गुमाएको गाउँ

गाउँहरू गाउँझैँ लाग्न छाडेछन् आज भोलि
वर्षौँ भयो बाटोहरूमा बटुवा नहिँडेको
वर्षौँ भयो चौतारोहरूमा कोही नखेलेको
वर्षौँ भयो बारीहरू नजोतिएको
वर्षौँ भयो खेतहरूमा धाँजा फाटेको
त्यसैले म भन्छु गाउँले सजिवता गुमाएपछि
गाउँहरू गाउँझै लाग्न छाडेछन् आज भोलि ।।
वर्षौँ भयो चिया पसलहरूमा ताला लागेको
वर्षौँ भयो रोधी र मारूनीहरू ननाचिएको
वर्षौँ भयो साथी र सङ्गीहरू हराएको
वर्षौँ भयो कोहिलीले गीतहरू नगाएको
त्यसैले म भन्छु गाउँले धेरै कुरा गुमाएपछि
गाउँहरू गाउँझैँ लाग्न छाडेछन् आज भोलि ।।
वर्षौँ भयो घरका गाह्रोहरूमा लिउन उक्किएको
वर्षौँ भयो छोरा फर्किने आस नै भत्किएको
वर्षौँ भयो उमेरभन्दा बुढो दमले नछोडेको
वर्षौँ भयो घर मुनि पुग्न नसकेको ।
वर्षौँ भयो शून्य भएको र त्यो शून्यलाई कुरेको
त्यसैले म भन्छु गाउँले गाउँ हुनुको अस्तित्व नै गुमाएपछि
गाउँहरू गाउँझैँ लाग्न छाडेछन् आज भोलि ।।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया