साहित्य

'तँ अब बुढो भइस्' खण्डकाव्य सार्वजनिक

इकागज |
भदौ ५, २०८० मंगलबार १५:६ बजे

मकवानपुर- साहित्यको विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकार तथा व्यंग्यकार पिडालु पण्डितद्वारा लिखित 'तँ अब बुढो भइस्' खण्डकाव्य सार्वजनिक गरिएको छ ।

दर्जन बढी कृति लेखेका सरकारी सेवाबाट निवृत्त उनको यो पछिल्लो कृति हो । समाजको विकृतिलाई व्यङ्ग्यात्मक शैलीमा झटारो हान्ने र  चेतना प्रभाव पार्ने गरी कमल चलाउने पण्डितले यो काव्यलाई काव्य उठान, काव्य श्रृंखला र काव्य बैठान गरि तीन भागमा विभाजन गरी तयार पारेका छन् । खण्डकाव्यमा २३ श्रृंखला समेटिएको छ ।


स्रष्टालय बुक एण्ड पब्लिकेशन काठमाडौँले प्रकाशन गरेको खण्डकाव्य १ सय ८० पृष्ठमा समेटिएको छ । डाक्टर शैलेन्द्र प्रकाश नेपालले खण्डकाव्यमाथि टिप्पणी गर्दै उक्त युवाहरूको अन्तिम स्वीकारोक्ति र कल्पनातीत काव्य भनेका बताएका छन् । यसैगरी बुढ्यौली साहित्य समाज मकवानपुर अध्यक्ष आरसी रिजालले खण्डकाव्यमा विभिन्न कोणबाट बुढ्यौलीका विषयलाई रोचक तथा व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरिएको बताएका छन् ।

'यो काव्य मात्र नभएर अस्तिहिजो र आज घरपरिवार र समाजको विभिन्न भूमिकामा रहे बाँचेका मानिसहरूको कारुणिक र मर्मस्पर्शी चित्रण भएको छ,' खण्ड काव्यकार पिडालु पण्डितले बताए । 'यसमा हामी सबैको कथा व्यथा छ,' उनी भन्छन्, 'अलिकति मेरो, अलिकति तपाईंको, अलिकति उसको, अलिकति उहाँको कथा छ, अलिकति उनीहरूको कथा छ, समग्रमा सबैको कथा छ ।'

साहित्यका विविध विधामा कलम चलाउँदै आएका साहित्यकार पण्डितको खास परिचय बासुदेव गुरागाई हो । सरकारी सेवामा रहँदै पनि लेखनलाई विशेष समय दिँदै आएका उनले सेवा निवृत्तपछि साहित्य समाजका लागि आफ्नो समय बढाएको बताए । उनी नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुन् ।

यसअघि उनका 'स्वागत' (फुटकर कविता संग्रह) २०५३, 'नेता चिरञ्जीवी भव' (हास्य-व्यङ्ग्य काव्य) २०५९, 'थोते हाँसो' (हास्य-व्यङ्ग्य निबन्ध संग्रह) २०६२, 'बास उठेका चराहरू' (फुटकर काव्यिक रचनाहरूको सँगालो) २०६४, 'मोफसलको मधुरिमा' (नियात्रा संग्रह) २०६९, 'बाजेको सेकुवा' (हास्य-व्यङ्ग्य निबन्ध संग्रह) २०७०, 'अनुमानित निष्कर्ष' (छोटा कथा संग्रह) २०७२, 'समयान्तर' (कथा संग्रह) २०७२, 'नुवाकोटका पशुपतिः दुप्चेश्वर महादेव' (पर्यटन प्रवर्द्धनात्मक कृति) २०७३, 'वसन्त वृक्ष' सहस्र नेपाली हाइकु संग्रह २०७५, 'फुमन्तर' (लघुकथाहरू) २०७६, 'नुवाकोटका पशुपति दुप्चेश्वर महादेवः सगिषप्त झलक २०७७, 'रातो गुलाफ' सुसेली–संग्रह २०७९, 'बाबा दुप्चेश्वर' (भजन–संग्रह) २०७९ प्रकाशित छन् ।

समाजमा देखिएको, समाजले चाहेको र समाजको हितका लागि आवश्यक कुरामा राजनीतिक वा अन्य कुनै पूर्वाग्रह मनमा नराखी साहित्यकारहरू प्रस्तुत हुन सक्नुपर्ने उनी बताउँछन् । क्षणिक स्वार्थ वा लाभहानीका विषयमा अल्झिएर साहित्यकारहरू अघि बढ्ने हो भने त्यो स्थिति समाजको समग्र विकासका लागि प्रत्युत्पादक बन्ने बताउँछन् उनी । 'यसबाट साहित्यकारहरू सर्वथा जोगिनुपर्छ,' उनी भन्छिन्, 'समाजप्रतिको दायित्वबोध साहित्यकारमा भएन भने त्यो पनि राजनीतिक क्षेत्रजस्तै सधैं अस्तव्यस्त भइरहन्छ र स्थिरता प्राप्त गर्न सक्दैनन् ।'

साहित्य रचनाको सवालमा प्रश्न गर्दा उनी भन्छन्, 'वि.सं. २०२८ सालको सुरुतिर, जतिखेर म काठमाडौँमा कक्षा आठमा पढ्थेँ, चामलको अभावमा भान्छा रोकिने स्थिति आउनै लाग्दा आत्तिएर सवाई छन्दमा जानीनजानी छ/सातवटा चतुष्पदी श्लोक रचना गरेँ र दाजुलाई देखाएँ, रचना निकै मार्मिक थियो । उहाँ सकारात्मक हुनु भयो । त्यो कविता चिठीका रूपमा त्यतिखेरको हाम्रो घर नुवाकोट पठाएँ । त्यो चिठी पुगेको भोलिपल्टै घरबाट चामल आइपुग्यो । मेरो पहिलो रचना सायद त्यही थियो । अब म बेलाबेलामा यस्ता अक्षरसँग खेल्न थालेँ । अर्को वर्ष कक्षा नौमा पढ्दै गर्दा विद्यालयमा भएको कविता प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गरेँ र केही कपी तथा सिसाकलम पुरस्कार पाएँ । त्यसपछि मेरो लेखन जेजस्तो भए पनि रोकिएन ।'

प्रकाशनका हिसाबले उनको पहिलो कविता 'स्वागत' वि.सं. २०४४ सालमा मात्र कर्मचारी मिलन केन्द्र मुस्ताङले प्रकाशनमा ल्याएको 'मुस्ताङ सन्देश' नामक स्मारिकामा प्रकाशित थियो । साहित्यकर्मको सम्मान स्वरूप उनी दर्जन बढी साहित्यिक संस्थाबाट सम्मानित भइसकेका छन् । काठमाडौँ निवासी उनी हाल 'दुप्चेश्वरः साहित्य र पर्यटनको साझा अभियान' मूल नारा रहेको दुप्चेश्वर साहित्य समाजको अध्यक्षका रूपमा सक्रिय छन् ।


Author

थप समाचार
x