हर्षको चौतारीमा
शिरमा हिउँ फुलिसकेको छ । गहुँगोरो वर्णमा प्रायः मुस्कानको आभा चम्किरहेको देखिन्छ । शिक्षाको आरनमा विद्यार्थी रूपी सुन खारेर बाँकी रहेको अँगारजस्तै मुहारका केही भागमा यसका अवशेष भेटिन्छन् । प्राध्यापक अञ्जना भट्टराईले आजसम्म कति सय, हजार वा लाखलाई शिक्षाको डुङ्गीया तारेर जीवनमार्गमा हिँडाउनुभयो, औंला समातेर तातेताते गराउनुभयो, कतिलाई सफलताको थुम्को चढ्न भर्याङ बन्नुभयो ? सायद, समयको खातामा यसको हिसाब भेटिँदैन ।
मुहारमा उमेरका घाम मधुरा हुँदै जाँदासम्म त्यहाँ सूर्यको निख्खर उज्यालो हाँसेकै देखिन्छ । भाङबारीको ‘गुरुनिवास’ प्रवेश गर्ने बित्तिकै मलाई त्यही उज्यालोले स्वागत गर्यो, ‘आइपुग्नु भो ।’
हृदयको द्वारमा मुस्कानका घडा राखेर स्वागत गर्ने त्यो अलौकिक शैलीले मलाई पहिलो भेटमै मुग्ध पारेको थियो । उहिले मुग्लान पढेपछि श्रद्धाको भोकले भाउन्न भएर दुई–चार खेप कीर्तिपुर सुकर्मटोलको ‘गुरुनिवास’मा पाइला राखेको हुँ । ट्याङ्लाफाँटका गल्ली र फराक बाटोमा कहिलेकसो भेटिँदा अभिवादन टक्र्याउनुबाहेक बीचका धेरै वर्ष म त्यो निवासतिर सोझिन सकिनँ ।
पछिल्लो समय, ७८ साल पुस २५ गते मैले त्यो ‘गुरुकुल’मा प्रवेश गर्ने अर्को साइत जुराएँ । त्यतिबेलै हात परेको थियो, डा. अञ्जना वस्ती भट्टराईकृत स्मृतिलोकको यात्रा । पुस्तक हातमा समातेर मैले उहाँको मुहार पुलुक्क हेरेको थिएँ । ओठमा सधैं खुलिरहने मुस्कानको ढोका । समिपमा राखेर स्नेहको रापले सेकताप गर्ने कला देख्दा मैले उहाँमा मेरी आमाको प्रतिच्छाया देखेँ ।
मैले क्वारक्वार्ती उहाँको मुहार हेरिरहँदा, मेरी आमाले भनिरहेझैँ लाग्यो– के हेरेको डढुवा ? छिटो घाँस काट्न जा ।
झण्डै दुई दशकअघि मत्र्यलोकको बास छोट्याएर हिँड्नुभएकी मेरी आमाको प्रतिबिम्ब त्यहाँ देख्दा म निकैबेर अरमरिएँ । भावनाको अक्करे भीरमा उभिएर टोलाएँ । आमा हुनु र नहुनुले जीवनमा कत्रो अर्थ राख्दोरहेछ !
त्यही दिनदेखि मैले अञ्जना भट्टराईलाई मुवाको नातो लाएँ । त्यो अधिकार मलाई थियो कि थिएन ? मैले त्यसो भन्न पाउँथेँ कि पाउँथिनँ । कसैलाई सोध्नु पथ्र्यो कि ! उहाँका दुई पुत्रीरत्न सेवा र ऋचाको पो अधिकार खोसिन्थ्यो कि ! त्यस मानेमा म बेपर्वाह बनेँ । मनले सोध्यो, मनले उत्तर दियो र मनैले साइनो लायो ।
थाहा भयो– मेरो अन्तरमन अभिभावकत्व नपाएर कति भड्किरहेको रहेछ । जीवनयात्राका खोल्सी तरेर उकालो लाग्ने बेला पछाडिबाट हौसला दिने, ढाडस दिएर धकेलिदिने आमाबाबु वा अभिभावक भएनन् भने लक्ष्यको धुरीमा पुग्न कठिन हुनेरहेछ । आज म त्यही उकालो चढ्न नसकेर थकित छु ।
मेरो लक्ष्ययात्रा मात्र सिसिफस प्रयास भइरहेको छ; ढुङ्गो धकेलेर पहाडको धुरीमा पुर्याउनु र पुनः त्यो फर्किएर फेदीमै आइपुग्नु । यद्यपि, जीवनदेखि थाकेर खुम्चिनु भएको छैन । हिम्मत बटुलेर पहाडको शिखरतिर हिँडिरहनु; अनि, लक्ष्यको ढुङ्गो धकेलिरहनु परेको छ ।
म केहीबेर मनोवादमा सुस्ताएँ ।
गुरु फुत्त बाहिरिनुभयो, मलाई पछिपछि डोर्याउनुभयो । जर्मन उपन्यासकार फ्रेन्ज काफ्काकृत द मेटामोर्फोसिसको पात्र ग्रेगोरी साम्सा बिहान उठ्दा कीरो भएजस्तै म एक्कासी लिलिपुटमा रूपान्तरण भएँ । मायिक यथार्थवादजस्तो भयो; म पिताको चोर औंलो समातेर टुकुटुकु हिँडिरहेँ । हामी मूलबाटोमा निस्क्यौं । ग्रेगान र धुलोले छोपेको बाटोमा फाट्टफुट्ट अटो–रिक्सा ओहोरदोहोर गरिरहेका थिए । वरपर खाली जग्गा खुम्चिँदै छन्, पक्की घरहरू रबरजस्तै तन्किँदै ।
पाइला चलिरहे, परदेखि हुर्रिँदै आएको अटो–रिक्सा छेवैमा पुगेर रोकियो । चालकले गुरुलाई अभिवादन टक्र्यायो– सेवा रो है बाजे । यो पूर्वी पहाडको निख्खर लिम्बू लवज हो । अचेल यी भाषिकाहरू दमकमा मात्रै होइन, पारि मेचीपुलदेखि यता इटहरी, विराटनगरको सेरोफेरो सबैतिर सुन्न पाइन्छ । किनकि, मान्छेकै ओठमा झुण्डिएर बोलीचालीका बान्कीहरू पनि तराई झरेका छन् ।
पूर्व होस् वा पश्चिम आज रैथाने पहाडहरू एक्लिँदै छन् । मान्छेहरू पहाडका सुर्कासुर्की, पाखोबारी, वनजङ्गल, नियालोघारी वन्यप्राणीलाई छोडेर हिँडेका छन् । बेँसीका फाँटहरू खोलाका किनारलाई जिम्मा लाएका छन् । बर्खामास खोलाले किनारका केही फोहोटा भिजाउला, अन्यथा हिजोका मलिला खेतहरू बञ्जर पल्टिँदै गएका छन् । सुविधाको लहरो समातेर पिङ खेल्दै पहाडहरू बसाइँ हिँडेकै छन् । जिब्रोको स्वाद फेर्न ओरालो झरेका पहाडेहरूले आफ्नो बोलीमा धन्न अहिलेसम्म पहाडको हरक मिसाउन बिर्सेका छैनन् ।
ती अटो–रिक्सा चालकसँग बाजे एकछिन ‘रेला’ गर्न लाग्नुभयो– आजको कमाइ उठ्यो ?
चालकले रेलामा घ्यू थप्यो, ‘काँ उठ्नु हउ । घुमेको घुमेकै छ कि । आज त लोदरै लाग्यो हउ, बाजे ।’
बाजेले अलिकति उहिलेको च्याङथापुको हाँसो मिसाउनुभयो, ‘रड्डी भो ?’
‘के भाको, भाको । सारो रड्डी पो भो त’ भन्दै चालक अगाडि गुड्यो । म यी भाषिक हरक सुँघेर आनन्द मानिरहेँ । ‘यी लिम्बूहरूसँग उनीहरूकै लवजमा बोलिदियो भने आफ्नै ठान्छन् । मलाई पनि यिनीहरूसँग झ्याम्मिन खुब मज्जा लाग्छ,’ गुरुको यो बोलीमा म आफूले सिक्नुपर्ने पाठ खोजिरहेँ ।
साँच्चै, यसरी नै वरको र परको, माथिको र तलको नभनी सद्भावले अँगालो मारिरहने हो भने थितिले चाल्दै आएको भाषिक, जातीय र वर्गीय विभेदका कुँडा कर्कट नासिन्थे कि ! हिजो माओवादीले एक दशकसम्म सोझा नागरिक उफार्यो । एउटा तप्कालाई त सिँढी चढायो तर भाइचारा र सहसम्बन्धको बीचमा विष रोपेर हुर्कायो । चुच्चोले थेप्चोलाई, लामघारेले पुड्केलाई, गोरोले कालोलाई हेरेर नाक खुम्च्याउने अवस्थामा पुर्यायो । अबका दिनमा मानवीय सम्बन्धले यो विषको रुख उखेलेर फ्याँक्न सकोस् ।
गुरु अघिअघि, म पछिपछि । फलामको जालीदार ढोका उघारेर हामी भित्र पस्यौँ । भवनको शिरानमा लेखिएको देखियो; ‘विद्याशिल्प एकेडेमी’ । घाम पश्चिमतिर लुक्दै गएका, चारैतिरबाट घेरिएको चौरभरि स्कुले पोशाकमा साना नानीहरू उफ्रिरहेका थिए । छुट्टी भइसकेको छ । नानीका आमाहरू तिनलाई टिप्दै काखमा बोक्दै थिए; कतिले डोर्याएर घरतिर हिँडाउँदै । गुरुलाई देखेर शिक्षक, शिक्षिका मुसुमुसु हाँस्दै, मैना चरीजस्तै फर्याकफुरुक गर्दै थिए ।
मेरो दिमाग एक्कैपटक वेग हानेर आफू पढेको स्कूल ‘श्री जीवनज्योति मावि कुसुमभञ्ज्याङ’ पुग्यो । त्यो विद्यालय पश्चिम स्याङ्जाको दुर्गम गाउँबाट दिमागको बाटो बसाइँ सरेर पूर्वी तराई झापा झर्यो र दमकबाट उत्तर भाङबारी पुग्यो । म उही लिलिपुट नै थिएँ । ती नानीहरूसँग भोलि कहाँ बसेर पढ्ने भन्दै कक्षा कोठा नियालिरहेँ । आफू कुन बेन्चीमा बस्ने भन्दै घोरिइरहेँ ।
च्याङथापु मात्र होइन, अझ पर भोटाङदेखि शिक्षासेवामा समर्पित यो ‘भट्टराई’ परिवारले दमक झरेरसमेत त्यसलाई निरन्तरता दिइरहेको रहेछ । यसरी, तीन–चार पुस्तादेखि अनवरत शिक्षा–व्यसनमा लाग्नु र समाजलाई उज्यालोतिर धकेलिरहनु भनेको परिवर्तनको राँको बोकेर हिँडिरहनु हो । यसले कति व्यक्ति, परिवार, समूह, गाउँ र समाजलाई ज्ञानको उज्यालो बाँड्यो ? त्यो बोलेर बोलिनसक्नु, लेखेर लेखिनसक्नु होला । यो अलिखित ‘शिक्षा पुराण’ लेखिन्छ वा समयको गर्भमै बसिरहला ?
यतिकैमा कालो चस्माले आँखा छोपेका अग्ला न अग्ला एक भद्र पुरुष मेरा अगाडि उभिन आइपुगे । गँठिलो ज्यान, कालो चस्मा लगाएको; टाढा आँखा फ्याँकेर उभिएरहेको सिनेमाको नायक जस्तो । लाग्थ्यो; उसले सुटिङका लागि नवनायिकलाई कुरिरहेको छ । त्यो कसिलो ज्यानतिर औंलो सोझ्याउँदै गुरुले अथ्र्याउनुभयो, ‘यो मेरो जन्तरे भाइ, खगेन्द्र ।’
म केहीबेर उहाँसँगको भलाकुसारीमा अल्मलिएँ । एक दशकभन्दा बढीको अष्ट्रेलिया बसाइँ सधैँका लागि टुङ्ग्याएर दम्पत्ति नै नेपाल फर्किनुभएको रहेछ; वृद्ध आमाको हेरचाहको अभाव महसुस गरेर । आमाको वैकुण्ठ यात्रापछि उहाँलाई शिक्षा सेवाको भोकले तानेर यो विद्यालय स्थापित गरिएको बुझियो । शिक्षासेवा पुस्तान्तरण हुँदै आएको यो परिवारका लागि शिक्षाको उज्यालो बाँड्नु वा बाँडिरहनु एक खालको लत नै होला । किनकि, रगतका नसा–नसामा शिक्षाको घोल मिसिएपछि उम्केर जाने ठाउँ कहाँ नै हुन्छ र !
म एकछिन मनको चौतारीमा उभिएर परिवारमा जन्मिने सन्तानहरूको खाता पल्टाउन थालेँ– म पनि दाजुभाइमा माइलो । गुरु साइँलो । साइँलोपछि नै काइँलो हुँदै अन्तरे आइपुग्छ । अबका बाबुआमाले माइलो, साइँलो, काइँलो, अन्तरे वा माइली, साइँली, काइँली, अन्तरी ऽ ऽ जन्माउँदैनन् । ती चाहेर पनि जन्मिन मान्दैनन् । अबका दिनमा गर्भमै कति माइला, साइँला र काइँलाहरू बिलाउँछन् होला । धेरै माइली, साइँली, काइँली र अन्तरीहरू निमोठिन्छन् होला । तुहिने वा निमोठिनेहरूको पक्षमा बोल्ने र उजुर गर्ने कुनै ठाउँ हुँदैन । समयको पञ्च भेला उभिँदैन । चौतारामा कचहरी बस्दैन । न कुनै अड्डा अदालत गठन भएको हुनेछ । तिनलाई समयको पर्दाले सधैँ–सधैँका लागि छोपिदिइसकेको छ ।
अबका उत्तरआधुनिक बाहरूले हिजो जस्तै हैकमको पुरुषार्थ देखाउन छोड्ने छैनन् । पाषण युगदेखि जस्तै ती बाहरू उकालो चढेर भञ्ज्याङमा मुसुक्क हाँसिरहनेछन् । तिनलाई कुनै लघुताभाषको पर्दाले छेक्ने छैन तर आमाहरूले बोक्नुपर्ने भारको छुट्टै कथा हुन सक्छ । पराउत्तरआधुनिक आमाहरू कहिलेकसो गर्भमा लुसुक्क बस्न आइपुगेका माइला, साइँला, काइँला र अन्तरेहरूलाई चाहेर पनि पर पैदा गर्न सक्दैनन् । अब यिनीहरूको खबर इतिहासमा मक्किएको कागजको पुछारमा छोपिएर रहिरहनेछ ।
‘माइला, साइँला वा काइँलाहरू जन्मिन्थे’ भन्दा दन्त्यकथा हुन्छ । खासमा, नदेखिएको र नभोगिएको चिज नै दन्त्यकथा होला ।
अबका दुई वा एक सन्तानले ती साराको भार बोकेर हिँड्नुपर्ने हुन्छ । एउटा सन्तानले काँध लच्किने गरी माइलोदेखि अन्तरे, जन्तरेसम्म वा माइलीदेखि जन्तरीसम्मको भारी बोकेर हिँड्नुपर्ला । युगले त्यस्तै माग गरिसक्यो । चाहेर पनि प्रजनन् प्रणालीका खेतहरू बाजे बराजुका पालामा जस्तै मलिला हुँदैनन् । त्यो नभएकै राम्रो । अब त प्रविधिको चिप्सले उत्तरआधुनिक आमाका गर्भहरू टेस्ट्युबमा रूपान्तरण गरिसकेको छ ।
कुनै दिन यस्तो पनि आउला– स्त्री र पुरुषबीचको यौन–समागमका पुराना खेलहरू ‘फम्र्याट’ हुनेछन् । त्यो ठाउँ कुनै एलियन वा औतारी चिप्सले लिनेछ र प्रविधिको गर्भगृहबाट दुई–चार महिनामै बच्चा पैदा हुनेछ; तब बच्चा जन्माउन आमाले आठ–नौं महिनासम्म दुई ज्यान बोकेर हिड्ने कष्टको युग ‘रे’ र ‘अरे’ हुन्छ । टेस्ट्युब कलासमेत दन्त्यकथाको खातातिर सर्दै जाला ।
प्रविधिको बुलेट रेल चढेर समय कुदेको कुदेकै छ । यसले कति घटना परिघटनालाई इतिहासका डिब्बाहरूमा छोडेर जान्छ र दन्त्यकथा सुन्ने यात्रुहरूलाई चढाउँदै जान्छ । सायद, पृथ्वीमा प्रलय नहुन्जेल यो चक्रले फन्को मारिरहन्छ ।
...
‘जाऊँ भाइ’ गुरुले दिमागको तलाउमा आवाजको ढुङ्गो खसाल्नुभयो । तलाउ तरङ्गित हुँदै गएपछि म झस्याङ्ग भएँ । अनि, पैतालामा ऊर्जा भरेर उहाँका पाइला पछ्याउँदै गएँ । हामी धुले बाटोमा निस्क्यौँ । परबाट धुलोको धूवाँ उडाउँदै गुटुटु छेवैमा आएर अटो–रिक्साले सास फे¥यो । चालकले उही लिम्बु धुन निकाल्यो, ‘सेवा रो है, बाजे ।’
मलाई लाग्यो– हैन, यी बाजेलाई यहाँका साराका सारा अटो–रिक्साले चिन्छन् कि क्या हो ?
बाजेको अनुहारमा उही च्याङथापुको घामपानी मिसिएको लिम्बु र बाहुनको ‘कक्टेल’ हाँसो लिपियो, ‘सेवा रो है, भाइ । लु घुरौँ त ।’ चालकले सेलरोटी घुमाएजस्तै ठाउँको ठाउँ फनक्कै अटो घुमायो । बाजेले मतिर मुन्टो फर्काएर निर्देश गर्नुभयो, ‘ल बसौँ भाइ ।’ म अल्मलिँदै बाजेसँगै अटोमा बसेँ । अटो अघिजस्तै धुलो उडाउँदै गुटुटु हिँड्यो । बाजे गुरु स्वरूपको विशाल वृक्ष, त्यसको तलतिर उही म लिलिपुटे पिउसो ।
चौतारीमा बरपीपलका छाया खनिएजस्तै ममा गुरुको ज्ञान बर्सिदै गयो । मैले दिमागको गोजेरोमा पाठहरू ठेल्दै गएँ तर ती चाहेजति पस्न सकिरहेका छैनन् । तैपनि, ममा विस्तारै ज्ञानको बत्ती बल्दै गएजस्तो हुन थाल्यो । एउटा अनौंठो महासागरमा पौडिएजस्तो, त्यहाँ डुबेजस्तो, उत्रेजस्तो, खुशीले पखेटा फिजाउँदै हावामा तैरिएर मालश्री धुन गाउँने मालचरीको हूलमा मिसिएजस्तो । घरी गुरुकुलमा पलेंटी कसेर पाठ कण्ठ पारिरहेजस्तो; यस्तै के–के, के–के !
बन्द हुँदै आएका जीवनयात्राका पानाहरू यसै–यसै खुल्दै आए । मैले जीवन सिकाउने गुरुहरूलाई सम्झिँदै गएँ । ती गुरुहरूको पहिलो नम्बरमा मेरी आमा हुनुहुन्थ्यो; जसले पुसको ठिहीमा जन्माएर यो भूलोक देखाउनुभयो । महिनाको नहुँदै घुँडाभन्दा तल सर्लक्कै जलेर मृत्युयोन्मुख भइसकेको मलाई अनेक पहाडी झारबुटीको दबाई बनाएर, लगाएर सन्चो बनाउनुभयो ।
आमा भन्नुहुन्थ्यो, ‘तँ डढुवालाई एक महिनासम्म केराका पातमा सुताएर राखेँ । तेरा माइला बाले मालमुलको ‘हेल्पोस’बाट बत्तलमा नीलो दबाई ल्याउनुभयो । त्यही दबाई घुँडाभन्दा मुनि ख्वाल्ल खन्याउनुहुन्थ्यो । रातभरि रोएर सुत्न दिन्थिनस् । तेरै पीरले कति रात म सुतिनँ; मोर्छस् कि भनेर । घाउ घाटा बस्दै गएपछि अब त बाँच्छ भन्ने आशले लामो सास फेरेकी थिएँ ।’
मैले सम्झिनै नपाई परलोक जानुभएका माइला बा (काका) को स्केचसमेत दिमागमा बस्न पाएन; जसले मेरो जीवन उद्धारमा कत्रो उत्सर्ग गर्नुभएको रहेछ ।
युवा उमेरमा टेकेपछि आमाले यी कुरा सुनाउँदा मेरा आँखामा आँसुका भल बग्थे । संसारमा आमाको त्याग र समर्पणको कथा लेखेर पूरा गर्न कसले पो सक्ला र ! त्यो सिङ्गो धर्तीको कथा युगौं–युग इतिहासले लेखिरहन्छ; छापिरहन्छ । आमा मुटुको ढुकढुकी हो; ढुकढुकी रोकियो त जीवन सकियो । साँच्चै, उत्तरआधुनिक आमाहरू जसले टेस्ट्युबमार्फत सन्तान जन्माउँछन्; उनीहरूमा सन्तानप्रतिको अटुट अनुराग हिजो र आजजस्तो होला कि नहोला ? सन्तान आमाप्रति उति नै समर्पित होलान् कि नहोलान् ? अझ, चिप्सको कारखानाबाट सन्तान जन्मिने युग आयो भने आमा–सन्तानको सहसम्बन्ध कस्तो रहला ?
उत्तरै नभेटिने प्रश्नहरूसँग जिस्किँदै म अटो–रिक्सामा गुरुसँगै गुडिरहेको छु । गुरुको ठाउँमा पिता बसेको पाउँछु । मेरा पिता जसले हाम्रो ठूलो परिवारको भार एक्लै खाङ्ग्रेमा बोकेर समयका उकालीओराली काट्नुभयो । सन्तानलाई सुयोग्य बनाएर कर्मपथमा हिँड्न लायक बनाउनुभयो; त्यसको कहानी र बहनी म के गरूँ ! मातापिता ईश्वर हुन्, अदृश्यरूपमा आर्शिवाद दिइरहेका हुन्छन् । ती हावामा छन्, त्यही कारण हामी सजिलै सास फेरिरहन्छौं । मुटुमा बसेका हुन्छन्; र त मुटु धड्किरहन्छ ।
मुठो पारेको चिना फुकाएजस्तै दिमागमा खरर पुनः गुरुहरूको सूची खुल्दै गयो । मेरो गाउँ–ठाउँ जहाँ म जन्मेँ, हुर्केँ र बढेँ । यो पनि जीवनमा अनेक पाठ सिकाउने गुरुभन्दा कम छैन । त्यो ढुङ्गा–माटो, खेत–खल्यान, हावापानी, वन–जङ्गल, भीरपाखा, छाँगा छहरा । बर्खामा स्याउँस्याउँ गर्दै भातको थालसम्मै मित लाउन आउने जुकाहरू, दुधिला मकै थाहै नपाई सखाप पार्ने बाँदरका हूल, कहिलेकाहीँ गोठमै पसेर गाईका बाच्छाबाच्छी र खसी–बाख्रा घिसार्ने बाघ; यी सबै–सबैले जीवनको कुनै न कुनै बिन्दुमा गुरु बनेर अगाडि हिँड्न सघाए ।
घरभन्दा अल्लि माथिको गुरुङ गाउँ, रोदीघरको मादल र मुर्चुङ्गा, रोदीमा भाका फेरी–फेरी गाइने झ्याउरे अनि सालैजो बालपन र युवा वयका गुरु बने । बाङ्खे गाउँबाट उत्तरतिर हेर्दा सधैँ हाँसिरहने माछापुच्छ्रे र अन्नपूर्णले जीवनका बेसुरा भाकामा लय मिलाएको, यात्राका बक्ररेखाहरूलाई सोझ्याएको म कहिल्यै बिर्सिन्नँ । विद्यालयदेखि विश्वविद्यालयसम्मका गुरुहरू, पत्रकारिताको अदृश्य घुम्तीतिर सोझ्याइदिने पथपदर्शक अनि साहित्यको कलम समातेर धर्को कोर्न सिकाउने जनकविकेशरी धर्मराज थापा र कृष्णप्रसाद पराजुलीहरूले सम्झनाको देउरालीमा बसेर मलाई प्रगतिपथमा धकेलिरहनुभयो ।
...
स्मृतिको बाटो छोट्याएर यता फर्किन्छु, अटो–रिक्सामा सँगै हुनुहुन्छ; नेपाली साहित्यका महर्षि । मेरो अहोभाग्यले मात्र मैले यी दार्शनिकको सङ्गत पाएको छु । म गुरुप्रसाद मैनाली, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, वालकृष्ण समहरूसँग सङ्गत गर्ने युगमा जन्मिन पाइनँ; न गोपालप्रसाद रिमाल, पुष्कर शम्शेर वा विजय मल्लहरू कसैसँग बात मार्न, भेट्न र देख्न पाएँ । त्यो इतिहासका पानाहरूमा पढ्न मात्र सकियो । मलाई, ती सबैको सिङ्गो स्वरूप ‘गोविन्द गुरु नै हो’ भन्ने लाग्छ । मेरा लागि आचार्य चतुर्सेन, रवीन्द्रनाथ टैगोर, धर्मवीर भारती, भिएस नइपाल, लू सुन उनै हुन् । कागजका पानामा पढेका सुकरात, ज्याक डेरिडा, म्याक्सिम गोर्की, बर्तोल्त बे्रख्त, एन्टोन चेखब, रोलाँ बार्ट, लियो टोल्स्टोयहरू पनि यी गुरु नै भएकोमा म ढुक्क हुन्छु ।
यी बूढाको दिमागले विश्वका कति भुइँ चाहर्न सकेको ! कति हिमाली टाकुरा, लेक–बेँसी र फाँटहरू डुल्न भ्याएको ! यिनले कति डोका पुस्तक पढे होलान् ? अध्ययनको आरनमा बसेर कतिसम्म खलाँती फुके होलान् ? सिर्जनाका हतियार कसरी चम्काउन सकेको ? म मनमनै भुट्भुटिन्छु । हृदयतलबाट रसाएका पसिनाले भिजेर निथ्रुक्क हुन्छु । अनि, आफ्नै चिन्तनको भञ्ज्याङमा सुस्ताएर सुसेली हाल्छु ।
उत्तरआधुनिक ऐना र उत्तरआधुनिक विमर्श पढेपछि मेरो कलिलो चेतना नै खल्बलियो । मैले आजसम्म ‘के पढेँछु र के लेख्न प्रयास गरेँछु’ भन्ने प्रश्नले घोचेर म घाइते भएँ । मैले पढेका र पढ्दै आएका पाठहरू यी दुई ग्रन्थका अगाडि फिक्का लागे । कताकता आफ्नो पठनशैली नै व्यर्थ लाग्यो । लेखनशैलीको त्यो अद्भूत कला, अध्ययनको ब्रह्माण्डीय विचरण र लेखनयात्राको नयाँ आयाम पढेर म कायल भएको थिएँ । विश्व साहित्य, सङ्गीत, कला, रङ्गमञ्च, चलचित्र र सौन्दर्य जस्ता बहुविधालाई दिमागको ठेकीमा मथेर सिर्जनाको नौनी निकाल्नु एउटा चमत्कार नै हो ।
ती दुई ग्रन्थ मेरा लागि आधुनिक महाभारत र गीता जस्तै बने । सिर्जनाको धरामा लेखन र पठनको नयाँ क्षितिजतिरको ढोका उघारिनु मेरा लागि अद्वित्तीय भयो । मैले कहिल्यै नदेखेको ज्ञानको घुम्ती देखेँ । त्यो घुम्तीबाट पर अर्को घुम्ती, त्यहाँबाट पनि पर अनगिन्ती पहाड र चुलीहरू देखेँ । सबैभन्दा ठूलो कुरा त समयको लट्टाईमा बदलिँदै उडिरहेका सत्यका चङ्गाहरू देखेँ । स्थिर सत्यका पर्खालहरू भत्किँदै गएको चाल पाएँ । त्यसपछि, मेरो पठन र लेखनशैलीको धार नै बदलियो; जसरी गल्छेडो कटेर खहरेले बहाव बदल्छ ।
आज, यी महर्षिसँग गुडिरहँदा मलाई अकाशगङ्गाको बाटोमा उडिरहेको अनुभूत हुन्छ; यो गुटुटु गर्ने अटो–रिक्सा हावामा तैरिरहेको वायुपङ्खी घोडा । अलौकिक क्षितिजतिर यसरी उडिरहने भाग्य जो काहीलाई कहाँ जुर्ला र ! साहित्यको वनपाखामा विचरण गर्ने थोरै मात्र भाग्यमानी चराहरूमा म पनि पर्छु होला । यो हर्षले भुलेको, झुमेको अर्को क्षण फेरि कहाँ आउला र ! म यसै–यसै धनेन्द्र विमलका शब्दभित्र पसेर शिलाबहादुर मोक्तानले भरेको लय रविन शर्माका कण्ठबाट गुञ्जिएजस्तो हुन्छु :
हर्षले मन मेरो झुमेको छ
जीवनमा नयाँ घाम लागेको छ
आज सारा शरीरभरि
खुसीको लहर छाएको छ, ....
...
अटो फाल्गुनन्द चोकबाट पश्चिम सोझियो । केही दूरी गुडेपछि त्यो गुरुको आज्ञा पालन गर्दै रोकियो । हामी अटोबाट ओर्लियौं । गुडेको बाटो फर्केर हेरेँ– चोकमा फाल्गुनन्द शालिक भएर उभिइरहका छन् । इलाम जिल्लाको इभाङ चुक्चिनाम्बामा वि. सं. १९४२ मा जन्मेका नरध्वज लिङ्देन बेलायती सेनामा भर्ति हुन जाँदा फलामसिंह लिङ्देन हुन पुग्छन् । पल्टनको जागिर, छाउनीको बसाइ र युद्धका परिघटनाले उनलाई विकर्षणतिर घचेट्छ । दोस्रो विश्वयुद्धमा ब्रिटिश सेनाका रूपमा भारत तथा बर्मामा लडाइँ लडिरहँदा यो कर्म मानवहितमा नरहेको उनको ठहर हुन्छ र सेनाको जागिर छोडेर मानव–धर्म–उत्थानमा लाग्छन् ।
नेपाल फर्केर फलामसिंहले किराँत जातिमा विद्यमान कुरीति, कुसंस्कार, विसङ्गति निर्मूल गर्ने कर्ममा अभियान चलाएको इतिहासले बताउँछ । किराँत जातिहरू मांस–सेवन, मद्यपान जस्ता तत्वका कारण समाजका हरेक क्षेत्रमा माथि उठ्न नसकेको उनी स्वीकार्छन्; यसैमा केन्द्रित रहेर जातीय उत्थानका लागि चेतनाको दियो बाल्दै हिँडेका तथ्यहरू भेटिन्छन् । पूर्वी पहाडका थुम्काहरूमा मात्र होइन, किराँतहरूले पवित्र धार्मिक तीर्थस्थल मान्ने कुम्भकर्ण हिमालको फेदीमा माङहिम (मन्दिर) बनाएर यो जातिलाई धर्मकर्म र सत्मार्गमा हिँडाएका लिखित प्रमाणहरू छन् ।
सत्मार्गमा चेतनाको दियो बालेर, समाजमा जागरण फैलाउँदै हिँडेकाले तिनै फलामसिंह फाल्गुनन्द भएर अमर बने । परिवारमा साइँलो सन्तानका रूपमा जन्मिएका उनले यो लोकमा युगयुग बाँचिरहने कर्म गरेर गए । यता, ‘गुरु गोविन्द’ पनि साइँला । मलाई लाग्यो– यी साइँलाहरूले यसरी चमत्कारका अनेक शृङ्खला रचेर धर्तीमा बाँचिरहने योग गरिरहने बरदान पाएका हुन्छन् कि ! मेरो दिमागले नदेखिएको इतिहासको चित्र कोर्दै जान्छ– भोलि दमक चोक वा झापाका कुनै ठाउँ वा कीर्तिपुर सुकर्मटोलको छेउछाउमा यी गुरु पनि उसैगरी फाल्गुनन्दझैँ उभिइरहलान् । जन्मिनै बाँकी रहेको युगले हेरेर उनका विषयमा खोज, अनुसन्धान र अध्ययन गर्ला र भन्ला– यी बूढाको साहित्यमा कत्रो त्याग रहेछ । साहित्यमा रानी फूल हुर्काएर, अनेक–अनेक बेर्नाहरू सारेर छोडेका रहेछन् ।
उभिइरहेको मलाई कोट्याउँदै गुरुले इशारा गर्नुभयो– भाइ यता । म उहाँकै छाया पच्छ्याउँदै तानिएँ । बाटोको दक्षिणपट्टीको घर, भुइँतलामा सटर टाँसिएको थियो । म त्यही सटरभित्र हुलिएँ । जहाँ अरू पाँच–सात थान अनुहार थिए; सबै नौला । बूढाले डोर्याएर ल्याएको अपरिचित अनुहार देखेर परिचितहरू मुखामुख गरे । बूढाका पछाडि डोरिने यस्ता सयौं काँचा मान्छेहरू होलान्; सबैलाई चिनेर चिनिसाध्य नहोला ।
मैले अभिवादन टक्र्याउँदै आफ्नो हुलिया बताएँ । त्यहाँ, साहित्यमार्गमा हिँडिरहेका तीन भद्र पुरुष देखेर ममा हर्षको अर्को किस्ता थपियो । कमलराज भट्टराई, नारायण शर्मा फुयाँल र पदमप्रसाद ओली; गुरुले न्वारन गर्नुभएका दमकका यी तीनताराका आ–आफ्नै योगदान होलान् । पढ्ने र सिक्ने साइत जुर्ला भन्दै मैले चेतना तन्काएँ । अनि, टुसुक्क बसेर सन्तोषको सास फेरेँ ।
कलिलो साँझ नजिक–नजिक सर्दै आएको सङ्केत हुन्छ । हामी सटरे कोठाबाट बाहिरिन्छौँ । लिलिपुटजस्तो म गुरुकै आस्कोटमा झुण्डिइरहन्छु । अघिजस्तै अटो–रिक्सामा गुटुटु गुड्दै हामी एक्कैछिनमा निवास पुग्छौँ । मुवाँसँगै अग्रसरताका साथ पक्वानगृहमा सक्रिय देखिनुहुन्छ, डा. व्यञ्जना भट्टराई; सिने कलाकारजस्ता जन्तरे गुरु खगेन्द्रराज भट्टराईकी सहधर्मिणी । भोजन–कर्म सकियो । रातको पहिलो प्रहरको उत्तराद्र्धतिर म नजिकैको अर्को घरमा सारिन्छु; जहाँ मेरा लागि आजको बासको प्रबन्ध गरिएको हुन्छ ।
यो कमलराज भट्टराई निवास रहेछ; जो गुरुकै माइला दाजु अर्थात् दमकका तीनतारा मध्येका एक । म केही क्षण उहाँकी सहधर्मिणी निर्मला भट्टराई सहितको पारिवारिक रात्री गफमा मिसिएँ । रातको दोस्रो प्रहर चिप्लिँदै गएपछि म आफूलाई तोकिएको शयनकक्षभित्र प्रवेश गरेँ । बस मया आजको रात, फेरि भेट हुँदैन एक सात भनेजस्तै आजको रात यतै भयो । भोलि मेची पुल तर्ने कौतुहलता उमार्दै म ओछ्यानमा पल्टिएँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया