साहित्य

पुस्तक अंश

बाँसको झ्याङमा बुवाको लास

विमल नेपाल |
जेठ २७, २०८० शनिबार ११:५६ बजे

ब्यूँझदा आँखाअघि थिएनन्– आफूले बनाएका सुन्दर चित्रहरू । भित्तामा भातको माडले टाँसेका गोरखापत्रहरू । टेबलमा छरपस्ट किताब र कापीहरू । जुटको डोरीमा झुन्ड्याएको नीलो फ्रक र आकाशे रङका सर्टहरू ।

देखियो– वरिपरि हरिया स्याउला र भकारी । खाँबोको चोकेमा झुन्ड्याएको कम्ब्याट ड्रेस । केही बुढा मान्छेका पुराना फोटाहरू । 


निकै तल खोलो सुसाएको एकोहोरो आवाजमा समीक्षा दिदीको बोली मिसियो, ‘अब उठेर फ्रेस हुनुस् । अनि प्रशिक्षणमा सहभागी हुनुपर्छ ।’
आँखा मिच्दै उठें । बाहिर निस्केर मुख धोएँ । समीक्षा दिदीले ‘जाऔं’ भन्नुभयो । पछि लागें ।

अरू छाप्रोबाट पनि साथीहरू निस्किए । चउरको एउटा कुनामा पुगेर अडिए । हामी पनि रोकियौं । 

रवि दाइले नयाँ पाँचजनालाई पालैपालो अगाडि बोलाउनुभयो । कमरेड सागरले अबिर दलेर क्रान्तिको बाटोमा स्वागत गर्नुभयो । साथीहरूले ताली बजाए ।
टीका सँगैसँगै हामीलाई उपनाम पनि भिराइयो । मेरो नाम राखियो– क. उषा ।

हामीलाई युद्धसम्बन्धी धेरथोर नियम सिकाइयो । दैनिकी र मापदण्डबारे सुझाइयो । बिहान शारीरिक र राजनीतिक प्रशिक्षण, दिउँसो युद्ध अभ्यास, साँझ साँस्कृतिक कार्यक्रम । तीन महिना परीक्षण, त्यसपछि मोर्चा तोकिने ।

स्वागत र जानकारीसँगै कमरेड सागरले प्रशिक्षण दिनुभयो । व्यवस्थाविरुद्ध लडेर जित हासिल गर्नैपर्ने चुनौती र सम्भावनाबारे लामै भाषण दिनुभयो ।
कार्यक्रम सकियो ।

खाना खाएपछि समीक्षा दिदीले मलाई एकजना साथीसँग दाउरा खोज्न जंगल पठाउनुभयो । जंगल छिर्दै गर्दा हामीबीच परिचय भयो । उहाँले नै सोध्नुभयो,

‘तपाईंको खास नाम ?’
‘पीपला । तपाईंको ?’
‘पार्टीले दिएको नाम प्रभा । कमरेड प्रभा भन्छन् यहाँ । खास नाम चाहिं अनुराधा । अनुराधा थापामगर ।’
‘तपाईंको घर चाहिं ?’
‘दोलखा, हावाच्यामा । सदरमुकाम चरिकोटबाट दुई घन्टा बसको यात्रा गरेर करिब तीन घन्टा उकालो चढेपछि पुगिन्छ ।’
‘कति भयो यता लाग्नुभएको ?’
‘डेढ वर्ष जति भयो ।’
‘आफैं आउनुभएको कि ल्याएका ?’
‘आफैं आएको । तर कथा दर्दनाक छ ।’
‘कस्तो दर्दनाक ? मिल्छ भने बताउनुस् न !’

