाइसिस’ पुस्तकका लेखक कृष्ण प्रकाश शाहाले अमूर्त कलाले कल्पना र अनुभवको प्रस्तुति गरेको हुने बताए । ‘नयाँ आयामको खोजी नै अमूर्त सोच हो । हामी मानव मात्रले अमूर्त सोचका कारणले मूर्त कलाको आविष्कार गरेका छौ । जसको उदाहर गाडी, घर आदीलाई लिन सकिन्छ,’ उनले भने, ‘यसको विकास विश्व जगतबाट नेपालमा आईपुग्दाको अवस्था कस्तो छ भनी खोज अनुसन्धान गरि पुस्तक तयार पारेको हुँ ।’ 

मुहारचित्र विक्री भएर आएको रकमको केही प्रतिशत रकम कालिका मावि सिन्धुपाल्चोक वडा नं. ६ का विद्यार्थीलाई प्रदान गरिने आयोजकले बताएका छन् । 
 


Author

थप समाचार
x