साहित्य

सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक’ सार्वजनिक

इकागज |
असोज ६, २०७९ बिहीबार १८:४० बजे

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक’ सार्वजनिक भएको छ । पुस्तक प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । 

कार्यक्रममा ‘मेरा नौ दशक’का लेखक गणेश पौडेलले थापासँग आफू जोडिएको र लेख्दाका अनुभव बाँडे । घरपरिवार, इस्टमित्र, पार्टीपंक्ति सबैले थापालाई थुप्रैपल्ट किताब लेख्न सुझाए पनि उनले इन्कार गरेको लेखक पौडेलले सुनाए । थापाले आफूलाई लेख्न पनि नआउने र आफ्नो जीवनबारे सबैलाई जानकारी भएकाले थापा लेख्न तयार नभएका प्रसंग स्मरण गरेका थिए । ‘कमल दीक्षितजीले उहाँलाई भेटेर तपाईंले लेख्नुभएन भने एउटा इतिहास नै दस्तावेजीकरण हुँदैन भनेपछि मात्र उहाँ तयार हुनुभएको रहेछ,’ पौडेलले बताए ।


पौडेलका अनुसार किताब लेखन २०६५ को पुसदेखि सुरु भएको हो । पुस्तक केदार शर्मा र आफूले थापासँग गरेको कुराकानीमा आधारित रहेको पनि उनको भनाइ थियो । पौडेलले पुस्तक लेख्न आफूलाई १४ वर्ष लागेको बताए । ‘केदार शर्मा, जो मेरो जिल्लाबासी पनि हुनुहुन्छ, उहाँले मलाई एकदिन भन्नुभयो– सूर्यबहादुर थापाको जीवनीमा काम भइरहेको छ । समय निकाल्न सक्नुहुन्छ । मैले सोचेपछि हुन्छ भने,’ उनले सम्झिए, ‘उहाँले दुई शर्त राख्नुभयो । एउटा पुस्तकको गोपनीयतासम्बन्धी थियो र दोस्रो चाहिँ काम थालेपछि बीचमा छाडेर जान नपाइने भन्ने थियो ।’ 

पुस्तकमा सम्पादकको भूमिका निभाएका इकागजका प्रधानसम्पादक तथा लेखक हरिबहादुर थापाले पुस्तकबाट आफूले थापाबारे धेरै कुरा जानकारी पाएको बताए । आफूले थापामाथिका अभियोग र आरोपबारे जान्न खोज्दा उनले कहिल्यै खुलेर नबताएको स्मरण गरेका थिए । ‘सबै कुरा तपाईंलाई बताए मेरो किताबमा के बाँकी रहन्छ भन्ने उहाँको जवाफ हुन्थ्यो । तर कुरा गर्दै जाँदा धेरै कुरा निस्कन्थे पनि,’ थापाले सुनाए । 

विमोचन कार्याक्रम प्रधानमन्त्री देउवासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाललगायतको उपस्थिति थियो । पुस्तकमाथि सबैले आ–आफ्ना धारणा राखेका थिए ।

प्रधानमन्त्री देउवाले ९ दशक आयु बाँचेका थापाले नेपाली राजनीतिमा सम्झनयोग्य काम गरेको बताए । अर्का वक्ता बाबुराम भट्टराईले थापाले पुस्तकमा आफ्नो व्यक्तिगत र राजनीतिक जीवनबारे अत्यन्तै इमान्दार र निष्ठापूर्वक लेखेको भन्दै तारिफ गरे । भट्टराईले थापाबाट आफूले संवाद र सहमति कसरी गर्ने भन्ने सिकेको समेत बताए । 

त्यस्तै, पुस्तकमाथि बोल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले थापाले जीवनका अनेकन उतारचढावसँग जुधेर नेपाली समाजलाई थापाले राम्रो गुन लगाएको बताए । थापाले जीवनमा धेरै आरोहअवरोह खेपेर राष्ट्रका लागि धेरै काम गरेको खनालको पनि भनाइ थियो । 

बुकहिल पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य ९ सय ९९ छ ।  


Author

थप समाचार
x