साहित्य

कविता

फेल्ड नेसन

बाबु त्रिपाठी |
जेठ ८, २०७८ शनिबार ८:१२ बजे

डण्डिबियो र कपर्दी खेल्न
र, देश पढ्न 
बच्चाहरूले अझै छाडिसकेका छैनन् 

मान्छेको मन 
असन–इन्द्रचोकजस्तो
अझै साँघुरो भइसकेको छैन 


देउताहरूले
अब मलाई फूल नचढाउनू    
अझै भनिसकेका छैनन् 

गल्लीबाट आइरहेछ 
अझै चुरा बजेको आवाज
सन्नाटा हटेको छ 

भेन्टिलेटरको बिरामीले
अन्तिम सास फेरिसकेको छैन
जिन्दगीले
अझै एकछिन मुस्कुराउने समय पाएको छ 

आर्यघाट
मुर्दाहरूको डम्पिङसाइड 
अझै भइसकेको छैन 

सन्तानहरूले
डाको छाडेर अझै रुन परेको छैन
रुनका लागि अझै काफी छन्
आमाहरूका आँखा 

यहाँ 
वर्ष दिन बिराएर अझै आइरहेछ–जेठ
र, पोतेर गइरहेछ– अनुहारमा लू 
यहाँ 
वर्ष दिन बिराएर अझै आइरहेछ– असार
र, बजाएर गइरहेछ– दुःखको रिङटोन
दुःखीहरू अझै दुःखी भइसकेका छैनन् 

इजरायलबाट अझै पनि
यहाँ आइरहेको छ 
यहुदी बस्तीको खबर र सन्चो–बिसन्चो 

साउदीको शेखले दिएका
यातनाका तस्बिरहरू पनि 
आइरहेछन् ट्वीटरमा अझै 
कमेन्टमा कोही लेख्छ—
नेताहरूले मात्र चाखे– गणतन्त्रको स्वाद 

मिस्त्री बन्न गएका युवा 
आक्कल–झुक्कल फेसबुकमा पोस्ट्याइरहेकै छन्  
ऊँट चराइरहेको फोटो 
कमेन्टमा कोही लेख्छ–
बाकसमा नफर्कियोस्— पसिनाको आयु 

स्वतन्त्रताको पुरानो नारा बोकेर 
यहाँ अझै पनि
वर्ष दिन बिराएर आइरहेछ– तीज 

मनकुमारीले बालेको आगोमाथिको तावामा 
भोक पाक्न छाडिसकेको छैन
अझै पनि
बिक्री भइरहेकै छ मकै

आफू लुटिएको प्रमाण
आफैँ जुटाउँदै छे बहिनी
कानुन र बर्दीप्रति
उनको–विश्वास अझै हटिसकेको छैन 

एक्सक्लुसिभ समाचारमा अझै आइरहेछ 
पर्सि भ्यालेन्टाइन डे–
कागजकै सही
दुई टन फूल बोकेर
केही ट्रकहरू सीमावारि आइसकेका छन् 

इन्स्टामा 
अझै भाइरल भइरहेकै छ
शपथ खाँदै गरेका
यो मुलुकको नयाँ प्रधानमन्त्रीको फोटो 

चुपचाप–चुपचाप म लेख्दै छु ।

मेरो मुलुक
‘फेल्ड नेसन’ घोषणा भइसकेको छैन 
अझै  ।


Author

थप समाचार
x