जंगलबीच उक्लिँदै गरेका हामी सुकेको काठको मुडोमा बस्यौं । लामो सास तान्दै अनुराधाले आफ्नो व्यथा बताउन थाल्नुभयो–

‘झन्डै एक वर्षकी हुँदा मलाई एक्लै कोक्रोमा सुताएर आमा घाँस काट्न जंगल जानुभएछ । दिउँसो अबेरसम्म पनि नफर्किएपछि बासँगै गाउँलेहरू खोज्न गएछन् । साँझतिर नाकेडाँडोको फेदमा भेटिँदा आमा चिसो भइसक्नुभएछ । उहाँले संसार छाडिसक्नुभएछ ।’ 

कुरा सुरु नगर्दै अनुराधाको आँखा रसाउन थालिसकेका थिए । जब व्यथा कहन थाल्नुभयो, आँखा टिलपिल हुँदै गए ।

‘बाले भनेअनुसार घुमाउने गौंडोमा आफूले बोकेको घाँसको भारीले नै धकेलेर आमा लड्नुभएछ । लडेपछि न अडिने ठाउँ न समाउने हाँगो भएछ । घाँसको भारीसँगै आमा निकै तल खोल्सामा खस्नुभएछ । आमाको टाउको ठूलो ढुंगोमा बजारिएछ । भेटिँदा त आमाको अनुहारै नचिनिने भएको थियो अरे ।’
अनुराधाले आँखामा टिलपिलाइरहेका आँसुका ढिक्का झर्नुभन्दा पहिल्यै पाखुराले पुछ्नुभयो । दाँतले तल्लो ओठ टोक्दै एकछिन मौन रहनुभयो । 
मेरा पनि गह भरिए ।

अलिबेरपछि मसिनो स्वरमा आफैं बोल्न थाल्नुभयो–

‘आमाको माया अनुभूत गर्न नपाए पनि बुबाले औधि माया गर्नुहुन्थ्यो । आमाको अभाव हुन दिनुभएको थिएन । उहाँको पहिलो र अन्तिम सन्तान म नै थिएँ । पछि गाउँका मान्छेहरूले बालाई अर्को बिहे गर्न सुझाव दिए । कोहीकोहीले त दबाबै दिन्थे । छोरीको हेरचाह गर्न भए पनि अर्को बिहे गर्नुपर्छ भन्थे । कोहीकोहीले बुढेसकालको साथीका लागि पनि बिहे गर्नुपर्छ भनेर सम्झाए । कोहीले जवानी खेर नफाल् भने । तर बुबाले अर्को बिहे गर्नु भएन ।
भन्नुहुन्थ्यो– मेरो सबथोक यही छोरी हो । यसैलाई राम्रोसित पाल्छु, पढाउँछु, बढाउँछु ।

उहाँ दिनभर डकर्मी काम गर्न हिँड्नुहुन्थ्यो । घरमा बस्ने मान्छे नै भएन । एउटा भैंसी, केही बाख्रा र कुखुरा पालेका थियौं । त्यसको हेरचाह गर्ने मान्छे पनि भएन । त्यसैले मैले पढाइ छाडिदिएँ, तीन कक्षासम्म पढेर । 

ढिलो स्कुल भर्ना भएकाले तीन कक्षा पढ्ने बेला म ठूली भइसकेकी थिएँ । बुझ्ने भइसकेकी थिएँ । बुबाको रहर त मलाई धेरै पढाउने थियो । तर म आफैंले नपढ्ने निर्णय गरें ।’

‘अनि के भयो ?’

‘सुखदुःख जेनतेन परिवार राम्रै चलेको थियो । बाउ–छोरी खुसीसित बाँच्ने प्रयास गरिरहेका थियौं । एक्कासि अर्को वज्रपात प¥यो, हाम्रो परिवारमा, मेरो जीवनमा।’

‘कस्तो वज्रपात ?’

‘मंसिर महिना थियो । बा ठूलाघरेको धान काट्ने मेलामा जानुभएको थियो । म घरमै थिएँ । साँझ मेलो सकेर बा आउँदा मैले खाना बनाइसकेकी थिएँ । हामी खाना खाने तयारी गर्दै थियौं, बाहिर बुट बजाउँदै केही मान्छे आए । 

हामी डरायौं । 

माओवादी या सरकारको सेनामध्ये कोही हुन सक्थ्यो । माओवादी नै भए त खासै नडाउनुपर्ने थिएन । किनकि, हाम्रो घरमा माओवादी आइरहन्थे । खाना खान्थे । कति पटक त रात नै बसिसकेका थिए । 

केही दिनअघि मात्रै पनि १०–१२ जना माओवादी हाम्रै घरमा बसेका थिए । सरकारी सेना आएको हुनसक्ने अनुमानले हामी डराएका थियौं । 

बाहिरबाट आवाज आयो, ‘कमरेड अभिवादन ।’
‘कमरेड’ भनेपछि माओवादी नै हुनुपर्छ भन्ने लाग्यो । डर हरायो । बाले खाना मुछ्दै भन्नुभयो, ‘अभिवादन हजुर । म त खाना खाँदै छु, भित्रै बसौं न !’

केही मान्छे भित्र पसे, कम्ब्याट लगाएका । तर उनीहरूलाई चिनेनौं । त्यसअघि ती मान्छेहरू कहिल्यै हाम्रो घरमा आएका थिएनन् । 

दुई–तीनजना मान्छे सोझै चोटामा उक्लिए । घरभित्र पसेकोमध्ये एउटाले बन्दुक भुइँतिर सोझ्याउँदै दायाँबायाँ गरिरह्यो, केही खोजे जसरी । 

उसले निदालबाट एउटा किताब निकाल्यो । कुनै बेला माओवादीले नै छाडेको किताब हुनुपर्छ । उसले ठूलै क्ुरा पत्ता लगाए जसरी टाउको तलमाथि हल्लायो । एकटकले बालाई हेर्‍यो । अनि अलि हेप्याइलो शैलीमा भन्यो, ‘कमरेड !’

हामी बाउ–छोरी नै केही बोल्न सकिरहेका थिएनौं । 

त्यो मान्छेले ढोकाबाट पिँढीमा निस्कँदै भन्यो, ‘प्रमाण भेटियो सर ।’

बाहिरबाट ठूलो र धोत्रो आवाज आयो, ‘सबै इन्वायरी गर ।’

अघिकै मान्छे फेरि भित्र छि¥यो । चोटामा उक्लिएकाहरू पनि भर्‍याङ बजाउँदै मुन्तिर ओर्लिए । त्यो मान्छेले बाको कन्चटमा बन्दुक राख्दै भन्यो, ‘कहाँ छन् तेरा अरू आतंककारी ?’

बाले डराउँदै, दुई हात जोड्दै भन्नुभयो, ‘थाहा छैन हजुर !’ 

‘अझै थाहा छैन भन्छस् साले’ भन्दै बाको ढाडमा बेस्मारी लात्तीले हान्यो । बाको टाउको झन्डै अँगेनुमा जोतियो । 

‘तैं होइनस् माओवादीलाई भात पकाएर खुवाउने ?’ भन्दै मेरो पनि चुल्ठो तानेर चुल्होबाट मझेरीमा ल्यायो । पछाडिपट्टि बेस्मारी लात्तीले हिर्कायो । 
बाहिरबाट आदेश दिने मान्छे पनि भित्र छि¥यो । भन्यो, ‘छोरी सानै रहिछ, छाडिदे । बाउ चैंलाई लिएर हिँड् ।’

बाको कपाल समाउँदै उसैले उठायो । 

‘हिँड् साले’ भन्दै पछाडिबाट हिर्काउँदै बालाई बाहिर लग्यो । मैले ‘मेरो बालाई केही नगर’ भन्न पनि सकिनँ । किनकि, सरकारी सेनाले बोल्यो कि मार्छन् भन्ने सुनेकी थिएँ । 

म घुँक्कघुँक्क रोइरहे मात्रै ।

तिनीहरू आँगनको डिलबाट झरिसकेपछि मात्रै बाहिर निस्किएँ । चिच्याएर कराउन पनि आवाज आएन । 
पर्खालमा चढेर तलतिर हेरें, केही देखिनँ । 

कुद्दै कुद्दै पल्लोघर गएँ, करेसोको बाटो हुँदै । म रुँदै, डराउँदै भित्र पसेको देखेपछि ठूलाबाले सोध्नुभयो, ‘के भयो अनुराधा ?’ 
सुँक्कसुँक्क रुँदै भनें, ‘बालाई लगे ।’ 
‘माओवादी कि सेनाले ?’
‘सेनाले !’
‘सेनाले’ भनेपछि उहाँहरूको सातो गयो । बोल्नै सक्नु भएन । ठूलो सास फेर्दै ठूलाबाले यति भन्नुभयो, ‘छिटोछिटो खाएर सुतौं ।’

उहाँहरूले पाकिसकेको खाना हतार–हतार खानुभयो । मलाई पनि खानका लागि आग्रह गर्नुभयो । तर खाइनँ । 
खाना खाउन्जेल पनि कोही चुइँक्क बोलेनन् । खाएकै थालमा चुठेर झापझुप बत्ती निभाउँदै सबैजना चुल्होमै ओछ्यान लगाएर लस्करै सुत्यौं । 
म कान्छी भाउजूसित सुतें । निद्रा पर्ने कुरै भएन । सबैजना ओल्टो–कोल्टो गर्दै छट्पटिरह्यौं । छटपटीमै छर्लंग बिहानी भयो ।

उज्यालो भइसकेपछि बाहिर निस्कियौं । मलाई आफ्नो घर जाने आँट आएन । पल्लोघरकै आँगनको डिलमा उभिएर तलतिर हेर्दै थिएँ, हिजो राति बालाई सेनाले लगेकै बाटोतिर । 

पदमबहादुर अंकल हतारहतार माथितिर आउँदै रहेछन्, हस्याङफस्याङ गर्दै । आँगनको डिल उक्लनेबित्तिकै आत्तिएको स्वारमा उनले भने, ‘तल बाँस झ्याङमा लास भेटियो ।’

मेरो होसहवास उड्यो । केही सोच्नै सकिनँ । 

‘बा बा’ भन्दै बारीका पाटा फँराल्दै तलतिर गएँ । टोलका अरू मान्छे पनि झरे । बास झ्याङमा थुप्रै मान्छे जम्मा भइसकेका रहेछन् । वरिपरिको भीड छिचोल्दै भित्र छिरें । झ्याङको माथि नै देखें, बाको टाउको । जिउचाहिं झ्याङभित्र फालिदिएछन् ।’

बोल्दाबोल्दै अनुराधाको गला अवरुद्ध भयो । मैले छेवैमा गएर टाउको समाइदिएँ । आँसु पुछिदिएँ । भनें, ‘नरुनुस्, सम्हालिनुस् ।’
धेरैबेरसम्म पनि उहाँ बोल्न सक्नुभएन । मेरो पाखुरामा टाउको अड्याएर रोइरहनुभयो । मैले सम्झाउँदै भनें, ‘विगत सम्झेर कमजोर नहुनुस् । दाउरा खोज्नै बाँकी छ । बिस्तारै उठौं ।’

सुस्तरी उठ्दै हामीले जंगलमा सुकेका काठ र सिठा खोज्न थाल्यौं । त्यसबीचमा उहाँले भन्नुभयो, ‘त्यसपछि मलाई सहारा दिने कोही भएनन् । अनि आफैं माओवादीमा लागें ।’

उहाँले मेरा बारेमा पनि सोध्नुभयो । मैले पनि बताएँ, आफ्नु कथाव्यथा । हाम्रो कथा फरक भए पनि व्यथा उस्तैउस्तै रहेछ । 

दिनभर आपसमा भलाकुसारी गर्दै दाउरा खोजेर साँझ सेल्टर फर्कियौं । साँस्कृतिक कार्यक्रमको तयारीबारे छलफल भयो । खाना खायौं । सुत्यौं । 

 

(विमल नेपालद्वारा लिखित 'पीपला' उपन्यासको अंश । पुस्तक आगामी २ असारमा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिँदै छ)


Author

थप समाचार
x