विकसित राष्ट्र र नेपालबीच अन्तर

हावा घाम उही उही छ पृथ्वी देखिन्छ पानी उही,
ढुङ्गा, झार उही छ जङ्गल उही आकाश खानी उही,
देखिन्छन् सब ई समान जति छन् सामान सप्पै उही,
देखिन्नन् किन हो ? विकास पथ का निर्माण मात्रै उही,
आफ्नो देश बनाउने रहरले नेताहरू जुट्तछन्,
आफ्नो देश बनोस् भनेर अगुवा नि:स्वार्थले खट्तछन्,
पैले देश बनोस् भनेर सबले सङ्कल्प गर्दारछन्,
हामी चैँ पहिले बनौं म कसरी यो मात्र भन्दारछौं,
जे जे काम हुने व्यवस्थित हुने जल्ले जहाँ जे गरुन्,
अर्काको रिस-राग छैन कहिलै आई जहाँ जो चरुन्,
आफ्नो संस्कृतिको छ ख्याल इनमा धर्मानुरागी सबै !
नेपाली पथभ्रष्ट, दुष्ट किन हो ? बन्ने भुली यो सबै ??
राम्रा काम गरे विनाश नगरे राम्रै हुँदो रैछ त!
राम्रा सोच विचारले अघि सरे साँच्चै हुँदो रैछ त!
भ्रष्टाचारविहीन काम सबले गर्दा हुँदो रैछ त!
नेताले पनि धाकधक्कु नदिँदा राम्रै हुँदो रैछ त!
लम्कन्छन् दिनहुँ विकास पथमा कर्तव्य आफ्नो गरी,
चम्कन्छन् अनि पो खुला गगनमा निर्माण राम्रो गरी,
आफ्नो इज्जत, शान, मान सबले हो 'देश 'नै ठान्दछन्,
कस्ता काम गरेर देश बनिने सम्पूर्णले जान्दछन्,
ठूलो मानिस बन्न संस्कृति सबै के बिर्सनैपर्छ र?
राम्रो लाउन खान धर्म सबले के बिर्सनैपर्छ र??
गर्दा उन्नति यो स्वभाव सबले के बिर्सनैपर्छ र?
आफू योग्य हुँदा स्वकर्म सबले के बिर्सनैपर्छ र??
(२०८० मंसिर १० गते आइतबार
अष्ट्रेलिया मेलबर्नबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया