साहित्य

आमाको मुख हेर्ने दिन

परदेशबाट आमालाई प्रेमपत्र

डा. साधना प्रतीक्षा |
बैशाख २८, २०७८ मगलवार ७:५ बजे

पोहोर साल पापी कोरोना भाइरसले बाटो छेकिदिँदा तिम्रो मुख हेर्न आउन नसकेर यतैबाट मोबाइलमा तिमीलाई हेरी आशीर्वाद माग्दै अर्को साल आउने वाचा गरेको थिएँ । तर यसपालि पनि यस्तै भो आमा । त्यो पापी कोरोना त उहिले म सानो छँदा तिमीले सुनाउने दन्त्यकथाको राक्षसजस्तै रूप फेरिफेरि आउँदो रहेछ । अब त भाग्यो होला भनेर राहतको सास लिन नपाउँदै पुनः फर्केर आयो ।

यसपालि त त्यो पहिलेभन्दा अझैँ बलियो र खतरनाक भएर पो आएछ । त्यसैले सुन्दैछु आमा, हरेक दिनका समाचार तथा सामाजिक सञ्जालका भित्ताहरूमा आफन्त र परिचितहरूको मृत्युका सन्देश । तर यसपालि त म पनि सोही महामारीको क्रुर पञ्जामा जकडिएर जीवन र मृत्युको युद्ध गरिरहेछु । तिमी सुरक्षित रहे है आमा ! एक्लिएरै बस, घरमा जे छ खोले-फाँडो खाएर गुजारा गर कतै ननिस्क । ‘हामीलाई केही हुँदैन’ भन्दै कथित बुज्रुकहरू चाडबाड र बिहे-बर्तुनका नाममा यस्तो बेला पनि जमघट गर्लान् आमा तर तिमी ती कलिला नातिनातिनी लिएर घरिभित्रै बसे है ! भनिदिनू बाबूनानीलाई ‘तिमीहरूको बाबा धेरै पापा-नाना लिएर आउँछ अनि रमाइलो गर्ने है’ भनेर ।


बिर्सेको छैन आमा, म यता आउँदा तिमीले आफ्‍नो ढुंग्री र मुन्द्री फुकालेर हातमा राखिपठाएको । अनि भएको दुई हल खेत पनि साहूकहाँ बन्धकी राखेको । त्यही निखन्‍न अनि तिम्रो बुच्चिएको नाककान फेरि झकिझकाउ बनाउन यो बिरानीमा दिनरात खटिएको छु । हो आमा, म र मजस्ता धेरै नेपाली छोराहरू कतै बरफका गोलाहरू निल्दै अनि कतै आगाका लप्कासँग खेल्दै प्रत्येक रात मरेर, प्रत्येक बिहान पुनः नयाँ आशामा बाँचिरहेछौँ । यसरी जुगाड गरेको कोसेलीपात लिएर तिमीसामु उपस्थित हुने मेरो यसपालिको सपना पनि चकनाचुर भो । यसपालि पनि यस्तै भो आमा ! बुढ्यौली आँखा मेरो बाटोमा नओछ्याउनु है हामा । बाँचे आघौँ अवश्य आउनेछु तिम्रो मुख हेरी आशीर्वाद लिन ।

कहिल्यै फुर्सद नहुने मुलुकमा पनि अहिले महामारीले थलिएर पाएको फुर्सदमा सोचिरहेछु आमा, हाम्रो देशलाई सतीले सरापेकै हो वा देशमा प्रजातन्त्र नफापेको हो ! अचेल म प्रजातन्त्रको पुनःस्थापनाका लागि आफूले खर्चेको त्यो अमूल्य समयलाई धिक्कारिरहेछु । आमा, त्यो बेला सरकारको आँखा छलिछली रातदिन नभनी राँका बाल्दै, पर्चा बोक्दै गाउँगाउँ डुल्दा तिमीले भन्थ्यौ ‘बाबू, यसरी रल्लिनुभन्दा हलो कोदाले गर त खेतबारीले आशिक देला अनि एक मानाको जोहो होला’ तर त्यतिबेला तिम्रो कुरा कसले सुन्‍ने ? ‘प्रजातन्त्र आएपछि सबै नेपालीका दुःख हरिन्छन्, कोही भोका-नांगा रहनुपर्दैन’ भन्‍ने नेताका भाषणले नै कान टम्म टालिएका थिए । त्यसैले त घरको काम मात्र होइन, पढाइसमेत छाडेर जनआन्दोलनमा होमिएको थिएँ । म मात्र कहाँ हो र आमा ! मजस्ता असंख्य नेपाली युवा त्यसरी नै प्रजातन्त्र पुनःस्थापनामा दिलोज्यानले लागेका थिए तर प्रजातन्त्र आएपछि पो थाहा भयो, त्यो त आम जनताका लागि नभएर केवल नेताका लागि आएको रहेछ । 

नेताका लागि आएको प्रजातन्त्र उनकै लागि मात्र फलिफाप भो आमा । तिमीले देखेकै छौ नि, हाम्रै गाउँको मुखिया पञ्चायती राजनीतिको नेता भएर मोज गरेको थियो । अहिले उसैको छोरो दलीय राजनीतिको नेता भएर राज गरिरहेछ । उसको न जागिर, न व्यापार न त हामीले झैँ विदेशमा पसिना बगाउनु ! तैपनि राजधानीमा भव्य महल, गाडी अनि नोकरचाकर छन् । उसका छोराछोरी विदेशका महंगा कलेजमा पढ्छन् । ऊमात्र होइन, ऊजस्ता अनेक नेताहरू आज एउटा राजा फालेर सयौँ राजाका रूपमा विराजमान भएका छन् । तर हामी आम नागरिक भने जहाँको त्यहीँ छौँ आमा !

राजनीति र नेता पनि ठाउँ अनुसार फरकफरक हुँदारहेछन् आमा ! यहाँ र यस्तै विकसित देशमा त राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री आदि ठूला पदका मानिसहरू पनि सामान्य नागरिकजस्तै हिँड्दा रहेछन् । हामीकहाँजस्तो सर्वसाधारणको बाटो रोकेर राजसी ठाँटबाटका साथ सवारी पनि चलाइँदो रहेनछ । मलाई थाहा छैन आमा, हाम्रा नेता र विशिष्टहरूलाई मात्र त्यस्तोविधि सुरक्षा किन चाहिएको होला ? फेरि यहाँ त एकचोटि मन्त्री हुँदैमा कसैको महल पनि ठडिँदो रहेनछ । उच्च पदमा पुगेका नेताले हिजो प्रतिकूल परिस्थितिमा सँगै काम गरेका नागरिकभन्दा आपूmलाई उच्चकोटिका पनि ठान्दा रहेनछन् आमा । यहाँ त ठूलासाना सबैले आफ्‍नो काम आफैँ गर्ने र पद छाडेपछि पुनः पहिलेकै पेसामा फर्कंदा रहेछन् बिना कुनै सरकारी सुविधा । यहाँ कुनै पनि काम गर्दा इज्जत जाँदो रहेनछ, बरु कामको सम्मान पो हुँदो रहेछ । त्यसैले घरमा हुँदा चिया खाएको कप जुठेल्नोसम्म पुर्‍याउन लाज लागेर बहिनीलाई गुहार्ने म यहाँ दिनरात काम गरिरहेछु । के काम गर्छस् भनेर चाहिँ बिन्ती, नसोधे है आमा !

 

    आउन सकिनँ भने पनि हाम्रो देशका शासक वर्ग तथा नेताहरूसँग तिमीले नै सोध्नु है आमा, यो प्रश्न, ‘हाम्रा सन्तान सधैँ मलेवाभैँ विदेश उड्नुपर्ने बाध्यताको अन्त्य कहिले होला ?’

 

हामीजस्तै नेपाली युवाको रगतपसिनाले आज विदेशी भूमिमा सुन फलिरहेछ, कलकारखानाहरू चरिरहेछन् अनि डाँडापाखाहरूमा पनि झलमल बिजुली बलिरहेछ । हामीले पनि अवसर पाएको भए त यो सबै आफ्‍नै देशमा गर्न सक्दैन्थ्यो र ? हाम्रा गराहरू सधै बाँझा किन ? प्रकृतिको अपार स्रोत पाएका हामी सधैँभरि परनिर्भर किन ? सायद हाम्रो राजनीतिका चतुर खेलाडीको सदा सत्तासिन बन्‍ने महत्वाकांक्षा र शक्तिराष्ट्रहरूको नवऔपनिवेशिक दाउपेचका कारण भित्र्याइने ठूल्ठूला विदेशी परियोजनाले गर्दा हाम्रो जनशक्ति बाहिरिनुपरेको होला । आप्mनै स्रोतसाधन र जनशक्तिको परिचालनबाट स्थानीय तहमा नै विकासका योजना सञ्चालित हुँदाहुन् त हामी यसरी विदेशीनु पर्ने थिएन तर यस्ता योजना नेताहरूको सत्ता जोगाउने रक्षाकवच नबन्‍ने हुनाले नै त विकासका लागि सदा विदेशीको मुख ताक्छन् उनीहरू । 

जति नै गुनासो गरे पनि गुनासो बाँकी नै रहन्छ आमा ! पोहोरको महामारीले त्यसरी सताउँदा पनि हाम्रो देशका अगुवाहरूले कुनै पाठ सिकेनछन् । अन्य देशहरू सामदामका साथ महामारीविरुद्ध लडिरहँदा हाम्रा नेताहरू भने कुर्सी र पदका लागि आपसमा नै लडिरहे । एकै दलका नेता पनि कोही सडकमा पलेटी कसेर त कोही सदनमा टेबुल ठोकर विद्रोह गरे केवल पदकै लागि । यस्तो ऐतिहासिक विरोध त उनीहरूले न बलात्कारीका विरुद्ध गरेका थिए न त भ्रष्टाचारी र हत्याराहरूका विरुद्ध नै प्रदर्शन गरेका थिए ! रोग र भोकले विदेशबाट लखेटिएर मरे आफ्‍नै घाटमा जल्ने र बाँचे आफ्‍नै माटोमा केही गर्ने अठोट बोकेर अनेक कष्ट सहँदै स्वदेश फर्किएका युवाहरूप्रति हाम्रो सरकारले देखाएको गैरजिम्मेवारीपनलाई इतिहासले क्षमा गर्ला र आमा ? आफ्‍नै श्रम लगानी गर्ने कुनै  अवसर नपाएर, हातमुख जोर्ने कुनै उपाय नदेखेर थाप्लोमा उही ऋणको भारी बोकेर पुनः विदेश पलायन भएका असंख्य जवानहरू अहिले पनि महामारीको दोस्रो चपेटामा मृत्युसँग जुध्दै होलान् ।  नेपाल आमाका असंख्य सन्तानहरू अहिले विदेशी भूमिमा पुनः अलपत्र परिरहेछन् । यो बन्दाबन्दीमा उनीहरू आफ्‍नी आमाको मुख हेर्न मिठाइ र उपहार लिएर आउन सकेनन् आमा ।

सुन्दर, शान्त, विशाल नेपाल र वीर नेपाली पुर्खाको गौरवगान गर्दै मख्ख पर्ने म अहिले भने त्यसरी गौरवान्वित हुन सकिरहेको छैन आमा ! किनकि, देशको शासनसत्ता हातमा लिएपछि मष्तिष्कबाट विवेक र इमानदारी झिकेर स्वार्थ अनि भ्रष्टाचारको लेप लगाएका शासकवर्गले त्यो गौरव जोगाउन सकेनन् । दलीय र व्यक्तिगत स्वार्थमा नै प्रजातन्त्रका तीन दशक बितिसक्दा पनि, प्रजातन्त्र, लोकतन्त्र हुदै मुलुक संघीय गणतन्त्रमा पुगिसक्दा पनि हामी आम नेपालीको अवस्था उस्तै रह्यो अघिल्लो वर्ष महामारीले आक्रान्त आम नागरिकको बाच्‍न पाउने अधिकारको संरक्षण गर्नसम्म असक्षमता देखाएको सरकार त्यसपछि महामारी स्वतः अन्त्य हुन्छ भनी कानमा तेल हालेर बस्नाले आज यस्तो भयावह अवस्था सिर्जना भएको छ ।

ओहो ! कति दूरदर्शी रहेछन् आमा हाम्रा शासकहरू । संसारलाई त्राहिमाम बनाएको कोरोना महामारी चाडै नसकिने बरु यसले प्रकृति बदलेर पुनः आतंक मच्चाउनेछ भन्‍ने चेतावनी विज्ञहरूले गरिरहँदा पनि त्यसको सामना गर्ने कुनै तयारी गरिएन । न सुविधासम्पन्‍न अस्पताल निर्माण, न अन्य पूर्वतयारी । मलाई त लज्जाबोध भइरहेछ आमा हाम्रा नेताहरूको सत्तालोलुपताको घृणित खेलका समाचार सुनेर । मनमा प्रश्न उब्जिरहेछ के यही दिन देख्नका लागि हजारौँ नेपालीले बलिदान दिएका थिए ? भाउजूको सिन्दूर पुछिएको, बहिनीको चुरा फोरिएको अनि ती टुहुरा लालाबालाको आँसु हामीले बिर्सन सकौँला र आमा ?

यहाँ त सरकार जिम्मेवार हुनाले हामी गैरनागरिकले पनि जेनतेन गुजारा चलाइरहेका छौँ तर आफ्‍नै देशको सहरमा पढ्न र अवसरको खोजीमा गएका भाइबन्धुहरूले फोनबाट सुनाएको पीडाको फेहरिस्तले अझैँ छाती चर्कंदै छ आमा । साँघुरा गल्लीभित्रका अँध्यारा कोठामा बन्द भएर कैयौँ दिनसम्म चिउरा मात्र खाएर बस्दा पनि महामारीबाट जोगिन नसकेर उनीहरूले पशुपतिनाथलाई प्रार्थना गर्दै जीवनको भिख मागेको सुनाएका थिए यसरी ‘सरकारी अस्पतालमा ठाउँ छैन, निजी अस्पतालको दैनिक शुल्क सुन्दै सातो उड्ने यथार्थ कोरोना भाइरसभन्दा पनि भयावह रहेछ ।’

एउटा छोरो देशका लागि बलिदान भएको र अर्को परदेशमा महामारीसँग जुधिरहेको यथार्थबीच आमा तिमी कति पीडित तर हौली विचलित नहोऊ है आमा । हरेक बिहान भगवान्लाई फूल चढाउँदा, हरेक साँझ धूपबत्ती सल्काउँदा आफ्‍ना सन्तानको सुस्वास्थ्यको कामना गरेकै छौ नि । अझैँ एकथुँगा फूल थप्‍नु है आमा, दियोमा एक थोपा तेल बढी हाल्नु है आमा अनि एउटा धूप पनि थपेर बाल्नु है आमा यो संसारबाट पापी कोरोना छिटै भागोस् भनेर । तिमीले प्राप्त गरेको गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्र उच्चारण गर्दै महामारी सदाका लागि अन्त होस् भन्‍ने कामना गर है आमा ।

हृदयभरि तिम्रो माया र सम्झना सँगालेर यस बिरानीमा आफ्‍नो देशको समाचार हेर्दै ती मृत्युका समाचारहरूमा आफन्तको नाम नपरोस् भनी म पनि प्रार्थनारत छु नि आमा । यसपालि यस्तै भो आमा मृत्युलाई जित्न सके अर्को साल तिम्रो मुख हेर्न आइपुग्‍नेछु । आउन सकिनँ भने पनि हाम्रो देशका शासकवर्ग तथा नेताहरूसँग तिमीले नै सोध्नु है आमा, यो प्रश्न, ‘हाम्रा सन्तान सधैँ मलेवाझैँ विदेश उड्नुपर्ने बाध्यताको अन्त्य कहिले होला ?’


Author

थप समाचार
x