साहित्य

क्रान्तिकारी हुलिया

दुर्गा आचार्य |
फागुन १६, २०८० बुधबार ७:५९ बजे

आज उ रातै छे
सिउँदोमा सिन्दुर
गलामा पोते
निधारमा टीका
ओठमा रातो भद्दा लिपिष्टिक
घाँटीमा छड्के तिलहरी
रातै बनारसी साडी
र अतरको बासनाले सारालाई आफूतिर तान्ने
उसको मादकता । 

हो म आज उनलाई एकटक हेरिरहेको छु
र त्यो विगतमा पुगेको छु ।
चुरा, पोते र सिन्दुर त
नारीलाई बाँध्ने एउटा वस्तु हो ।
निधारको रातो टीका
नारीलाई कमजोर बनाउने
सौन्दर्यको चीज हुन् ।
हामी स्वतन्त्र छौं
हामीले जेजे पहिरिएका छौ,
त्यो पितृसत्ताको उपज हो ।
त्यसैले यो जन्जिर तोड्न
हामी आफै जुट्नुपर्छ
हर बन्धनबाट स्वतन्त्र भई,
एउटा लामो यात्राका लागि उठ्नुपर्छ । 


यस्तै भाषण सुनेर
कति–कति नारीहरूले आफ्नो सिन्दुर मेटाए,
चुरा फुटाए र क्रान्तिको डरलाग्दो यात्रामा होमिए ।
त्यो यात्राका क्रममा मेटिएका सिन्दुर
आज उसकै सिउँदोमा हाँसेको छ ।
फुटेका चुरा उसकै हातमा सजिएको छ ,
फालिएका प्रियतमाका उपहार पोते
काँधै भाँचिएला जस्तो गरी,
उनकै गलामा लच्किएको छ। 

स्वतन्त्रताको भाषणबाट थालिएको उनको क्रान्ति
यो अवस्थामा पुगेको देखेर
उनलाई हेरिरहन मन लागेको छ ।
नारी सौन्दर्य 'रुप' 'विलासिता'मा होइन,
`ब्रेन´मा हुनुपर्छ भन्ने उनको
यो क्रान्तिकारी हुलिया ।
 


Author

थप समाचार
x