साहित्य

'अग्नि' महाकाव्यको क्रान्तिकारिता

डा. अपर्णा पोखरेल |
चैत २५, २०७९ शनिबार १४:४ बजे

'अग्नि' नवइतिहासवादी विचारबाट प्रभावित महाकाव्य हो । यस महाकाव्यमा मानिसको 'जात ठुलो कि कर्म' भन्ने प्रश्नलाई विषयवस्तु बनाएर लेखिएको छ । मानव शरीर र त्यस भित्र अवस्थित ७ ओटा चक्र, तिनका स्थानहरुका कार्य र विशेषताका साथ कविले त्यसै भूमिमा बिउलाई छरेका छन् । भूमि, जल, अग्नि, हावा र आकाश जस्ता पञ्चतत्त्वका माध्यमद्वारा जसरी बिउ टुसा पलाउँदै वृक्ष बन्छ, त्यसरी नै आरनमा कर्म गर्नेहरुका समस्या झ्याँगिएर, मल जल पाएर महाकाव्य 'अग्नि' को रूप धारण गरेको छ । जसरी तान्त्रिकहरुको सिद्धि हो जेठी तरबार, त्यसरी नै कविको सिद्धि हो 'अग्नि' महाकाव्य । 

पृष्ठभूमि - कवि डा. नवराज लम्सालद्वारा रचित 'अग्नि' महाकाव्यले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेको छ । मदन पुरस्कारका लागि ८ ओटा कृतिहरु छनौट भएकामा यस कृतिले अन्य ७ ओटा कृतिलाई उछिनेर मदन पुरस्कार पाउन सफल भएको हो । 


विषयवस्तु
- 'अग्नि' त्यस्ता कर्मशीलको कथा हो जसले युद्ध जित्नका लागि वा राष्ट्र निर्माणका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिएको छ । मकवानपुरका राजा हेमकर्ण सेनले उपहार दिएको जेठी तरबारको योगदान युद्ध विजय र राष्ट्र निर्माणका लागि पृथ्वीनारायण शाहले प्रयोग गरेका थिए । नेपाल राष्ट्रको निर्माणमा जेठी तरबारको योगदान महत्त्वपूर्ण छ तर जसले जेठी तरबार नै बनायो, आफ्नो प्रतिभा देखायो इतिहासमा उसको नाम कहीँ पनि उल्लेख छैन । वास्तवमा हतियार चलाएर युद्ध जित्ने राजाको भन्दा कम भूमिका तरबार बनाउनेको नहुनु पर्ने हो तर हतियार बनाउने ठुले कामीलाई कसैले चिन्दैनन् । कसले कुन कुरो बनाएका हुन्, त्यसको न त कुनै इतिहास नै छ न कुनै लेखाजोखा । कुन कुन शासकका पालामा फलानो कुरा बनेका हुन्, त्यस बारेमा लिखित इतिहास पाइन्छ, तर जसले त्यो वस्तु बनायो उसको नाम के थियो, भन्ने बारेमा कुनै सूचना पाइँदैन भनेर कविले महाकाव्यमा आफ्नो धारणा व्यक्त  गरेका छन् । जस्तै : 
"आज मलाई सोध्नु छ महोदय, 
इतिहासको अक्षरमा किन परेन 
यस आरनमा बलेको भर्भरभर्भर आगो ?
जवाफ कसले दिन्छ । (२८),
किन बोल्दैनन्, भुइँमान्छेका कथामा राजनीति गर्नेहरू
दलितको व्यथा टिपेर बिस्कुन बनाउनेहरू (२२३),
इतिहास ककसको पोल्टामा छ ?
ककसको नाममा छ ? 
र को हो खाँटी लेखक र खाँटी इतिहासकार ? (३१)

