कविता
देशको विघटन
विघटन र विखण्डनको कुलतमा फसेर
एकादेशको शासकले
विघटनको लामो सूची निकाल्यो
र राजपत्रमा छाप्यो ।
विघटनको सूचीमा
धेरै थोक भेटियो ।
भाइरल भएको भाइरस भेटिएन ।
निषेधाज्ञाले कोपरेको भोक भेटिएन ।
संसद् विघटन भयो ।
संसारले थाहा पायो ।
अदालत विघटन भयो ।
तराजुले थाहा पायो ।
विश्वविद्यालयहरु विघटन भए ।
किताबले थाहा पायो ।
संविधान विघटन भयो ।
कलमले थाहा पायो ।
अस्पतालहरु विघटन भए ।
अक्सिजनले थाहा पायो ।
विघटनको सूची लामो थियो ।
प्रकार अनेक—अनेक थिए ।
देखिने—नदेखिने विघटन ।
लेखिने—नलेखिने विघटन ।
बुझिने—नबुझिने विघटन
भनिने—नभनिने विघटन ।
समय ढल्दै गयो ।
विघटन चल्दै गयो ।
नैतिकताको विघटन भयो ।
आदर्शको विघटन भयो ।
विधिको विघटन भयो ।
थितिको विघटन भयो ।
विघटन गर्नुपर्ने धेरै ‘थोक’ थिए ।
ऊ ‘खुजुरा’मै रमायो ।
भाइरस देशैभर भाइरल भएको थियो ।
पोल्टा र चुलामा निषेधाज्ञाको डाम थियो ।
शव लस्करै पालो पर्खिरहेका थिए ।
विघटन र विखण्डनको
लामो यात्रा पार गरेपछि
आफैँले आफैँलाई
विघटन गरेको घोषणा गर्नुअघि
उसले देशै विघटन भएको घोषणा ग¥यो ।
र भन्यो—
मैले टेकेको धरतीको अस्तित्व
विघटन गर्न सके पनि
आँखाले देखेको
सिंगो आकाश विघटन गर्न सकिनँ ।
मलाई त्यसैमा खेद छ ।
...
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया