साहित्य

आमा

शुरज थपलिया |
बैशाख २६, २०८१ बुधबार ६:३९ बजे

मायाको अथाह खानी तिमी
कहाँ छन्, ती मूल ?
कोमल अनि प्रेमिल
कस्तो छ, तिम्रो मुटु ?
पुग्न मन छ, मूलमा 
छाम्न मन छ, मुटु
अनि, गर्न मन छ
तिमीले गरेजस्तै माया

भन्नेले भन्छन्, माया उधो बग्छ रे 
मेरो माया उभै लान मन छ
तिमीसम्मै पुग्न मन छ 
अनि,
छर्न मन छ 
मायाका अनगिन्ती रंगहरू
रंगहीन बनाएको तिम्रो मुहारमा
इन्द्रेणी खुशीहरू


कति कति रात 
अनिदो भएको आँखामा
मस्त निद्रा दिन मन छ
म बिरामी परेर कुरेका
रात र दिनहरू
गनी-गनी फिर्ता दिन मन छ
मलाई चाहिन्छ भनेर भोटो र दौरा
सिलाइनौ चौबन्दी चोलो
यो संसारको सारा डिजाइनका कपडा
तिमीलाई पहिराउन मन छ

मन छ मलाई
हाम्रो सम्बन्धलाई
सगरमाथा जस्तै उचाइ दिन 
पीडा अनि दु:खलाई 
समुन्द्र जस्तै शून्य बनाइदिन
रहरहरू तिम्रा फर्कि आए भने
स्कूल अनि कलेज, 
पठाइदिन मन छ

घुम्ने रम्ने सपना 
तिम्रो पनि त थिए होला
लठ्ठीको सहारा आफैँ बनी 
यो संसार घुमाइदिन मन छ 
केही छन् चाहना बाँकी तिम्रा भने
सोधि सोधि,
सबै पूरा गर्न मन छ ।

माया तिम्रो सहारा बनी
फिर्ता दिन मन छ
प्रेम तिम्रो चार गुना बढाएर 
ऋण तिर्न मन छ
दु:ख जति लिएर सबै 
सुख अनि,
सुखानुभूति दिन मन छ ।

फुटेका तिम्रो पैतालामा
मल्हम लगाउन मन छ
दुखेका जिउको 
औषधि गर्न मन छ
खिइएका हड्डीहरू 
आफ्नै दिएर फेर्न मन छ
रोगले ग्रस्त तिम्रो शरीर 
सबै लिएर
तिमी म 
अनि, 
म तिमी बन्न मन छ ।

(मातातीर्थ औंसी– आमाको मुख हेर्ने दिनको अवसरमा सबै आमाहरूप्रति समर्पित)


Author

थप समाचार
x