- 'अग्नि' हाम्रो देशमा विद्यमान वर्गीय विभेद र छुवाछुतको समस्यालाई विषयवस्तु बनाएर लेखिएको महाकाव्य हो । यस महाकाव्यमा व्यक्त भए अनुसार नेपालका हरेक कर्मशीलहरु कर्म मात्र गरिरहेका छन् तर तिनीहरुको कामको मूल्याङ्कन जुन रूपमा हुनु पर्ने हो, त्यस रूपमा भएको छैन । उल्टै उनीहरु राज्यबाट, समाजबाट हेपिन बाध्य भएका छन् । उनीहरुलाई छुवाछुतको दृष्टिले हेरिन्छ, त्यसै अनुसार व्यवहार गरिन्छ । देश वा राज्यको विकास होस् वा राज्य विस्तारका लागि उनीहरुको कार्य प्रशंसनीय र भूमिका उल्लेखनीय छ तर राज्यले उनीहरुको कामको मूल्याङ्कन भने सही रूपमा गर्न सकेको छैन । 

नेपाल एकीकरण पूर्व र आज सम्म पनि राज्य विस्तार र राज्यलाई दह्रो बनाउन, युद्ध जित्नका लागि, अनि राज्यको विकास र निर्माणका लागि विभिन्न जातजातिहरुको भूमिका अपरिहार्य छ ।  'अग्नि' हाम्रा देशका त्यस्ता इञ्जिनियरहरुको कथा बोकेको महाकाव्य हो जसको योगदानको मूल्याङ्कन इतिहासमा कहीँ पनि लेखिएको छैन । उनीहरु रात दिन आरनको भरभराउँदो आगोमा बसेर काम गर्छन् तर उनीहरुलाई छाक टार्न धौ धौ छ । उनीहरुले नै शासकलाई युद्ध जित्नका लागि खुकुरी खुँडा वा हतियार बनाए, मानिसहरुले दैनिक जीवनमा उपभोग गर्ने र भान्सामा पनि नभई नहुने अत्यावश्यक सामानहरु बनाए  ।

 कसैले विकास निर्माणका लागि पुल, डुङ्गा, अनि कसैले मूर्ति र कसैले मन्दिर नै बनाएका भए पनि उनीहरुले नै बनाएको मन्दिरको ढोका भित्र उनीहरु आफैँ पस्न पाउँदैनन् । फलामको काम गर्ने, लुगा सिलाउनेहरुले, गहना बनाउनेहरुले, मूर्ति कुँद्नेहरुले निर्माण गरेका वस्तुहरु पुजिन्छ, देवी देउतालाई गहना बनाएर लगाइन्छ, वस्त्र अथवा लुगा चँदुवा, झल्लर लगाइन्छ, मन्दिर बनाउन लगाइन्छ, ती सबै वस्तुहरु चाहिँ चोखो हुने तर जजसले ती वस्तुहरुको निर्माण गरे ती व्यक्ति तथा समुदाय नै अछुत भनेर उनीहरुलाई अपमान गर्ने सामाजिक अव्यवस्थाप्रति कविले यस महाकाव्यमा ठुलो प्रश्न उठाएका छन् र त्यसै अनुरूप व्यङ्ग्य गरेका छन् । जस्तै: 
छोराछोरीले सधैँ सोध्छन् दलित भनेको के हो
र हामीलाई किन दलित भन्छन् ? (८), 
'मन्दिर देवी देउताको मूर्ति बनाउने 
र तिनकै वस्त्र र आभूषण बनाउनेका लागि 
मन्दिर छेउको बाटो किन साँघुरो छ ? लेख्नुस् ।' (९) 

विश्वकर्माको महत्त्व – भनिन्छ - कृष्णजीले निर्माण गर्न लगाएका द्वारिका नगरी नै समुन्द्रका बिचमा थियो । कृष्णजीले उकृष्ट कालिगढका रूपमा विश्वकर्मालाई रोजेका थिए । तिनै विश्वकर्माका सन्तानले आज पनि आफ्नो कर्म र धर्म निभाउँदै आएका छन् । त्यस्ता उत्कृष्ट प्राविधिकले निर्माण गरेको दरबार र मन्दिरमा बस्छन् कृष्णजी तर उनीहरुका सन्तानले चाहिँ किन अपमान सहनु परेको छ भन्ने विषयलाई बिउका रूपमा उब्ज्याएर कविका कल्पना र सोचले एउटा महाकाव्यको रूप धारण गरेको छ ।
कृष्ण मन्दिरबाट निस्कन पाउँदैनन्
हामी निस्किए पनि
कतै कसैकोमा छिर्न पाउन्नौँ (१७९), 

कर्म गर्नेलाई हेला तर फललाई प्राथमिकता - यस महाकाव्यमा सामाजिक अव्यवस्था सम्बन्धी कविका मनमा उठेका विचार र प्रश्नहरुको बाढीलाई छेलाङी पात्रका माध्यमद्वारा कविले पाठकका अघि पस्किएका छन्, जस्तै:-
पृथ्वीनारायणको
सालिकमा देखिने तरबार कसले बनायो ?(२८),
उतिबेलै
कसले बनाएको हो पुष्पक विमान ?
किन लेखिन्छ विमान चढ्नेहरुको मात्रै नाम ? (३२)
कृष्ण जेलमै जन्मेको भन्नुहुन्छ
कसले बनायो कृष्ण थुनिएको कोठाबाहिर
ढोकामा तुन्द्रुङ्ग झुन्डने ताल्चा ? (३२),
कर्ता हटाएर कर्तृत्वाभिमानमा
कसकसले लेखे
वीरताको आआफ्नो इतिहास ? (३२)

जात ठुलो कि कर्म ठुलो – यस महाकाव्यका नायक ठुले कामी अनि प्रमुख पात्र कवि र छेलाङी हुन् । 'अग्नि' महाकाव्य कवि र छेलाङीका बिचको संवादका रूपमा प्रस्तुत गरिएको छ । महाकाव्यमा ठुले कामी प्रतिनिधि पात्र हुन् । उनले आरन चलाउने र आफू जस्तै अन्य सीमान्तकृत नेपालीको प्रतिनिधित्व गरेका छन् । छेलाङीका माध्यमद्वारा नेपाली समाजमा प्रचलित जात र कर्मका बारेमा 'मानिसको जात ठुलो कि कर्म ठुलो' भन्ने सम्बन्धी अनेक मार्मिक प्रश्नहरु सोधेर यस महाकाव्यको कथा अगाडि बढेको छ । महाकाव्य भित्र जूनीमायाका माध्यमद्वारा नारी जागरणको आवाजलाई स्थान दिइएको छ । 
एक साधारण माझी पुत्री हुन्
वेदका रचयिता व्यासकी आमा – मत्स्यगन्धा ।,
नदी किनारमा
ऋषि पराशरले सुटुक्क सम्भोग गरेका हुन्
व्यासको जात के हो ? लेख्नुस् 
र लेख्नुस् वेदका ऋचा छुत कि अछुत ? (१३) 

संस्कृति र संस्कार - यस महाकाव्यमा देश भक्ति, देश प्रेम अनि हाम्रो देशको धर्म, संस्कार र संस्कृतिमा धमिरा लाग्दै गएको र विदेशी धर्म संस्कार र संस्कृतिप्रतिको मोह बढ्दै गएको देखेर चिन्ता व्यक्त गरिएको छ, जस्तै : 
आरन सकिएको दिन
देशको एउटा संस्कृति सकिनेछ
सकिनेछ वीरताको जग
र घरेलु इन्जिनियरिङको युद्धकालीन निशानी (१७७),
कसले बनायो
चोकचोकमा चर्च 
मैदानमैदानमा मस्जिद
र घण्टाघरको ट्वाङट्वाङ गर्ने घन्ट ! (३१),
'एउटै मान्छे दुइटा जिब्रो लिएर बाँच्छ : प्रयोग गर्न र प्रचार गर्न ।' 
'गाईको दूधमा रगत मिसिएको देख्छु 
कुशबारीमा डडेलो देख्छु
वनमाराले पीपल छोपेको देख्छु
......मान्छेभित्रको मान्छे मर्दै मर्दै गएको देख्छु' (१०)
'भत्किएको स्कुल नजिकै चर्चहरुको लस्कर देख्छु' (११)
'धेरै मान्छे रोएको सुन्छु, चिच्याएको सुन्छु 
तर नागरिकको दु:खमा 
सत्ता रोएको कहिल्यै सुनिनँ किन होला ? लेख्नुस्' (११) 

हेलचेक्रयाइँ - राज्यमा जुन व्यवस्था आए पनि सरकार अचेत रहेको, परम्परागत धरोहरप्रति बेवास्ता गरेको देखेर कवि चिन्तित छन् । समाजमा भएको कुरीतिप्रति यस महाकाव्यमा कविले आक्रोश व्यक्त गरेका छन् ।    

देउताको मन्दिरमा राखेर पूजा गरिएको
हतियार हराउने देश
कसरी वीरहरूको देश हुन सक्छ ? 
जवाफ कसले दिन्छ ? (२२२) 

नवइतिहासवाद – कुनै पनि लेख वा कृति कुनै न कुनै कृति, पाठ वा विचारबाट प्रभावित हुन्छ । त्यसैले 'अग्नि' पनि नवइतिहासवादी समालोचनाबाट प्रभावित महाकाव्य हो । नवइतिहासवाद १९८० ई. मा चलेको एउटा कृति विश्लेषणको नाम हो । यसले कृतिकै आधारमा इतिहासको चिरफार र पुरपच्छे गर्छ । नवइतिहासवादी समालोचना भनेको एउटा एकीकृत विचार (Unified Approach) होइन, बेग्लाबेग्लै मान्छेहरुको चासोको समष्टि हो । कसैले कुनै एउटा कृति उठाउँछ अनि अरुले अर्कै अर्कै कृति उठाउँछन् अनि यो यो कृतिमा यो यो खाल्डा छन् भनेर कृतिमा भएका खाल्डाहरु लेख्छन् र तिनको विश्लेषण गर्छन् ।

नवइतिहासवाद मार्क्सवादी कृतिहरुबाट जन्मिएको समालोचना हो । यो उत्तर आधुनिक मार्क्सवाद र उत्तर संरचनावादको विश्लेषण गर्दा गर्दै जन्मिएको भएकाले यसलाई नवइतिहासवाद भन्छन् । नवइतिहासवादी रेमन्ड विलियम्स (Raymond Williams), फुको (Michel Foucault) र बख्तिन (Mikhail Bakhtin) ले साहित्यको विश्लेषण गर्दा यो कृति कस्तो सामाजिक वा सांस्कृतिक परिस्थितिमा रचिएको हो, समाजमा कुन अन्तर्विरोधका आधारमा यो कृति रचियो होला भन्ने कुराको खोजी गरेका छन् । 

कुन पाठबाट प्रभावित - 'अग्नि' महाकाव्य पढेका वेलामा मलाई आइए वा बिए मा पढेको एउटा पाठ मेरा दिमागमा आइरह्यो । त्यस पाठका अनुसार वेलायतमा छाताको आविष्कार गर्ने वा पहिलो छाता ओढ्ने व्यक्ति जोनस ह्यानवे (Jonas Hanway) हुन् । सबै भन्दा पहिले छाता बनाउने वा पहिलो छाता बोक्ने मान्छेको नाम इतिहासमा कहीँ पनि लेखिएको छैन, उसको छाता ओढेको वा बोकेको सालिक कहीँ पनि छैन, तर वेलायतका अनेक रानीहरुले छाता ओढेको सालिक र फोटो हामी देख्न सक्छौँ । कर्म गर्छ एउटाले तर नाम र त्यस वस्तुको महत्त्व र गौरव अरुले नै बढाएका हुन्छन् । इतिहासमा छाता ओढेनेको नाम आउँछ तर छाता बनाउनेको नाम कहीँ पनि लेखिएको छैन भन्ने पाठबाट यो महाकाव्य प्रभावित भएको देखिन्छ । त्यो पाठ नवइतिहासवादी समालोचनाबाट प्रभावित भएर लेखिएको हो ।

महाकाव्यको अन्त्यमा ठुले कामीको सालिक नै बनाउन कवि तयार भएका हुँदा यो 'अग्नि' महाकाव्य नवइतिहासवादी समालोचनाबाट प्रभावित छ भन्न सकिन्छ।

मथुराको जेलमा झैँ आफैँ खुल्यो रे
वंशगोपाल मन्दिरको ताल्चा
र मन्दिरसँगै राख्ने गरी कृष्ण आफैँ बनाउँदै छन् रे
ठुले कामीको पूर्णकदको सालिक ! (२७६) ।  

राष्ट्रको गौरव - संसारभरि नै हाम्रो देशको प्रतिनिधित्व गर्ने नेपालको राष्ट्रिय झण्डाको स्थान महाकाव्यमा उच्च छ । हाम्रो देशको चन्द्र सूर्य अङ्कित, त्रिकोण अनि रातो रङ वीरताको प्रतीक झण्डा र नेपालको एकीकरणमा युद्ध जिताउनका लागि प्रमुख भूमिका खेलेको जेठी तरबारले पनि आफ्नो आफ्नो अस्तित्व र गौरवका बारेमा बोलेर महाकाव्यमा आफ्नो प्रतिनिधित्व गरेका छन् । महाकाव्यमा पृथ्वीनारायण शाहलाई मकवानपुरका राजा हेमकर्ण सेनले उपहारमा दिइएको जेठी तरबार आज कहाँ छ, भनी चिन्ता र चिन्तन गरिएको छ । 

युद्ध, वीरता र लडाइँ , 
लड्नुको परिचय हो !
र त्यही परिचयको जग –
खुँडा हो, खुर्पा हो, खुकुरी हो 
तरबार हो, जेठी तरबार हो 
तर आज कहाँ छ जेठी तरबार ?
कहाँ छ तरबारघर ?
कहाँ कोतघर ? (३३),
कसले सिलायो
युद्ध विजयपछि वैरीको रगत टेकेर उभिने
हाम्रो झण्डाको त्रिकोण ? (३१),  
नागरिक संवेदनाको गहिरो दु:खमा   
दु:खै अनुभूत नगर्नेहरू
कहिल्यै शासक हुँदैन भन्छन् 
हो रहेछ 
ती शासकको कुर्सीमा त पुगे 
तर कहिल्यै शासक हुन सकेनन् ।(१८०),
कसै गरी 
पग्लिँदो रहेनछ शासक हुनेहरूको मन
फलाम पगाल्यौँ 
तर मान्छे पगाल्न सकेनौँ !(१८०)  

शब्दको अर्थ - 'अग्नि' शब्दको नेपाली अर्थ आगो हो । त्यस्तै 'अग्नि' शब्दको अभिधात्मक अर्थ पनि आगो नै हो । यस महाकाव्यका अनुसार 'अग्नि' शब्दले बुझाउने लाक्षणिक अर्थ चाहिँ आरन हो भने, 'अग्नि' शब्दको व्यञ्जनात्मक अर्थ चाहिँ अनेक हुन्छन्, जस्तै: आगो, सूर्य, आत्मा, शक्ति, ताप, राप, खारिएको जीवन, ज्वाला, ज्योति, चिन्ता, भोक, प्रश्न, क्रान्ति, आदि । 

पञ्चतत्त्व - भनिन्छ -मानिसको शरीर आकाश, वायु, अग्नि, जल र भूमि गरी पञ्चतत्त्व वा पाँच ओटा तत्त्वहरु मिलेर बनेको हुन्छ, । पञ्चै तत्त्वबाट आगोको निर्माण हुन्छ । जन्मद्वारलाई अग्नि नै भनिन्छ । अग्निले नै जन्मका साथै पालन पोषण, सम्पादन गर्छ, अनि मर्दा पनि मान्छे आगोमा नै पोलिन्छ । मूलाधारबाट उठेको चेतनाको अग्नि आज्ञा हुँदै अगाडि बढ्छ अनि धर्म, अर्थ, काम र मोक्षका लागि निरन्तर प्रयत्नरत हुन्छ । मान्छेको जन्म अग्निबाट हुन्छ र अन्त्यमा मान्छे अग्निकै कारणले माटोमा मिल्छ ।    
मान्छेले किन नबुझेको ? आगो हो सर्वोच्च सत्ता !

चाहे जन्मनुस्, चाहे मर्नुस् ! (१५३),
लाग्छ 
अग्निबाट निस्कने निष्काम ज्योति 
मूलाधार हो जीवनको ! (२०)

हरेक घरमा आगो नबाली खाना पाक्तैन, त्यसै गरी आरनमा पनि आगो बालेर नै हतियार तयार पारिन्छ । काम तत्त्व अग्नि नै हो । मूलाधारमा चम्कने ज्योतिको रङ रातो हुन्छ । रजस्वालाको रङ रातो हुन्छ । नेपालको झण्डाको रङ पनि रातो हुन्छ । मूलाधारमा निवास गर्ने आदिशक्तिको रङ रातो र आज्ञा चक्रमा पुगेर शिवतत्त्वसँग मिल्ने ज्योतिको रङ  वा शिवको तेस्रो नेत्रबाट निस्कने ज्चालाको रङ पनि रातो नै हुन्छ । 

बिम्ब - यस महाकाव्यमा पुराण (पौराणिक बिम्ब) अनि इतिहासका बिम्बहरु प्रयोग भएका छन् । जस्तै: 
प्रेमका प्रशङ्गमा बिम्बहरु – शिव र पार्वती, राधा र कृष्ण, मदन र मुना (१५३),
कृष्णको बिम्ब:
मुक्तिका लागि उपासना गर्नेहरू
मुक्तिदाता भगवान्‍लाई नै मुक्त हुन दिँदैनन्
र बाँध्छन् भने फलामे सिक्रीले 
आफू कसरी मुक्त होलान्
र कसरी छिनाउलान् जनताले 
आफूमाथि बेरिएको आफ्नै सामाजिक साङ्लो ? (१७९),
देउता थुनेर 
थुनिएको देउतासँग मुक्तिको वरदान माग्ने 
जनताको देश हो यो (१७९)

नजिकका देउता हेला - हामी नेपाली हौँ । हाम्रो घरमा कुनै विदेशी आयो भने हामी उसलाई 'अतिथि देवो भव' भनेर घरको बैठक कोठामा लगेर राख्छौँ । विशेष मान्छे घरमा आएका वेलामा मात्र निकाल्ने भनेर सजाएका राम्रा भाँडामा तिनलाई खान दिन्छौँ तर हाम्रै देशका दाजु भाइ दिदी बहिनीलाई दलित भनेर घरमा पस्न दिइँदैन । यस महाकाव्यले त्यसै कुरीतिप्रति प्रश्न उठाएर ठुलो व्यङ्ग्य गरेको छ । 

कर्मफलदाता शनि - ज्योतिष शास्त्रका अनुसार सूर्य र मङ्गल ग्रह अग्नि तत्त्व प्रधान राशि हुन् । अग्नि तत्त्व बढी भयो भने मानिस वीर, आँटी शाहसी त हुन्छ नै तर जति वेला पनि झगडा वा युद्ध गर्न तम्सिने प्रवृत्तिको हुन्छ । सूर्यको छोरो शनि हो (नीलाञ्जनसमाभासं रविपुत्रं यमाग्रजम् । छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।) सूर्य बाबु चाहिँ आँटिला, रातो वर्णका, रगत र शाहसका प्रतीक हुन् भने, छोरो शनि चाहिँ निलो वर्णका, चिसो प्रवृत्तिका, कर्मफलका दाता हुन् । छायाँका छोरा, आमालाई अन्याय भयो भनेर न्याय दिलाउन हिँड्ने न्यायाधीश जस्ता, मजदुरहरुका कारक ग्रह हुन् शनि । शनि फलाम वा हतियारलाई प्रिय मान्ने प्रवृत्तिका हुन्छन् । मेरा विचारमा शनि आफैँ छायाँका छोरा भएकाले होला हतियार बनाउने वा प्रविधिक नै छायाँमा परेका होलान् ।

महाकाव्यको परम्परागत परिभाषा वा लक्षणका कसीमा 'अग्नि' लाई राख्दा - भामह र दण्डी आदिले गरेको महाकाव्यको परम्परागत परिभाषाको तराजुमा 'अग्नि' महाकव्यलाई जोखेर हेर्दा 'अग्नि' प्रति न्याय हुन सक्तैन किनकि  महाकाव्यको परम्परागत ढर्राप्रति क्रान्ति गर्ने महाकाव्य हो 'अग्नि'। यो उत्तर आधुनिक महाकाव्य हो ।  भामहले महाकाव्यमा लामो कथानक होस् भनेका छन् तर यस महाकाव्य 'अग्नि' को कथानक झिनो छ । दण्डीले महाकाव्यको कथा इतिहासबाट लिइएको होस् र भामहले महाकाव्यको नायक महान् चरित्र भएको अनि दण्डीले नायक चतुर वा उदात्त होस् भनेका छन् भने, 'अग्नि' को कथा पनि इतिहासबाट नै लिइएको छ तर यो महाकाव्यका नायक गरिब, कमजोर, निम्न वर्गीय, आफ्नो हकहितका लागि बोल्न नसक्ने, निम्सरो प्रवृत्तिको छ । भामह र दण्डिले भने झैँ 'अग्नि' महाकाव्यको आकार ठूलो छ । महाकाव्य गद्यमा लेखिएको छ र अन्त्यमा 'अग्निको शुरुवात' भनेर उपशीर्षक चाहिँ अन्त्यमा दिइएको छ । त्यस भित्र उपजाति छन्दमा रचिएका चार चार लहरका ३५ ओटा श्लोक रहेका छन् ।  त्यसैले 'अग्नि' प्रगतिशील तथा क्रान्तिकारी महाकाव्य हो ।      

महाकाव्यको रस - यो महाकाव्यको मुख्य रस वीर हो सहायक रस चाहिँ करुण हो ।  शृङ्गार रस नौ रसमा जोडिन आएको छ । छेलाङी र जुनीमाया बिचको प्रेम र अन्तरजातीय विवाहको प्रसङ्ग चाहिँ शृङ्गार रसको संयोगान्त अन्तर्गत पर्छ भने मकवानपुरकी राजकुमारीको प्रेम चाहिँ बियोगान्त प्रेम हो । एक सय साठी किलोको फलामे तरबार एकदमै सानो  देखिने र  परबाट फाल्दा पनि अजङ्गको रुख नै सुकेको, अनि हात्ती बाँधेका साङ्लो काटेर आगोलागीबाट हात्तीलाई बचाएको  प्रसङ्गहरु चाहिँ अद्भुत रस अन्तर्गत पर्छ ।

अध्याय विभाजन - प्रत्येक व्यक्ति भित्र हुने षड्चक्र र तिनका कार्य, भाव, तिनका तत्त्व, ती चक्रहरुबाट निस्कने फरक फरक ऊर्जा र ती चक्रहरुका विशेषतासँगै यस महाकाव्यमा अध्याय अघि बढेको छ । चक्रकै माध्यमद्वारा अध्याय विभाजन गरिएको छ । जसरी मानिस आफ्नो जीवनमा भएका हरेक समस्याहरुलाई समाधान गर्दै तलदेखि माथि उठ्छ, त्यसै गरी एउटा योगी वा साधक पनि षटचक्रका माध्यमद्वारा माथि उठ्छ अनि उसका मनमा उठ्ने विचार र ती प्रश्नहरुको समाधान आफैँ खोज्छ ।              

भाषा शैली - सरल भाषा शैलीमा काव्य लेखेर पाठकलाई सम्प्रेषण गर्न सक्नु यस महाकाव्यको विशेषता हो ।

निष्कर्ष - 'अग्नि' नवइतिहासवादी विचारबाट प्रभावित महाकाव्य हो । यस महाकाव्यमा मानिसको 'जात ठुलो कि कर्म' भन्ने प्रश्नलाई विषयवस्तु बनाएर लेखिएको छ । मानव शरीर र त्यस भित्र अवस्थित ७ ओटा चक्र, तिनका स्थानहरुका कार्य र विशेषताका साथ कविले त्यसै भूमिमा बिउलाई छरेका छन् । भूमि, जल, अग्नि, हावा र आकाश जस्ता पञ्चतत्त्वका माध्यमद्वारा जसरी बिउ टुसा पलाउँदै वृक्ष बन्छ, त्यसरी नै आरनमा कर्म गर्नेहरुका समस्या झ्याँगिएर, मल जल पाएर महाकाव्य 'अग्नि' को रूप धारण गरेको छ । जसरी तान्त्रिकहरुको सिद्धि हो जेठी तरबार, त्यसरी नै कविको सिद्धि हो 'अग्नि' महाकाव्य । 

पोखरेलको यसअघिका लेखहरू


Author

थप समाचार
x