भालेको क्रान्ति (कविता)
अब भाले
बिहान,दिउँसो र बेलुकी मात्रै होइन
मध्यरातमा पनि बास्नुपर्छ
खोरमा निदाएर उपियाँ ठुँग्दै बसेका
भालेहरुलाई पनि जबरजस्ती राती-राती घोचेर
तिनीहरूलाई चलाएर कराएर
बास्न लगाउनु पर्छ ।
बिहान,दिउँसो त हामीलाई
भालेको चर्को स्वर चाहिँदैन
प्रायः सबैको घरमा घडी छ
रेडियो छ,दूरदर्शन,टी.भी.च्यानल छ
तसर्थ,जस्तै बादल लागे पनि
बिहान,दिउँसो र बेलुकीको समय
त छुटयाउन सकिन्छ
तर यो मध्यरातको विषय छ
सबै मान्छे सुतेका हुन्छन्
घडीको घण्टी त केवल
एकजनाको लागि मात्र हुन्छ
त्यो पनि सुतेको समयमा सुनेन भने
घरी-घरी बज्ने होइन
सुनिहाले पनि आफ्नै कामको निम्ति मात्र हुन्छ
तर एउटा समाजलाई ब्युँझाउनु त
भाले नै बास्नुपर्छ ।
ठूलो स्वरमा,लामो स्वरमा
कु....कु....री....काँ गरेर
जसले मान्छेको कानदेखि मनसम्म
उठ्नुपर्ने प्रेरणा जगाओस्
आज के हुन लाग्यो भनी
सबै छक्कै परुन्
यो त लोदर हो भनी
काट्न खोज्दा,मार्न खोज्दा
'अर्को भाले' पनि केही टाढामा
सम्पूर्ण स्वर खोलेर बासोस् मध्यरातमा
जसलाई 'लोदर' शब्दले केही नहोस्
अन्धविश्वासको कालो पर्दा धुजाधुजामा होस्
दिनभरि,आँगनतिर,मैलातिर,नालीतिर डुलेर
पेटभरि चारो खान नपाई बास बसेका भाले
थाकेर हिलो-माटोसरि भएपनि बास्नुपर्छ
तर मध्यरातमा
प्रकृतिको नियमलाई तोडेर
जसले मान्छेको मनमा भुइँचालो ल्याउन सकोस्
किनभने भाले बासेपछि त
मशानको शक्ति पनि हुँदैन्
तर्साउने पनि तर्साउन सक्दैन् ।
मशानघाटमा एक्लै हिँड्न सकिन्छ
यसैको निम्ति 'भाले' मध्यरातमा बास्नुपर्छ
अब सबैले आ-आफ्ना खोरमा
मध्यरातमा बत्ती बालेर
राँको / पुल्ठो बालेर हो-हल्ला गरी
उज्यालो पारी भालेलाई
बास्न कर लगाउनुपर्छ
निन्द्रामा नै भएपनि बासोस्
बास्ने ट्रेनिङ दिनुपर्छ ।
नत्र मध्यरातमा बास्न मान्दैन्
तर मान्छेको हल्ला-खल्ला
अनि बत्ती र राँको / पुल्ठोको उज्यालोले
दिउँसै जस्तो पारी बास्न सिकाउनुपर्छ
बानी गराउनुपर्छ ।
मध्यरातमा 'भाले' बास्दा के भयो र ?
२१ औं शताब्दीमा पनि
भालेको मध्यरातको स्वरलाई
'लोदर' भन्छ भने
चुनौती भन्छ भने
घाम झुल्केपछि बास्ने भालेलाई पनि
'लोदर' नै भन्नुपर्छ ।
पुरानो प्रथालाई तोडेर
नयाँ बनाउनु नै 'क्रान्ति' हो
यसैलाई भनिन्छ नयाँशक्ति
'भालेको क्रान्ति'
_____________________________________________
© गान्तोक सिक्किम
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया