साहित्य

मन त ढुंगाकै ठीक छ

सुनिता पौड्याल |
असार १८, २०८१ मंगलबार ७:३७ बजे

न चोटले दुख्छ, न बचनले दुख्छ,
न घातले दुख्छ, न आघातले दुख्छ
पीडाहरूको त कुरै छोडौं
मधुर बाणीले पनि असर गर्ने
नरम र मुलायम हुनुभन्दा
मन त ढुंगाकै ठीक छ।।

न आँधि आउँदा उडाउने पीर छ
न बाढी आउँदा बगाउने पीर छ
ठाउँ अनि मौसमअनुसार 
स्वरूप बदल्ने सुगन्धित फुलझैं हुनुभन्दा
चट्याङले पनि असर नगर्ने 
मन त ढुंगाकै ठीक छ।।


न उडेर आकाश चुम्ने रहर हुन्छ, 
न बतास जस्तै बहकिने डर हुन्छ
कसैको मन्द मुस्कानमा अल्झेर 
शिरलाई पैतालामा रगेड्नुभन्दा 
कोहि कसैलाई असर नगरी
अटल र स्थिर रहने 
मन त ढुंगाकै ठीक छ।

न कसैको चाकरीमा ध्यान जान्छ,
न कसैलाई रिझाउन ज्यान जान्छ ।
आफ्नो स्वार्थ पुर्तिको लागि
अरुलाई प्रतिघात गर्नुभन्दा
बिना प्रतिवाद शान्त रहने
मन त ढुंगाकै ठीक छ।।


Author

थप समाचार
x