किशोरकिशोरीलाई किताब : के छन्, किन छैनन् ?
किशोर उमेरकी छोरीलाई कोर्सबाहेक के किताब पढ्न दिने, शिक्षाकर्मी शान्ता दाहाल आफैँ अलमलमा छिन् । छोरीलाई चाहिने किशोर साहित्यका पुस्तक पर्याप्त नभएको उनको गुनासो छ । ‘टिनएजरलाई हामी जो ‘रिडर’ उहीँ ‘लिडर’ भनेर पढाउँछौँ,’ उनी भन्छिन्, ‘तर, उनीहरूले कस्तो किताब पढ्ने भनेर सोध्दा, दिने जवाफ छैन ।’
उनले ‘किशोर साहित्य लेख्छु’ भन्ने एक दुईजनाको किताब पढेकी छिन् । जसमा बालबालिका वा किशोरकिशोरीलाई प्रोत्साहन गर्ने सामग्रीभन्दा ‘यो गर, त्यो नगर’ भन्ने खालका उपदेशबाहेक केही हुँदैनन् । टिनएज भनेको उसै पनि उपदेश मन नपराउने उमेर हो । ‘किशोरावस्था सबैभन्दा संवेदनशील र निर्णायक उमेर हो,’ उनी भन्छिन्, ‘महिनावारीदेखि शारीरिक परिवर्तनबारे कौतूहलता हुन्छ । नयाँ कुराको भोक हुन्छ । तर, यो उमेरलाई सम्बोधन गर्ने साहित्य हामीकहाँ छैन ।’ कवि तथा कथाकार बिना थिङ जहाँ जान्छिन्, ‘नेपालमा पठन संस्कृति नै छैन’ भनेको सुन्छिन् । ‘उमेरअनुसारको पाठ्य सामग्री नै नभएपछि कसरी पठन संस्कृतिको विकास हुन्छ ?,’ उनको गुनासो छ ।
बिनाको बाल्यकाल ‘कमिक्स’ पढेर बित्यो । किशोरावस्थामा त्यसतर्फ रूचि कम हुँदै गयो । आफूले खोजेजस्तो पुस्तक नपाएपछि उनी यौन घटना र अपराध समेटिएका सत्य कथाका किताबहरू पढ्न थालिन् । अहिले पनि किशोर साहित्यको अवस्था उस्तै रहेको उनी पाउँछिन् । ‘किशोरकिशोरीलाई जसले पठनमा ल्याउन खोजिरहेको छ, उनीहरूलाई उडाउने चलन छ,’ उनी भन्छिन्, ‘किशोरकिशोरी वा युवापुस्ताको पठन संस्कृतिमा निकै राम्रो काम गरेका सुबिन भट्टराई जस्ता लेखकलाई नगन्ने चलन छ ।’
हरेक बालबालिका र किशोरकिशोरीसँग कुनै न कुनै प्रकारको कौतूहलता हुन्छ । त्यो कौतूहलता बिस्तारै मरिरहेको बिना बताउँछिन् । ‘आम अभिभावकलाई खुरुखुरु कोर्सका किताब पढे पुग्छ,’ उनी भन्छिन्, ‘अभिभावकको मात्र के कुरा गर्नु, शिक्षकहरूमै पढ्ने बानी छैन । स्कुलमा बनेका लाइबे्ररीहरू ताल्चा लगाएर राखिएको हुन्छ । बालबालिका हुन् वा किशोरकिशोरी पुस्तकसँग नजिक नभएसम्म कसैको पनि धारणा फराकिलो बन्दैन ।’
मैले लेख्ने साहित्य किशोरकिशोरीको मात्र होइन : सुबिन भट्टराई
यस विषयमा लेखक आन्विका गिरीको मत भने फरक छ । उनी बजारमा भएका थुप्रै किताब किशोरकिशोरीले पढ्ने खालका भएको बताउँछिन् । शान्ता चौधरीको ‘कमलरीदेखि सभासद्सम्म’, दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ जस्ता थुप्रै पुस्तक किशोरकिशोरीले मज्जाले पढ्न सक्ने उनी बताउँछिन् । ‘किशोरकिशोरीलाई समाज बुझाउने थुप्रै किताब हामीसँग छन्,’ उनी भन्छिन्, ‘किशोरकिशोरीकै लागि भनेर किताबहरू छुट्याइएको छैन । बालबालिका र वयस्कका लागि मात्र छुट्याइएका छन् । त्यसैले पनि किशोरकिशोरी अलमलमा परेको देखिन्छ ।’
किशोरकिशोरीले पढ्ने भन्नेबित्तिकै माया–प्रेमका कुरा मात्रै आउँछन् । समाज र करिअर बुझाउने पुस्तकबारे खासै चर्चा नहुने गिरीको भनाइ छ । ‘किशोरकिशोरीले आफूमा भएको परिवर्तन, विपरीत लिंगप्रतिको आकर्षण, साथीभाइसँगको सम्बन्ध, भविष्यमा के बन्ने, कसको प्रेरणा को ? भन्ने जस्ता कुरा मन पराएको देखिन्छ,’ उनी भन्छिन्, ‘उनीहरूलाई निराशाजनक तरिकाले अन्त्य गरिएका किताबहरू दिनु हुँदैन । त्यसले उनीहरूलाई दुःखी बनाउँछ ।’
बाल र किशोर साहित्यलाई गम्भीर साहित्यका रूपमा नलिने किशोर साहित्यमा कलम चलाइरहेका लेखक सुरेश बडालको अनुभव छ । ‘हाम्रोमा पठन संस्कृति भर्खरै बामे सर्दै छ,’ उनी भन्छन्, ‘वयस्कले पढेनन् भन्ने कुराको चर्चा हुन्छ । तर, टिनएजरले पढ्नुपर्छ भन्नेमा खासै छलफल हुँदैन । बौद्धिक भन्नेहरूले यसको सम्मान नै गर्दैनन् । केटाकेटीको किताब हो भनेर खिस्याउँछन् ।’ लेखक बडालको अर्को पनि आरोप छ । उनी किताबका समालोचना ‘स्पोन्सर्ड’ हुने बताउँछन् । ‘यसले लेखकलाई मात्र होइन, पाठक र पूरै समाजलाई नै असर गर्छ,’ उनी भन्छन् ।
जटिल विषय सजिलोसँग लेखिनुपर्छ : अनुराधा
बडाल किशोर साहित्यमा लाग्नुको छुट्टै कथा छ । सानोमा उनी बालपत्रिका ‘मुना’ र ‘सुनकेस्रा’ पढेर हुर्किए । अलि ठूलो भएपछि के पढ्ने अलमल भयो । एकैचोटि प्रौढ साहित्य पढ्न थाले । सानै उमेरमा वयस्कका लागि लेखिएका किताब पढ्दा बुझ्न गाह्रो हुन्थ्यो । कतिपय कुराको गलत अर्थ पनि लाग्थ्यो । ती किताबको विषयलाई अर्थ लगाउन ठूलो भएपछि फेरि दोहोर्याउनुपर्यो । यही अनुभवले उनलाई किशोर साहित्यतर्फ लाग्न प्रेरित गरेको उनी बताउँछन् ।
‘बजारमा किशोरकिशोरीका लागि किताब नदेखेपछि आफैँ लेख्छु भन्ने लाग्यो,’ उनी भन्छन्, ‘अनि ‘रहर’ र ‘मायाका मसिना अक्षर’ लेखेँ । अर्को किताब पनि किशोरकिशोरीमै लक्षित भएर लेख्ने तयारी गरिरहेको छु ।’
लेखक सुबिन भट्टराई भने आफूले लेख्ने साहित्य किशोर साहित्य नभएको बताउँछन् । ‘मैले लेख्ने साहित्य किशोर साहित्य होइन,’ उनी भन्छन्, ‘प्रेमका कुरा किशोरकिशोरीका लागि मात्रै होइन । प्रेम उनीहरूले मात्रै गर्दैनन् । मैले लेख्ने साहित्य कलेज पढ्नेदेखि बिहे गर्ने उमेरसम्मकालाई हो । तर, किशोरकिशोरीले पनि रुचाएर पढ्छन् । खुसी लाग्छ ।’
साहित्यलाई कुन उमेरकाले पढ्छन्, त्यसको आधारमा निर्धारण गर्न नहुने उनी बताउँछन् । किशोर मात्रै नभई सबै प्रकारका साहित्य बजारमा आउनुपर्ने उनको तर्क छ । ‘साहित्य किशोरकिशोरीमै मात्र सीमित गर्नुपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘साहित्यलाई खुम्चाएर एउटा वा दुइटा समूहमा मात्रै सीमित गर्नुहुँदैन ।’
