हात्ती आयो फुस्सा
हाम्रा बाले भनेको
समाजवाद आयो रे
समाजवादले सिन्दूर हाली
बाजागाजा बजाई
समृद्धिलाई दुलही बनाई ल्यायो रे ।
सुखै सुख पाउली
न्यानो लुगा लाउली
रंगीन जामा भिरेर
हाटबजार जाउली
मिष्ठान्न अरु परिकार
टन्न पेटभरि खाउली
भन्दै ढोल पिटेर
नगरा झ्याली चुटेर
हाम्रा बाले भनेको
समाजवाद आयो रे
समाजवादले समृद्धि सँगै ल्यायो रे ।
आयो आयो भन्छन्
खोई कता आयो
खेत खलिहान, गाउँबस्ती
घर, आँगन, झ्पडपट्टी
चार दिगन्त चौराहा
हिमालदेखि फाँटसम्म
काँठदेखि हाटसम्म
आँखा च्यातेर,
गर्धन तानेर हेरें
खोई कतै देखिनँ
फाँट सुनसान थियो
गाउँ चुपचाप थियो
बस्ती ओइलाएर
मुर्झाएको पात जस्तै थियो
समाजवादको आहट
समृद्धिको पदचाप खोई कतै सुनिनँ
समाजवादले गरिबको अभाव मेटेन
अभावको पीडाले छटपटिएको
सुकेको आँत मेटेन
तिर्खाएको प्यास मेटेन
अन्यायको विद्रुप अनुहारमाथि
मोसो दल्न
अस्पृष्यमाथिको अत्याचार
मानवीयतामाथिको नृसंश
विभेद हटाउन
न्यायको मल्हम लेपन गर्न
कुनै अकिञ्चनको घरको ढोकामा
समाजवादले दस्तक दिएको
आभाससम्म पनि देखिनँ ।
पीपलबोटको चौतारीमा
बाँगा औंला तेस्र्याउँदै
हाम्रा बाले भनेको
त्यति पनि नदेख्ने तँ लाटो
गोज्याङ्ग्रो, लहडी गँजडी
लफङ्गा हरिलट्ठक
संविधानको पानामा
सुनौला अक्षरले लेखेको
समाजवाद पनि नदेख्ने
तँ अन्धो, अजबेस्रो अज्ञानी ।
जस्ले जे जे भनून्
पण्डित्याइँको पुराणवाचन नै गरुन्
शीला नबोलेसम्म त्यसैमथि फूल राखेर
अबीर, अक्षेता छरेर
अन्धभक्ति गर्दिनँ
तिमी जे बक्छौ बक
प्रत्यक्ष नदेखसम्म, न भोगेसम्म
म केही जान्दिनँ
नभन भो, म मान्दै मान्दिनँ ।
प्रकतिको प्रकोप पनि उसैलाई
भाग्यको प्रताडना पनि उसैलाई
राहतको आश के गरेको थियो राज्यबाट
सम्भाषणको चाङ पनि उसैलाई
न कतै टेक्ने ठाउँ उसको
न कतै समात्ने हाँगो
चुहिने छाप्रोको बलो पनि
दुईकर जोडी जोडेको
सम्पत्तिको टुक्रो
प्रकृतिको पीडा उसैमाथि
साहुकारको चोट कति साह्रो
बज्रैजस्तो छाती बनाएर
सबै पीडा भुलाएर
दुई छाक खाएर बाँच्न पनि कति गह्रो ।
आँसुको आहालमा डुबेको बस्ती
राउटे, बदिनी, चेपाङ
बनकरिया, हली हरुवाचरुवा,
सुकुम्बासीहरुको अनुहारभरि
समाजवादको छाप खोजें
समृद्धिको ताप खोजें
खै कतै देखिनँ ।
निर्दयी साहुकारहरुले चुसेर
थिलथिलो थिचेर, निचोरेर छोडेको
अत्यासलाग्दो विभीषिका
डरमर्दो प्राणमा बाँच्न विवश
इतिहासको गर्भदेखि
समयले पनि लखेटेको
सुकुम्बासी गरिब
आफ्नै परिश्रमको पारितोषिक पाउन पनि
माइतीघर मण्डलाको परिसरमा
लम्पसार परेर कुर्ने, स्वस्ति गर्नुपर्ने
विडम्बना,
समाजवादले ल्याएकी समृद्धि
माइतीघरदेखि बानेश्वर चोकसम्म मार्च गर्छ
आर्तनाद स्वरहरु
जीवनको जिजीविषा
सहरको सडकपेटीमा छरपस्ट छरेर
बिस्कुन लगाउँदै न्यायको भिख माग्छ ।
मेरो देशको समाजवाद
सहरको झुपडीमा हैन
सहरको अट्टालिकामा
समृद्धिले ल्याएकी समाजवाद
लहडी, हठी
मालिकका बैठक कोठाहरुमा
हाम्रा ‘बा’को सम्भाषणहरुमा लट्ठिएर
शब्दजालहरुमा बल्झिएर
पछि लाग्दै छौं,
तर फेरि पनि हुने त उही हो
तात्तो न छारो
यता न उता
हात्ती आयो, हात्ती आयो फुस्सा ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया