साहित्य

म अरूलाई प्रश्न गर्छु, आफूलाई गरेको मन पराउदिनँ

कमल विष्ट |
साउन २८, २०८० आइतबार ९:१ बजे

म फुटपाथै गायब पार्नेलाई केही गर्न सक्दिनँ
तर फुटपाथमा व्यापार गर्नेहरूका सामान खोसेर गाड्छु

म सस्तो लोकप्रियताका लागि नेपालको नक्सै फेर्न सक्छु
तर शहरमा एउटा पुस्तकालय बनाउन सक्दिनँ


म विदेशी मिडियासँग काठमाडौँ संसारकै सुन्दर शहर हो भन्छु
तर शहरमा एउटा शौचालयसमेत बनाउँदिनँ

म आफ्नो शहरमा फोहोर फाल्नेलाई जरिवाना तिराउँछु
तर बञ्चरे डाँडावासीका आँगनमा फोहोर फाल्न प्रहरी लगाउँछु

मलाई ६० लाख निर्दोष यहुदीलाई भट्टीमा पोल्ने हिटलर मनपर्छ
तर जीवन धान्न सडकमा मकै पोल्नेहरू मन पर्दैन 

मलाई पुलमाथिको झिलिमिली मनपर्छ
तर पुलमुनिको गरिबी मन पर्दैन 

म नयाँ पुराना सबै नेता चोर हुन् भन्छु 
तर सबैभन्दा ठूलो पाखण्डी आफैँ हुँ भन्ने बिर्सिन्छु 

म चुनावअगाडि गरिबको चमेली बोल्दिने कोही छैन भन्छु
तर जितिसकेपछि गरिबमाथि प्रहरी लगाएर भाटा बर्साउँछु

चुनावका बेला सुकुम्वासी बस्तीमा भोट माग्न हात जोड्दै पुग्छु
तर, पछि तिमीहरूले गर्दा शहर कुरुप भयो भन्दै डोजर लिएर पुग्छु

म चुनावअगाडि शहर सबैको हुनुपर्छ भन्छु
तर पछि त्यही कुरा सम्झाउँदा 'कुतर्के' लगाएर ठेगान लगाउँछु

म आफ्नो विजयलाई परिवर्तन र विद्रोह मान्छु
तर माइतीघरका न्यायिक आन्दोलनलाई कुरुप देख्छु

मलाई समर्थन र प्रशंसा मनपर्छ
तर खबरदारी र आलोचना मन पर्दैन

म अरूलाई प्रश्न गर्छु
तर आफूलाई गरेको मन पराउदिनँ 
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x