तर, नेपालमा किशोरकिशोरीका लागि ‘अलिवर ट्विस्ट’, ‘ह्यारी पोटर’ जस्ता किताब लेख्न नसक्नुमा उनी आफूलाई पनि दोषी मान्छन् । त्यसपछाडिको कारणबारे स्पष्ट पार्दै भट्टराई भन्छन्, ‘किशोर साहित्यप्रति बजार, लेखक, समाज सबैको सोच साँघुरो छ । यसलाई साहित्य नै नमान्ने, अपहेलित गर्ने र छुट्याउने चलन छ ।’ प्रगतिशिल लेखकहरूले आफ्नो कित्ताका लेखकलाई मात्रै राम्रो साहित्यकार मान्ने उनी बताउँछन् । ‘उनीहरूलाई जो मन पर्छन्, ती मात्र साहित्यकार हुन्,’ उनी भन्छन्, ‘लेखकहरूमै सहअस्तित्वको भाव छैन । हाम्रै राम्रा साहित्यलाई किशोरकिशोरीले बुझ्ने भाषामा प्रस्तुत गर्ने चलन छैन । तरिणीप्रसाद कोइरालाको ‘सर्पदंश’ विश्वसाहित्यमा लैजाने किताब छ । त्यसमा हाम्रो ध्यानै छैन ।’
किशोरकिशोरीका लागि लेख्नेलाई लेखक नै मानिँदैन : बिना थिङ
लेखक भट्टराई साहित्यको भर्याङमा एउटा खुड्किलो किशोर साहित्य पनि हो भन्छन् । ‘खुड्किलोमा ग्याप हुनेबित्तिकै घुँडा दुख्ने गरी चढ्नुपर्छ,’ उनी थप्छन् । बाल साहित्यकार अनुराधाले भने बाल र किशोर साहित्यप्रति मानिसहरूको धारणा बिस्तारै फराकिलो हुँदै गएको पाएकी छिन् । नेपाली बालसाहित्यका किताब किन्ने, लेखकलाई स्कुलमा बोलाउने र बालबालिकासँग अन्तक्र्रिया गराउने काम भइरहेको उनको अनुभव छ । यति हुँदाहुँदै पनि उनीहरूका लागि पर्याप्त पठन सामग्री नभएको उनी स्वीकार्छिन् । ‘नेपालमा ४० प्रतिशत १८ वर्षमुनिका बालबालिका छन्,’ उनी भन्छिन्, ‘उनीहरूका लागि पर्याप्त पुस्तक छैनन् । किशोरकिशोरीका लागि प्रायः अध्याय (च्याप्टर) पुस्तकहरू लेखिन्छ । तर, धेरैजसो प्रकाशक र लेखकहरू बालक साहित्यमै फोकस छन्/छौँ ।’
त्यस्तै, बाल र किशोर साहित्य लेख्न सोचेको जति सजिलो नभएको उनको अनुभव छ । ‘प्रौढ साहित्यलाई मानिसहरूले आफ्नो जीवन र भोगाइसँग अनुभूत गर्दै पढ्न सक्छन्,’ उनी भन्छिन्, ‘बाल र किशोर साहित्यमा जटिल विषयलाई पनि सरल भाषामा लेख्नुपर्छ । शब्द तौलेर राख्नुपर्छ । उमेरअनुसार विषय र प्रस्तुतीकरणमा ध्यान दिनुपर्छ ।’
किशोरकिशोरीका लागि किताब छन् तर नतोकिदिँदा अलमल छ : आन्विका गिरी
लेखक कृष्णदीप सिग्देल किशोर साहित्य मात्रै नभएर बाल साहित्यको पनि गुणात्मक विकास नभएको बताउँछन् । ‘यसो हेर्दा बाल साहित्यमा बाढी आएजस्तो देखिन्छ,’ उनी भन्छन्, ‘तर, त्यसको गुणात्मक विकास भएको छैन । एउटा किताब पढेपछि अर्को किताब पढौँ भन्ने खालको वातावरण छैन ।’
किशोर साहित्य लेख्नेले सबैभन्दा धेरै प्र्रेम सम्बन्धलाई प्राथमिकता दिने गरेको उनी बताउँछन् । सबै विषय एउटै पुस्तकमा हालेर लेख्ने गरेको उनी पाउँछन् । ‘किशोरकिशोरी अलि भावनात्मक हुन्छन्, साथीसँग बढी नजिक हुने, हिम्मतिलो, जोसिलो, रोमान्चक कुरा मन पराउने हुन्छन्,’ उनी भन्छन्, ‘उनीहरू कल्पनामा रमाउने । म पनि जान्ने/बुझ्ने छु भन्ने खालका हुन्छन् । अरु उमेरभन्दा किशोरावस्थामा देशप्रतिको प्रेम बढी हुन्छ । कुनै कुरामा छिटै प्रभावित भइहाल्छन् । उनीहरूका यी विभिन्न आयामलाई समेटेर पुस्तक लेख्नुपर्ने हुन्छ ।’
केटाकेटीको किताब भनेर वयस्कहरू खिस्याउँछन् : सुरेश बडाल
पढ्न खोजेको किताब नपाएका कारण धेरै किशोरकिशोरीले सुबिन भट्राईलाई पछ्याएको उनी बताउँछन् । सुबिनको सामग्री किशोरकिशोरीलाई सुहाउने सामग्री नभएको लेखक सिग्देलको भनाइ छ । ‘तर, यसको राम्रो पक्ष के हो भने, सामग्री नपाएर किताब नपढ्ने पाठकलाई उनका किताबले होल्ड गर्ने काम गरेको छ,’ उनी भन्छन् ।
विदेशी किशोर साहित्यहरू ३५ देखि ५० हजार शब्दसम्मको हुने उनी बताउँछन् । तर, नेपालमा लेखिएका किशोर साहित्य १५ देखि २५ हजार शव्दको हुने भन्दै उनी भन्छन्, ‘नेपालका किशोरकिशोरीमा पढ्ने बानी छैन । धेरै मोटाइ भएको किताब उनीहरूले पढ्ने हिम्मत गर्दैनन् । विदेशीले ९ वर्षका बालबालिकाका लागि तयार पारेको किताब यहाँ १२ वर्षकाले पढिरहेका हुन्छन् । यसको मतलब हामीले उनीहरूमा पढ्ने संस्कृतिको विकास गर्न सकिरहेका छैनौँ ।’
नेपालमा थोरैले किशोर साहित्य लेख्ने भएर नयाँ लेखकलाई रिफरेन्स लिने ठाउँ नभएको उनी बताउँछन् । लेखे पनि यसलाई कसैले प्राथमिकता नदिने सिग्देलको अनुभव छ । ‘पर्सनल रिलेसन भयो भने मात्रै बाल/किशोर साहित्यका पुस्तकको रिभ्यू छापिन्छ,’ उनी भन्छन्, ‘नत्र, राम्रो काम गर्यो भनेर कसैले पनि खोजेर लेख्दैन । बाल र किशोर साहित्यबारे आए पनि बाल पत्रिकामा आउँछ । यो बालकालिकाले मात्रै होइन, अभिभावकले पनि जान्ने कुरा हो ।’
पढ्ने संस्कृतिको विकास गर्न सकिरहेका छैनौँ : कृष्णदीप सिग्देल
यसै सन्दर्भमा केही दिनअघि भक्तपुरमा भएको पुस्तक मेलाको अनुभव सुनाउँदै उनी भन्छन्, ‘भक्तपुरमा केही दिन अगाडि पुस्तक प्रर्दशनी भयो । धेरै बालबालिका र अभिभावक आए । त्यत्रो महोत्सवमा एक–दुई जना अभिभावक मात्र ‘तिमीलाई कति किताब चाहिन्छ, किन्नू’ भन्ने अभिभावक भेटिए । बाँकी बालबालिका किताब किन्न झम्टिए पनि अभिभावकले घरमै त्यत्रो किताब छ त भन्दै लतार्दै लगेको देखियो ।’
बालकालिका वा किशोरकिशोरीका लागि किनिएका पुस्तकहरू अभिभावक आफँैले पनि एकपटक पढ्नुपर्ने उनको सुझाव छ । पढेर उनीहरूसँग बसेर छलफल गर्न अभिभावकलाई उनी सुझाउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया