साहित्य

कविता

स्थिति नियन्त्रणमै छ

मिलन बगाले |
बैशाख २९, २०७८ बुधबार १८:१५ बजे

कोरोनाले गलाएको 
संक्रमित शरीर चलाउन
अक्सिजन र औषधी नपुगेर के भो ? 
संक्रमित शव जलाउन 
दाउरा पुगेकै छ ।
धेरथोर कुरेरै भए पनि 
अत्येष्टि स्थल मिलेकै छ ।
धूप, अबिर, खादा, माला, बाकस, कोरा कपडा
बजारमा केही अभाव छैन ।
स्थिति नियन्त्रणमै छ । 

कोरोना बेस्सरी नाचेको प्रदेशमा 
सरकारको कुनै अभाव छैन । 
१६ दिनमा चार स्वास्थ्यमन्त्री फेरिसक्यौँ । 
दौरासुरुवाल र माननीयको कुनै अभाव छैन । 
शपथ कुपथ सबै थोक 
निर्बाध निरन्तर चलेकै छ ।  
उद्घाटन, शिलान्यास, मेला रोकिए पनि
भर्चुअल भाषण चलेकै छ । 
स्थिति नियन्त्रणमै छ । 


अक्सिजनले भन्यो-पाए बचाउँथेँ ।
औषधीले भन्यो-आए बचाउँथेँ ।
भेन्टिलेटरले भन्यो-चलाए बचाउँथेँ ।
स्वास्थ्यकर्मीले भने-पठाए बचाउँथेँ
अक्सिजन, औषधी, भेन्टिलेटर र स्वास्थ्यकर्मीको
मलिनो आवाज दबाउँदै
माफिया बोल्यो-पाए सबैथोक पचाउँथेँ ।
मान्छे हैन पैसा बचाउँथेँ ।
माफियालाई ‘मान्छे’ ठानेर
सरकारले ‘मान्छे’ बचायो ।
अनि उच्च स्वरमा बोल्यो
स्थिति नियन्त्रणमै छ । 

देश बिरामी भएकाले
‘सन्चो’ मान्छेको खाँचो छ सरकारलाई ।
बिरामी देशमा
सरकार र माफियालाई मात्र हाइसन्चो छ ।
सन्चो-सन्चो मिलेर
साझा सन्चो खबर सुनाए
स्थिति नियन्त्रणमै छ । 

‘सन्चो’ सरकार
‘सन्चो’ मफिया साक्षी राखेर
बैठक कोठामा हालिएको 
शीशाको घेरोभित्र पस्यो । 
अम्बापाते कुल्ला सिकायो । 
बेसारपानी र हाच्छिउँ बिकायो । 
सरकारी हाच्छिउँले आत्तिएका 
बिरामी नागरिकतिर हेर्दै 
सरकारले सगौरव घोषणा गर्‍यो
स्थिति नियन्त्रणमै छ । 
(बगाले आर्किटेक्ट तथा ग्रामीण विकासविज्ञ हुन् । उनको ‘देशदृष्टि’ पुस्तक प्रकाशित छ ।)


Author

थप समाचार
x